मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
राजनीति

सर्वोच्चको फैसला कार्यान्वयन गर्दा स्याल हुइँया मच्चाइयो : प्रधानमन्त्री

सोमबार, १८ वैशाख २०८०, १५ : २७
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका राम्रा कामको प्रहार भइरहेको भन्दै सडकबाट गर्जिन आवश्यक रहेको बताएका छन् । 

अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अदालतको आदेश कार्यान्वयन गर्दा समेत स्याल हुइया मच्चाइएर परिवर्तनका लागि त्याग र बलिदान गर्नेहरुविरुद्ध षडयन्त्र भइरहेको बताए । 

‘हामीले गर्न खोजेका प्रत्येक सकारात्मक पहल र निर्णयका विरुद्ध प्रहार भइरहेको छ । तपाईँहरूले हेरिराख्नुभएको छ । चाहे हिजो क्रान्तिमा लागेका महान् सहिदहरूलाई सहिदको रूपमा सम्मान गरिनुपर्छ, चाहे त्यो जनयुद्धका हुन् या जनआन्दोलनका । राष्ट्र र परिवर्तनका लागि लडेका र प्राण उत्सर्ग गरेका सबै सहिद हुनुपर्छ भन्दा प्रहार भयो, भइराखेको छ, तपाईँहरूले हेरिराख्नुभएको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

प्रधानमन्त्री प्रचण्डले स्याल हुइया सहन नसकिने भन्दै मुलुकका लागि त्याग र बलिदान गर्नेहरूको सम्मान गर्नबाट पछि नहट्ने समेत बताए । 

‘हिजो युद्धमा त्याग र बलिदान गरेका सबै योद्धाहरूलाई सम्मानित गर्नुपर्छ । त्यसमाथि पनि मैले प्रधानमन्त्रीका रूपमा आविष्कारबाट गरेको निर्णय होइन’, अनमिनले अयोग्य लडाकुलाई २ लाख दिने निर्णयप्रति भइरहेको विरोधतर्फ संकेत गर्दै प्रचण्डले भने, ‘हिजो अर्कै सरकारले निर्णय गरेको परिस्थितिमा र देशको सर्वोच्च अदालतले ती बहिर्गमितलाई दुई लाख दिनु भनेर फैसला गरेपछि मैले त्यही फैसला कार्यान्वयन गर्दा अहिले कस्तो स्याल हुइया मच्चाउन खोजिएको छ ।’ 

उनले अव माओवादी नजाग्ने र नगर्जिने हो भने नकारात्मक वातावरण बनाएर सम्पूर्ण सहिदका त्याग र बलिदानलाई उल्ट्याउने षड्यन्त्र हुनसक्ने बताए । 

प्रधानमन्त्री प्रचण्डले केही जटिलताका बीचबाट सरकार अघि बढिरहेको भन्दै सामाजिक न्याय, सुशासन र सम्मृद्धिलाई केन्द्रीत गरेर काम गर्ने घोषणा गरेको पनि बताए । उनले अहिले सबभन्दा भ्रष्टहरू नै भ्रष्टाचारको विरोधमा बोलिरहेको भन्दै त्यो देख्दा आफूलाई अचम्म लागेको बताए । 

‘अहिले म के देख्छु भने सबैभन्दा भ्रष्ट तत्त्वहरू भ्रष्टाचारका विरुद्ध बोलेको देख्दा अनौठो लाग्छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले एउटा आयोग बनाएर २०४८ सालपछिका भ्रष्टाचार छानबिनको प्रक्रियामा जाने दाबी समेत गरे । उनले आफूले सुशासनको कुरा गर्दा इतिहासको कुडाकर्कटमा मिल्काइएका सामन्ताका छाउराहरु सलबलाउन थालेको बताए । ‘इतिहासले नेपाली जनताले कुडाकर्कट फोहोर फाल्ने ठाउँमा फालिसकेकाहरू पनि उठेर अझ पूर्वबाट रे, मेचीबाट । मैले त्यसको जवाफ फागुन १ गते बिदा दिएर दिएँ’, प्रचण्डको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप