रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार
आज २०८० वैशाख १८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा सरकारमा जाला त रास्वपा ?, सात बुँदे सहमतिपछि टुङ्गियो महावीर पुनको आन्दोलन, कोशीमा पहिचानको आन्दोलन गर्दै आएको दल विभाजित, जित उन्मुख नेपाललाई वर्षा बन्यो बाधक, पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरुद्ध, एमाले सांसद कोइरी फरार रहेको पत्र संसद सचिवालयमा लगायत छन् ।
१. सरकारमा जाला त रास्वपा ?
राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई संसदीय दलको नेता चयन गरेको छ । सरकारमा सामेल हुने कि नहुने भन्ने विषयमा प्रस्ट निर्णय लिने तयारी भइरहेको अवस्थामा लामिछाने संसदीय दलको नेता चयन भएका छन् । उनलाई आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सामेल हुन आग्रह गरेका थिए । सोमबार सो पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बसेपछि सरकारमा जाने सवालमा प्रस्ट निर्णय गरेको छैन ।
२. सात बुँदे सहमतिपछि टुङ्गियो महावीर पुनको आन्दोलन
सरकारसँग सात बुँदे सहमति भएपछि सोमबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आन्दोलनका कार्यक्रम अन्त्य गरेका छन् । उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनबीच सोमबार सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
३. कोशीमा पहिचानको आन्दोलन गर्दै आएको दल विभाजित
कोशी प्रदेशमा पहिचानको पक्षमा आन्दोलन चलिरहेको बेला त्यही आन्दोलनको नेतृत्व गरिरहेको एउटा दल भने विभाजित भएको छ । कोशी प्रदेशमा लिम्बुवान राज्य माग गर्दै जन्मिएको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजित बनेको हो । उक्त पार्टीको नेतृत्व कुमार लिङ्देनले गर्दै आएका थिए । लिङ्देनलाई कारबाही गरेको घोषणा गर्दै सो पार्टीका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङको नेतृत्व नागरिक उन्मुक्तिमा मिलेको घोषणा गरिएको हो ।
४. जित उन्मुख नेपाललाई वर्षा बन्यो बाधक
एसीसी प्रिमियर कप क्रिकेटमा उपाधि जित्ने होडमा रहेको नेपाललाई सोमबार वर्षा मुख्य बाधक बन्यो । उपाधिका लागि युएईसँग भिड्दै गरेको नेपालले पहिला फिल्डिङ गर्दै युएईलाई २७.३ ओभरमा ९ विकेट लिएर १०६ रनमा सीमित राखेको अवस्थामा वर्षाले खेल हुन नसकेको हो । सोमबार स्थगित भएको खेलले मंगलबार निरन्तरता पाउने भएको छ ।
५. पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरुद्ध
धादिङको धार्केमा पक्की पुलमा भ्वाङ पर्दा भासिँदा पृथ्वी राजमार्गमा आवागमन ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अपराह्न ४ बजेदेखि पृथ्वी राजमार्गको धार्केमा आवागमन ठप्प भएको हो ।
६. बहिर्गमित लडाकुलाई पैसा दिने निर्णय सर्वोच्चको फैसला अनुसार : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका तत्कालीन बहिर्गमित लडाकुलाई राहतस्वरुप रकम दिने निर्णय सर्वोच्च अदालतको आदेश अनुसार भएको र यसअघि कै सरकारले त्यसबारे निर्णय गरेको बताएका छन् । सोमबार आयोजित एक कार्यक्रममा उनले सर्वोच्चको फैसलालाई आफूले कार्यान्वयन गर्दा ‘स्याल हुइयाँ’ मच्चाइएको बताए ।
७. एमाले सांसद कोइरी फरार रहेको पत्र संसद सचिवालयमा
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई नेपाल प्रहरीले एमाले सांसद लक्ष्मी महतो कोइरी फरार अवस्थामा रहेको जानकारी गराउँदै दोस्रो पत्र पठाएको छ । हत्या अभियोग लागेका सांसद कोइरी हाल फरार रहेको र निजको खोजी भइरहेकोबारे सभामुखलाई आइतबार दोस्रो पत्र पठाइएको प्रहरी प्रवक्ता डीआइजी कुवेर कडायतले जानकारी दिए ।
८. कमिशनका लागि ठुला उद्योग बेचे : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासीन पार्टीका नेताहरूले हिजो कमिसनका लागि देशका ठुलठुला उद्योगहरू बेचेर खाएको आरोप लगाए । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पनि त्यो क्रम नरोकिएको बताए ।
९. निरा हत्या प्रकरण सुल्झाएका १८ प्रहरी एकसाथ पुरस्कृत
निरा पाण्डे आचार्यको हत्यामा संलग्नको खोजी र अनुसन्धानमा अहोरात्र खटी सफलता दिलाएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफ्ना १८ जना प्रहरी अधिकृत तथा कर्मचारीलाई सम्मान गरेको छ । अनुसन्धानमा दत्तचित्त भई लामो समयसम्म खटिएका डीएसपीहरु अनिल कुमार घिमिरे, सत्यनारायण थापा र किरण न्यौपाने, इन्सपेक्टर निर्मल थापा लगायतका १८ जना प्रहरी कर्मचारीलाई रेकर्डमा जनिने गरी आइतबार सम्मान गरिएको कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले बताए ।
१०. जनसंघर्षको नेतृत्व गर्न तयार : किरण
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ले आफ्नो पार्टी राष्ट्रियता, प्रजातन्त्र, जनतन्त्र र जनजीविकाका समस्याको अन्तिम समाधानका लागि जनसंघर्षको नेतृत्व गर्न प्रतिबद्ध रहेको बताएका छन् । मजदुर दिवसकै अवसर पारेर सोमबार विज्ञप्ति जारी गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का बीच एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गठन भएको जनाएका छन् ।