‘एउटा जातको विकास गर्न १०–१२ वर्ष लाग्छ’
काठमाडौँ । तपाईंले घरमा कस्तो चामल खानुहुन्छ — मोटो, मसिनो ? सहर–बजारमा बस्ने अधिकांशको जवाफ हुने रहेछ, मसिनो ।
हामीले आफ्नो देशलाई कृषिप्रधान देश भन्दै आइरहेका छौँ । तर, पछिल्लो समय हामीकहाँ वार्षिक करिब ३८ अर्ब रुपैयाँको धान–चामल आयात भइरहेको भन्सार विभागको तथ्यांक छ । यसो हुनुको कारण हो, देशमा उत्पादन घट्नु । उत्पादन कसरी बढाउने ? यसका लागि सबैभन्दा पहिले अनुसन्धान गरिनुपर्छ ।
कृषिसम्बन्धी अनुसन्धान गर्ने संयन्त्र हो, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) । यसले के गरिरहेको छ त ? ‘यतिखेर खाद्यान्नको आयात घटाउने नीति राज्यको छ । यसका लागि उत्पादन बढाउन नार्कले मूलभूत रूपमा बालीनाली र पशुपक्षीको जातीय विकासमा काम गर्दै आएको छ,’ नार्कका कार्यकारी निर्देशक दीपक भण्डारी भन्छन्, ‘कृषि र कृषकका समस्या के छन्, प्राविधिक समस्या के छन्, तिनलाई समाधान गर्ने विषयवस्तु छनोट गरी नार्कले अनुसन्धान गर्ने गर्छ ।’
अचेल अर्गानिक खेतीको बहस निकै सुनिन्छ । खाद्यान्नमा आत्मनिर्भर हुन हामीले हाइब्रिड (वर्णसङ्कर)जात ल्याउनैपर्ने कार्यकारी निर्देशक भण्डारी बताउँछन् । ‘तर, त्यसलाई कति क्षेत्रफलमा लगाउने भन्ने तोकिनुपर्छ । हामीले अहिले जति जातका धान लगाइरहेका छौँ, धानको आयात रोक्न त्यसमा करिब ३० प्रतिशत हाइब्रिड जात, ५०–६० प्रतिशत विकासे जात र १०–१५ प्रतिशत रैथाने जात लगाउनुपर्छ,’ उनी भन्छन्, ‘यसरी सन्तुलित तरिकाले अगाडि बढे मात्रै हामीले धानको आयात रोक्न सक्छौँ ।’
उनका अनुसार, अहिलेसम्म नार्कले विभिन्न बालीनालीका सात सयभन्दा बढी जातको विकास गरिसकेको छ । नार्कले अनुसन्धानबाट विकासको गरेको नयाँ जात राजपत्रमा प्रकाशित भएर प्रयोगमा आउँछ ।
नार्कले २०६६ सालमा ‘नेपाल कृषि अनुसन्धान परिषद् ः प्राविधिक उपलब्धिका झलकहरू’ पुस्तक प्रकाशित गरेको थियो । जस अनुसार, त्यतिबेलासम्म धानका ४६ र चैते एवं अगौटे (अघि पाक्ने)का ११ जात गरी कुल ५७ वटा जातको विकास गरिएको थियो । जसमध्ये सुनौला, खुमल–८, लोकतन्त्र, मिथिला, रामधान, बर्खे ३००४, पोखरेली जेठोबुढो, हर्दिनाथ १ (चैते) गरी ८ वटा जात २०६० यता २०६६ सालसम्म उन्मोचन गरिएका थिए ।
२०६६ सालसम्म नार्कबाट मकैका २१ जात उन्मोचन भइसकेका थिए । २०६० सालदेखि २०६६ सालसम्म शितला (सेतो), देउती (सेतो), मनकामना ४ (पहेँलो) र पोषिलो मकै १ (धेरै प्रोटिन भएको, सेतो) गरी चार जात उन्मोचन गरिएका थिए । उपरोक्त पुस्तक अनुसार, २०२७ सालदेखि २०६६ सालसम्म गहुँका २८ वटा जातको विकास गरी उन्मोचन भएका थिए ।
२०६६ सालसम्म नार्कले काभ्रे कोदो १, डल्ले १ र ओख्ले १ जातको विकास गरेको थियो । त्यतिबेलै नार्कले सिर्जना नामको गोलभेडाको वर्णसंकर (हाइब्रिड) जातको विकास ग¥यो । प्रतिबोट आठ केजीसम्म उत्पादन दिन सक्ने यस जातले ओइलाउने र डढुवा रोग पनि सहन सक्छ । कार्यकारी निर्देशक भण्डारी भन्छन्, ‘सिर्जना जातले गोलभेडा खेतीमा क्रान्ति नै ल्यायो । अहिले पनि यही प्रचलित छ । यो गोलभेडा टनेलभित्र अनुकूल तापक्रममा जुनसुकै भेगमा लगाउन सकिन्छ ।’
२०६६ सालतिर, नार्कले बाख्रालाई डालेघाँस खुवाएर अनुसन्धान गरेको थियो । बाख्रीले डालेघाँसको तुलनामा काभ्रो तथा बोका–खसीले खन्यौको घाँस बढी मन पराएको अनुसन्धानले देखाएको थियो । बाख्राको आहारामा प्रतिदिन तीन सय ग्राम स्टाइलो घाँस दिँदा दैनिक शारीरिक वृद्धिमा राम्रो प्रभाव पारेको अनुसन्धानले देखाएको थियो ।
विकासे जात
अहिले नार्कले धान, मकै (कुखुराको दानामा प्रयोग हुने), आलु, तरकारी र फलफूल (खासगरी स्याउ, सुन्तला र कागती)को नयाँ जातमा जोड दिइरहेको छ ।
कृषि बालीको उत्पादन बढाउन नयाँ गुण भएको, बढी उत्पादन दिने, रोग–कीरा नसर्ने र मलखाद सकभर कम लाग्ने नयाँ जातको विकास गरिरहनुपर्छ । यसका लागि विभिन्न जातबीच क्रस गर्दै त्यसका अवगुण घटाउँदै र गुण बढाउँदै लैजानुपर्छ । ‘यसरी विकास गरिएको बालीको पनि ५–६ वर्षमा बिउ फेर्नुपर्छ,’ कार्यकारी निर्देशक भण्डारी भन्छन्, ‘एकपटक विकास गरिएको जातले १५ वर्षसम्म राम्रो उत्पादन दिन्छ । त्यसपछि रोग–कीरा देखिन पनि सक्छ । त्यसैले हामीले नयाँ जातको विकास गरिरहेका हुन्छौँ ।’
उनका अनुसार, अहिले नेपालमा मसिनो चामल खानेहरू बढेका छन् । खासगरी मध्यम वर्गले मोटो चामल रुचाउँदैनन् । त्यसैले अहिले मसिनो दाना हुने धानको जात विकास गर्नुपरेको छ । ‘यसका लागि पहिले मसिनो दाना दिने धानको भाले वा पोथी (पराग)छानिन्छ र त्यसमा अर्को गुण भएको भाले वा पोथीबाट क्रस गरिन्छ,’ उनी भन्छन्, ‘उनीहरूको बिउ निकाल्दै र विभिन्न गुणबीच थप क्रस गर्दै जाँदा १०–१२ वर्ष लगाएर एउटा राम्रो उत्पादन दिने जातको विकास हुने हो ।’
उनका अनुसार, धान, मकै, गोलभेडा आदिको अहिले जति नयाँ जात आएका छन्, ती सबै १०–१२ वर्षको मेहनतले आएका हुन् । यसमा वैज्ञानिकहरूको मेहनत लामो लाग्छ ।
उनका अनुसार, देशभर गहुँ लगाइने सात लाख हेक्टरमध्ये ९४ प्रतिशत क्षेत्रफलमा नार्क आफैँले विकास गरेको गहुँको जात लगाइन्छ । भण्डारी भन्छन्, ‘धान लगाइने ६० प्रतिशत क्षेत्रफलमा नार्कले विकास गरेका जात लगाइँदै आइएको छ । मकै लगाइने ५०–६० प्रतिशत क्षेत्रफलमा परिषद्ले विकास गरेको जात लगाइन्छ ।’
पहिले कागती तराईमा त्यति उत्पादन हुँदैनथ्यो । परिषद्ले तराईका लागि सुन कागती– १ र सुनकागती– २ जातको विकास गरेपछि तराईमा खेती हुँदै आइरहेको छ ।
पशुको कुरा गर्दा, नार्कले अस्ट्रेलियाबाट बोर बाख्रा ल्याएर नयाँ जात विकास गरेको छ । यो एउटा बाख्रा ६० देखि ८० किलोसम्मको हुन्छ । यो बाख्रा सुरुमा नेपालको हावापानीमा राम्रो फस्टाउन सकेन अर्थात् ब्याउन र बढ्न सकेन । ‘हामीले अनुसन्धान गरी बोरलाई नेपालको खरी जातको बाख्रासँग क्रस ग¥यौँ । बोर बाख्रा र नेपालको बाख्रा ५० प्रतिशत क्रसपछि नेपाली हावापानीमा फस्टाउने राम्रो जातको विकास भयो,’ भण्डारी भन्छन्, ‘तर बोर नामबाटै चर्चित भएकाले हामीले विकास गरेको जातको नाम बोर नै राखेका छौँ । मध्यपहाडका लागि उपयुक्त यो बाख्रा अहिले नेपालभरकै किसानको बढी मागमा परेको छ ।’
हाइब्रिड
हाइब्रिड जात लगाउँदा प्रत्येक वर्ष बिउ फेर्नुपर्छ । यसले बढी उत्पादन दिन्छ तर उत्पादन गर्न बढी खर्च लाग्छ । भण्डारीका अनुसार, नार्कले विभिन्न बालीको हाइब्रिड जात उत्पादन गरिरहेको छ । ‘ठूला किसान, जसले अलि बढी मलखाद वा पानीको व्यवस्था गर्न सक्छन्, उनीहरूलाई हाइब्र्रिड सिफारिस गर्छौं, यसले बढी उत्पादन हुन्छ,’ उनले भने ।
नार्कले रामपुर हाइब्रिड–१० र १२ जातको मकै विकास गरिसकेको छ । १४, १२ र १६ मा काम भइरहेको छ । ‘हाइब्रिड धान नभई हुँदैन भनेर हर्दिनाथ हाइब्रिड– ३ विकास गरेका छौँ । हर्दिनाथ हाइब्रिड– ३ लाई मधेसका किसानले अलि बढी मन पराएका छन्,’ उनी भन्छन्, ‘यो अलिकति होँचो र बढी उत्पादन गुणको छ । यसले अरु धानले भन्दा डेढ गुणा बढी उत्पादन दिन्छ ।’
यान्त्रिकीकरण
बालीको विकासे जात तयार गर्न विकसित देशमा अत्यन्तै आधुनिक प्रविधि आइसक्यो । उनीहरू जेनेटिक लेबलमा जिन पहिचान गरी ल्याबमा परीक्षण गर्छन् । भण्डारी भन्छन्, ‘हामीले फिल्ड वा बोटमा परीक्षण गर्छौं । किनभने, हामीसँग त्यो तहको स्रोत–साधन छैन ।’
उनका अनुसार, बदलिँदो मौसमका कारण बालीको उत्पादन प्रभावित हुन्छ । यसको निराकरणका लागि नार्कले अनुसन्धान कार्य गरिरहेको छ । खासगरी बदलिँदो मौसमले कृषिमा पारेका असरलाई कस्ता प्रविधि र कस्ता जातले रोक्न सकिन्छ भन्ने अनुसन्धान हुन्छ ।
उनका अनुसार, गहुँ र धान नेपालका तराईदेखि पहाडसम्म लगाउन मिल्छ । तर तराईका लागि सिफारिस गरिएको जात पहाडमा लगाउँदा मौसम नमिलेका कारण उत्पादन राम्रो हुँदैन । यस कारण परिषद्ले क्षेत्र अनुसार नै जात विकास गरेर सिफारिस गर्छ । उच्च पहाडका लागि छुट्टै जात विकास गरिन्छ ।
जैविक विविधता संरक्षण, कृषि यान्त्रिकीकरण (कृषि औजा र यन्त्रको विकास)मा नार्क लागिरहेको छ । नार्कले भर्खरै चिनो कुट्ने मेसिन (चिनो कुटक)को विकास गरी हुम्लाका कृषक समूहलाई हस्तान्तरण गरेको छ । यस्तै, नार्कले धान काट्ने हाते मेसिन, साइकलबाट चल्ने मकै तथा तरकारी गोडमेल गर्ने औजारको विकास तथा सुधार गरेको छ ।
