सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
सांसदका कुरा

किसानको पीडामा मलहम लगाउन ध्यान केन्द्रित गरेको छु : सांसद राजेन्द्र बजगाईं

आइतबार, १७ वैशाख २०८०, १३ : ३१
आइतबार, १७ वैशाख २०८०

गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद राजेन्द्र बजगाईं पहिलो पटक संसदीय अभ्यासको अनुभूति सँगालिरहेका छन् । गत मङ्सिरमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए यता उनले संसद् बैठकमा गोरखाको विकासका कुराहरू, त्यहाँका समस्याका विषयवस्तुहरूलाई उठान गर्दै आइरहेका छन् । 

सांसद हुनुभन्दा अगाडि पर्यटन क्षेत्रका साथै गोरखामा अप्ठेरोमा परेका सर्वसाधारणको उद्धार कार्यमा खटिँदै आएका बजगाईंले अहिले पनि उद्धार लगायतका समाजसेवाको कामलाई जारी राखेका छन् ।  प्रस्तुत छ, सांसद बजगाईंसँग रातोपाटी प्रतिनिधिबाट समसामयिक विषयमा गरिएको संक्षिप्त कुराकानी :

सांसद भएपछि चुनावका बेलामा जनतासमक्ष गरेका वाचा सोचेअनुसार पुरा गर्न कत्तिको सहज छ, कस्तो अनुभव गरिराख्नु भएको छ ? 

सोचे अनुसार त गर्न नसकिँदो रहेछ । तर आफ्नो प्रयासलाई भने जारी नै राखेको छु । काम गर्नका लागि सोच्न त धेरै सोचेको हुँ तर सोचेअनुसार काम गर्न त कहाँ सकिन्थ्यो र ? 

कतै जाँदा पनि अहिले स्रोतको अभाव भइरहेको अवस्था छ । आर्थिक दुरावस्था भए पनि सकेको काम गर्ने हो । गेम चेन्जिङ परियोजना भयो भने काम गर्न सकिन्छ । 

गोरखाबासीका लागि के–कस्तो पहलकदमी लिइराख्नु भएको छ ? 

अहिले मैले गोरखाका माथिल्लो भागमा रहनु भएका जनतालाई दुःख परेको बेलामा उद्धारको कामको लागि सहयोग गरिरहेको छु । तरकारी किसानहरूका लागि बीउ बिजन वितरण गर्ने, किसानहरूका लागि ‘थ्रेसर’हरू वितरण गर्ने, आफूले भ्याएसम्म र सक्ने सम्मका कामहरू गरिरहेको छु । 

सांसदका लागि काम गर्न ठोस बजेट पनि हुँदैन । जनताका काम कसरी गर्दै हुनुहुन्छ ? 

मैले त आफ्नो क्षेत्रका जनताका समस्या समाधानका लागि विषयवस्तुहरू उठान गर्ने हो । हामीसँग त काम गर्नका लागि छुट्टै बजेट पनि हुँदैन । संसद् विकास कोष कार्यक्रम पनि बजेटबाट हटाइएको रहेछ । अहिले खास म कृषकहरूका लागि कुटो, कोदालो लगायतका कृषि औजारहरू वितरण गरूँ कि भनेर लागि परेको छु । 

चुनावको बेलामा तपाईंले चुनावी सभाहरूमा बूढीगण्डकी जलविद्युत आयोजनाको बारेमा पनि कुरा उठाउनुभएको थियो । त्यसका लागि के कस्तो पहल गरिरहनु भएको छ ? 

बूढीगण्डकी जलविद्युत आयोजना बनाउन सरकारको ध्यानाकर्षण गरिरहेको छु । यस बारेमा प्रधानमन्त्री प्रचण्डज्यूलाई पनि भेटेर कुरा गरिरहेको छु । बूढीगण्डकी आयोजनाको बजेट रकमान्तर गरेर सुनकोशी मरिन डाइभर्सनमा लगिएपछि त्यसको विरोधमा निरन्तर आवाज उठाएको छु । रकमान्तर भएको पैसा फिर्ता पहलका लागि सोधखोजमै छु । 

मनास्लु पदयात्रा क्षेत्रलगायत नेपालका पदयात्रा क्षेत्रहरू खुलोस् भनेर संसद्मा विशेष समयमा पनि यी कुराहरू उठाएको छु ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप