शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

रवि लामिछानेले उचालेको ‘सुदर्शन चक्र’

आइतबार, १७ वैशाख २०८०, ११ : ४०
आइतबार, १७ वैशाख २०८०

तपाईंले अहिलेसम्म कुनै मन्त्री उपचार खर्च नपाएर थलापरेको सुन्नुभएको छ ? कुनै सांसदका छोराछोरी पैसा अभावमा पढ्न नपाएर रोइरहेको देख्नुभएको छ ? कुनै प्रधानमन्त्रीले आफ्नो पोसाक किन्न डोकामा सुन्तला बेचिरहेको देख्नुभएको छ ? कुनै मन्त्रीको घरमा चामल सकिएर भौँतारिएको सुन्नुभएको छ ? कुनै मन्त्रीले शुल्क तिर्न नसकेर छोराछोरीलाई पढ्न छुटाएको समाचार पढ्नुभएको छ ?

उल्लेखित अभाव सम्भवतः अहिलेसम्म कुनै मन्त्रीले बेहोरेका छैनन् । बरु पञ्चायतकालका अन्तिम प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले उपचार खर्च नपाएर मृत्युवरण भोगेको हामीले सुन्यौँ, देख्यौँ । त्यो अभावका बीचमा पनि उनको परिवारले राज्यद्वारा प्रदान गरिएको कुनै सुविधा लिएन । तर २०४६ सालमा बहुदल आएपछि पदमा विराजमान भएका कुनै प्रधानमन्त्री, मन्त्री, सांसदले माथि भनिएका अभाव न झेले, न बेहोरे ! अहँ, विल्कुल त्यो दृश्य अहिलेसम्म जनताले न सुनेका छन्, न देखेका छन् ।

यहाँ त दिनरात मिहिनेत गर्ने किसानको छोरोले पैसा नभएर पढ्न छोडेर कलिलो उमेरमा काम खोज्न मुग्लान पसेका खबर बाहिर आए । त्यही किसानले छोरीलाई पढाउन नसकेर कलिलो उमेरमा बिहे गरेर पठाएका सूचना सुनिए । यहाँ दिनहुँ हजारौँ तन्नेरीहरू विमानस्थलबाट मलिन अनुहार छोप्दै घरपरिवार छोडेर बाहिरिएका तस्बिर छरपष्ट भए । फलानो खर्च अभावमा उपचारबाट वञ्चित, फलानो घरमा अन्न रित्तिँदा परिवार भोकैजस्ता दैनिक समाचारले हाम्रा सञ्चारमाध्यममा स्थान ओगटिरहेका हुन्छन् । तर पनि अहिलेसम्म कुनै प्रधानमन्त्री, मन्त्री र सांसदले यस्ता दुःख व्यहोर्नुपरेको छैन ।

यसमा अर्को सवाल जोडिन्छ । त्यो हो, बिना कुनै जागिर र व्यवसाय हाम्रा नेताहरू यति सम्पन्नशाली कसरी भए त ? जनताले दिनरात दुःख गरेर पनि भएभरका अभाव झेल्नुपर्ने तर नेताहरूले भएजति सबै सुविधा पाउने, यो कस्तो शासकीय स्वरूपमा छौँ हामी ? यहीँबाट सुरु हुन्छ रवि लामिछानेको राजनीतिक यात्रा र सुदर्शन चक्रको अध्याय ।

बहुदलका बहुरूपी नेता

कुरो हो २०५० साल वैशाख २ गतेको । बिहान नेपाली कांग्रेसको बैठक बस्यो । नेताहरूले पार्टीका संस्थापक बीपी कोइरालाको नारा ‘जसको जोत उसको पोत’ उठाए । यही आधारमा कानुन बनाउने । धेरै नेताहरूको असहमतिका बाबजुद पनि बीपीकै मार्गनिर्देशनमा भूमि अधिकार जनतालाई दिलाउने निष्कर्षमा बैठक पुग्यो । त्यसलाई मन्त्रीपरिषद्मा लैजाने निर्णय भयो । जब मन्त्रीपरिषद्मा त्यो निर्णय लगियो । त्यो पूरै अस्वीकृत भयो । बीपीको भावना समेटिएको जनताको अधिकार दिलाउने विधेयक असफल भएका कारण देखाएर चित्त दुखाउँदै तत्कालीन भूमिसुधार मन्त्री जगन्नाथ आचार्यले राजीनामा दिएका थिए ।

त्यतिबेला प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला । गणेशमान सिंहका विश्वासिला व्यक्ति जगन्नाथ बीपीपथमा कांग्रेस जानुपर्ने अडान राख्थे । तर केन्द्रीय समितिले सधैँ बेवास्ता गर्थ्यो । त्यसपछि कांग्रेसले कहिल्यै पनि बीपीको नारालाई पछ्याएन । बरु एमालेले ल्याएको ‘आफ्नै गाउँ, आफँै बनाउँ’मा लतारियो ।

उता एमालेभित्र मुलुकको काम गर्न हुटहुटी भएका नेताहरूलाई पनि उस्तै सकस थियो । २०५२ साल वैशाख पहिलो साताको कुरो हो । २०५१ पुस ७ गते प्रधानमन्त्री मनमोहन अधिकारीले विश्वासको मत लिएपछि बजेट बनाउने चटारो चल्यो । नीति तथा कार्यक्रममा अर्थमन्त्री भरतमोहन अधिकारीले सबै गाविसलाई बजेट दिने अवधारणा ल्याएका थिए । उनले नै ‘आफ्नो गाउँ, आफैँ बनाऔँ’ भन्ने नारा तय गरे । तर यो काम गर्न नदिन पार्टीभित्र कति धेरै अवरोध झेल्नुपरेको थियो भनेर धेरै पटक भरतमोहन अधिकारीले स्वयं बताउँदै आएका थिए । भलै प्रधानमन्त्री मनमोहनको साथ पाएकाले भरतमोहनको यो कार्यक्रम सफलतापूर्वक लागू भयो । तर पार्टीमा उनलाई यो कार्यक्रम लागू गर्न नदिने कैयौँ नेता अझै एमालेमा जीवित नै छन् ।

कांग्रेसका शालीन र विद्वान् नेता भीमबहादुर तामाङ सधैँ भन्ने गर्थे, ‘हाम्रो राजनीतिले जनताको काम गर्ने सूत्र नै तयार गरेन, जहिल्यै नेतालाई मात्र समृद्धि सूत्र देखाइरह्यो ।’

उनले भनेजस्तै अहिलेसम्म नेतामुखी राजनीति भयो तर जनतामुखी कुनै पार्टी जान सकेनन् । फलस्वरूप २०४६ सालपछिका हरेक वर्षका भित्ताको पात्रो फेरियो, जनताका दैनिकी फेरिएनन् । जो–जो असल थिए, जनताका पक्षमा काम गरौँ भन्ने नेता थिए, उनीहरूले कहिल्यै मौका पाएनन् । जसले मौका पाए, उनीहरू कहिल्यै जनताका भएनन् । यी यावत् तथ्यका इतिहास साक्षी छ ।

पञ्चायत व्यवस्था नढलेसम्म बहुदलवादीले राजा र पञ्चहरूलाई धारेहात लगाइरहे । यी दलहरूले त्यतिबेला शासकलाई दोष दिँदै आफ्नो राजनीति उचाइ प्राप्त गरे । जब बहुदल आयो, फेरि राजामाथि खनिए । राजालाई यस्तो उस्तो भन्दै सराप्दै राजनीतिक सिँढी चढिरहे । माओवादीले युद्ध छेड्यो । युद्धबाहिर बसेकाहरूले राजालाई गाली गर्दै दुःखका कारण राजतन्त्र भएको अर्थ्याए । जनतालाई जनवादी गीत सुनाए । पेरू र क्युबाका जोसिला नारा देखाए । फोक्ल्यान्डका टापुका बारुदका भाकाहरू गाउँगाउँ पु¥याएर शासकलाई गाली गर्नमा सारा शक्ति लगाए ।

लौ त, तपाईंहरूले जनताको पक्षमा काम गर्ने भए म २४० वर्षको घर छोडेर नयाँ बासस्थानमा सर्छु भन्दै ज्ञानेन्द्र शाहले यिनै दलहरूलाई सारा सुम्पिएर हिँडिदिए । दलहरू राजाले छोडेपछि खुसीयाली मनाए । तर यो खुसी धेरै दिन टिकेन । एउटा राजाले पो छोडे, यहाँ त हजारौँ राजाहरू राज्यसत्ताको लुछाचुँडीमा तँछाडमछाड पो गरिरहे । सारा जनता जिल्ल परे । कहाँ गए ती जनवादी गीतहरूका मूल्यमान्यता ? कहाँ गए ती शक्तिखोरका वाचाहरू ? कहाँ गए, ती कलिला नानीहरूलाई बन्दुक बोकाउँदा दिएका आश्वासन ? कहाँ गए ती खुलामञ्चका गरिबलाई सुदिन ल्याउने प्रतिबद्धताहरू ? आखिर जनताले फेरि धोका पाए । न जनताले पेटभरि खान पाए, न सुखी जीवनको सुरुवात भयो ! आखिर धोकैधोकाबाट जनतामाथि दुःखका पहाडहरू बर्सिए !

रवि लामिछानेको उदय र घण्टीको आवाज

२०८० साल वैशाख १५ गते रवि लामिछाने चुनाव जितेर संसद्मा शपथ खाँदै गर्दा एक जना पाठकले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै थिए, ‘बल्ल पुराना दलहरू उत्तानो परे, भ्रष्ट नेताहरूलाई जेल कोच है रवि दाइ ।’ उनको यो उत्तेजनात्मक प्रतिक्रिया माथि उल्लेख गरिएका हरफहरूमा भनेझैँ पुराना दलहरूबाट पाएको धोकाको आक्रोश थियो ।

हुन त अलि विगतमा फर्कने हो भने बाबुराम भट्टराईले निर्माण गरेको नयाँ शक्ति पार्टीको प्रसङ्ग ल्याउन उपयुक्त हुन्छ । २०७३ सालको जेठ ३० काठमाडौँ दशरथ रङ्गशाला भरिभराउ थियो । युवा तन्नेरीहरूको बाक्लो उपस्थिति थियो । खासगरी शिक्षित वर्ग त्यो सम्मेलनमा सहभागी हुन निकै उत्साहित थिए । त्यो भीड देखेर गैरराजनीति क्षेत्रका व्यक्तिसमेत राजनीतिमा जान पाइला उचालिरहेका थिए । दशरथ रङ्गशालाको त्यतिबेलाको भीड त्यही थियो, जुन नयाँ शक्ति पार्टी स्थापना गर्न बाबुराम भट्टराईले धेरैलाई एकीकृत गरेका थिए ।

तर उनले रङ्गशालाका ती हजारौँ आशाहरू त्यतिबेला तिलाञ्जली दिए, जतिबेला उनी उपेन्द्र यादवको एक क्षेत्रीय पार्टीसँग विलीन हुन पुगे । जनताको त्यो भरोसाको सगरमाथा क्षणभरमै गल्र्यामगुर्लुम ढल्यो । २०७६ वैशाखमा नयाँ शक्ति पार्टीलाई विलीन गरेर भट्टराई नेपालको मूल राजनीतिबाट बाहिरिए । अहिलेसम्म उनी दुईवटा ठूला दोष बोकेर राजनीतिको डिलमा उभिएका छन् । पहिलो माओवादीको जनयुद्ध र दोस्रो नयाँ शक्ति निर्माणको आश्वासन र धोका । उनले यी दुवैको उत्तर अहिलेसम्म एक जना जनतालाई दिन सकेका छैनन् ।

अहिले रवि लामिछानेसँग जनता आकर्षित हुनुको मूलतः दुई कारण छन् । एक, पुराना दलहरूले चलाएको कुशासन, दोस्रो मूल धारका नेताहरूको गैरजिम्मवारीको पराकाष्ठा । यी दुवै कारणका बीच रविलाई देशभर ‘घण्टी’ बजाउन सजिलो भएको छ । जनताले वर्षौंदेखि पुराना नेताहरूलाई सोधे, ‘तिमीले लगाउने कोट कहाँबाट आयो ? तिमीले छोराछोरीलाई तिर्ने महँगो शुल्क कसले दियो ? यो भव्य महल कसरी बनायौ ? तिमीले चढ्ने यतिविधि आधुनिक गाडी कसरी किन्यौ ?’ जनताका यी प्रश्नको उत्तर दिन एक जना नेताले आवश्यक ठानेनन् । फलस्वरूप, देशभर नै जनताले ‘घण्टी’ बजाउन सुरु गरिसकेका छन् ।

अब तुरुन्त यी पुराना दलहरू परिवर्तन भएर वा सच्चिएर पनि कसैले पत्याउनेवाला छैनन् । यी नेताहरूले सजाय नभोगेसम्म जनताले माफी दिनेवाला छैनन् । पुराना दलहरू यति सडिसके कि यी अब पुनः प्रयोगका लागि अयोग्य साबित भइसकेका छन् । किनकि यिनका नाटकका अनेक रूपहरू जनताले देखिसकेका छन् ।

जब मंसिरको चुनाव जितेर संसद् गएर मन्त्री भएका रविले जनताकै प्रतिनिधित्व कर्तव्य निर्वाह गरे, तब उनलाई वैशाख १० गते झन् बढी भोट ल्याउने अवसर जु¥यो । त्यसैले त माओवादी केन्द्रबाट मन्त्री भएका युवा नेता सुदन किराँतीले भनिहाले, ‘रविजीहरूलाई हामीले साथमै लिएर जानुपर्छ ।’

तर यतिबेला साँच्चै नै रवि ‘सुदर्शन चक्र’ बोकेर संसद् छिरेका छन् । उनलाई हार्ने छुट छैन । उनले प्रहार गर्ने सुदर्शन चक्रको चोट भ्रष्टाचार र कुशासनको शिरमा लाग्नुपर्छ भनेर चितवनका जनताले भोट दिएका हुन् । जनताले उनलाई यावत् विकृतिमाथि प्रहार गर्न बलियो हतियार दिएर पठाएका छन् । किनकि जनमत जस्तो शक्तिशाली अस्त्र अरू हुँदैन ।

रवि लामिछानेले उचालेको सुदर्शन चक्र चितवनबाट फैलिँदै महाकाली घुमेर मेचीसम्म सर्लक्क ढाकिनेगरी ब्राह्मास्त्र साबित हुने अपेक्षा ती लाखौँ नरनारीहरूले गरेका छन् । सामाजिक जागरणबाट उदाएको रविको राजनीति र स्वर्णिम वाग्लेहरूको प्रवेशले मतदातामा देखिएको उभार ख्यालठट्टा होइन । जनताले सिद्धान्त नीतिबाट होइन, इमानदार नेताबाट मुलुक चल्छ भन्ने सन्देश प्रवाह गरिरहेका छन् । पुराना दलहरूको समाप्ति र रवि लामिछानेको सुदर्शन चक्र अस्त्रको सही प्रहारको परीक्षा भने अब बल्ल सुरु भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विनोद त्रिपाठी
विनोद त्रिपाठी
लेखकबाट थप