एकपटक पुग्नै पर्ने शे फोक्सुण्डो ताल
शे फोक्सुण्डो ताल प्राकृतिक सौन्दर्यका दृष्टिले महत्त्वपूर्ण रमणीय गन्तव्य हो । धर्तीको अनुपम र सुन्दर उपहार जीवनमा एक पटक पुग्नै पर्ने स्वर्गको एउटा टुक्रा हो । यही भएर वर्षेनी यो तालसम्म पदयात्राको लागि पुग्नेहरूको सङ्ख्या बढिरहेको छ ।
पदयात्रामा रमाउने र यसको मजा लिनेहरूको लागि शे फोक्सुण्डो तालको पदयात्रा महत्त्वपूर्ण छ । यो तालमा पुग्न शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्र भएर यात्रा गर्नुपर्छ ।
डोल्पाको प्रमुख आकर्षणको रूपमा रहेको यो तालमा जान चैत्र, वैशाख र जेठ महिना तथा भदौ, असोज र कार्त्तिक उत्तम महिनाको रूपमा रहेका छन् ।
भदौमा हामीहरू यो तालसम्म पुग्न यात्रा तय गर्यौँ । हाम्रो बसाइँ डोल्पामै भएकोले पदयात्रामा जान खासै असहज भएन । त्यसो त यहाँ पुग्न नेपालगञ्जदेखि जुफालसम्म ३५ मिनेटको हवाई यात्रा र जुफालबाट जीपमा सुलीगाड पुल तरेर पदयात्रा सुरु हुन्छ ।
नेपालगञ्जबाट सडकमार्ग भएर सोझै मोटरसाइकल र जीपमा पनि सुलीगाडसम्म आउन सकिन्छ । कागनीदेखि तालसम्म बाटोमा खाने बस्ने सुविधायुक्त होटल र चियाकफी हाउस भएकोले खान र बस्न कुनै असुविधा हुँदैन ।
सुलीगाड दोभानबाट २० मिनेटको पैदलपछि क्याम्प साईट (पुरानो भेडीगोठ) शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय रहेको स्थानमा पुगिन्छ । त्यहाँ निकुञ्ज प्रवेश शुल्क तिरेर प्रवेश अनुमति लिएपछि सुलीगाडको तिरैतिर राक्टाङ भएर खोला किनारको बस्ती कागनी (कांग्री) पुगिन्छ । यहाँ रह खोला सुलीगाडमा मिसिन्छ ।
कागनीबाट सुलीगाडको पुल तरेर तिरैतिर तेस्रो बाटो फोक्सुण्डोको हिउँदमा बस्ने बस्ती र गोठहरु भएको जेलाशा कटेपछि साङ्ट पुगिन्छ । यहाँबाट शे फोक्सुण्डो गाउँपालिकाको क्षेत्रमा प्रवेश गरिन्छ ।
साङ्टमा आँखे खोलाबाट बिजुली निकालिएको छ । खोलाको किनारै किनार जङ्गल र पाखोको पैदल यात्रापछि दुई घण्टामा छेप्का पुगिन्छ । छेप्कामा होम स्टे पनि सञ्चालनमा रहेका छन् । आफ्नो छुट्टै क्याम्पमा बस्नेको लागि पनि व्यवस्था गरिएको छ ।
छेप्का भन्दा अगाडि खेमझ्यापुवामा ‘क्याराभान’ फिल्मका नायक ठिन्ले लुण्डुप लामाको सम्झनामा चिर्थुम निर्माण गरिएको छ । यही बाटो हिँड्दा घोडाबाट लडेर भालेजुरामा नायक ठिन्लेको मृत्यु भएको थियो ।
सुलीगाड तल खोचमा बगेको छ । अलि माथि जङ्गल र भीरपाखाको पैदल हिँडाइपछि र्याची पुगिन्छ । यो बाटोमा बर्षात्मा हिँड्दा चिप्लिने डर हुन्छ । र्याचीबाट खोलाको किनारै किनार वारिपारि काठेपुल तरेपछि सुलीगाड र पुग्मगाडको दोभान सुम्दुवा पुगिन्छ ।
सुम्दुवामा नेपाली सेनाको निकुञ्ज सुरक्षा गण रहेको छ भने निकुञ्ज चेक पोष्ट रहेको छ । यहाँबाट सुलीगाडको किनारै किनार साईजल पुगिन्छ । यसलाई तापरिचा र बोडिङ पनि भनिन्छ । यहाँ आम्ची अस्पताल, शे फोक्सुण्डो स्वास्थ्य चौकी र तापारिचा विद्यालय रहेका छन् । रिङ्मो पुङ्मोलगायत आठ गाउँको साझा आवासीय माविका रूपमा तापरिचा विद्यालय रहेको छ । यो विद्यालय टासी डी नामक संस्थाले सन् १९९८ देखि व्यवस्थापन गर्दै आइरहेको छ ।
यहाँबाट सुलीगाड खोला तरेपछि पोलाम पुगिन्छ । पोलामबाट खोला छाडेर उकालो हिँड्नु पर्छ । यस ठाउँमा पहिले निकुञ्जको कार्यालय रहेको थियो तर द्वन्द्वकालमा यहाँबाट सुलीगाड सारिएको रहेछ ।
दुई घण्टाको उकालो हिँडाइपछि तालको क्षेत्र पुग्ने बेला सुन्दर सुलीगाड झरनाको दृश्यावलोकनले थकान मेटाउँछ । प्रकृतिसँग लुकामारी गर्दै हिँडेपछि रिङ्मो गाउँ पुगिन्छ । ९ सय वर्ष पुरानो रिङ्मो गाउँमा ३० देखि ४० हजार वर्ष अगाडि पहिरोबाट रोक्ने बाँध बाँध्दा रिङ्मो ताल बनेको जनश्रुति र विश्वास छ । बाँध बाँधेसरी तालको पानी बगेर चट्टानबाट झर्दा १६७ मीटर अग्लो सुलीगाड झरनाको रूपमा मनोरम दृश्य देख्न पाइन्छ ।
शे फोक्सुण्डो तालसम्म पुग्न निकुञ्ज क्षेत्रमा पदयात्रा गर्नुपर्ने हुँदा यहाँ पाइने विभिन्न प्रजातिका पुतली र २ सय भन्दा बढी प्रजातिका चराचुरुङ्गी हेर्ने दुर्लभ अवसर पनि मिल्छ । हिँड्दा नाउरको बथानसँगको जम्काभेट र बुर्कुसी मारेको दृश्यले झनै मन लोभ्याउँछ ।
रिङ्मो गाउँमा ६० भन्दा बढी घरमा होम स्टेका साथै सुविधायुक्त होटेल रहेका छन् । होम स्टेमा निर्दोष डोल्पो जनजातिहरूको सत्कार र आतिथ्य अनि अर्ग्यानिक खानाको स्वादले मोहनी लगाउँछ ।
यहाँको जग्गा किनबेच र कित्ताकाटमा सरकारले रोक लगाएको छ । रिङ्मो गाउँमा सेम्दुक लातेन गुम्बा रहेको छ । तालको पूर्व र दक्षिणतिर रहेको कोणधारी जंगलले ताललाई अझै मनमोहक बनाएको छ । त्यही छेउमा प्राचीन थासिङ छोलिङ गुम्बा रहेको छ । गुम्बा छेउबाट ताल र रिङ्मो गाउँको दृश्य मनमोहक देखिन्छ ।
नजिकै नेपाली सेनाको निकुञ्ज, सुरक्षा ब्यारेक रहेको छ । गाउँ नजिकको क्याम्प साइटमा वर्ल्डलिंकको फ्रि वाईफाई प्रयोग गर्न पाइन्छ, जसले विश्वको कुनामा तालबाट कुरा गर्न र तालको दृश्य शेयर गर्न सकिन्छ ।
११,८४९ फिटको उचाइमा रहेको १३७ मिटर गहिरो अल्पाइन ताजा पानीको शे फोक्सुण्डो ताल अल्पाइन हावापानी क्षेत्रमा रहेको र पानी निकै चिसो भएकाले कुनै पनि जीवजन्तुहरु नपाईने रहेछ । यो ताल अंग्रेजी अक्षर वाई आकारमा फैलिएको छ । क्षेत्रफल ४.९४ वर्गकिलोमिटर, लम्बाई ५.१५ किलोमिटर र चौडाई ८ सय मिटर रहेको छ । यो ताल सन् २००७ मा रामसार सूचीमा सूचीकृत भएको छ ।
तालको दक्षिण पश्चिम किनाराबाट चट्टान काटेर हिँड्ने बाटो छ । यही भीरबाट क्याराभान फिल्ममा चौरी खसेको दृश्य खिचिएको रहेछ । यही गागर भएर शे गुम्बा हुँदै साल्दाङ भएर उपल्लो डोल्पा जाने मार्ग हो । यही मार्गबाट अगाडि बढेपछि पहिलो भ्यू टावर पुगिन्छ, त्यहाँबाट दक्षिणमा रहेको रिक्मो गाउँ र तालको सुन्दर दृश्य देखिन्छ । तालको पानीले हरेक घण्टामा रंग बदलिरहेको जस्तो लाग्छ ।
सागर ताल र अन्य लेकबाट उत्पत्ति भएर आएका खोलाहरु मिसिई बनेको सागर खोलाले बर्षेनी बगाएर ल्याएको गेग्रानले त्यता तर्फको भाग पुरिँदै गएको देखिन्छ ।
फोक्सुण्डो खोलातर्फ अर्को हाँगा रहेको छ । हावा चलेको हुँदा त्यो भन्दा अगाडिको दृश्यहरु हेर्ने ईच्छा हुँदाहुँदै हामी फर्किन बाध्य भयौँ । तीनै तिरबाट अग्ला चट्टानी लेकहरूले घेरिएको ताल साँच्नै नै प्रकृतिको अनुपम उपहारको रूपमा रहेको पाइयो ।
अग्ला लेक र चुलीहरूमा प्रशस्त मात्रामा यार्सागुम्बा पाइन्छ । सबैभन्दा छोटो र सजिलो पदमार्गको रूपमा रहेको यो यात्राको अवधिमा सबै किसिमका प्रकृतिसँग साक्षात्कार गर्ने अवसर मिल्छ । तल्लो डोल्पादेखि उपल्लो डोल्पा सम्मको संस्कृति, भेषभूषा र रहनसहनको अनुभव लिन पाइन्छ । अनि यहीबाट शे गुम्बा हँुदै उपल्लो डोल्पा र मदुवा, टेम्चे, बागलफेदी भएर धो तराप सम्मको पदयात्रामा जान सकिन्छ ।
नीलो फोक्सुण्डो ताल, ९ सय वर्ष पुरानो रिङ्मो गाउँ, परम्परागत घरहरू, फोक्सुण्डो ताल वरपरका २० वटा गुम्बाहरू, थासुङ छोलिङ गुम्बा र सुलीगाड झरना लगायतका आकर्षणले यहाँ आउन सबैलाई मोहित गर्छ ।
शे फोक्सुण्डोले जैविक विविधता, प्राकृतिक सौन्दर्य र बोन्पो धर्म पर्यटकका लागि थप आकर्षणको केन्द्र बनेको छ । ताल पुगेपछि हिमाली गाउँ र विभिन्न जातजातिको संस्कृति पर्यटकका लागि थप अध्ययनको स्रोत बनेको छ । तालबाट विश्वको सातौँ अग्लो धौलागिरि हिमाल, सिस्ने हिमाल, अपि हिमाल, साइपाल हिमाल, काँडे हिमचुली, तिब्बतको हिमाली दृश्यलगायत हिमालको झलक पनि हेर्न सकिने हुँदा जो कोहीलाई आकर्षित गरिरहेको छ ।
यहाँ किन घुम्न आउने ?
१. पहाड, कन्दरा, इतिहास, संस्कृति, भाषा–समुदाय, खोला–नाला, वन–जङ्गलको बारेमा बुझ्न र अनुभव लिन ।
२. विश्वको सातौँ अग्लो शिखर धौलागिरि हिमाल, सिस्ने हिमाल, अपि हिमाल, साइपाल हिमाल, काँडे हिमचुली, तिब्बतको हिमाली दृश्यलगायत हिमालको झलक हेर्न ।
३. जैविक विविधता, प्राकृतिक सौन्दर्य, बोन्पो धर्म, प्राचीन, दुर्गम, हिमाली गाउँ र विभिन्न जातजातिको संस्कृतिको बारेमा अनुभव लिन ।
४. साहसिक पदयात्राको अनुभव लिन ।
५. जलवायु परिवर्तनको प्रभाव तथा वनस्पति र वन्यजन्तु संरक्षणको बारेमा अध्ययन गर्न ।
६. शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले वन्यजन्तु र वनस्पति संरक्षणमा खेलेको भूमिका र योगदानको बारेमा जानकारी लिन ।
७. स्थानीय समुदाय, शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य संस्थाहरु बीचको सम्बन्ध र सहकार्यको माभ्यमबाट वन्यजन्तु संरक्षणमा पुगेको योगदान बारेमा बुझ्न ।
८. लोपोन्मुख वन्यजन्तुका प्रजातिहरु नाउर, हिउँ चितुवा, खैरो ब्वाँसो र कस्तुरी मृग आदिको वासस्थान र अवस्थाको बारेमा जानकारी लिन ।
९. मृत्यु संस्कार र बहुपति प्रथा जस्ता अलौकिक संस्कृति र संस्कारहरूको बारेमा बुझ्न ।
१०. डोल्पो (भोटे) समुदायको भाषा, लिपी, संस्कृति, कला, साहित्य र सम्पदाहरूको संरक्षण र विकासको अवस्था बारेमा जानकारी लिन ।
११. प्राकृतिक स्रोतहरू हावा, पानी, माटो र घामको एकैपटक स्पर्श र अनुभव लिन ।
लेखक छार्का ताङसोङ गाउँपालिका, डोल्पाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय
-
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना