रातोपाटी ब्रिफिङ : सरकारमा सहभागी हुन रास्वपालाई प्रस्ताव, राजतन्त्र पक्षधरप्रति ओलीको कटाक्ष
आज २०८० वैशाख १७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा सरकारमा सहभागी हुन रास्वपालाई प्रस्ताव, सुनको सिक्री लुट्न निराको हत्या, महावीर पुनको माग सम्बोधनमा सरकार सकारात्मक, राजतन्त्र पक्षधरप्रति ओलीको कटाक्ष, गण्डकी र लुम्बिनीका मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा, पहिचानवादीको आन्दोलन ‘राज्य संरक्षित आतंक’ : एमाले, स्वास्थोपचारपछि स्वदेश फर्किए चन्द्र भण्डारी लगायत छन् ।
१. सरकारमा सहभागी हुन रास्वपालाई प्रस्ताव
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । आइतबार रास्वपाका सभापति रवि लामिछानेलाई प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् । प्रधानमन्त्रीलाई भेट्न लामिछाने बालुवाटार गएका थिए ।
२. सुनको सिक्री लुट्न निराको हत्या
प्रहरीले सरस्वतीनगरस्थित भाँडा पसलकी सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले गरेको जनाएको छ । निरा हत्या प्रकरणका अभियुक्त झापाका विनोद विश्वकर्मालाई आइतबार सार्वजनिक गर्दै प्रहरीले निराको हत्या लुटपाटकै उद्देश्यअनुसार भएको बताएको हो ।
३. महावीर पुनको माग सम्बोधनमा सरकार सकारात्मक
सरकारले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग सोमबारसम्ममा पूरा गर्ने प्रतिबद्धता जनाएको छ । आइतबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले भोलिसम्ममा सहमति जुटाएर माग पूरा गर्ने प्रतिबद्धता सरकारका तर्फबाट आएको बताए ।
४. राजतन्त्र पक्षधरप्रति ओलीको कटाक्ष
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थी, फटाहा र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने बताएका छन् । आइतबार पार्टी निकट अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तीन किसिमका मानिसलेमात्र राजतन्त्र मान्ने गरेको बताएका हुन् ।
५. गण्डकी र लुम्बिनीका मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी थालेका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएका छन् भने लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने व्यवस्था मिलाउनभन्दै पत्र पठाएका छन् । पत्र दर्ता भएको ४८ घण्टापछि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्ने प्रावधान छ ।
६. पहिचानवादीको आन्दोलन ‘राज्य संरक्षित आतंक’ : एमाले
नेकपा एमालेले कोशी प्रदेशमा पहिचानवादीको आन्दोलनलाई ‘राज्य संरक्षित आतंक’ संज्ञा दिएको छ । एमाले उपमहासचिव विष्णु रिमालले एमालेलाई कमजोर बनाउन ‘राज्य संरक्षित आतंक’ सिर्जना गरिएको भन्दै त्यस अन्तर्गत नै आफ्नो पार्टीका शीर्ष नेतामाथि आक्रमण प्रयाससमेत भएको बताए ।
७. स्वास्थोपचारपछि स्वदेश फर्किए चन्द्र भण्डारी
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचारपछि भण्डारी आइतबार स्वदेश फर्किएका हुन् ।
८. बढुवामा असन्तुष्टि जनाउँदै एसपी तिम्सिनाको राजीनामा
प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा छुटेपछि असन्तुष्ट बनेका एसपी आभूषण तिम्सिनाले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै राजीनामा दिने निर्णयमा पुगेको उल्लेख गरेका छन् ।
९. बजेट कटौतीप्रति मन्त्रीहरुको असन्तुष्टि
बजेट कटौतीप्रति मन्त्रीहरुले असन्तुष्टि जनाउन थालेका छन् । आइतबार आयोजित एक कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षका लागि आफ्नो मन्त्रालयको बजेट कटौती भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
१०. कांग्रेस शीर्ष नेताहरुको बैठक
नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज अपरान्ह साढे ४ बजेबाट सुरु भएको बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ संस्थाको पूर्णता, विभाग गठन, मन्त्री छनोट लगायतका विषयमा छलफल भएको हो ।