विजय गहुँबाट अन्तर्राष्ट्रिय पुरस्कार
सन् १९७० मा अमेरिकाका कृषि वैज्ञानिक नम्र्यान बर्लगले रोग नलाग्ने वा रोग प्रतिरोधी गहुँको जात विकास गरी नोबेल शान्ति पुरस्कार पाएका थिए । पछि गहुँमा कालो सिन्दुरे रोग देखिन थाल्यो । यो रोग नेपालमा पनि आउँछ भन्ने भएपछि दीपक भण्डारी लगायत पाँचजनाको समूहले अनुसन्धान गरेको थियो । समूहमा भण्डारीसँगै मदन भट्ट, सरल शर्मा, ध्रुव बी थापा र नुतन गौतम थिए ।
‘भारत, पाकिस्तानले भन्दापहिले हामीले सिन्दुरे रोग नलाग्ने गहुँको जात विकास गर्न सफल भयौँ,’ आफ्नो कार्यालयमा राखिएको अवार्ड देखाउँदै उज्यालो अनुहारसहित भण्डारी बोले, ‘त्यसबापत हामीलाई सन् २०१२ मा बीजीआरआई (बर्लग ग्लोबल रस्ट इनिसियटिभ) जिन स्टेवार्डसिप अवार्ड दिइयो ।’
चितवनको रामपुरबाट बिएससी, बैंककबाट एमएससी र पिएचडी गरेका भण्डारीले २०४७ सालदेखि अधिकृत तृतीय पदबाट जागिर सुरु गरेका हुन् । गहुँबाली अनुसन्धानमा १७ वर्ष बिताउँदा उनले अन्तर्राष्ट्रिय पुरस्कार पाउने कर्म गरे ।
गहुँबालीको अनुसन्धान उनीहरूले गहुँ बाली अनुसन्धान कार्यालय भैरहवाबाट गरेका थिए । भण्डारी भन्छन्, ‘अहिले पनि नेपालमा सबैभन्दा बढी विजय जातकै गहुँ लगाइन्छ ।’
भण्डारी यहाँ कार्यकारी निर्देशक भएर आएको तीन वर्ष भयो । ‘नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान’ले दिने ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’ २०७८ नार्कले पायो । आफ्नो कार्यालयको भित्तामा राखिएको पुरस्कार देखाउँदै भण्डारीले भने, ‘म आइसकेपछिको उपलब्धि त्यो पनि हो ।’
आफू आइसकेपछि हाइब्रिड जातको विकास र रैथाने बालीको प्रवद्र्धनमा जोड दिइरहेको उनी बताउँछन् । नार्कले जिन बैंकमार्फत रैथाने बालीको संरक्षण गरिरहेको छ । उनी भन्छन्, ‘अहिले जिन बैंकमा १५ हजार किसिमका नेपाली रैथाने बालीका बिउ सय वर्षका लागि सुरक्षित छन् ।’
कृषिको प्रवद्र्धनमा अनुसन्धान गरिरहँदा उनले समाजलाई पनि नियालेका छन् । ‘अहिले युवा विदेश पलायने र महिलाहरू बच्चालाई पढाउन सदरमुकाम वा बजार क्षेत्रमा बस्न थालेपछि बाँझो जग्गा बढ्दै गइरहेको छ,’ उनी भन्छन्, ‘करिब १० लाख हेक्टर क्षेत्रफल अहिले बाँझो छ, जुन जग्गामा पहिले खेती गरिन्थ्यो । बाँदरले खेती नष्ट गर्ने हुँदा पहाडतिर जग्गा बाँझो हुन थालेको छ ।’
‘राज्यले कृषि अनुसन्धानलाई प्राथमिकतामा राखेन’
२०४६ को परिवर्तनपछि २०४७ मा सालमा बनेको संविधानको भावनाअनुरूप २०४८ सालमा परिषद्को स्थापना भएको हो ।
कृषिप्रधान मुलुकमा कृषि अनुसन्धानका काम धेरै छन् तर राज्यले प्राथमिकतामा नराखेको कार्यकारी निर्देशकको भनाइ छ । ‘नीतिगत रूपमा भन्नुपर्दा, अनुसन्धानले प्राथमिकता पाइरहेको छैन । राज्यले बुझ्न नसकेको जस्तो लाग्छ, विकास भनेकै नयाँ–नयाँ प्रविधिको प्रयोग हो,’ उनी भन्छन्, ‘जसले छिटो प्रविधि ल्यायो, जसले प्रविधिको प्रयोग ग¥यो, उसैले विकास गर्छ ।’
उनका अनुसार, राष्ट्रिय बजेटको जम्मा तीन प्रतिशत कृषि क्षेत्रमा छुट्ट्याइन्छ, तीन प्रतिशतलाई सय प्रतिशत मान्दा त्यसको आठदेखि नौ प्रतिशत बजेट अनुसन्धानमा छुट्ट्याइन्छ । अनुसन्धान र त्यसबाट उत्पादन आफैँमा महँगो काम हो । ‘कम बजेटकै कारण कृषि अनुसन्धानले त्यति गति लिन सकेको छैन,’ उनी भन्छन्, ‘परिषद्लाई ल्याब लगायत पूर्वाधारको समेत अभाव छ । यसकारण अत्याधुनिक ल्याब लगायत पूर्वाधारबाट अनुसन्धान हुन सकिरहेको छैन ।’
अनुसन्धानले राज्यबाट प्राथमिकता नपाउँदा कर्मचारीमा मनोबल घटेको उनी बताउँछन् । कर्मचारीलाई तलब–सुविधा आकर्षक नहुँदा विदेश पलायन हुने प्रवृत्ति बढेको छ । कृषिको अन्तर्राष्ट्रिय बजार भएकाले नेपालमा केही वर्ष सरकारी जागिर गरी अनुभव लिएपछि कर्मचारी विदेश जान खोज्छन् । किनभने, उता आकर्षक सेवा–सुविधा हुन्छ । यसले नेपालमा सधैँ जनशक्तिको अभाव खड्किरहन्छ । कर्मचारीलाई विदेश पलायन हुनबाट रोक्न सरकारले आकर्षक तलब सुविधा ल्याउनुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘अनुसन्धानको काम भनेको टेन टु फाइभ जागिर जस्तो होइन, राति २ बजे फिल्डमा खट्नुपर्ने हुन्छ, बिरुवा वा आफ्नो अनुसन्धानको अवस्था बुझ्न ।’
परिषद्को नेपालभरि रहेका ६३ वटा कार्यालयमा एक हजार नौ सय २३ कर्मचारी छन् । यहाँ वैज्ञानिक समूहमा काम गर्न कृषिमा स्नातकोत्तर गरेको हुनुपर्छ, जसलाई ‘वैज्ञानिक– १’ पद भनिन्छ । यस्तै प्राविधिक समूहमा घुस्न कृषिमा स्नातक भए हुन्छ । यसबाहेक प्रशासनिक कर्मचारी आवश्यक पर्छन् । जनशक्ति अभाव हुँदै गएपछि यतिखेर परिषद्ले ५७६ कर्मचारीको आह्वान गरेको छ ।
स्वायक्त संस्था भए पनि राज्यका अन्य नीति–नियमका कारण बाहिरी हस्तक्षेप भइरहँदो नार्कलाई सहज ढंगले काम गर्न अप्ठेरो परिरहेको कार्यकारी निर्देशक भण्डारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, रियाल, दिराम, रिङ्गेटको भाउ बढ्यो, कतिको मूल्य कति ?
-
सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणलाई सेवा
-
लोप हुँदै तरबार नाच
-
ट्रम्पका सहयोगी गेट्जमाथि गम्भीर आरोप : कार्यालयभित्रै लागूऔषध सेवनदेखि नाबालिकको यौन शोषणसम्म
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त