बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
विवाद

राष्ट्रिय कविता महोत्सवको सूचना: किन आगो ओकले साहित्यकारहरूले ?

कविता प्रतियोगिता होइन, कविता महोत्सव मनाउन मनाउन थालेका हौँ : सदस्य सचिव डा धनप्रसाद सुवेदी
मङ्गलबार, १९ वैशाख २०८०, १० : २१
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष असार ९ गते वार्षिकोत्सव मनाउने गरेको छ । वार्षिकोत्सवसँगै अभिन्न अंगको रूपमा जोडिएको छ, राष्ट्रिय कविता महोत्सव । यसै क्रममा आगामी असार ९ गते आफ्नो ६६औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सवका लागि कविता पठाउन प्रतिष्ठानले वैशाख १४ गते सार्वजनिक सूचना जारी गर्‍यो । 

जेठ २० गतेसम्मको समय सीमा तोकेर प्रकाशित गरेको सूचनामा सबै भाषा / मातृभाषामा कविता लेखेर नेपालीमा अनुवादसहित सहभागी हुन पाइने व्यवस्था उल्लेख गरेको छ । तर, परम्परागत रूपमा प्रथम, दोस्रो र तेस्रो छनोट गर्ने परम्परालाई भत्काउने गरी उसले सूचना प्रकाशन गर्‍यो । 

उत्कृष्ट १० लाई वाचनको लागि छनौट गर्ने तथा ती १० कविलाई जनही १५ हजार रुपैयाँ दिइने सूचनामा उल्लेख छ । सूचना प्रकाशित भएपछि यसबारे सामाजिक सञ्जालमा धेरै नै तर्क वितर्क आएको छ । 

nepal-pragya-pratisthan

यसै सूचनालाई सार्वजनिक गर्दै प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सामाजिक सञ्जालमा लेखे– “सबैको प्रज्ञा प्रतिष्ठान भन्ने सानो र सामान्य नाराभित्र साझा स्वामित्वबोधको प्रत्याभूति गराउने उद्देश्यका साथ यस पटकदेखि ‘राष्ट्रिय कविता महोत्सव’को अविच्छिन्न परम्परालाई थोरै विच्छिन्न बनाइएको छ ।”

उनले कविताको परम्परागत प्रतियोगितात्मक ढाँचालाई समावेशी सहभागितामूलक बनाइने पनि उल्लेख गरेका छन् । प्रतियोगिताको तजबिजी खेल बन्द गरेर नेपालका सबै भाषा / मातृभाषामा लेखिएका कविताहरूलाई उत्तिकै स्थान दिइने प्रतिबद्धता जनाएका छन् । यी आदि अभ्यासमार्फत कार्यक्रमलाई साँच्चैको ‘राष्ट्रिय’ र साँच्चैको ‘महोत्सव’ बनाउने कोसिस हुनेछ, उनले लेखेका छन् ।  तर, कुलपति भूपाल राई नेतृत्वको प्रज्ञा प्रतिष्ठानको यो निर्णयप्रति धेरै साहित्यकारले विरोध गरेका छन् भने केहीले समर्थन पनि गरेका छन् । 

नेपाली भाषा कमजोर बनाउने प्रपञ्चः हरि अधिकारी

विसं २०२७ को कविता महोत्सवका स्वर्ण विजेता हरि अधिकारीले यस निर्णयलाई ‘उग्रवामपन्थका मानसपुत्रहरूको चालामाला !' भनी टिप्पणी गरेका छन् । उनले २०२२ सालदेखि वार्षिक रूपमा हुँदै आएको यो प्रतियोगितालाई अप्रतियोगी र बहुभाषी बनाएको र १० जना उत्कृष्ट कविहरूलाई पारिश्रमिक बाँडिएकोमा आपत्ति जनाएका छन् । 

“यी माके एकेडेमिसियनहरूले यस्तो निर्णय एउटा स्थापित परम्पराको क्रमभङ्ग गर्नका लागि मात्र गरेका हुन् भनेर बुझ्नु सरासर गलत हुनेछ,” अधिकारीले भनेका छन्, “बहुभाषी कविताको कुरो उठाएर राष्ट्रभाषा नेपालीलाई नीचा देखाउन खोज्दैछन् । नेपाली भाषालाई खस भाषाको तहमा ओराल्ने अभियानको एउटा कडी हो यो ।” 

नेपाली भाषाले हासिल गरेको सर्वमान्य स्थानलाई कमजोर बनाएर देशभित्र बोलिने अन्य भाषा–भाषिकाहरूको विकास हुन नसक्ने उनको तर्क छ । “भर्खरै साहित्य लेखिन थालेका ती भाषाका रचनाहरूलाई विकासको केही चरण पार गरिसकेको नेपाली, नेवारी वा मैथिली भाषामा लेखिएका रचनाहरूसँग भिडाउनु हास्यास्पद प्रयत्नबाहेक केही हुँदैन,” अधिकारीले सुझाव दिएका छन्, “एकेडीमीका कठमुल्लाहरूको बुद्धि भए धेर–थोर लिखित साहित्य भएका राष्ट्र भाषाहरूको पहिचान गरी तिनीहरूको अलग अलग कविता सम्मेलनको आयोजना गरून् र ती भाषामा लेख्ने श्रेष्ठ सर्जकहरूलाई पुरस्कृत गरून् ।” 

महोत्सवको इतिहास भत्काउन खोजियो

प्रज्ञाले आफ्नो परम्परा र गरिमा भत्काएको धारणा राख्छन् साहित्यकार गोविन्द गिरी प्रेरणा । उनले पचासौँ वर्षदेखि प्रज्ञाले गर्दै आएको ‘अविच्छिन्न’ कविता उत्सव÷महोत्सवलाई ‘विच्छिन्न’ पार्ने कुलपतिको उद्घोषले कविता महोत्सवको इतिहास भत्काउन खोजेको आरोप लगाएका छन् । “१० जना कविलाई संलग्न गराएर राष्ट्रिय कविता महोत्सव कसरी होला ?” उनले भनेका छन्, “बेलैमा सोचेर सच्याउँदा केही फरक पर्दैन ।” 

govinda giri

यस्तै यो निर्णयले साहित्यकार उषा शेरचनलाई पनि खिन्न बनाएको छ । मातृभाषा, राष्ट्रभाषा र अन्तर्राष्ट्रिय भाषा सबैलाई बराबर महत्त्व दिइनुपर्छ भन्ने उनको मान्यता हो । 

“यति हुँदाहुँदै पनि एउटा अभिनव परम्परा बनिसकेको ‘राष्ट्रिय कविता महोत्सव’को इतिहासलाई यसरी भत्काउने निर्णय एक्कासि सुन्दा उति प्रियकर भने नलाग्ने रहेछ,” शेरचनले लेखेकी छन्, “प्रज्ञा प्रतिष्ठानको कविता प्रतियोगितामा मातृभाषाका कवितालाई पनि समावेश गर्ने निर्णय एकदमै स्वागतयोग्य भए पनि यसरी मातृभाषा र राष्ट्रभाषालाई मिसाएर खिचडी पकाउनुभन्दा राष्ट्रभाषा र बहुभाषिक कविता महोत्सव छुट्टाछुट्टै गर्दा सबैभन्दा उत्तम हुन्छ ।” 

उत्कृष्ट दस कविता छान्नु नै छ भने प्रथम, द्वितीय, तृतीय छान्नमा कुनै आपत्तिजनक कुरा नहुने पनि शेरचनको धारणा छ । 

प्रज्ञाको यो निर्णयप्रति असहमति जनाए पनि पछिल्लो समय राष्ट्रिय कविता महोत्सवमा विकृति भित्रिँदै गएको भने उनले स्विकारेकी छन् । “पछिल्लो समयदेखि यो प्रतियोगितामा पनि राजनीतिक सिकार र गुटगत हस्तक्षेप भयो, निर्णायकहरूको चयनमा पनि निष्पक्ष भएन भनेर ठुलै गुनासो पोख्दै आइरहेका छन्,” उनले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेकी छन्, “त्यसमाथि प्रतियोगीहरूले पनि निर्णय हुनुअघि नै प्रथम, द्वितीय, तृतीयको स्वयं घोषणा गर्दै हिँड्ने र घोषणा भएपछि असन्तुष्टि जनाएर कोकोहोलो मच्चाउने चलन पनि उतिकै चल्दै आइरहेको छ ।” यही कारण ‘राष्ट्रिय कविता महोत्सव’ गरिमा र महिमा घट्दै गएको उनको ठहर छ ।

विगतमा उत्कृष्ट २५ कविलाई रचना वाचनको लागि छनौट गरिन्थ्यो । त्यसमा केही आमन्त्रित कविले पनि स्थान पाउँथे । पहिलो, दोस्रो तथा ३ जना तेस्रो गरी ५ जनाले पुरस्कार पाउँथे भने बाँकी २० जना कवि रित्तै हुन्थे । 

शेरचनले पुरस्कार राशि पनि कम भएको बताएकी छन् । अहिलेको महँगीको हिसाबले १५ हजारबाट बढाएर कम्तीमा पनि पचास हजार वा सोभन्दा बढी बनाउनुपर्ने धारणा उनको छ । 

प्रतियोगितामै सहभागी नहुन आग्रह

गजलकार बाबु त्रिपाठीले भने प्रतियोगितामा नै सहभागी नहुन आम साहित्यकारलाई आग्रह गरेका छन् । “यो कविता महोत्सवमा मैले चिनेका कविहरूलाई कविता नपठाउन अनुरोध छ,” उनले भनेका छन्, “पार्टीको झोले पुगेपछि यस्तै सूचना आउँछ, झोलेको सूचनालाई  कुरीकुरी ।” 

उनले प्रज्ञाको पुरस्कारको राशिलाई लिएर अझ विरोध गरेका छन् । रोल्पाले विगत चार वर्षदेखि कविता महोत्सव गर्दै आएको र त्यसको पुरस्कार राशि हेर्न प्रज्ञा नेतृत्वलाई उनले आग्रह गरेका छन् । उनले यस्तै उदाहरण गोकर्ण नगरपालिकाले स्थापना गरेको गजलको पुरस्कारको पनि दिएका छन् । 

समावेशी बनाउने प्रयास: मुकारुङ

प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभाग प्रमुखसमेत रहेका राजन मुकारुङले भने राष्ट्रिय कविता महोत्सवका लागि निकालिएको सूचनाको बेहोरा सही भएको बताएका छन् । 

rajan mukarung

“हामी आफैँले जुन नेपाली भाषामा साहित्य सिक्दै, लेख्दै आयौँ, त्यही भाषाप्रति ‘दुराशय’ राख्ने भन्ने किञ्चित हुँदैन,” उनले भनेका छन्, “समावेशी सिद्धान्तका हिसाबले अझ उन्नत बनाउन सकिन्छ कि भन्ने असल मनसाय हो, तौरतरिकाबारे आएका प्रश्नहरूमा व्यापक छलफल गरौँ ।” 

मुकारुङले नेपाली कविताबारे महोत्सवमा विमर्शका कार्यक्रमहरू हुने र त्यहीँ छलफल गरिने पनि उल्लेख गरेका छन् । उनी भन्छन्, “नेपालको संविधानअनुसार नेपालमा बोलिने सबै मातृभाषाहरू ‘राष्ट्रभाषा’ हुन्, बरु सबै मातृभाषाहरूलाई समान किसिमले  स्थान र ऊर्जा दिन सकिएको छैन, यता छलफल गरौँ ।” सबैको सायारेम (शिर) उठोस् भन्ने उनको चाहना छ । मुकारुङका अनुसार कतिपयले राम्ररी सूचना नै नपढी कविता महोत्सवको सतही विरोध गरेका छन् । 

यस्तो विरोध हुने निर्णय प्रज्ञाले किने गरेको भनी प्रश्न गर्दा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले वार्षिकोत्सवमा कविता प्रतियोगिता नगरेर कविता महोत्सवको रूपमा मनाउन यो निर्णय भएको बताए । 

“हामीले यसलाई कविता महोत्सवकै रूपमा मनाउन प्रतियोगिताको ढाँचालाई केही परिवर्तन गरेका हौँ । प्रथम, द्वितीय, तृतीय भन्ने त अरू सङ्घसंस्थाले पनि गर्छन्,” उनले भने, “प्रज्ञाले प्रतियोगिता गरेरै प्रथम, द्वितीय र तृतीय घोषणा गर्नुभन्दा महोत्सवकै रूपमा मनाऔँ भनेर हो ।” 

कविता महोत्सव सहभागितामूलक होस् भनेर नै पुरस्कार पनि १० जनालाई बाँडेर दिने निर्णय भएको उनले सुनाए । यो राष्ट्रिय महोत्सव भएकाले मातृभाषामा लेख्नेहरूलाई पनि सहभागी गराउने उद्देश्य रहेको जानकारी उनले दिए । 

हिजोको परम्परामा अभ्यस्त भएकाहरूलाई नौलो लागेको र सामाजिक सञ्जालमा आएको हुन सक्ने उनको जिकिर छ । “कतिपयले यो विकृति पनि भइरहेको थियो, यो प्रतियोगितामा निर्णयमा पनि केही विवाद भइरहेको थियो, राम्रो भयो पनि भनेका छन्,” उनले भने, “विवाद हुनुभन्दा उत्कृष्ट १० जना कविहरूलाई सम्मान र कदरपत्र दिने हो ।” 

यसमा धेरैभन्दा धेरै कविताहरू आउन्, धेरैभन्दा धेरैले सहभागिता जनाउन्, सुनाउन् भन्ने उद्देश्य प्रज्ञाको छ । प्रज्ञा प्रतिष्ठान भनेको भाषा, साहित्यमा काम गर्ने एउटा साझा संस्था भएकाले प्रतियोगिता गर्ने होइन, साहित्य सिर्जनाको माहौल सिर्जना गर्ने हो । 

बहुभाषिक बनाएर खिचडी बनाइयो भन्ने आरोपको खण्डन गर्दै सर्जकले आफ्नो मातृभाषामा अभ्यस्त भएर कविता लेख्न सक्छ । “महोत्सवमा कसैले आफ्नो भाषामा कविता लेखेर पठाउँछ भने त्यो आपत्तिको विषय नै होइन,” उनले भने, “तर यो मातृभाषाको कविता नेपालीमा पनि अनुवाद भएर आउनुपर्छ भन्ने हो ।” मातृभाषाको अनुवादले समग्रमा नेपाली कविताको नै श्रीवृद्धि हुने उनको जिकिर छ । 

यसर्थ, मातृभाषालाई पनि समावेश गर्दा कसैले आपत्ति जनाइरहनुको अर्थ नभएको र त्यसको अनुवादको व्यवस्था सूचनामा रहेको पनि उनले जिकिर गरे । प्रज्ञाले सबै मातृभाषासम्बन्धी काम गर्ने र यस कार्यले पनि भाषा सम्वर्द्धनमा योगदान दिने उनको ठहर छ । 

हरेक वर्ष फेब्रुअरी २१ मा मातृभाषा कविता महोत्सव हुन्छ तर त्यो छुट्टै हुने सदस्य सचिव सुवेदीले बताए । एक पटक यो दिवस मनाएपछि अरू दिवस मातृभाषामा मनाउनु हुन्न भन्ने सोच कसैले राख्नु नहुने उनको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप