मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

झापा आन्दोलन र जनयुद्धको फ्यूजन बनोस् एकता

बुधबार, २३ फागुन २०७४, १४ : १६
बुधबार, २३ फागुन २०७४

कमरेड केपी ओली दोस्रोपटक देशको प्रधानमन्त्री बन्नु भएको छ । प्रधानमन्त्री बन्नु मात्र ठूलो कुरा होइन । प्रधानमन्त्री बनिसकेपछि देश र जनताका निम्ति गर्नुपर्ने काम गर्न सकियो भने त्यो नै महत्वपूर्ण कुरा हुन जान्छ । आपूm बाँचुञ्जेल मात्र होइन, त्यसपछि पनि देशले सम्झना गर्नसक्ने काम गर्न सक्ने अवसर हो प्रधानमन्त्री पद भनेको । यही वास्तविकतालाई कमरेड केपी ओलीले बुझ्न सक्नुभयो भने निश्चय पनि हाम्रो देशले अब काँचुली फेर्ने आशा गर्न सकिन्छ ।

केपी ओली उमेरमा अझै केही गर्न सक्ने समय भएको व्यक्ति हुनुहुन्छ । परन्तु उहाँलाई जुन जघन्य रोगले गालेको छ, त्यसले जीवन त्यति लामो छैन भन्ने अनुभूति उहाँ स्वयंलाई पटक–पटक भइरहेको कुरा उहाँकै शब्दमा सुन्न पाइन्छ । त्यसैले पनि कमरेड केपी ओलीको जीवन अब धेरै लामो छैन भन्ने कुरा अरुलाई भन्दा उहाँ स्वयंलाई अवगत छ भन्न सकिन्छ । 

मानिसले जीवनमा निजी सम्पत्तिको निकै मोह गर्दछन् । चीनका अध्यक्ष सी जिन पिङले निजी सम्पत्तिका लोभीहरू कम्युनिष्ट पार्टीका सदस्य हुन सक्दैनन् भनेर हालै मात्र आफ्नो अभिव्यक्ति सार्वजनिक गरेपछि त्यो अभिव्यक्तिले संसारभरिकै कम्युनिष्टहरूलाई ऊर्जा दिएको छ । चीनका माओत्सेतुङ कम्युनिष्टहरूका आदर्श मानिन्छन् । लेनिन र स्टालिन सर्वहारावर्गीय जनताका मुक्तिदाता भनेर सम्झना गरिन्छन् । संसारका लागि उनीहरूले विचारबाहेक अरु के नै दिएका छन् र ? ओली कमरेडलाई सम्पत्ति मोह हुनुपर्ने पनि कुनै कारण छैन । उहाँका छोराछोरी नै नभएपछि कसको लागि सम्पत्ति जोड्ने ? देशको विकास गर्नु जत्ति ठूलो सम्पत्ति ओली कमरेडका लागि अरु केही पनि हुन सक्दैन भन्ने कुरा ओली कमरेडले नबुझ्नुभएको होला भन्न सकिँदैन ।

दोस्रोपटक प्रधानमन्त्रीमा पदासीन भएलगत्तै कमरेड केपी ओलीले आफ्ना कामहरूलाई अलि प्रभावकारी बनाउने प्रयास गरिरहनुभएको आभास हुन थालेको छ । सकेसम्म सरकारमा सबैको सहभागितालाई प्राथमिकता दिनु सकारात्मक कुरा हो । सबैको सहभागिताबाट गर्न सकिन्छ भने त्यो सबैभन्दा उत्तम हुन्छ । कमरेड केपी ओली १४ वर्ष जेल जीवन बिताएका व्यक्ति हुनुहुन्छ । त्यही १४ वर्षको जेल जीवनले नै उहाँलाई नेता बनाएको हो । त्यो लामो जेल जीवन जुन उद्देश्यका निम्ति भोगिएको हो, अब त्यो एक किसिमले प्राप्त भएको छ । अर्थात् सत्ता प्राप्त भएको छ । ‘सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ’ भन्ने राजनीतिक मान्यताका साथ हतियार बोकेर ‘वर्गशत्रु सफाया अभियान’ले केपी ओलीलाई कलिलै उमेरमा जेल पु¥यायो । १४ वर्षको जेल जीवन किन ? भोग्नुपरेको हो भन्ने कुरा कमरेड ओलीले अवश्य पनि बिर्सिन हुन्न । विगतकालमा उठाइएका हतियारहरू र गरिएका संघर्षहरूकै कारणबाट भए पनि आज शान्तिपूर्ण राजनीतिले सत्ता प्राप्त गराएको छ । यो सत्ता प्राप्तिका पछाडि झापा विद्रोहको इतिहास महत्वपूर्ण छ । झापाबाट सशस्त्र विद्रोहको सुरुवात नभएको भए ओली कमरेडको राजनीतिक व्यक्तित्व कहाँ खुम्चिएर बसेको हुन्थ्यो होला ? कल्पना गर्न सकिन्छ । झापाबाट सशस्त्र विद्रोह सुरु नभएको भए न त ओली कमरेडले त्यो विद्रोहमा सहभागिता जनाउनुहुन्थ्यो, न त १४ वर्षसम्म जेलमा नै बस्नुपर्दथ्यो । त्यसैले आज प्रधानमन्त्री पदमा पुग्नुका पछाडि सशस्त्र विद्रोहको भूमिका नै महत्वपूर्ण छ भन्ने कुरा ओली कमरेडले भुल्नुहुँदैन । 

सशस्त्र विद्रोह सधैंभरि आवश्यक हुँदैन । सधैंभरि हतियार उठाएर मात्रै युद्ध जितिन्छ भन्ने कुरासँग पनि सहमत हुन सकिँदैन । तथापि सशस्त्र विद्रोह एउटा कालखण्डमा आवश्यक थियो भन्ने कुरासँग असहमति जनाएर निकै शान्तिप्रेमी बन्न खोज्नु पनि गलत हो । दश वर्षसम्म हतियार उठाएर दीर्घकालीन जनयुद्धका नामबाट ठूलो रक्तपातपूर्ण आन्दोलन गरेको राजनीतिक शक्तिलाई समेत पार्टी एकता प्रक्रियामा समेटेर कमरेड ओलीले आपूmलाई शक्तिशाली पार्टीको नेता मात्र नभएर शक्तिशाली प्रधानमन्त्री नै बनाउन सफल हुनु भएको छ । शक्तिशाली प्रधानमन्त्रीको हैसियतबाट देश र जनताको लागि गर्न चाहने हो भने अब कमरेड ओलीलाई कसैले रोक्न, छेक्न सक्ने अवस्था छैन । १४ वर्ष जेल बसाइपछि ओली कमरेडले जेलबाट भाग्ने कमरेडहरूलाई उग्रवादी देख्नु र अझै पनि हतियार उठाउन खोज्ने राजनीतिक शक्तिहरूलाई ललकारेर उपदेश दिनुभन्दा अझै पनि हतियार उठ्नुपर्ने कारण किन बनिरहेको छ भन्नेतर्पm चिन्तन मनन गर्नु र हतियार उठाउन तयार भएकाहरूलाई छलफलमा बोलाएर

उनीहरूलाई पनि देशको विकास गर्न र जनताको जीवनस्तर माथि उठाउन कसरी सहकार्यमा तान्न सकिन्छ भन्ने कसरत गर्नु सबैभन्दा उत्तम होला । 
वाम गठबन्धनको आवरणमा चुनावी सफलता प्राप्त भएको छ । आखिर ‘वाम’ को अर्थ के हो ? यो शब्दप्रति नेपाली जनताको अटल आस्था र अटल विश्वास किन अभिव्यक्त भयो ? यो विषयलाई गम्भीरतापूर्वक बुझ्न जरुरी छ । निश्चय पनि शान्तिपूर्ण तरिकाले ओली कमरेड देशको कार्यकारी प्रमुख बन्न सफल हुनुभएको छ । त्यसो त १० वर्षसम्म जनयुद्ध लडेर आएका कमरेड प्रचण्ड र बाबुराम भट्टराईदेखि लिएर एमालेकै नेताहरू झलनाथ खनाल र माधव नेपाल पनि हाम्रो देशको कार्यकारी प्रमुख बन्न पाउनुभएकै हो । कार्यकारी प्रमुख बन्नु मात्रै ठूलो कुरा होइन भन्ने यथार्थलाई ओली कमरेडले आत्मसात् गर्नु पर्दछ । कम्युनिष्ट नेताहरूलाई देशको कार्यकारी प्रमुखका रूपमा पाउँदा पनि नेपाली जनताले पञ्चायतकालको शासनभन्दा फरक अनुभूति गर्न पाउँदैनन् भने त्यो जति लाजमर्दो कुरा के हुन्छ ? त्यसैले वर्तमान सरकारको संरचना वाम गठबन्धनको नामबाट नेपाली जनताले विश्वास गरेको धेरै पुरानो इतिहासको धरोहर हो । यो जनताको बहुदलीय जनवाद वा २१औं शताब्दीको जनवादको मिलन नभएर झापाबाट उठेको सशस्त्र आन्दोलन र दश वर्षसम्म चलेको दीर्घकालीन जनयुद्धको फ्यूजन हो भन्ने कुरालाई बुझ्न सक्नुपर्दछ । आपूmहरूले हतियार उठाउँदा किन उठाइएको हो ? इतिहासको समीक्षा गर्नुपर्दछ । आज अरुले फेरि किन हतियार उठाउन खोजिरहेका छन् ? कारण खोजिनु पर्दछ ।

सबै कम्युनिष्टहरूले साम्यवादको परिकल्पनामा राजनीतिको सुरुवात गरेका हुन्छन् । परन्तु साम्यवादी समाजको परिकल्पना परिकल्पनामै हराउने गरेको छ । रुस र चीनमा ठूला–ठूला युद्धबाट विजयी भएर कम्युनिष्टहरू शासनसत्तामा पुगेका भए पनि ती देशहरूमा साम्यवादी समाज निर्माण हुन सकेको पाइएन । बरु प्रतिक्रान्ति भएर उल्टो यात्रा सुरु भएका छन् । त्यसैले युद्धमा विजयी भएर प्राप्त गरिएको सत्ताबाट मात्र देशको विकास गर्न सकिन्छ कुरा सत्य होइन भन्ने इतिहासले पुष्टि गरिसकेको छ । देशको विकास हुनु र जनताको आर्थिक अवस्थामा सुधार आउनु नै राजनीतिक सफलता हो भन्ने कुरालाई मनन गरेर काम गर्ने हो भने असम्भव कुरा केही छैन ।

ओली कमरेड प्रधानमन्त्रीमा आसीन भएपछि केही आशालाग्दा प्रतिबद्धताहरू व्यक्त गरिरहनुभएबाट उहाँप्रति आशा गर्नु स्वाभाविक हुन्छ । पहिलोपटक ओली कमरेड प्रधानमन्त्रीमा पदासिन हुँदा भारतको नाकाबन्दीले गर्दा नेपाली जनता मर्माहत थिए । आजको स्थिति त्यस्तो छैन । छिमेकी देशहरूप्रतिको हाम्रो निर्भरताको अन्त्य कमरेड ओलीको संकल्प बन्नुपर्दछ । छिमेकी देशहरूकै सहयोगबाट आत्मनिर्भर अर्थतन्त्रको विकास नेपालको आर्थिक समुन्नतिको निम्ति आवश्यक छ । आर्थिक समुन्नति र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि नेपालको जलसम्पदा सबैभन्दा अमूल्य सम्पत्तिका रूपमा रहेको छ । हामीलाई प्रकृतिले दिएको वरदानलाई उपयोग गर्न सक्नुपर्दछ । यो प्रकृतिको वरदानलाई आफ्नो स्वामित्वबाट गुमाउने गल्ती हामीले गर्नु हुँदैन । विगतकालमा धेरै ठूलाठूला गल्तीहरू भएका छन् । काम गर्दा गल्ती हुनसक्दछन् । गल्तीहरूलाई सच्याउन सक्नुपर्दछ । गल्तीहरूलाई सच्याउन सकियो भने गल्ती दोहोरिने खतरा रहँदैन । आगे कमरेड ओलीलाई चेतना भया !
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निमकान्त पाण्डे
निमकान्त पाण्डे
लेखकबाट थप