शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

नीतिकथा : जीवनको उद्देश्य

सोमबार, १८ वैशाख २०८०, १० : ३५
सोमबार, १८ वैशाख २०८०

धेरै पहिले एउटा सहरमा एक सज्जन चिकित्सक दम्पती बस्थे । पति मेडिसिन विशेषज्ञ थिए पत्नी स्त्रीरोग विशेषज्ञ । उनीहरूको राम्रै चलेको अस्पताल थियो । धन सम्पत्तिको कमी थिएन । कमी थियो केवल सन्तानको । यसैको चिन्ताले खाएको थियो । त्यसैले मन बहलाउन भनेर बरोबर यात्रामा निस्कने गर्थे । कहिले कतै जान्थे कहिले कतै । 

एक दिनको कुरा हो । उनीहरू कुनै नयाँ स्थानको भ्रमणमा जाँदा घना जङ्गलको बीचमा फसे । घनघोर पानी परिरहेको थियो । बाटो पत्ता लगाउनै गाह्रो प¥यो । यसै पनि नयाँ ठाउँ त्यसमाथि जङ्गलको बाटो । झन् त्यसमाथि पानीको वर्षा किन खपिसाध्दे हुन्थ्यो र । उनीहरूलाई जङ्गल पार गर्न फलामको चिउरा चपाउनुजस्तै भयो । जेनतेन जङ्गल पार त गरे तर त्यति बेलासम्म भोक लागिसकेको थियो । खाने ठाउँ खोज्दै केही अघि के बढेका थिए एउटा गरिबको बस्ती भेटियो । बस्ती सानो थियो । त्यस्तै दश बिस घर थिए होलान् । 

उनीहरूको गाडी बाटामा पर्ने एउटा सानो घरमा पुगेर रोकियो । घरमा सानो पसल थियो । पसल पनि के भन्ने र नाम मात्रको, जहाँ घरायसी प्रयोगमा आउने नगण्य सामान थिए । सज्जन दम्पतीलाई भोग लागेको भए पनि खाने स्थान नदेखिएकाले चिया खाने विचार गरी घरको ढोका खटखटाए । भित्रबाट एउटी अधबैँसे महिला निस्किन् । सज्जन दम्पतीका पतिले एउटा सानो साबुन किने र हात मुख धुन लागे । पत्नीले चिया खान पाइन्छ कि भनेर सोधिन् । अधबैँसे महिला पाउनुहुन्छ हजुर भन्दै भित्र छिरिन् र चिया बनाउन लागिन् । उनले चिया बनाउन्जेल सज्जन दम्पतीले हातमुख धुने काम सके ।

चिया देख्नमा त्यति राम्रो थिएन । दूध कम थियो सख्खर हालेर बनाएकाले रङ्ग पनि त्यस्तै तर अदुवा र तुलसीको पात हालेर बनाइएको रहेछ खाँदामा भने निकै मीठो । मीठो पनि यति कि उनीहरूले यस अघि यस्तो चिया खाएकै थिएनन् । खाइसकेपछि सज्जनले सोधे– 

‘पैसा कति भो आवै ?’ 

उत्तरमा महिला बोलिन्– 

‘दश रुपियाँ ।’

सज्जनले आश्चर्य मान्दै सोधे– 

‘यति मात्रै ?’

‘हो हजुर यति मात्रै ।’

‘तर हामीले त साबुन पनि लिएका छौ नि ?’ 

‘त्यसैको पैसा हो यो साहब ।’ 

‘अनि चियाको ?’ 

‘साहब ! अतिथि भनेका देवता समान हुन्छन् भन्छन् । हामी खानाको पैसा लिँदैनौँ ।’

महिलाको कुरा सुनेर सज्जन अवाक् भए । शरीर मैलो भए पनि मन कति सफा । सम्पत्तिले गरिब भए पनि मनको कति धनी । त्यसपछि सज्जनलाई के लागेछ कुन्नि सोधे–

‘घरमा कति जना हुनुहुन्छ ?’ 

महिलाले भनिन्–

‘दुई बालबालिका छन्, जुन अहिले घाँस काट्न गएका छन् । बिरामी श्रीमान् भित्र हुनुहुन्छ ।’

उनको कुरा सुनेर सज्जनले आफूलाई थाम्न सकेनन् र आफैँ गएर हेरे, जहाँ बिरामी अर्ध चेत अवस्थामा पल्टिरहेका थिए । उनले नाडी छाम्दै भने– 

‘ज्वरो निकै रहेछ । अहिलेसम्म किन अस्पताल नलानुभएको ?’ 

महिलाले मलिन अनुहारमा भनिन्– 

‘गरिबका लागि अस्पताल कहाँ नसिब हुन्छ र साहब ! हामी त रोग लागेपछि भगवान् भरोसा हुन्छौँ ।’

सज्जन थप व्यथित भए । केही औषधी दिएर खिन्न मनले हिँडे । फर्कँदा बाटो त्यही  परेकाले बिरामी हेर्न गए । त्यति बेलासम्म बिरामी स्वस्थ भइसकेका रहेछन् । उनलाई देख्ने बित्तिकै उनीहरू यति खुसी भए कि सज्जन दम्पतीले मानिस यति खुसी भएको यस अघि कहिल्यै देखेका थिएनन् । त्यसपछि केही परे सम्झनु होला भन्दै ठेगाना टिपाएर बाटो लागे । 

शरमा पुगेपछि उनले आफ्नो अस्पतालमा पैसा हुनेसित मात्र शुल्क लिने र नहुनेलाई निःशुल्क उपचार गर्ने नियम बसाए । उनको व्यवहार सरहका अन्य अस्पताललाई मन परेन र जिल्लाका स्वास्थ्य सम्बन्धी हाकिम समक्ष गएर गुनासो गरे । उनीहरूको कुरा सुनेर हाकिम आफैँ गएर वस्तुस्थिति बुझ्ने प्रयास गरे । 

त्यसपछि सज्जनले ती गरिब महिलाको व्यवहार सुनाउँदै भने– 

‘जीवनको हर परीक्षामा पहिलो हुँदै आएको छु । एम बि बि यस र एमडीमा समेत गोल्डमेडलिस्ट हुँ तर सभ्यता, संस्कार र सेवामा ती गाउँकी गरिब महिला मभन्दा अगाडि निस्किन् । त्यसैले सेवा र संस्कारमा पनि गोल्डमेडलिस्ट बन्ने इच्छा भएकाले सेवा सुरु गरेको हुँ । भगवान्ले शरीर र धन सम्पत्ति दिएका केका लागि ? सेवाका लागि नै त हो । यसै पनि हाम्रो व्यवसाय पैसा कमाउनका लागि नभएर सेवाका लागि हो । म त भन्छु अरूहरूले पनि यस्तै गरुन् ।’

उनको कुरा सुनेर हाकिम निकै प्रभावित भए । त्यसपछि उनले सहरका सबै असपतालले पैसा हुनेसित मात्र शुल्क लिने र नहुनेलाई निःशुल्क उपचार गर्नुपर्ने नियम बसाए ।

यो एउटा दृष्टान्त हो । जहाँ पनि र जहिले पनि मानव जीवन प्राप्त भएको सेवा गर्नकै लागि हो । प्रकृतिले यही सिकाएको छ धर्मशास्त्रले यस्तै सन्देश दिएको छ । आफ्नो लागि त सबै बाँचेकै हुन्छन् वास्तवमा त्यस्तै बचाई सार्थक हुन्छ, जो अरूका लागि बाँचेका हुन्छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप