पुराना दललाई नयाँ जनमतले सिकाएको सबक
भर्खरै सम्पन्न उपचुनावले राजनीतिक दलहरूलाई नयाँ सन्देश दिएको छ । आपसी गठबन्धनबाट चुनाव जितिन्छ भन्ने परम्परागत दलहरूको आडम्बरलाई उपनिर्वाचनको यस परिणामले धुजा धुजा पारेको छ । अब जनताले दलीय विरासतलाई होइन, नयाँ नै भए पनि उम्मेदवार र उसका प्रवृत्तिलाई नियालेर मात्र मत दिन थालेका छन् ।
यस पटकको मत परिणाम पुराना दलका लागि अपेक्षित बन्यो । यो निर्वाचन परिणाम पुरानोको निरन्तरता नभई क्रमभङ्गता थियो । नयाँ दलका लागि अवसर थियो । गुमाउन पर्ने केही थिएन तर पाउनुपर्ने धेरै थियो । यस पटक पुराना दलहरूलाई जमानत जोगाउनुपर्ने चुनौती बन्यो ।
यस पटकको मत परिणामले मतदातामा पुराना दलहरूको कार्यशैलीप्रति जागेको वितृष्णा र आक्रोश छरपस्ट देखियो । मतदाताहरू कुनै पार्टीको हुँदैनन् भन्ने कुराको स्पष्ट सन्देश पनि हो । जनताले मतपत्रमार्फत नेताले बुझ्ने भाषामा जवाफ दिए । यो सामान्य सन्देश मात्र होइन पुराना दलहरूलाई सच्चिनका लागि दिएको चेतावनी पनि हो ।
राजनीतिमा जे पनि सम्भव हुन्छ भनेर जनभावनामाथि निरन्तर प्रहार गर्दै हिँड्ने पुराना र ठुला दललाई यो मत परिणामले राम्रो पाठ पढाएको छ । चुनावको समयमा बाँडिने पैसा र आश्वासनले मात्र चुनाव जित्न सकिँदैन । चुनाव जित्नका लागि चर्का भाषण र ठुला सपना देखाएर मात्र हुन्न । बरु आम जनताका जीवनमा प्रभाव पार्ने ससाना कुराले ठुलो महत्त्व राख्छ भन्ने देखाएको छ । जनताले खासै ठुलो सपना देखेका छैनन् ।
बाटोमा हिँड्दा भीआईपी सवारीले अवरोध नगरोस्, एम्बुलेन्समा नै कसैको ज्यान नजाओस् । कोसैको परीक्षा नछुटोस् । आफ्नै काम गर्नका लागि कसैलाई पैसा खुवाउन नपरोस् । राजनीतिक पहुँचका आधारमा कर्मचारी भर्ती नगरियोस् । राजनीतिक दलको आबद्धताका कारण मान्छेहरूको सरुवा बढुवा नहोस् । ससाना दुःखमा पनि सरकार जनतासँगै होस् भन्ने आम जनचाहना थियो । तर पुराना दलहरूले त्यसो गरेनन् ।
ठुला सपना देखाए । चुनावको समयमा पैसा, रक्सी र मासुमा मतदाता किन्न सकिन्छ भन्ने भ्रम पालेर बसे । नेताले गरेका सबै निर्णय जनताले मान्नुपर्छ भन्ने भूत सवार पुराना दलहरूले ठाने । उनीहरूलाई सत्ताको मात कति भयो भने हामी मिलेर जे पनि गर्न सक्छौँ भन्ने भ्रम भयो । तर यो पटक जनताले उनीहरूको यो पुरातन सोचलाई गतिलो सबक सिकाएका छन् र मतदाताहरू कसैका गुलाम हुँदैनन् भन्ने सबक सिकाए ।
जनमत बदलियो । यसको सन्देश पुराना दलहरूलाई सुध्रिनका लागि चेतावनी हो । अब पनि तिमीहरू सुध्रिएनौँ भने सकिन्छौँ भन्ने यो स्पष्ट सन्देश पनि थियो ।
यो परिणाम पुराना दललाई चेतावनी मात्र नभएर नयाँ दल र तिनीका नेता कार्यकर्तालाई खबरदारी र जिम्मेवारी पनि हो । यसले पछिल्लो समय उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गहिरोसँग अनुभूति गरोस् ।
यो पटकको मत नयाँ पार्टीप्रतिको विश्वास त हुँदै हो त्योभन्दा पुरानो दलहरूप्रतिको आक्रोश पनि हो । नयाँ दलले पुराना दलजस्तो नबन्न चुनौती पनि हो ।
यस उपनिर्वाचनको मत परिणामले पुराना दलको जरा हल्लाएको छ । यो परिणाम अहिले परिस्थितिको उपज मात्र होइन, जनताले राज्यबाट र पुराना राजनीतिक दलबाट पाएको प्रत्येक चोट र अपमानको ब्यालेटमार्फत लिएको बदला पनि हो । । श्रम बेचेर देश फर्किँदा एयरपोर्टमा खोसिएको मोबाइल, गरगहना गुमाउँदा खसेका आँसु, भीआईपी सवारी हुँदा ज्यान गुमाएकाका आफन्तका आँसु, सरकारी कामका लागि खेप्नुपरेको दुःख, अस्पताल र औषधीको अभावमा ज्यान गुमाउँदाको पीडाको बदला पनि हो । निम्छरो नागरिक हुनुको पीडा बोधको अभिव्यक्ति पनि हो । त्यसैले यो पटक जनताले मत बदलेर पुराना र ठुला भनिने दलहरूलाई सबक सिकाए ।
यो मत परिणामबाट पनि आफूलाई पुराना र ठुला भन्ने दलहरू सुध्रिएनन् भने सकिने निश्चित छ । पुराना दलले देशलाई आफ्नो सम्पत्तिजस्तो ठानेर चलाउन खोजेका छन् । त्यो तरिकालाई बदल्न जरुरी देखे । सत्तामा पुगेपछि आफन्त र आसेपासे पोस्न जे पनि गर्ने नेताहरू अब पनि सुध्रिएनन् भने अर्को पटक अवसर पाउने छैनन् ।
निर्वाचन भएको करिब पाँच महिना बितिसक्दा पनि सरकारलाई पूर्णता दिन नसक्नुले नेतृत्वको असक्षमता देखिन्छ । देशको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुगेको छ । कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्थामा सरकार छैन । तर पनि विशिष्ट र पूर्वविशिष्टहरूको तलबमान सुविधा बढिरहेको छ । जनता सामान्य उपचारका लागि घर खेत बेच्नुपर्ने अवस्थामा छन् । तर नेताहरू राज्यको करोडौँ खर्च गरेर विदेश उपचार गर्न हरदिन उडिरहन्छन् । आफ्नै उपचार गर्न गतिलो अस्पताल बनाउन नसक्ने नेताहरूले देश के बनाउलान् ? शिक्षा र स्वास्थ्यमा भएको निजीकरणले सरकारी संस्थाहरू धराशायी छन् । हरेक क्षेत्रमा भएको राजनीतीकरणले सरकारी क्षेत्रमा भ्रष्टाचार दिनदिनै बढ्दो छ ।
आर्थिक विकासका सूचकहरू सन्तोषजनक छैनन् । राज्यमा सुशासन छ भनेर चित्त बुझाउने अवस्थासमेत छैन । हिजोभन्दा आज आयात बढिरहेको छ । हामीले युवाहरूबाहेक केही निर्यात गरेका छैनौँ । उनीहरूले पठाएको रेमिट्यान्सले चलेको देशमा उनीहरू नै अपमानित हुनुपरेको छ । करिब ८० लाख युवा बेचेर देशमा केही नेताहरूलाई सबथोक भएको छ । जनताको अवस्था दिनदिनै खराब बन्दै गर्दा नेताहरूलाई दुख्दैन । निर्वाचनबाट चुनिएर गएकाहरू जनता प्रतिभन्दा पार्टी र बिचौलियाप्रति उत्तरदायी छन् । मन्त्री र सांंसद बन्नेबित्तिकै उनीहरूको जीवनशैली र सम्पत्तिमा ठुलो फेरबदल भएको छ । पछिल्लो समय त राजनीतिलाई कमाइधन्दा बनाउनेहरूकै राजनीतिमा हालीमुहाली छ । उनीहरू नै देशका ठेकेदार भएका छन् ।
देश यो अवस्थामा आइपुग्नुमा यिनै पुराना दल र नेताहरू दोषी हुन् । तर पनि उनीहरूलाई कत्ति पनि हीनताबोध हुँदैन । उनीहरूकै हैकम ठुलो । जनता पासो लगाएर मर्नुपर्ने अवस्थामा पुग्दा पनि उनीहरूलाई कहिल्यै नदुख्ने बरु सत्ताका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले जनतामा निराशा बढेको छ । यो उपनिर्वाचनले उनीहरूलाई सुध्रिन चेतावनी दिएको छ । अब पनि सुध्रिएनन् भने सकिन तयार हुनुपर्छ । यो उपनिर्वाचनको मत परिणाम त परिवर्तनको सानो झिल्को मात्र हो ।