कविता
देश परदेश
शनिबार, १६ वैशाख २०८०, १० : ३७

पोखिन्छन् पोखियोस्
प्रशस्तै पसिनाहरू परदेशमा
बिन्ती नपोखिउन् किम्ती जिन्दगीहरू
त्यसै अनाहकमा
बढोस् घुर्यानमा उही पुरानै
इन्द्रकमलको बोट
तर छरोस् नयाँ वासना
र, पठाइयोस् परदेशीहरूलाई
बाडुलीमा पोको पारेर
एक मुठी सम्झना ।
....
अपसोच उता
परिस्थिति यस्तो छ कि देशको
जल्न थाले गरी खानेहरू देशमै
खन्याएर निराशाको मट्टितेल
आफ्नै जिउमा
कोरेर आक्रोशको मचिस
सल्काए आफैलाई
तब ऊ जलिरहँदा
ऊ एक्लै जल्यो कि
देश जल्यो ऊ सँगसँगै ?
....
बुझ्नु पर्नेहरूले
कहाँ बुझ्यो खै ?
भन्न त भन्छन् नि भन्नेहरू
मर्नु भन्दा बौलाउनु जाति
तर मलाई दुबै नामन्जुर छ
आमा,
मलाई तेस्रो विकल्प दिनुहोस् ।