सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

नर्सको आत्महत्या प्रकरण : प्रेमीसहित दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता

सोमबार, १८ वैशाख २०८०, ११ : २८
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । शनिवार अपराह्न प्रेमीको घरमा मृत अवस्थामा भेटिएकी युवती अनुमा श्रेष्ठका परिवारले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गराएका छन् । परिवारले प्रेमी भनिएका सुजन ढकाल तथा उनका बुवाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका हुन् ।

 विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै अनुमाको परिवारले उनीहरुविरुद्ध प्रहरी वृत्त बालाजुमा जाहेरी दर्ता गरेका हुन् । 

प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार मृतक श्रेष्ठको परिवारले आइतबार नै ढकाल तथा उनका बुवाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका हुन् ।  जाहेरी दर्ता भई हाल अदालतबाट पक्राउ पुर्जी लिने तयारी भइरहेको र पुर्जी प्राप्त भएपछि पक्राउ गरी आवश्यक अनुसन्धान थालिने डीएसपी कुँवरले बताए । 

लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै वीर अस्पतालमा कार्यरत ३४ वर्षीय श्रेष्ठले शनिवार प्रेमी सुजन ढकालको बोहोराटारस्थित घरमा पुगेर आत्महत्या गरेकी थिइन् । 

मृतक श्रेष्ठकी काकी सिर्जना श्रेष्ठका अनुसार प्रेमी ढकाल र उनका बुवाले विवाहका लागि अस्वीकार गरेका थिए । पेशाले अनुमा स्टाफ नर्स हुन् भने ढकाल डाक्टर हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे ।

सिर्जनाका अनुसार अनुमाको सोह्रखुट्टेमा कोठा थियो भने सुजनको घर बालाजु बोहोराटारमा रहेको थियो । अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन् । अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि केटा पक्षले अस्वीकार गरेको बताइएको छ । 

अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेम सम्बन्ध, विवाहका लागि भएको प्रयास र केटापक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेकी छिन् ।

अनुमाको शवसँगै भेटिएको ‘सुसाइड डायरी’मा आफूले दुई पटकसम्म गर्भपतन गराएको, प्रेमीका बुवाले विवाह गर्न नदिएको लगायतका कुरा समेत समावेश गरेकी थिइन् । 

सोही कुरा र आरोपलाई प्रमाणका रूपमा लिएर प्रेमी ढकाल र बुवाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप