शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्वार्थी, फटाहा र बुद्धि नभएकाले राजतन्त्र मान्छन् : केपी ओली

आइतबार, १७ वैशाख २०८०, १६ : २८
आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थी, फटाहा र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने बताएका छन् । आइतबार पार्टी निकट अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तीन किसिमका मानिसलेमात्र राजतन्त्र मान्ने गरेको बताएका हुन् ।

‘राजतन्त्र भनेको कि स्वार्थी फटाहाले मान्छ, कि मुर्खले मान्छ र कोही कोही अज्ञानीले पनि मान्छन्’, ओलीको भनाइ छ । उनले स्वार्थी तत्वहरु विकाउ माल भएको भन्दै उनीहरुलाई एकहप्ता दश दिनका लागि किन्न सक्ने भन्दै त्यस्ता तत्वहरुले राजतन्त्र मान्ने गरेको बताए । अध्यक्ष ओलीले झापा र तेह्रथुम लगायतका स्थानमा आफु जाँदा आक्रमण गर्नेहरु पनि पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार र सत्तारूढ दलका कार्यकर्ताको संलग्नता रहेको दावी गरे । 

ओलीले भने, ‘राजतन्त्र भनेको कि फटाहाले मान्छ । स्वार्थी फटाहाले । कि मूर्खले मान्छ । राजतन्त्र मान्ने दुई खालको मान्छे हुन्छन् । कोही कोही अज्ञानीमा पनि मान्छन् । तीन खालकै भनौँ । एकथरी अज्ञानी हुन्छन् । बिचरा केही पनि बुझ्दैनन् । त्यसकारण मान्छन् राजतन्त्र । अर्को थरी स्वार्थ, साधना गर्नका लागि मान्छन् । दलालहरूले मान्छन् । बुद्धि नभएकाहरूले मान्छन् । जन्मिँदैखेरि यस्तो हुनुपर्छ भनेर । अव स्वार्थी तत्त्वहरू र बिकाऊ मालहरूले मान्छन् । तिनलाई केही पनि छैन । अलिकति थोरैमा एक दिनका लागि, एक छिनका लागि, एक हप्ताका लागि, १० दिनका लागि जतिका लागि पनि किन्न सक्छ मान्छेले । अपराध कर्मका लागि । त्यस्ता तत्त्वहरूले मान्छन् ।’

‘कार्यक्रममा जाँदै गर्दा केही गुन्डा प्रवृत्ति, अराजनीतिक व्यक्तिले हमला गर्ने, पहिचानको राजनीतिक गर्ने भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा गरे’, ओलीले भने, ‘यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह उनको परिवारको देखिएको छ ।’ उनले सत्तामा हुने पार्टीका कार्यकर्ता आफ्नाविरुद्ध हरेक ठाउँमा रुख ढाल्ने, ढुंगा हानेर बाटो छेक्ने उदण्डतामा लागेको भन्दै अराजकता मच्चाउदा पनि सरकार चुप लागेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप