किम जोङ उनकी बहिनीले किन भनिन् ‘स्थितिले खतरनाक मोड लिन सक्छ’ ?

अमेरिका र दक्षिण कोरियाको पछिल्लो सम्झौताका कारण स्थितिले खतरनाक मोड लिन सक्ने चेतावनी दिइएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले यस्तो चेतावनी दिएकी हुन् ।
किम जोङकी बहिनी किम यो–जोङलाई उत्तर कोरियाली शासनमा निकै शक्तिशाली मानिन्छ ।
किम यो–जोङले उत्तर कोरियाले आफ्नो परमाणु क्षमतालाई थप बलियो बनाउने घोषणा गरेको उत्तर कोरियाको सरकारी मिडियाले बताएको छ ।
सम्झौताका अनुसार उत्तर कोरियाको परमाणु खतरालाई निस्तेज पार्न दक्षिण कोरियामा परमाणु हतियार तैनाथ गर्ने र सोलको परमाणु कार्यक्रममा अमेरिकाले मद्दत गर्नेछ ।
यसको बदलामा दक्षिण कोरियाले आफ्नो परमाणु हतियार विकसित नगर्ने बचन दिएको छ ।
‘वासिङ्टन डिक्लेरेसन’ नामको यो सम्झौताबारे यसै हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योल्सबीच वासिङ्टनमा भएको एक वार्तापछि घोषणा भएको थियो ।
यो सम्झौताबारे कुरा गर्दै किम यो–जोङले भनिन्, ‘दुस्मनले आफ्नो परमाणु युद्धलाई जति अघि बढाउँछन्, कोरियाली प्रायद्वीपमा जति परमाणु हतियार तैनाथ गर्नेछन्, हामीले त्यति नै शक्तिसहित जवाफी कारबाही गर्नका लागि आफ्नो अधिकार प्रयोग गर्नेछौँ ।’
यो कदमले उत्तर पूर्वी एसिया र दुनियाँको शान्ति र सुरक्षाका लागि खतरा निम्तिने उनले चेतावनी दिइन् ।
अमेरिकाले परमाणु हतियारद्वारा सुसज्जित पनडुब्बी तैनाथ गर्नेछ
यस सम्झौतालाई समर्थन गर्दै राष्ट्रपति बाइडेनले उत्तर कोरियाको आक्रमणविरुद्ध गठबन्धन सेनाको आपसी सहयोगलाई थप बलियो बनाउने बताएका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति युनले परमाणु हतियारको प्रयोग गरेर कुनै पनि हमला रोक्ने र सहयोगीको सुरक्षा गर्ने अमेरिकाको प्रतिबद्धता ‘अभूतपूर्व’ छ ।
उता चीनले पनि जानीजानी तनाव बढाउने, युद्ध भड्काउनेहरूलाई चेतावनी दिएको छ ।
यो सम्झौता अन्तर्गत आफ्नो प्रतिबद्धतामाथि खरो उत्रिनका लागि अमेरिकाले दक्षिण कोरियामा ४० वर्षपछि परमाणु हतियारद्वारा सुसज्जित पनडुब्बी र परमाणु बम लैजाने युद्धक विमानसमेत अन्य सैन्य सामग्री पठाउनेछ ।
यी दुई देशले एक न्युक्लियर कन्सल्टेटिभ ग्रुप बनाउनेछ जसमा योजना आदिसँग सम्बन्धित मुद्दामा चर्चा हुनेछ ।
सोलका राजनेता लामो समयदेखि उत्तर कोरियाविरुद्ध कहिले र कसरी परमाणु हतियार प्रयोग गर्ने भनेर निर्णय लिने कमिटीमा वासिङ्टन समावेश होस् भन्ने चाहिरहेका थिए ।
उत्तर कोरियाको तर्फबाट परमाणु हमलाको खतराको विषयमा दुवै देश चिन्तित छन् ।
प्योङयाङ यस्तो टेक्टिकल परमाणु हतियार र लामो दुरीको मिसाइल विकसित गरिरहेको छ जसले दक्षिण कोरियाका साथै अमेरिकालाई पनि निशाना बनाउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको किताब सीपीसीलाई उपहार
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’
-
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणमा अन्योल
-
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
-
इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु