एकाएक नेपाली राजनीति क्रिकेटमय बनेपछि ..
काठमाडौँ । नेपालले एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधि जितेसँगै नेपाली टोली एसिया कपमा पनि छनोट भएको छ । नेपाली टोलीले घरेलु मैदानमा सम्पन्न प्रिमियर कपको फाइनलमा मंगलबार यूएईलाई ७ विकेटले हराएको हो ।
नेपालले अब आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ । नेपाली क्रिकेटका लागि यो महत्त्वपूर्ण उपलब्धि हो । नेपाली टोली एसिया कपमा छनोट भए लगत्तै नेपालको राजनीति क्षेत्र पनि एकाएक क्रिकेटमय बनेको छ । यो खुसीको विषय हो ।
नेपाली राजनीतिमा खेलकुद विरलैमात्र चर्चा र छलफलको विषय बन्छ । राजनीतिज्ञहरू पनि खेलकुदप्रति खासै चासो राख्दैनन् । बेलाबखत विभिन्न प्रतियोगितामा नेताहरूलाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको हुन्छ । यस्ता अवसरमा भने विभिन्न दलका नेताहरू खेलकुद आयोजनास्थलमा पुग्ने गर्छन् । यसलाई अपवाद मान्नुपर्ने हुन्छ ।
तर, मंगलबार नेपालले प्रिमियर कपको उपाधि जितेपछि सामाजिक जीवनका अन्य पक्षसँगै राजनीतिक क्षेत्र पनि खेलकुदमय बन्यो । नेपालले उपाधि जित्नासाथ प्रधानमन्त्री पुष्पकमल दाहालले खेलाडीलाई सामाजिक सञ्जालहरूमार्फत बधाई दिए । प्रधानमन्त्रीले खेलाडीलाई उचित पुरस्कारबाट सम्मान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ त खेलाडीलाई बधाई दिन कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै पुगे । यसका अतिरिक्त अन्य राजनीतिक दलका नेताहरूले पनि खेलाडीलाई बधाई दिने क्रम जारी छ ।
तर, यसपटक नेपालको जित लगत्तै केही राजनीतिज्ञले क्रिकेटलाई फरक ढंगले पनि चर्चामा ल्याएका छन् । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले खेलाडीलाई जितको बधाई दिँदै नेपाली क्रिकेटसँग जोडेर सरकारलाई पनि केही सुझाव दिएका छन् ।
‘नेपाली क्रिकेट टिमलाई आजको महत्त्वपूर्ण जितका लागि धेरै धेरै बधाई !! खेलाडीहरूको आजको प्रदर्शनले नेपालको इज्जत बढाएको छ,’ खेलाडीलाई बधाई दिँदै रविले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले सरकारलाई सुझाव पनि दिएका छन् ।
‘अबको जिम्मेवारी नेपाल सरकारको । हामीले एसीसी प्रिमियर कपको उपाधि जितेका छौँ । एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र आईसीसीसँग आजैदेखि पहल थालियोस् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल होस् । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थल हुनसक्दछ’, अध्यक्ष लामिछानेले भनेका छन् ।
अहिलेको परिवेश पनि त्यस्तै छ । त्यसैले पनि रास्वपाका अध्यक्ष लामिछानेले यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाल एसिया कपमा त छनोट भयो तर, नेपालले त्यो प्रतियोगिता खेल्न पाउँछ वा पाउँदैन भन्ने विषय अन्योलमै छ । एसिया कपको आगामी संस्करणकै भविष्य अन्योलमा परेपछि यस्तो स्थिति सृजना भएको हो ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले आगामी एसिया कप पाकिस्तानमा खेलाउने निर्णय गरेको छ । राजनीतिक रूपमा एकअर्काका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानका कारण एसिया कप अन्योलमा परेको हो । नेपाली राजनीतिज्ञले आफ्ना खेलाडीलाई जितको बधाई दिइरहँदा भारत र पाकिस्तानको राजनीतिक द्वन्द्वको प्रभाव एसिया कपमा परेको छ ।
भारतले दुई देशबीच लामो समयदेखि चुलिएको राजनीतिक द्वन्द्वका कारण एसिया कप खेल्न आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेको छ । भारतले आफ्नो टोली नपठाउने भएपछि प्रतियोगिता अन्योलमा परेको हो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले भने प्रतियोगितालाई निरन्तरता दिन एसीसीमा ‘हाइब्रिड मोडल’ प्रस्तुत गरेको छ । पीसीबीले एसिया कपका अन्य खेल पाकिस्तानमा खेलाउने तर, भारतका खेलहरू भने अन्य कुनै देश (न्यूट्रल भेन्यू)मा खेलाउने प्रस्ताव राखेको छ ।
पीसीबीको प्रस्तावमा एसीसीका अध्यक्ष जय शाह पनि सकारात्मक देखिएका थिए । तर, भारत फर्किएपछि भने शाहले पीसीबीको उक्त प्रस्तावको विपक्षमा आफ्नो धारणा राखेका थिए । त्यसपछि एसिया कपको भविष्य झनै अन्योलमा परेको छ ।
पछिल्लो समय बीसीसी त एसिया कप नै रद्द गर्नुपर्ने पक्षमा देखिएको छ । बीसीसीआईले यसअघि नै एसिया कपको सट्टामा छुट्टै पाँच देश सहभागी हुने प्रतियोगिताको ढाँचा अगाडि सारिसकेको छ । बीसीसीआईले अगाडि सारेको उक्त प्रतियोगिताको ढाँचामा पाकिस्तान भने रहने छैन ।
एसिया कपको आगामी संस्करण नै रद्द हुने सम्भावना बढेपछि त्यसको प्रभाव नेपाली क्रिकेटमा पनि पर्ने निश्चित छ । यस्तो स्थितिमा प्रतियोगितालाई न्यूट्रल भेन्यूमा खेलाउने चर्चा पनि सुरु भएको छ । रास्वपाका अध्यक्ष लामिछानेले यही अवसरको फाइदा उठाउन सरकारलाई सुझाव दिएका हुन् । उनले सरकारलाई एसिया कपका केही खेल नेपालले आयोजना गर्ने वातावरण बनाउन सुझाव दिएका हुन् । यसो भएमा नेपालले लामो समयपछि पाएको एसिया कप खेल्ने अवसर पुनः गुमाउनुपर्ने छैन ।
यसअघि सन् २००२ मा पनि नेपाली टोली एसिया कपमा छनोट भएको थियो । त्यतिबेला नेपाल एसीसी ट्रफीको फाइनलमा पुग्दै एसिया कपका लागि छनोट भएको थियो । तर, त्यसबेला पनि नेपाल अभागी सावित भएको थियो । त्यसबेला पनि भारत र पाकिस्तानबीचको राजनीतिक द्वन्द्वकै कारण प्रतियोगिता प्रभावित भएको थियो । सोहीकारण नेपालले एसिया कपमा पुगेर पनि खेल्न पाएन ।
त्यतिबेला एसीसी ट्रफी फाइनल पुग्ने दुई टोली एसिया कपमा छनोट हुने प्रावधान थियो । त्यतिबेला नेपाली टोली फाइनलमा यूएईसँग ६ विकेटले पराजित भएको थियो । सन् २००२ यता नेपाली टोली एसिया कपमा छनोट हुन सकेको थिएन । यसपटक एसिया कपमा नेपालसँगै भारत र पाकिस्तान समूह ‘ए’ मा रहेका छन् । समूह ’बी’ मा भने बंगलादेश, श्रीलंका र अफगानिस्तान परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालियो : भुसाल
-
पार्टी नेतृत्व छाड्न ओलीलाई घनश्यामको सुझाव
-
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
-
एनपीएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
-
मकवानपुरमा कुटपिटबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु
-
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान