दुल्लुको ऐतिहासिक सभ्यताबारे चासो
सुर्खेत । अनेक छन् खोज्या पछि संस्कृति र भाषा
यै ठौर केही हुन्छ भनी लाग्याको छ आशा ।
शनिबार दुल्लु पुगेका अध्येताहरुले दुल्लु क्षेत्रको बारेमा भनेका देउडा शब्द हुन्, यी । बाइसे चौबिसे राज्यकालमा दुल्लु राज्यको राजधानीको रूपमा चर्चित दुल्लु खस राजा नागराजको शीतकालीन राजधानी हो । अर्थात सिजा राज्यको शीतकालीन राजधानीको रूपमा परिचित छ । माथि उल्लेखित देउडा शब्दमा भनेजस्तै दुल्लुमा इतिहासबारे अध्ययन अनुसन्धान गर्ने हो भने अनेक ऐतिहासिक कुराहरू भेटिने आशा गरिएको छ । तर, राज्यस्तरबाट खोज अनुसन्धानका लागि खासै पहल भने भएको देखिन्न ।
शनिबार काठमाडौँबाट दुल्लु पुगेका इतिहासविदहरुले दुल्लु, ज्वाला सभ्यताको बारेमा खोज अनुसन्धान गर्नुपर्ने बताए । वि.स. १०३८ को दामुपालको शिलालेख र ३६ वटा राजाहरूको इतिहास लेखिएको अशोक चल्लको पालाको कीर्तिस्तम्भ छ, दुल्लुमा । यही ठाउँमा शनिवार ज्वाला, सिजा र कर्णाली सभ्यता विषयकमा बहस गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, प्रज्ञा परिषद् सदस्य डा.मधुसूदन गिरी, डा.कृष्णराज अधिकारी, बाबा बस्नेत, डा. कौशिला रिसाल, अगिव बनेपाली, प्रज्ञा परिषद्का पूर्व सदस्य सचिव प्रा.डा.जिवेन्द्रदेव गिरी, जगत् प्रसाद उपाध्याय ‘प्रेक्षित’, वरिष्ठ सस्कृतविद तथा लोकवार्ता परिषद्का अध्यक्ष प्रा.डा.प्रेम कुमार खत्री, सङ्गीत तथा नाट्य तर्फ पूर्व प्राज्ञ श्री नमुना शर्मा सहभागी थिए ।
प्राध्यापक डा. गिरीले दुल्लुसँगै कर्णालीको भाषा, संस्कृति अन्तसँग तुलना गर्न नसकिने, अपार महिमा भएको र प्रमाण स्वरूप शिलालेख भएको भूमि रहेको बताए । प्राध्यापक जगत् प्रसाद उपाध्यायले नेपाली भाषा आफैमा गौरवशाली इतिहास बोकेको र अहिलेको बङ्गलादेश, मालदिभ्सदेखि लिएर भारतको कुमाउ, गढवाल लगायतका भू–भागमा अहिले पनि नेपाली भाषा बोलिने गरेको बताए । नेपाली भाषाको पहिलो शिलालेख पनि दुल्लुमै छ । ‘हामी जुन ठाउँ उभिएका छौँ, त्यहाँ ३६ वटा राजाहरूको इतिहास लेखिएको छ,’ उनले भने,‘ यसलाई संरक्षण गर्नका लागि सबै अग्रसर हुनुपर्छ ।’
डा.मधुसूदन गिरीले नेपाली दुल्लु क्षेत्रमा भएका महत्त्वपूर्ण सम्पदाहरूलाई संरक्षण गर्नुपर्ने बताएका थिए । गिरीले यस क्षेत्रको बारेमा खोज अनुसन्धान समेत गरिरहेका छन् । सोही क्षेत्रका प्रदेश सांसद घनश्याम भण्डारीका अनुसार इतिहासलाई हेर्ने हो भने तुलनात्मक रूपमा कर्णाली एक शक्तिशाली राज्य रहेको र नेपालको एकीकरण पश्चात् गाभिए पछि केन्द्रीय सत्ताबाट कर्णाली सधैँ ओझेलमा परेको बताए ।
त्यसको युगकालीन इतिहासको एक प्रमाणका रूपमा दुल्लुको प्राचीन कीर्तिखम्भलाई लिइन्छ । विभिन्न शिलालेखहरूमा दुल्लुलाई दुर्लभ प्रदेश, दुर्लङ्घ्य नगर भनेर उल्लेख भएको छ । यद्यपि त्यसको नामकरणको सम्बन्धमा कुनै ठोस प्रमाण भेटिएका छैनन् । तर, यही क्षेत्रको बालेश्वर शिवालय र धुलेश्वर पर्वतको बीचमा रहेको नाग दुलोको नामका कारण यो क्षेत्रको नाम दुलो भएको र पछि अपभ्रंश हुँदै दुल्लु रहेको कुरा स्थानीय जनश्रुतिमा रहेको पाइन्छ ।
दुल्लु आफैँमा विराट राज्य हो । नेपाल एकीकरणको क्रममा राजा उत्तम शाहीका पालामा विक्रम संवत् १८४६ कार्तिक २१ गते सोमबारका दिन दुल्लु राज्य नेपाल राज्यको अधीनस्थ भएता पनि वि.सं. २०१८ सम्म यो छुट्टै राज्यको रूपमा रहेकै थियो । त्यस पश्चात् दुल्लु राज्य विघटन भएर दैलेख जिल्लामा गाभिएको थियो । पछि दुल्लु राज्यका सबै दराहरूलाई बाँडेर तत्कालीन गाउँ पञ्चायत बनाइएका थिए । दुल्लुका पूर्व मेयर समेत रहेका भण्डारीका अनुसार दामुपाल, बौद्ध, कालिका मन्दिर, बालेश्वर, नाभिस्थान लगायतका अभिलेखमा यस क्षेत्रको इतिहास झल्किने बताए । यद्यपि इतिहास बोल्ने दुल्लुका सम्पदामा खासै चासो दिइएको देखिन्न ।