निराको पसलसम्म कसरी पुगे हत्यारा ?
काठमाडौँ । कपनस्थित सरस्वतीनगरमा ‘निरु किचेन’ नामक भाडा पसल थियो, निरा पाण्डे आचार्यको । पहिले श्रीमान् र श्रीमती मिलेर इलेक्ट्रोनिक पसल चलाएका भए पनि करिब ३ वर्षदेखि निरा आफैले अर्को छुट्टै भाँडाको पसल राखेकी थिइन् । बोल्नमा सिपालु र मिलनसार भएको कारण निराको व्यापार पनि राम्रै चलिरहेको थियो । मेहनतबाटै केही पैसा कमाएकाले निराले काठमाडौँमै घडेरी किन्ने भन्दै विभिन्न स्थानमा घडेरीसमेत हेरिरहेकी थिइन् । आफूसँग भएको केही रकम विभिन्न व्यक्तिहरुलाई ब्याजमा समेत लगाउने गरेकी थिइन् निराले । परिवार सबै ठीकठाक चलिरहेकै थियो ।
गत वैशाख ७ गते अन्य दिन झैँ निरा घरमा खाना खाएपछि घरधन्दा सकेर आफ्नो पसल खोल्न पुगिन् । उक्त दिन अन्दाजी एक बजेको समयमा निराले आफ्नो पसल खोलेको अनुमान गरिएको छ । तर पसल खोलेको करिब २ घण्टापछि अर्थात् करिब सवा तीन बजेको समयमा निराको पसलमा पुगेकी एक महिलाले निराको शव देखिन् । त्यसपछि हल्लाखल्ला भएपछि प्रहरी पुग्यो र घटनाको अनुसन्धान सुरु गर्यो ।
वैशाख ७ गते दिउँसो आफ्नै पसलमा भएको हत्यामा संलग्नको खोजी गरे पनि प्रहरीलाई कुनै सुराक पत्ता लाग्न सकेन । घटनाको अनुसन्धान गरेको प्रहरीले हत्यामा नजिककै आफन्त वा चिनेजानेको व्यक्ति नै हुनुपर्छ भनेर सुरुवाती अनुसन्धान त्यही सेरोफेरोमा केन्द्रित गर्यो । निराको हत्या हुँदा फाइदा पुग्ने व्यक्ति, निरासँगको आर्थिक कारोबार, रिसिइबी लगायतका विषयमा केन्द्रित रहेर प्रहरीले अनुसन्धान गर्यो । प्रहरीले निराको पसल वरिपरिको सीसीटिभी फुटेज, तथा प्रविधिसमेतको विश्लेषण गरी अनुसन्धानलाई अगाडि बढायो, यद्यपि हत्यामा संलग्न व्यक्तिको पहिचान भने हुन सकेन ।
घटनालाई प्रत्यक्ष देख्ने व्यक्ति नभएको, हत्यामा परिवार वा आफन्तको संलग्नता नदेखिनु, आर्थिक कारोबारको विषय पनि हत्यासँग जोडिएको नपाइएपछि प्रहरीले अनुसन्धानको अर्को पाटो केलाउन थाल्यो । त्यो के थियो भने कुनै लागूऔषध दुर्व्यसनीले सामान्य लुटपाटको उद्देश्यबाट घटना घटाएको हुनसक्ने आशंका ।
प्रहरीले त्यही कोणबाट अनुसन्धानको दोस्रो अध्याय सुरु गर्यो । सुरुवाती चरणमा प्रहरी वृत्त वौद्ध र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा) र प्रहरी परिसर काठमाडौंबाट अनुसन्धानका लागि प्रहरीहरु खटिए । पहिलो चरणको शंकितहरुको घटनामा संलग्नताको आधार भेटाउन नसकेपछि प्रहरीले दोस्रो चरणको अनुसन्धानको क्रममा लागूऔषध दुर्व्यसनीको पिछा गर्न थाल्यो । उनीहरुमाथि अनुसन्धान गर्न प्रहरीले सो क्षेत्रका सीसीटिभी फुटेजको अध्ययन सुरु गर्यो ।
सो क्षेत्रमा हिँडेका धेरै व्यक्तिमध्ये एक युवक प्रहरीको नजरमा परे । वैशाख ७ गते अपराह्न करिब २ बजे निराको पसल नजिकै एक युवक मास्क लगाएर हिँडिरहेको देखियो । छिर्के सर्ट, ट्राउजर, कालो जुत्ता र पछाडि ब्याग बोकेका एक युवकको हुलिया हेर्दा उनी लागूऔषध दुर्व्यसनी हुनसक्ने अनुमान गरियो । प्रहरीले सो क्षेत्रको सीसीटिभी फुटेजको अध्ययन तथा अनुसन्धान अगाडि बढायो ।
सो क्षेत्रको सीसीटिभी फुटेजको अनुसन्धान गर्दा ती युवक सो दिन अपराह्न २ बजेर ३४ मिनेटमा एटीएम बुथ नजिकै पुगेको र सोही क्षेत्र वरपर अलमलिएको देखियो । अपराह्न २ बजेर ४४ मिनेट जाँदा ती युवक पुनः निराको पसलतर्फ पुगेको देखियो भने त्यसको ७ मिनेटपछि युवक उक्त पसलबाट बाहिर निस्किएको देखियो । तर अचम्म के भने पहिले छिर्के सर्ट लगाएर हिँडिरहेका ती युवक एकाएक कालो टिसर्टमा देखिए ।
हत्या भएको स्थान नजिकै ती युवकको पटकपटक आवतजावत हुनु र एकाएक कपडा परिवर्तन हुनुले ती युवकमाथि प्रहरीको शंका झनै बढ्यो । त्यसपछि प्रहरीले ती युवकको खोजी सुरु गर्यो ।
अन्य कुनै सुराक नभएको कारण प्रहरीले आसपासका सीसीटिभी फुटेजलाई नै युवकको खोजीका लागि अनुसन्धानको साधन र विधि बनायो । ती युवक केही अगाडि बढेपछि गोपीकृष्ण हल नजिकैबाट एउटा टेम्पोमा चढेको देखियो । प्रहरीले उक्त टेम्पोको सीसीटिभी फुटेजलाई फलो गर्दै चावहिल चोकसम्म पुग्यो ।
ती युवक चावहिल चोकमा ओर्लिएको देखियो । त्यसपछि युवक एउटा मोटरसाइकलमा बसेको देखियो । केही कुराकानी गरेर मोटरसाइकलमा बसेका युवक त्यहाँबाट जडीबुटी पुगे । जडीबुटीबाट पुनः अर्को मोटरसाइकल चढेर मनोहरा पुलनजिक पुगेर ओर्लिए । त्यसपछि केही समय हिँडेर लोकन्थलीको वीपी स्मृति अस्पताल नजिकैबाट उनी हराए ।
प्रहरीले टेम्पो चालकलाई भेटेर सोधपुछ गर्यो । चावहिलबाट जुन मोटरसाइकलको प्रयोग गरेका थिए, उक्त मोटरसाइकलको खोजी गर्दै प्रहरीले चालकलाई भेटेर सोधपुछ गर्यो । मोटरसाइकल चालक युवकका चिनजानका व्यक्ति थिएनन् । उनी इनड्राइभर नामक राइड सेयरिङका चालक थिए । जडीबुडीबाट अर्को इनड्राइभर प्रयोग गरेका ती युवकको खोजीमा प्रहरीले अर्का इनड्राइभर चालकसँग पनि सोधपुछ गर्यो । तर दुवै राइडमा ‘अफलाइन’ रहेका ती युवक को थिए भन्ने पत्ता लाग्न सकेन ।
ती युवकको सीसीटिभी फुटेज अध्ययन गर्दै फलो गरिरहेको प्रहरीले मनोहरा पुलबाट नजिकै रहेको वीपी स्मृति अस्पतालबाट करिब ५० मिटरको दुरीपछि युवकको कुनै फुटेज भेटेन । सो क्षेत्रसम्म क्यामेराको कैदमा रहेका युवकको खोजीमा प्रहरीले थप तीन दिनको सीसी क्यामेराको फुटेज हेर्यो । तर त्यसपछि ती युवकलाई क्यामेरामा पाउन सकेन ।
वैशाख ७ गतेको उक्त घटनाका सम्बन्धमा प्रहरीले वैशाख ११ गते नै युवकको हुलिया पत्ता लगाई खोजी सुरु गरिसकेको थियो । तर युवक पत्ता लाग्न सकेको थिएन । यद्यपि सिभिलका प्रहरीहरु अन्तिमपटक युवकलाई देखिएको स्थान वरपर युवकको खोजीमा अहोरात्र खटिइरहेका थिए । मुख्यतः काठमाडौं उपत्यकामा अपराधको अनुसन्धान गर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंका प्रहरीहरु यो घटनाको सुक्ष्म अनुसन्धानमा केन्द्रित थिए । उनीहरुले मेहनतका साथ काम गरिरहेका थिए भने अपराध महाशाखाको टोलीसँग कार्यालय प्रमुख मनोज केसीले पलपलको अपडेट लिइरहेका थिए ।
उक्त दिनपछि ती युवकको दृश्य क्यामेरामा भेट्टाउन नसकेको प्रहरीले सो क्षेत्रमा व्यापकमात्रामा सिभिलका प्रहरी परिचालन गर्यो र सो क्षेत्रका व्यक्तिहरुसँग युवकको बारेमा सोधपुछ सुरु गर्यो । अन्ततः वैशाख १६ गते शनिबार बिहान ११ बजे अपराध महाशाखाको प्रहरी टोली युवकको डेरासम्म पुग्यो । डेरामा अन्य दुई जना युवक भेटिए पनि ती युवक भने त्यहाँ थिएनन् । ती युवकको तस्बिर देखाएर अन्य दुई युवकसँग सोधपुछ गरेपछि खुल्यो कि ती युवक झापाका विनोद विक थिए र उनी झापा पुगिसकेका छन् ।
युवकको पहिचान खुलेपछि प्रहरीले उक्त कोठाको खानतलासी लियो । खानतलासीका क्रममा विनोदले उक्त दिन बोकेको झोला, लगाएको जुत्ता र पहिले लगाएको छिर्के सर्ट कोठामै भेटियो । अचम्म त के भयो उक्त सर्टमा रगतका केही टाटा पनि भेटियो । त्यसपछि प्रहरी निश्चिन्त भयो कि हत्यामा उनकै संलग्नता छ । इन्सपेक्टरको कमाण्डमा रहेको उक्त टोली युवकको कोठासम्मै पुगेर वारदातका समयमा लगाएको सर्टसमेत बरामद गरेपछि त्यसको खबर अपराध महाशाखा लगायत अन्य प्रहरीको निकायमा पनि पुग्यो ।
हत्याको लामो समयसम्म पनि अपराधीको पत्ता लगाउन नसकिएको भन्दै वैशाख १५ गते केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)की प्रमुख एआइजी किरण बज्राचार्यको संयोजकत्वमा अनुसन्धान समिति नै गठन भइसकेको थियो । अनुसन्धानका लागि समिति नै बनिसकेको कारण त्यहाँ सीआईबीका प्रहरीहरु पुगे । लगत्तै सो घटनाको अनुसन्धानमा सुरुदेखि नै खटिएका अपराध महाशाखाका डीएसपी अनिलकुमार घिमिरे र कार्यालय प्रमुख मनोजकुमार केसी पनि तत्कालै घटनास्थलमा पुगे । यता प्रहरी परिसरको टोली पनि घटनास्थलमा पुगे । शंकित व्यक्ति झापामा रहेको पत्ता लागेपछि सोही डेरामा बस्ने एक युवकलाई साथमा लिएर अपराध महाशाखाका डीएसपी अनिलकुमार घिमिरे र सीआईबीका डीएसपी धर्मराज भण्डारी झापास्थित विनोदको घरमा पुगे । तर झापास्थित घरमा विनोद भेटिएनन् । विनोद त करिब डेढ वर्षदेखि घर नै गएका रहेनछन् । उनी घर परिवारबाट तिरस्कृत थिए ।
झापाको घरमा सजिलै भेटिएलान् भनिएका विनोदलाई खोज्न प्रहरीलाई झनै सकस भयो । काठमाडौंबाट गएको प्रहरीको टोली अपराह्न ३ः३० मा झापा पुगेको भए पनि विनोदलाई खोज्न करिब ६ घण्टा लाग्यो । मानवीय तथा प्राविधिक विश्लेषणपछि विनोद बिर्तामोडको एक होटलमा बसिरहेको भेटियो । विनोदसँगै सीसीटिभीमा देखिएको घडी, टिसर्ट, ट्राउजर र केही नगद पनि त्यहीँबाट बरामद भयो । विनोदलाई भेट्नेबित्तिकै सोधपुछ गर्दा उनले सजिलै आफ्नो अपराध कबुल गरे ।
निरासँग थिएन आरोपितको चिनजान, उद्देश्य लुटपाट मात्रै
शनिबार राति ९ बजेर १० मिनेटमा झापाको बिर्तामोडमा रहेको एक होटलबाट पक्राउ परेलगत्तै आरोपी विनोद विकले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । विनोदले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा निराको हत्या गर्ने उद्देश्य नभई लुटपाट मात्रै गर्ने योजना रहेको तर निराले प्रतिकार गरेपछि हत्या गरेको बयान दिएका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीका अनुसार विनोद उक्त दिन लोकन्थलीमा रहेको साथीहरुको डेराबाट बिहान ११ बजे निस्किएका थिए । करिब ४ महिनादेखि बेरोजगार रहेका उनी कामको खोजीमा थिए भने खाजा खाने सामान्य खर्चसमेत नभएको कारण साथीहरुसँग खर्च मागेर हिँड्ने गरेका थिए । घटनाको तीन दिनअघि मात्रै विनोद झापाबाट काठमाडौँ आएर साथीहरुको कोठामा बसेका थिए ।
सो दिन विनोदको दिमागमा जसरी पनि खर्चका लागि पैसा कमाउनु पर्ने सोच थियो । सुरुमा विनोद बाटोमा हिँड्ने व्यक्तिको सिक्री वा गहना लुट्ने योजनामा थिए । उनले निराको हत्या गर्नुअघि अन्य दुई जनाको गहना लुट्ने प्रयास पनि गरेका थिए । तर उनको दुवै प्रयास असफल भएको प्रहरीको भनाइ छ ।
पहिले विनोद आफ्नी प्रेमिकासँगै चावहिलमा सामान्य खाजा पसल सञ्चालन गरी बसेको कारण त्यस क्षेत्रको भूगोलबारे जानकार थिए । त्यसकारण उनी चोरी वा लुटपाट गर्ने उद्देश्यले कपन सरस्वतीनगर क्षेत्रमा हिँड्दै थिए । सोही क्रममा उनले एउटा ठूलो पसलमा एक जना महिलामात्रै बसेको देखे । निराको पसलमा पुगेका उनले नजिकै पुगेपछि निराको घाँटीमा सुनको सिक्रीसमेत देखे । त्यसपछि निराको सिक्री र पसलमा भएको नगद लुटपाट गर्ने योजना बनाएर पसलमा प्रवेश गरे र चियाको कप लगायतको भाँडा देखाउन भने । सोही क्रममा केही भाँडा किन्ने भन्दै प्याकिङ गर्नसमेत लगाए ।
विनोद निराको घाँटीमा रहेको सिक्री लुट्ने मौका कुर्दै थिए । सोही समयमा पसलमा दुई जना महिला र एकजना पुरुष सामान किन्न आए । त्यसपछि विनोदको योजना तत्काललाई तुहियो । ग्राहकहरु गएलगत्तै फेरि चिया लिएर निराकी छोरी र भतिज पनि त्यहीँ आइपुगे । त्यसपछि विनोद एटिएमबाट पैसा झिकेर आउने भन्दै बाहिर निस्किए र केही परबाट निराको पसलको रेकी गरे । पसलमा अन्य कोही व्यक्ति नभएको निश्चित गरेपछि विनोद पुनः निराकै पसलमा पुगे ।
पसलमा निरालाई एक्लै देखेपछि विनोदले र्याकको केही माथि रहेको सामान देखाएर उक्त सामान झिक्न भने । निरा पछाडि फर्किएर सामान झिक्न लागेको समयमा विनोदले सुरुमा निराको ढाडमा मुक्काले हाने । मुक्का प्रहारपछि निराले प्रतिकार गरेर चिच्याउन खोजिन् । त्यसपछि विनोदले एक हातले निराको मुख थुनिदिन्छन् भने अर्को हातले नजिकै रहेको चक्कु झिकेर सिक्री र पैसा निकाल्न धम्की दिन्छन् ।
तर निराले त्यसपछि पनि प्रतिकार गर्न खोजेपछि विनोदले सोही चक्कुले पहिलोपटक पेटमा हान्छन् । त्यसपछि ढलेकी निराले दोस्रोपटक प्रहार गर्न खोजेपछि विनोदको हात समाउँछिन् । त्यही क्रममा विनोदले निराको हातमा समेत टोकिदिन्छन् र निरामाथि लगातार चक्कु प्रहार गर्छन् । त्यसपछि निराको मृत्यु भएको निश्चित गरेपछि उनी निराको घाँटीमा रहेको सिक्री र काउण्टरमा रहेको १ हजार २ सय पैसा झिकेर ब्यागमा राख्छन् । निराको हत्याको क्रममा सर्टमा रगत लागेको कारण उक्त सर्ट पनि झिकेर ब्यागमा राख्छन् र अगाडि बढ्छन् । अनि केही पर पुगेर टेम्पो चढेर लोकन्थलीमा रहेको साथीहरुको डेरामा पुग्छन् ।
तीन दिन साथीको कोठाबाट बाहिर ननिस्किएका विनोद चौथो दिन बल्ल कोठाबाट बाहिर निस्किएर नयाँ बसपार्क जाने बस चढ्छन् । पहिले नै चिनेका एक व्यक्तिको पसलमा पुगेर निराबाट लुटिएको ९९ लालको सिक्री ५५ हजारमा धरौटी राखेर निस्किन्छन् । प्रहरीले उक्त सुनसमेत बरामद गरिसकेको छ ।
विनोद सोही दिन कोठामा पुगेर साथीहरुसँग पार्टीसमेत गर्छन् । पार्टी गर्ने पैसाचाहिँ पहिले काम गरेको स्थानमा लिन बाँकी रहेको र त्यहाँबाट ल्याएको बताउँछन् । त्यसको भोलिपल्टै बस चढेर विनोद झापातर्फ लाग्छन् ।
काठमाडौंबाट निस्किएपछि प्रेमिकासँग इटहरीको होटलमा बास
काठमाडौंबाट वैशाख १२ गते झापातर्फ गएका विनोद झापास्थित घरमा गएनन् । बरु उनी प्रेमिकासँग दुई रात इटहरीको होटलमा बसे । त्यसपछि बल्ल उनी झापा गए । झापा गए पनि घरमा विनोदलाई तिरस्कार गरिएको कारण उनी झापाकै होटलमा बसे ।
विनोदको घरमा श्रीमती र सन्तानसमेत थिए । तर श्रीमतीसँगको सम्बन्ध राम्रो थिएन । कामकै सिलसिलामा भारतको बैंगलोर पुगेका विनोद कोभिड–१९ को लकडाउनको कारण काम नपाएपछि घर फर्किएका थिए । घर फर्किने क्रममा उनी झापाकै एक क्वारेन्टाइनमा बस्नु परेको थियो । क्वारेन्टाइनको बसाइपछि विनोद सोही क्वारेन्टाइनमा कामसमेत गर्न थालेका थिए । सोही समयमा क्वारेन्टाइनमा बस्न आएकी एक युवतीसँग विनोद प्रेममा परे । उनीसँगै घुमफिर र बसोबास गर्न थालेपछि त्यसको जानकारी विनोदको आमा र श्रीमतीलाई पनि भयो । त्यसपछि श्रीमती र आमाले विनोदलाई घरमै प्रवेश दिएनन् ।
विनोद तिनै प्रेमिकालाई ल्याएर काठमाडौँको चावहिलमा सानो खाजा पसलसमेत चलाएर बसेका थिए । तर ती प्रेमिकासँगको सम्बन्ध ‘लिभिङ रिलेसन’ मात्रै थियो, आत्मीयता थिएन । त्यसकारण विनोद कहिलेकाहीँ मात्रै प्रेमिकासँग कोठामा जाने र बस्ने गर्दथे । विनोद पनि ठमेलस्थित भाइब्रेन्ट क्लबमा बाउन्सरको रुपमा काम गर्न थालेका थिए । कराँतेमा ब्ल्याकबेल्ट समेत रहेका विनोदलाई बाउन्सरको रुपमा काम गर्न सहज पनि थियो ।
क्यासिनोको लत लागेको थियो विनोदलाई
पछिल्लो समय क्यासिनोको लत लागेका विनोद आफ्नो जीवनमा भने पटकपटक ‘फेलियर’ भएका थिए । घरको आर्थिक अवस्था कमजोर रहेको कारण विनोद सुरुमा साउदी अरबमा रोजगारीका लागि गएका थिए । कक्षा ११ सम्मको अध्ययन गरेका विनोदले साउदी अरबमा रोजगारीमा जाँदा राम्रो काम पाउन सकेनन् । पैसा कमाउन नसक्दा विनोद भिसा सकिए पनि ‘ओभर स्टे’मा बसे । सोही समय विनोदको बुबाको नेपालमा मृत्यु भयो । तर ‘ओभर स्टे’का कारण उनी सहजरुपमा नेपाल आउन पाएनन् । करिब २ महिना साउदी अरबकै जेलमा बसेपछि उनलाई ‘डिपोर्ट’ गरियो ।
साउदी अरबबाट फर्किएपछि विनोदले स्कुल पढ्दाकी आफ्नी प्रेमिकासँग विवाह गरे । त्यसपछि पैसा कमाउने भन्दै उनी मलेसिया गए । त्यहाँ पनि उनको कमाई राम्रो भएन र छोटो समयमै नेपाल फर्किए । मलेसियाबाट फर्किएपछि विनोद कतार गए । त्यहाँ पनि उनको कमाई राम्रो भएन र नेपाल फर्किए ।
तर नेपालमै राम्रो रोजगारी नपाएको र आर्थिक अवस्था पनि राम्रो नभएको कारण विनोद फेरि कामका लागि भन्दै भारतको बैंगलोर पुगे । बैंगलोरमा भने उनको काम र आम्दानी राम्रो हुँदै थियो । तर त्यही समयमा कोरोनाको महामारी आइपुग्यो । कोरोनाको महामारीपछि विनोदको रोजगारी गुम्यो र उनी नेपाल फर्किए । नेपालमै क्यारेन्टाइनमा बसेको समयमा एक युवतीसँग विनोदको प्रेम भयो ।
युवतीसँग नजिकिएपछि घर परिवारले तिरस्कार गरेका विनोद झापाकै विभिन्न क्लब तथा होटलमा काम गर्न थाले । सोही समयमा झापाको एच एण्ड सी होटलमा काम गर्न थाले ।
भारतमै बसेको समयमा विनोदले आधार कार्ड बनाएका थिए । सोही आधार कार्डका आधारमा उनलाई नेपालका क्यासिनो छिर्न सहज थियो । त्यसपछि उनलाई क्यासिनोको लत लाग्यो । जुवा खेल्न थालेपछि विनोदलाई तीन लाख ऋणसमेत लागेको थियो । तर कमाई नभएको कारण उक्त ऋण तिर्न सकिरहेका थिएनन् । ऋण लिएका व्यक्तिहरुले दबाब दिएपछि विनोद त्यहाँबाट भागेर काठमाडौं आएका थिए । काठमाडौंमै भाइब्रेण्ट क्लबमा काम गर्न थालेका उनले करिब ४ महिना अगाडि त्यहाँको जागिर पनि गुमाएका थिए । त्यसपछि उनी पुनः झापा पुगेका थिए ।
तर झापामा पनि जागिर नपाएपछि जागिर खोज्न भन्दै विनोद घटनाको ४ दिन अगाडिमात्रै काठमाडौं आएका थिए । सामान्य खर्चसमेत नभएपछि विनोद जसरी हुन्छ पैसाको जोहो गर्न भन्दै चोरी वा लुटपाट गर्ने उद्देश्यले मौकाको खोजीमा भौंतारिएका थिए । सोही क्रममा निराको पसलमा पुगेका उनले लुटपाटको उद्देश्यबाट निरामाथि आक्रमण र पछि हत्या गरेका थिए ।
आइतबार कोलकाता जाने तयारीमा थिए विनोद
काठमाडौंमा निराको हत्या गरी सिक्री लुटपाट गरी भागेका विनोदलाई आफ्नो पहिचान खुल्छ कि भन्ने शंका थियो । काठमाडौंमा काम पनि नपाएको कारण उनी भारतमा गएर काम गर्ने योजनामा थिए । योजना अनुसार नै उनी झोला र आफ्नो सामानहरु प्याकिङ गरी आइबतार नै कोलकातातर्फ जाने योजनामा थिए । सोही अनुसार कोलकातामा रहेका एक नेपालीसँग उनले कुराकानी समेत गरिसकेका थिए । तर काठमाडौंबाट गएका अपराध महाशाखाका डीएसपी अनिल घिमिरे र सीआईबीबाट गएका डीएसपी धर्मराज भण्डारीले उनलाई उम्कन दिएनन् । पक्राउ परेलगत्तै उनलाई आइतबार बिहानै जहाजबाट काठमाडौं ल्याइयो ।
अनुसन्धानमा सफल भएको भन्दै अपराध महाशाखाका १८ प्रहरी पुरस्कृत
निरा पाण्डे आचार्यको हत्यामा संलग्नको खोजी र अनुसन्धानमा अहोरात्र खटी सफलता दिलाएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफ्ना १८ जना प्रहरी अधिकृत तथा कर्मचारीलाई सम्मान गरेको छ । अनुसन्धानमा दत्तचित्त भई लामो समयसम्म खटिएका डीएसपीहरु अनिल कुमार घिमिरे, सत्यनारायण थापा र किरण न्यौपाने, इन्सपेक्टर निर्मल थापा लगायतका १८ जना प्रहरी कर्मचारीलाई रेकर्डमा जनिने गरी आइतबार सम्मान गरिएको कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय
-
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना