यात्रीका लागि धराप बनेको घुराहा पुल मर्मतमा बेवास्ता
धनगढी । आमबुझाइ अनुसार पुल भन्नासाथ खोला तथा नदीमा आवातजावतको सहजताका लागि बनाइएको भौतिक संरचनालाई बुझाउँछ । तर त्यही पुलको सही व्यवस्थापन र मर्मतसम्भार नहुँदा घातक साबित हुन्छ भन्ने उदाहरण बन्न पुगेको छ कैलाली जिल्लाको एक पक्की पुल । जिल्लाको कैलारी गाउँपालिकाको वडा नं. ६ र वडा नं. ४ जोड्न घुराहा नदीमा करोडौं लगानीमा बनेको पक्की पुल घातक बनेको हो । पुलको पूर्वी भागमा भरिएको माटो बगेपछि हाल सो पुल धरापजस्तै बनेको छ । पुल र जमिनको संयोजन टुट्ने अवस्थामा छ । जसबाट एकातिर पुल नै जोखिममा परेको छ, भने अर्कोतिर पुल भएर मोटरसाइकल र पैदल यात्रीले जोखिम मोलेर ओहोरदोहोर गर्ने गरेका हुन् ।
कैलारी गाउँपालिका–२, लक्कडका वीरबहादुर चौधरी एक वर्ष अगाडि धनगढीबाट घर फर्किरहेका थिए । मोटरसाइकलमा सवार चौधरी सोही धरापमा पर्दा पुलमुनि खसे । उनको गर्धन र करङको हड्डी भाँचियो । उपचारमा मात्रै चौधरीले डेढ लाख रुपैयाँभन्दा बढी खर्च भएको र मोटरसाइकलसमेत काम नलाग्ने भएको उनका ज्वाइँ वीरेन्द्र चौधरी बताउँछन् ।
कैलारी गाउँपालिका–६ का वीरबहादुर चन्दले पुलको दूरावस्थाका कारण दैनिकजसो स–साना दुर्घटना हुँदै आएको बताए । तर पुलको मर्मत सम्भारमा कुनै पनि निकायले ध्यान दिन नसकेको उनको भनाइ छ । कैलारी गाउँपालिका–४ का भीम तिरुवाले पुलको मर्मत सम्भारका लागि पालिका लगायतका निकायको पटक–पटक ध्यानाकर्षण गराउँदै आए पनि हालसम्म कसैले ध्यान नदिएको गुनासो गरे । २÷३ वर्षदेखि पुल धरापमा परिणत हुँदा पनि कसैले मर्मतमा चासो नदेखाएको उनको गुनासो छ । वर्षात् अगावै मर्मत सम्भार नगरिए सडक र पुलको सम्पर्क टुट्ने सम्भावना रहेको उनले जनाए ।
पुलको दुरावस्थाका कारण नदी पारी पढ्न जाने विद्यार्थीहरुलाई प्रत्यक्ष असर परिरहेको तिरुवाको भनाइ छ । उनले भने, ‘यो पुलले पालिकाको ६ र ४ नम्बर वडालाई जोड्छ, वडा नं. ४ का विद्यार्थी पुल भएर वडा नंं ६ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनका लागि जान्छन् । वडा नं. ६ का बासिन्दा पालिका कार्यालय हसुलिया आउन यही पुल प्रयोग गर्छन् ।’ स्थानीयको दैनिकीसँग जोडिएको यो पुलको दुरावस्थाले सबैलाई त्रसित बनाइरहेको उनको भनाइ छ । पुलको सही व्यवस्थापन हुन नसक्दा अहिलेसम्म चार पाङ्ग्रे गाडी गुडाउनै नमिल्ने उनले बताए ।
कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफूभन्दा पहिले र आफूहरुले पनि पुलको साइडमा माटो भरान गर्दै पुल सूचारु गर्दै आएको बताए । तर पुलको दीगोपनका लागि एक स्पान अझै थप गर्नुपर्ने देखिएको र त्यसका लागि करिब १ करोड लागत इस्टिमेट गरेको उनले बताए ।
पालिकाको एकल प्रयासबाट यो सम्भव नहुने भएकाले पुल मर्मत सम्भारका लागि क्षेत्र नंं ३ र ५ का प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यहरुको पनि ध्यान जानुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ जना युवतीहरूलाई बेचबिखन गरेको आरोपमा पक्राउ
-
जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई
-
भारतीय सेना प्रमुखले भने– नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउनु सौभाग्यको कुरा
-
खुमलटारमा शंकास्पद वस्तु फेला
-
वैज्ञानिक चिन्तन बोकेका युवा तयार गरौँ : शिक्षामन्त्री भट्टराई
-
क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रुसको चेतावनी