शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

कार्यकर्तालाई नसम्झौँ रैती

सोमबार, १८ वैशाख २०८०, १२ : १३
सोमबार, १८ वैशाख २०८०

हालै सम्पन्न उपनिर्वाचनको तरङ्ग अहिले पनि कायमै छ । काँग्रेस महामन्त्री गगन थापाले चितवनको उपनिर्वाचनमा भाषण गर्ने क्रममा भगवान्को नाम जोडेर भनेका थिए, बाहिर रुख–रुख भन्दै कुद्ने तर भित्र घण्टीलाई मत हाल्ने हो भने माथि हरिले देख्छन्, हरिले हिसाब किताब गर्छन्। 
गगन मात्र हैन, हरेक मूलधारका पार्टीका नेताहरूले यसरी नै वैयक्तिक स्वतन्त्रताको मताधिकारमाथि आफ्ना कार्यकर्तालाई प्रशिक्षणको नाममा धम्कीपूर्ण भाषा बोल्छन् । मानौँ कार्यकर्ता वा जनता उनीहरूका दास हुन् । यी कार्यकर्ता भनेका क्यारम बोर्डका गोटी सरह हुन् भन्ठानेर अनुशासनको डन्डा चलाउँछन् । 

तर अबको पुस्ता धेरै विवेकी भैसकेको पत्तो पाउँदैनन् । जेल जीवन बिताएको, फलानो आन्दोलनमा अग्र–पङ्क्तिमा उभिएको, यति वर्ष पार्टीलाई सहयोग गरेको, फलानो शीर्ष नेतासँग चिनजान भएको कारणले भित्र्याउने टिकटले मात्रै अब चुनाव जितिँदैन ।

४० को दशकपछि जन्मेको पीढी नेपाल बस्नै खोज्दैन । नेपाल बसेकाहरु भिसा नलागेर मात्र बाध्यताले बस्ने कयौँ छन् । भिसा नलागेकोमा उनीहरू लज्जित महसुस गर्छन् । 

सत्ताका लागि गठबन्धनको नाममा सिद्धान्त, नीति, विचार, चुनावी प्रतिबद्धता सबै बिर्सेर चुनाव जितेको भोलिपल्ट नयाँ समीकरण बनाउनेबाट जनता आजित भइसके । आफ्ना मतदाताको मतको पूर्ण नजरअन्दाज गरी जो सुकैसँग पनि फगत सत्ता स्वार्थको निमित्त  मिलिहाल्ने  प्रवृत्ति नै नेपाली राजनीतिको मूल समस्या देखिन थालेको छ । 

अरू त कुरा छाडौँ, यो देशमा कर तिर्नसमेत सजिलै पाइँदैन । राज्यलाई बुझाउने राजस्व तिर्दासमेत सर्वसाधारणले दुःख पाउँछ । पञ्चायतकाल देखिकै उस्तै मनोविज्ञान बोकेको कर्मचारी संयन्त्र छ । राज्यले दिने  डेलिभरी सिस्टम  शून्य छ । अड्डा अदालतदेखि  जिल्ला प्रशासन, मालपोत कार्यालय, कम्पनी रजिष्ट्रार कार्यालय  लगायतका सेवाग्राहीको भीड हुने कार्यालयमा बिचौलियाको बिगबिगी छ । बिचौलियालाई नखुवाए कामै नहुने दुर्दशा छ ।

लोकतन्त्रको आगमनपश्चात् अनेकौँ आश गरेका जनतामाझ १५औँ वर्ष बितिसक्दा पनि ताल उही छ । अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ । निर्यात भन्दा आयातले सीमा नाघेको छ । कृषिजन्य खाद्यान्नमा समेत परनिर्भर हुनु परेको छ । यो राज्यले स्वदेशी तरकारीले बजार नपाउँदा आयातित विषादीयुक्त तरकारीलाई नापजाँच गर्न दिदैंन । 

उता, संघीयताको प्रदेश संरचनाको दैनिक प्रशासनिक खर्च धान्नसमेत राज्यले ऋण लिनुपरेको छ । जनताको जीवनस्तरमा परिवर्तन नदेखिँदा मेरो देश अहिले नेताहरूको समूह, बिचौलिया, सरकारी कर्मचारी र भिसा नलागेर रन्थनिएको युवा अनि वृद्ध आमाबुबाहरूको मात्र स्थायी वासस्थान हुँदै गएको छ । 
सामान्य जीवनयापन गरेर खान्छु भन्नेले सूर्यमुखी तेलमा पकाएको भान्सा तयार गर्न गाह्रो भैसकेको छ । बैंकमा पैसा छैन । होटल व्यवसायी दिनभर ग्राहक कुरेर बसेका भेटिन्छन् । श्रमजीवी जनताको जीवनस्तर झनै खस्किँदो छ । यसरी जनता लखतरान पर्दा युरोप, अमेरिका बुझेको युवा पुस्तालाई छटपटी छ ।

मान्छेलाई जब आफ्नो राज्यप्रति, यसका चालकप्रति आश गराउनु पर्नेमा राज्यका चालकले झन् उल्टो आफ्नो शास्त्रीय एकोहोरोपन रटाएपछि यसको विस्फोट हुनु स्वाभाविक हो । देश भनेको ढुङ्गा माटो मात्र हैन, यहाँ त तरुण मान्छे पनि हुनुपर्छ । तर बिस्तारै देश युरोप–अमेरिका पुग्न नसकेका युवा, सरकारी कर्मचारी र केवल वृद्धहरूको डम्पिङ साइट मात्र बन्दैछ । 

युवा तन्नेरीहरू नै यो देश बस्न लाज मान्ने स्थिति भएपछि यहाँ शासन कसको लागि गर्ने ? लोकतान्त्रिक लोक कल्याणकारी राज्य यस्तो हुन्छ ? अहिलेको समस्या भनेकै सेवा प्रवाह, शिक्षा, स्वास्थ्य र लोकतान्त्रिक पद्धति स्थापना आदिमा छ । यो बाहेक शास्त्रीय रटानले जनताको मन छुन्न। अहिलेको पुस्ता विगत हेर्दैन । विगतका राजनीतिक घटनामा फलानोले गरेको त्याग भनेर दिने मतलाई प्रयोग गर्दैन । हेर्छ त केवल भविष्य, उसको चारित्रिक र शैक्षिक विवरण, योग्यता । 

यसो भनिरहँदा मुख्य पार्टीका दोस्रो तहका नेताहरू पनि छन् । बेला मौकामा क्रान्तिकारी कुराहरू पनि खोक्छन् । तर यी पार्टीका पहिलो पुस्ताले नै आफूलाई अनुकूल हुने पार्टी निर्माण गरेका छन् । र, दोस्रो पुस्ताका नेताहरूमा आफूलाई लाभ लिन पहिलो पुस्ताका नेताको नाङ्गो सेवा गर्नुपर्ने अवस्था छ । त्यसैले पहिलो पुस्ताका नेताले जे  बोल्छन्, ती वाक्यलाई प्रशंसा गर्नु आफ्नो दायित्व सम्झिन्छन् । सोही कारण असहिष्णु भएर प्रस्तुत हुन्छन् । कुरा बिग्रेकै यहीँ व्यक्ति पूजाबाट हो । 

नेपालमा यसरी राजनीतिबाट नीति नै गायब भएको छ । नागरिकले महसुस गर्ने गरी सुशासन कायम राख्नु त कता हो कता, सत्ताको ‘म्युजिकल चेयर’ मा मात्र रमाइरहेका परम्परागत दलहरूको करामत आजको उपनिर्वाचनको परिणाम हो या ।

त्यसैले, फलानो ढिस्कानो वाद, फलानो दर्शन छाडौँ, सेवा प्रवाह दुरुस्त बनाउन लागे मात्र पनि जनताको आक्रोश कम हुन्थ्यो । निर्वाचनले हरेक पार्टीमा नयाँ पुस्ताको नेतृत्व अपरिहार्य छ भन्ने महत्त्वपूर्ण शिक्षा दिएको हो तर यो शिक्षा लिन मूलधारका नेताहरू तयार छैनन् । 

अब पुस्ता मात्र नयाँ भएर हुँदैन, एजेन्डा, कार्यशैली, जनविश्वासको आधारसमेत नयाँ जगमा हासिल गर्ने दक्षता दल भित्रको नयाँ पुस्ताले आर्जन गर्न सक्नुपर्छ । नत्र शीर्ष नेताहरूको अवसानसँगै शीर्ष पार्टीहरू सँगसँगै बिलाउन सक्छन् । यो निर्वाचनमा नयाँ दल अगाडि आउनुको अर्थ जस–जसले जे–जे लगाए पनि मूलधारका राजनीतिक दलका नेताहरूसँगको वितृष्णा प्रमुख कारण हो ।

त्यसैले कार्यकर्तालाई रैती सम्झिएर आफूले जे गरे नि कार्यकर्तालाई पेल्ने, आक्रोशको भाषा बोल्ने दिन गए भनेर शीर्ष नेताले जति ढिलो बुझ्छन्, त्यति पछुताउने छन् ।

लेखक पाण्डे नेपाल ल क्याम्पसका स्ववियु सदस्य हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फर्सुराम पाण्डे
फर्सुराम पाण्डे
लेखकबाट थप