राष्ट्रपति सीलाई नेपालप्रति स्नेही र सकारात्मक पाएँ : राजदूत श्रेष्ठ
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले राजदूत भएर आएको आठ महिनापछि सोमबार ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राजदूत श्रेष्ठ चीन आएयता दूतावासबाट हुने नियमित कामका अतिरिक्त परराष्ट्र सचिवले समेत चीन भ्रमण गरिसकेका छन् । परराष्ट्र सचिवको चीन भ्रमणका क्रममा दुई देशबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो ।
चीनले विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीपछि दुई देशबीचको सिमा नाकाहरु बन्द गरेको थियो । चीनले अहिले त्यो खुला गरेपछि आवतजावत केही सहज भएको छ । केही दिनअघि पर्यटन प्रबद्र्धनका लागि नेपालबाट ३४ जनाको ‘नेपाल मिसन टोली’ ले चीनको तीनवटा शहर छेन्दु, खुमनिङ र बेइजिङको यात्रा पनि गरेको थियो । पछिल्लो समय नेपाली विद्यार्थीहरु समेत अध्ययनका लागि चीन आउन थालेको छन् । चिनियाँहरु पनि नेपाल जान थालेको छन् । ओहदाको प्रमाणपत्र प्राप्त गरेपछि राजदूत श्रेष्ठसँग रातोपाटीका तर्फबट चीन संवाददाता भरत शर्माले केही लिखित प्रश्न राखेका थिए । श्रेष्ठले दिनुभएको लिखित जवाफको सम्पादीत अंश :
तपाईं चीनमा राजदूतको जिम्मेवारी समाल्न आउनुभएको आठ महिला बितेको छ । आठ महिनापछि ओहदाको प्रमाणपत्र पनि बुझाइसक्नु भएको छ । चीनका राष्ट्रपति सीसँगको भेटमा उहाँको नेपालप्रतिको धारणा कस्तो पाउनु भयो ?
हो, म चीन आएको आठ महिनापछि ओहदाको प्रमाणपत्र बुझाएँ । कोभीड महामारीका कारण ओहदाको प्रमाणपत्र बुझाउने कार्यक्रममा ढिलाई भएको थियो । कतिपय राष्ट्रका राजदूतहरुलाई त दुई÷तीन वर्षपछि मात्र यो अवसर जुरेको छ । यद्दपि, बेइजिङ आगमनपछि परराष्ट्र मन्त्रालयको प्रोटोकल विभागमा ओहदाको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्छ । त्यसपछि मात्र राजदूतको रुपमा पूर्णाधिकारसहित आफ्ना कामहरु सूचारु गर्न सकिन्छ र मैले पनि सोही अनुरुप नै गरेको हुँ । राष्ट्रपति सीसँगको भेटमा मैले उहाँ नेपालप्रति स्नेही र सकारात्मक रहेको पाएँ । उहाँ नेपालको विकास र राष्ट्रिय हितप्रति सहानुभूति राख्नुहुन्छ । हिमालर नदीनालाले जोडिएको हाम्रो सम्बन्ध हिमाल र नदीनाला जत्तिकै अटल, अविच्छिन्न र उँचो रहनेछ भन्ने कुरामा उहाँ दृढ रहेको पाएँ ।
केही समयअघि नेपालबाट पराराष्ट्र सचिव चीन भ्रमणका आउनु भएको थियो । यहाँका विदेश सहायकमन्त्री र पराराष्ट्रका अधिकारीहरुसँग छलफल भएको थियो । त्यसबेला भएका छलफलका खास विषयहरु के थिए ?
परराष्ट्र सचिवज्यू नेपाल र चीनबीचको १५औं द्विपक्षीय कूटनैतिक संयन्त्रको बैठकको लागि चीन आउनु भएको थियो । हाम्रा अग्रजहरुको बुद्धिमता र विवेकपूर्ण सुझबुझका कारण अन्तर्राष्ट्रिय सम्बन्धको विशाल मञ्चमा दुई पृथक अस्तित्व बोकेका मुलुक सदीयौंदेखि आजसम्म पनि कुनै विकराल द्वन्द्वविना शान्तिपूर्ण सहअस्तित्वमा आधारित सौहार्दपूर्ण सम्बन्ध निभाइरहेका छन् । दुवै मुलुक एकअर्काका राष्ट्रिय हितका संवेदनशील पक्षहरुप्रति सचेत र सजग छन् । अन्तर्राष्ट्रिय सम्बन्धमा दुई ठूला र साना राष्ट्रबीचको सम्बन्धको उदाहरणका रुपमा नेपाल—चीन सम्बन्धलाई लिन सकिन्छ भनेर त हामीले भन्दै नै आएका छौं । दुईपक्षीय बैठकमा यिनै पृष्ठभूमिलाई आजको पुस्ताले पनि आत्मसात् गर्दै सन्तुलित तवरले दिशानिर्देश गर्नुपर्ने कुरामा दुवै पक्षले जोड दिए ।
खास विषयहरुकै बारेमा भन्नुपर्दा,बैठकमा द्विपक्षीय सम्बन्धका राजनीतिक,आर्थिक,सामाजिक एवं सांस्कृतिक आयामहरुमाथि छलफल भएका थिए । दुई मुलुकबीच उच्चस्तरीय भ्रमण बढाउनुपर्ने, आर्थिक सहयोग विस्तार गर्नुपर्ने तथा दुई मुलुकबीच व्यापार, लगानी र पर्यटनको क्षेत्रमा थप पहल गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । यसैगरी शिक्षा र संस्कृतिको क्षेत्रमा पनि सहयोग आदानप्रदान एवं जनस्तरमा सम्बन्ध विस्तारका लागि आपसी सहयोग थप घनिभूत हुनुपर्ने कुरा नै बैठकका प्रमुख एजेण्डा थिए ।
चीनको सहयोगमा भइरहेका पूर्वाधार निर्माणका परियोजना र तिनको कार्यान्वयनमा शीघ्रता ल्याउनुपर्ने कुरामा जोड दिइएको थियो । चिया,कफी, हर्बल उत्पादन, पकाएको राँगाको मासु चीन निर्यातको सम्बन्धमा प्रिफरेन्सियल ट्रिटमेन्टका लागि नेपाली पक्षले अनुरोध गरेको थियो । यसका अतिरिक्त चीनमा नेपाली विद्यार्थीहरुको लागि छात्रवृत्ति संख्या बढाउँदै लाने र नेपाली प्राविधिकरुको क्षमता अभिवृद्धिका लागि तालीम आदिको व्यवस्थाको सम्बन्धमा पनि नेपाली पक्षले अनुरोध गरेको थियो । संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय बहुपक्षीय फोरमहरुमा एकअर्काको राष्ट्रिय हितसँग जोडिएका सवालहरुमा हातेमालो गर्दै अघि बढ्नुपर्ने विषयमा दुवै पक्ष सहमत भएका थिए ।
महामारीपछि नेपाल—चीनबीचका राजनीतिक तहमा हुने भ्रमण र सहयोग आदानप्रदानको विषयमा के हुँदैछ ?
कोरोना महामारीपछि सर्वप्रथम तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काज्यू गत अगस्टमा चीनका तत्कालीन स्टेट काउन्सेलर र परराष्ट्रमन्त्री श्री वाङ यीको निमन्त्रणामा छिङ्ग्ताओ आउनुभएको थियो । त्यसअघि २०२२ को मार्चमा चीनका स्टेट काउन्सलर र परराष्ट्रमन्त्री श्री वाङ्ग यीको नेपाल भ्रमण भएको थियो । यसैगरी, अब सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालज्यूको चीन भ्रमणको तयारी पनि हुँदैछ । कोभीड–१९ महामारीका कारण स्थगित भएका उच्चस्तरीय भ्रमणले अब विस्तारै गति लिनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन यात्राको तयारीको विषयमा कस्तो छलफल चल्दैछ ? उहाँलाई बोआओ सम्मेलनमा चीनबाट निमन्त्रणा गरिएको थियो, होइन त ?
प्रधानमन्त्रीज्यूको चीन भ्रमण अहिले छलफलकै चरणमा छ । हो, बोआओ सम्मेलनमा चीनबाट उहाँलाई भ्रमणका लागि निमन्त्रणा गरिएको थियो । चीनबाट अन्य धरै देशका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई पनि निमन्त्रणा गरिएको थियो । नेपालको आन्तरिक तयारी पूरा हुनासाथ प्रधानमन्त्रीज्यू चीन भ्रमणमा आउनुहुनेछ भन्ने विश्वास छ ।
चिनियाँ राष्ट्रपति सीले विश्वसँग सहकार्य गर्न अगाडि सारेको ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीजीआई) ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसियटिभ (जीसीआई) परियोजनाको विषयमा कस्तो छलफल हुँदैछ ?
अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्त र व्यहार दुवैमा विश्वैले निकै ठूलो फड्को मारिसकेको छ । विश्वव्यापीकरणले ल्याएको भौगोलिक निकटता एवं आर्थिक, प्राविधिकलगायत बहुआयामिक अन्तरनिर्भरताका कारण पनि आजको विश्वमा शान्तिपूर्ण सहअस्तित्वको कुनै विकल्प छैन । आपसी सहकार्य र सहयोग नै राष्ट्रिय स्वार्थ प्राप्ति र अभिवृद्धिको कारक तत्व पनि हो । नेपालजस्तो देशका लागि स्वतन्त्र अस्तित्व, सुरक्षा र विकास नै राष्ट्रिय स्वार्थका तत्वहरु हुन् । नेपालको इतिहासमा नेपालको स्वतन्त्र अस्तित्व रक्षाका लागि कोसेढुँगा सावित भएको असंलग्न परराष्ट्र नीति शक्तिमान राष्ट्रहरुबीच द्वन्द्व बढ्दै गएको परिप्रेक्षमा अझै बढी सान्दर्भिक बनेको प्रतीत हुन्छ । नेपालको विकासका लागि विशेषतः संयुक्त राष्ट्र संघीय लक्ष्यहरु (एसडीजी) हासिल गर्ने कुरामा ग्लोबल डेभलपमेन्ट इनिटियटिभ सहयोगी बन्नेछ भन्ने विश्वास लिएको छु । सभ्यताहरुबीचको संवादको रुपमा अघि सारिएको ग्लोबल सिभिलाइजेसन इनिसियटिभ स्वागतयोग्य छ ।
चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (विआरआई) परियोजनामा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको थियो । तर, नेपालमा परियोजनाका काम निकै सुस्त देखिन्छ । परियोजना कसरी अगाडि बढ्ला यसबारे केही तथ्यगत जानकारी पाइन्छ कि ?
नेपालले सन् २०१७ मा बेल्ट एण्ड रोड इनिएटिभ (बीआरआई) मा हस्ताक्षर गरेको हो । बीआरआईअन्तर्गतको फ्ल्यागसिप प्रोजेक्ट ट्रान्स हिमालयन मल्टी डिमेन्सनर कनेक्टिभिटि नेटवर्क नै हो । चीनका तत्कालीन स्टेट काउन्सलर एवं परराष्ट्रमन्त्री श्री वाङ्ग यीको नेपाल भ्रमणका समयमा पनि रेलवेको फिजिबिलिटि स्टडि र पावर ग्रिड कनेक्सनका विषयमा सहमति भएको थियो । सन् २०१८ मा प्रिफिजिबिलिटि स्टडि सम्पन्न भएको थियो । फिजिबिलिटि स्टडिको काम शुरु भएको छ । कोभीड महामारीले विश्व नै हल्लिएको समयमा धेरै कामहरु स्वभाविक रुपमा स्थगित हुन पुगे । आर्थिक पक्षसँग जोडिएका केही पक्षहरु पनि छन् । संक्षिप्तमा भन्नुपर्दा बीआरआईको कार्यान्वयन पक्षमा दुवै देशका सम्बन्धित निकायहरु सक्रियतापूर्वक लागिरहेका छन् ।
महामारीपछि चीनबाट नेपालमा पर्यटन प्रबद्र्धनका लागि नेपाल मिसन कार्यक्रम चलाइएको छ ? दूतावास र ग्वाजोउ, छेन्दु र ल्हासामा रहेका हाम्रा तीनवटा महाबाणिज्य दूतावासबाट के कस्ता पहल भएका छन् ?
चीनको जनसंख्याको हिसाबले र साथै, गरिबी निवारणसँगै चीनियाँ जनताको जीवनस्तर पनि उकालो लागेको हुँदा चीनियाँ पर्यटकको सम्भावना विश्वबजारमै प्रचुर छ । सन् २००० मा चीनियाँ पर्यटकहरुको संख्या जम्मा १०.५मिलियन(कूल संख्यामा १.५प्रतिशत)थियो भने सन् २०१९ मा आउँदा सो संख्या बढेर १५० मिलियन पुगेको छ । सन् २०१९ मा २ लाख चीनियाँ पर्यटक नेपाल भित्रिएका थिए । बीचमा कोरोना महामारीका कारण सो संख्या घटेर सन् २०२१ मा ६, हजार १ सय ९६ पुगेको थियो । अहिले अवस्था सामान्य भइसकेको हुँदा सो संख्यालाई पुनः ब्युँताउन दूतावास र चीनमा रहेका नेपाली वाणिज्यदूतावासहरु प्रतिबद्ध छन् ।
सर्वप्रथम त पर्यटन प्रवर्द्धन दूतावासको प्राथमिकतामा छ । हामीले वार्षिक क्यालेण्डर नै बनाएर दूतावासकै पहल र नेतृत्वमा नियमितरुपमा जानकारीमूलक प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं । उदाहरणको रुपमा, हामीले नेपालको पर्वतारोहण क्षेत्रमा विद्यमान अवसरहरुको जनकारी प्रवाह गर्ने हेतुले Mountaineering Association of Nepal, Nepalese Tour Operators Association लगायत नेपाली निकायलाई Chinese Mountaineering Association सँग सहकार्य गर्नका लागि समन्वय गर्दै बेइजिङस्थित राजदूतावासमा Mountaineering and Trekking in Nepal कार्यक्रम आयोजना गर्यौं । सो कार्यक्रममा नेपालको तर्फबाट सगरमाथा आरोहण गर्न सफल ३१ चीनियाँ आरोहीहरुलाई प्रशंशापत्र पनि प्रदान गरेका थियौं । समयसमयमा नेपाली कला र संस्कृति उजागर गर्दै प्रदर्शनी र फोटो प्रदर्शनी पनि आयोजना गर्दै आएका छौं । शांघाइ, हान्चौ, ईयू, स्यामनलगायत करीब २५ शहरमा प्रत्येक वर्ष आयोजना हुनेShanghai China International Import and Export (CIEE), Yiwu Import Fair , Xiamen Fair, Lanzhou Fair , Qinghai Fair, Tibet Fair जस्ता मेलाहरुमा नेपालको अस्थायी National Pavilion राख्ने गरिएको छ । उक्त पेभिलियनहरुमा नेपालको कला, संस्कृति, वास्तु इत्यादि प्रतिबिम्बित हुने विविध सामाग्रीहरु पदर्शितहुन्छन् । चीनको सान्यामा नेपालको स्थायी National Pavilion रहेको छ । नेपाल र चीनका शहरहरुबीच उडान सेवा थप गर्ने कुरा पनि छ ।
सिचुवान युनान र तिब्बत नेपालसँग भौगोलिक रुपमा र कतिपय हिसाबले सांस्कृतिक रुपमा पनि निकट प्रान्तहरु हुन् । ती प्रान्त र नेपालका शहरहरुबीच भगिनी सम्बन्ध स्थापनाको क्रम बढ्दैछ जसले जनस्तरमा सम्बन्ध विस्तार गर्न सक्छ । पर्यटनका साथै सांस्कृतिक प्रवर्द्धनमा पनि टेवा पुर्याउन सक्छ भन्ने लाग्छ । यसको प्रभाव देखिन भने समय लाग्छ । तर, आजको समयमा जसरी हुन्छ कनेक्टिभिटी बढाउनुको कुनै विकल्प छैन । यसदेखि वाहेक गर्न सकिने केही कामहरुमा मकाओमा बुद्ध धर्मप्रति आस्था राख्ने व्यक्तिहरु धेरै भएकोले सोही कुरालाई नेपाल र मकाओबीच सम्बन्ध स्थापना गर्ने सेतुका रुपमा प्रयोग गर्न सकिने देखेको छु । एयर मकाओले मकाओ र नेपालबीच सीधा उडान गर्न इच्छा प्रकट गरेको छ । साथै, पर्यटन प्रवर्द्धनका लागि सर्भिस व्यापारको क्षेत्रमा पनि लगानी र व्यापार प्रवर्द्धन अपरिहार्य रहेको छ ।
चीनबाट त नेपालमा निर्यात हुने सामान धेरै छन तर, नेपालबाट चीन आयात हुने सामानहरु के के हुन सक्छ भनेर चीनमा रहेका बाणिज्यदूतबासहरुले के कस्ता पहल गरेका छन् ?
नेपालबाट निर्यात हुन सक्ने सामानहरुमा नेपाली चिया, हर्बल उत्पादन, हस्तकला, कार्पेट आदि नै हुन् । साइट्रस फलफूल निर्यातका लागि पनि प्रोटोकोलमा हस्ताक्षर भइसकेको छ र धेरै काम सकिसकेको पनि छ । पकाएको राँगाको मासु निर्यातका लागि पनि दूतावासले निरन्तर पहल गरिरहेको छ । चीनको सम्बन्धित निकाय जीएसीसीसँग हामी निरन्तर समन्वयमा छौं । निर्यात प्रवर्द्धनसँग सम्बन्धित चीनका विभिन्न प्रान्त र शहरहरुमा हुने एक्स्पोहरु जस्तै क्यान्टोन फेयर, सांघाइ एक्स्पो, सिआइइ, छिङ्ग्ताओ एक्स्पो नानछाङ्ग सिल्क एक्स्पो आदि फेयरहरुमा नेपाली उद्यमी व्यापारीहरुको उल्लेख्य सहभागिता हुने गरेको छ । त्यसका लागि राजदूतावास र वाणिज्यदूतावासहरुले समन्वयात्मक भूमिका निर्वाह गरिआएका छन् ।
चीन नेपालको दोस्रो ठूलो ट्रेडिङ्ग पार्टनर हो । कोभीड महामारीअघि नेपालको कूल अन्तर्राष्ट्रिय व्यापारको करीब १४ प्रतिशत हारहारिमा व्यापार चीनसँग हुन्थ्यो । कोभीड–१९ पश्चात् नेपाल र चीनबीचका नाकाहरु खुलिसेकेका हुँदा अब पहिलाकै अवस्थामा फर्किएला । मूलतः व्यापार बजारसँग सम्बन्धित पक्ष भएको र बजारमा आधारित अर्थतन्त्रमा राज्यकै तर्फबाट व्यापार प्रर्वद्धनका लागि हस्तक्षेपकारी भूमिका जति निर्वाह गर्न सकिन्छ, त्यसको उच्च्तम सदुपयोग गर्न हामी सधैं तत्पर छौं । विशेषगरी, चीनियाँ सरकारी निकायसँग आवश्यक समन्वय गर्ने र नेपाली वस्तुहरुको जानकारी प्रदान गर्ने दिशामा हामी केन्द्रित छौं ।
अन्तमा तपाईंको चीन बसाईको अनुभव र चीनको विकासबारे तपाईंको व्यक्तिगत अनुभव केही छन् कि ?
चीनको विकास अभूतपूर्व र ऐतिहासिक नै हो भन्ने कुरा त सर्वमान्य रुपमा नै स्थापित भइसकेको छ । अध्यक्ष माओले राजनीतिक स्थायीत्वको जग हाले भने तङ्ग सियापिङ्गले आर्थिक विकासको । सन् ९० को दशकतिर सुत्रपात भएको भौतिक विकास विगत २०–३० वर्षमा त विशाल फड्को नै मारिसकेको छ । विकासका क्षेत्रहरु विशेष गरी गरिबी निवारण,भौतिक पूर्वाधार र विज्ञान प्रविधिमा चीनले हासिल गरेको विकास संसारका धेरै विकासोन्मुख र विकसित देशहरुका लागि समेत एउटा दृश्टान्त हो भन्ने लाग्छ । विशेषतः विकासका लागि राज्य बलियो हुनैपर्ने रहेछ भन्ने लाग्छ । शाषन प्रणाली आ–आफ्नो इतिहास, समाज, भूगोल,राष्ट्रियसंवेदना सापेक्ष होलान् र हुनु पनि पर्छ ।
तथापि लोकतन्त्रभित्र पनि राज्य संयन्त्र बलियो हुन र जनताको विश्वास जित्न सक्ने भएन भने विकास सम्भव छैन । समाज सचेतकका रुपमा रहन सक्छ । नीजि क्षेत्र उद्यमशीलता र परिवर्तनको संवाहकको रुपमा तर यी दुवैका लागि सुरक्षित कानूनी र संस्थागत वातावरण सिर्जना गर्ने दायीत्व राज्यकै हो । साथै, राज्य भनेको भौगोलिक सीमा र नागरिकता मात्रै होइन । कला, धरोधर, इतिहास, भाषा सबैमा राज्यको निजत्व र पहिचान मुखरित भएका हुन्छन् । सही अर्थमा राज्य समृद्ध हुन यी सबै पक्षको संरक्षण, सम्बद्र्धन र प्रवर्द्धन हुनुपर्छ । चीन आफैमा पाँच हजार वर्ष पुरानो र अविच्छिन्न सभ्यता बोकेको मुलुक हो । सभ्यता र इतिहासप्रतिको आदरभाव यहाँ हरेक प्रान्त र शहर घुम्दा स्पष्ट आभाष हुन्छ ।
उसो त घुम्दै जाने र अध्ययन गर्दै जाने हो भने हरेक स्थान आफैमा ज्वलन्त इतिहास हुन्छन् । हरेक स्थानमा आफ्नै प्रकारका मौलिकता र दर्शन गाँसिएका हुन्छन् । स्थान विशेषको महत्त्वलाई कुनै देशको राजदूत वा नागरिक भन्दा पनि विश्व नागरिकको हैसियतमा मानव सभ्यताकै धरोहरको रुपमा लिनुपर्छ र एकले अर्कोबाट प्रेरणा लिँदै अगाडि बढ्नुपर्छ जस्तो लाग्छ । नेपाल र चीनबीचको समधुर सम्बन्धलाई अझ गाढा र उचो बनाउन निरन्तर कूटनीतिक पहल गर्नु तथा चीनको विकास,ज्ञान र प्रविधिलाई नेपालको विकासको लागि हस्तान्तरण गर्न र नेपालको पहिचान सकेसम्म व्यापक रुपमा र सही रुपमा विस्तार गर्न पहल गर्नु वर्तमानको आवश्यकता हो । म त्यसैमा सक्रियतापूर्वक क्रियाशील छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे