सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
निबन्ध

गाउँँले जिन्दगी र त्यो बालापन

शनिबार, १६ वैशाख २०८०, १० : २४
शनिबार, १६ वैशाख २०८०

 मैले सुनेको छु, प्रायः मानिसको मुखारबिन्दबाट माग्दा पाउने भए बालापन माग्थे । यो मेरो जीवनमा पनि मेल खाने कुरा हो । प्रायः सबैको बाल्यकाल स्मृतिमा नै रहन्छ गाउँँ, सहर, देश र परिस्थितिअनुसार सुखका हुन् या दुखैका किन नहुन्, सबैका बाल्यकालका यादगार पलहरु सुन्दर लाग्छन् । 

आमाको फुकाइले निको हुने चोटहरु, बा का बोलीले निहुरिने शिरहरु, दाजु भाइ र दिदी वहिनीसँगको सामिप्यता, छरछिमेकीहरु सँगको उदारता, साथी सङ्गीहरुसँगको सहृदयता, आफन्तसँगको प्रेम सम्झिदै पनि आनन्द महसुस गर्न सकिन्छ । 

उमेर पाँच वर्षसम्म त कुनै खास घटनाबाहेक अरु कुरा स्मृतिमा छैनन् । त्यसपछि त आफू जन्मेको घर, घरका भित्ताहरु, ढोका र जस्केलाहरु, झ्याल, आँखी झ्यालका दुला, अघेनो, चुलो र मझेरी, ओदान, खोपा, गाग्री र गग्रेटो  सबै याद छन् । 

आगो जोड्न दाउरा र ढुङ्ग्री चाहिन्थ्यो । ग्यास चुलोको नाम सुनेको पनि थिएन । कति पटक आगो जोड्न नसकेर चुलोमा एक गाग्री पानी खन्याएर भागेको छु ।

सबै सबै निकाल्नै नमिल्ने, मिल्काउनै नसक्ने गरी मन, मुटु र मस्तिष्कमा गाँठो परेर बसेका छन् । बिहानै भालेको पहिलो डाकमा आमाले गाईको गोबरले लिपेको र रातो माटोले पोतेको ती घरका कोठा, चोटा र दलानहरुमा लडिबडी गर्दै हुर्किन मेरो सौभाग्यले पाएछ । 

भोजपुर जिल्लाको साविक चरम्बी गाविस–१ (हाल अरुण गाउँँपालिका–४ र्याङ सुन्तलाबारी) आफू जन्मिएको माटोबाट बसाइँ सर्नेको लर्को अझै रोकिएको छैन । 

गाउँँ आजभोलि जङ्गलमा परिणत भएको सुन्दा मन हतास हुन्छ । गाउँका जरुवा धाराहरु सुक्दै जाने क्रम रोकिएको छैन । शिक्षित र समाजसेवी मनहरुको पखेटा छिटो पलाउँदो रैछ । उडेर टाढा क्षितिज पारी विलय हुने समस्या हाम्रो गाउँको मात्र समस्या हँुदै हैन । 

जङ्गली जीवजनावरले लगाएको बाली उठाउन नपाउँदाको पीडा कहालीलाग्दो छ । त्यै पनि आफू जन्मिएको गाउँ ठाउँ प्रत्येक रात सपनामा त्यही गाउँघर, साथीहरु, मेलापात र घाँस दाउरा गर्दै गरेको देखिन्छ । 

गाउँको दैनिकी भालेको पहिलो डाकसँगै उठेर मेलापात, घाँस दाउरा गर्नु दिनचर्या अनन्त छँदैछ । फेरि यी सबै कुरा भएकोले नै गाउँ गाउँ जस्तो भएको हो । बिहान ४ बजे उठेर ५ बजे घाँस काट्न डोको बोकेर बारीमा पुग्नै पथ्र्यौ । 

एक भारी घाँस ल्याएर फुत्त गोठमा फालेपछि हस्याङ फस्याङ गर्दै खाना खायो, अनि झोला बोकेर दुई घण्टाको हिँडाइपछि स्कुल पुग्नुपर्ने बाध्यता थियो । 

स्कूल जाँदा बाटामा खोलानाला, भीरपाखा र जङ्गल अनि त्यही बाटोमा ज्वारी खोला पथ्र्यो, त्यहाँ गहिरो दह थियो  । गर्मी महिनामा पौडी खेलेर मात्र स्कुल जान्थ्यौं । स्कूल पुग्दा ढिला भैसकेको हुन्थ्यो, कहिलेकाहीँ त शिक्षकले १०० चोटिसम्म कक्षाकोठामा उठबस गराउँथे । 

हामी स्कुल जाँदा जङ्गलै जङ्गलको बाटो भएर जानुपर्ने भएकोले सिजन अनुसारका विभिन्न फलफुल काफल, फडिर, अम्बा, अमला, पानी अमला, विभिन्न किसिमका कन्दमुल र फलहरु खोज्थ्यौं । यी चीज बाटोका वरपर प्रशस्त पाइने भएकाले स्कूल जाँदा आउँदा एक चरण जङ्गल चहार्ने बानीले न घर समयमा पुगिन्थ्यो, न स्कुल । 

दिनभरी खेतबारीमा काम गरेर लखतरान हुनु भएका बा आमा बेलुका राँको बालेर छोरो खोज्न आउनु हुन्थ्यो र राम धुलाइ खाइन्थ्यो । मङ्सिर लागेपछि वनकुखुरा र कालिजको अण्डा खोज्न सालघारी जङ्गलका ओडार र भुइँका दुलाहरु खुब खोजिन्थ्यो । 

घरदेखि स्कूल टाढा भएकाले मुसलधारे पानी परेको बेला खहरे खोला तर्न नसकेर कयौं पटक कटेरोमा बास बसिएको रातहरु सम्झिदा नि कहाली लाग्छ । 

न फोन थियो, न इन्टरनेट । बा आमाको मन त हो, छोरा छोरी खोज्न जाउँ भने खोलाले आफैलाई बगाउला भन्ने डर । नजाउँ त खोला तर्ने हुँदा छोरो बगायो कि ? यो निस्लोट रातमा कहा बसेको होला ? चिसो पानीले कठ्याङ्ग्रियो कि ? भोकले कस्तो भयो होला ? मनमा अनेक तर्कना खेलाउँदै रातभरी पानी रहने प्रतिक्षामा आँखा झिमिक्क नपारी कसरी मन थामेर पो बस्नु हुन्थ्यो होला । 

हाम्रो पुस्ता जसले पञ्चायत कालमा जन्मेर, राजाको शासन काल हँुदै माओवादीले चलाएको जनयुद्ध भोग्न, देख्न र सहभागी हुन, संघीय लोकतान्त्रिक गणतन्त्रसम्म भोग्न पायो । 

हाम्रो पुस्ता अन्तिम पुस्ता हो, जसले तीन वटा व्यबस्था भोग्ने अवसर पायो। त्यस समय स्कूल जानु र घर आउनु कम चुनौतीको विषय थिएन । त्यसबेला कक्षाकोठामा बस्दा माओवादीका साथीहरु आएर संगठन बिस्तार गर्ने र जनयुद्धमा होमिन आग्रह गर्ने कतिपय साथीहरु त्यस कार्यमा सहभागी समेत हुनुभयो । सँगैका कति साथी सहिद भए, सम्झिदा मन अमिलो हुन्छ । 

माओवादी आएको थाहा पाएपछि नेपाली सेना, प्रहरी आउँथे, सोधपुछ र केरकार हुन्थ्यो । राज्य पक्ष र विद्रोही दोहोरो मारमा हामी कलिला विद्यार्थी । कति दिन स्कूलमा सेना आउँदै छ भनेको हल्ला सुनेर जङ्गलमा गएर राति अबेरसम्म लुकिन्थ्यो त कति दिन माओवादी आउने थाहा पाएर स्कूलबाट भागियो। घरमा सधैँ सन्त्रास हुन्थ्यो, छोरो बेलुका घर आउने हो कि नआउने हो । समय पेचिलो थियो।  

बा आमाका सङ्घर्ष शब्दमा उतारी सक्नु छैन । गाउँमा उब्जनी जमिन साहु माजनको कब्जामा हुन्थ्यो । पाखाबारीमा फल्ने कोदो र मकै हाम्रा भान्सामा पाक्ने परिकार थिए । रहरले सहरमा छिरेकाहरुलाई मात्र मीठो लाग्दो रहेछ, कोदोको ढिडो र मकैको च्याँख्ला  बाध्यतामा पटक्कै मीठो नहुँदो रहेछ । 

आमाको मजेत्रो तान्दै ‘आमा आज त धानको चामलको भात पकाउनु न है’ भनिरहेको सन्तानलाई आमाले ढाडस दिदै भन्नु हुन्थ्यो, ‘त्यो भन्दा मीठो बनाएर पकाउँछु नानी । नयाँ मकैको भात खिर खाएजस्तै लपक्क हुन्छ ।’

गाउँँमा सामानको विनिमय हुन्थ्यो, आज भोलि जस्तो सबैका हातमा पैसा हँुदैन थियो । सामान दिएर सामान साटिन्थ्यो। वर्ष दिनभरि काम गर्दा पनि उत्पादित बस्तुले ६ महिना टार्न हम्मे पथ्र्यो । धानको चामल पूजा, आफन्त आउँदा र चाडपर्वका लागि सञ्चित गर्नुपर्ने बाध्यता थियो । 

२०६० साल पहिले हिलेसम्म नुन, चिनी, साबुन र मसला लिनलाई हिँडेर २ दिन जानु पथ्र्यो ।  पछि पाख्रीबास हँुदै लेगुवा घाट बजार बिस्तार भयो । ६ महिनादेखि १ वर्षसम्म पुग्ने गरी जोहो गर्नुपर्ने बाध्यकारी अवस्था थियो । बजारबाट फिर्दा जरायोटारको उकालोभरि तिर्खा मेटाउने पानी कतै नपाइने, कसरी जीवन चलाएका थिए होलान् । 

तेल पेल्न, चिउरा कुट्न, बिहे कार्जेहरुका लागि धानको चामल कुटाउन घरबाट टाढा जानु पथ्र्यो ।  तोरीको तेल र चिउरा कुट्ने मिल याग्वा खोलामा थियो । त्यो पानीबाट चल्ने घट्ट भएकाले खोलाको छेउमा थियो । घरबाट एक बिहानको बाटो हिँडेपछि पुगिने त्यस ठाउँमा जाँदा खानाको लागि चामल सामल बोकेर जानुपर्ने, बास उतै बस्नुपर्ने हुन सक्थ्यो । किनकि धेरै गाउँबाट त्यही मिलमा तेल र चिउरा कुटाउन आउने भएकाले लाइनमा पालो कुर्नु पथ्र्यो । 

खोला दुई जङ्गलको बीचबाट बग्ने भएको हुनाले साह्रै सफा पानी थियो । त्यही खोलाको डिलमा खाना बनाएर खाँदाको मजा थाकेको शरीर खोलाको स्वा आवाजसँग कति मीठो निद्रा पथ्र्यो वर्णन गरी साध्य छैन । 

घनघोर जङ्गलमा अँध्यारो बाटो

म सायद १२ वर्षको उमेरको हँुदो हु । आमाले साथी लिएर तेल पेलाउन याग्वा खोला लेर जानु भएको पहिलो चोटी थियो । तेल पेल्न गएको मेरा मनमा अनेक प्रश्नहरु बाटाभरि तेर्सिए । एउटा लौरो त साथी मानिन्थ्यो हाम्रो गाउँमा, म त मान्छे तै नि छोरो मान्छे आमालाई कति भरोसा रहेछ, कति विश्वास रहेछ मसँग । 

जङ्गलै जङ्गलको बाटो बाघ, भालु जस्ता हिंस्रक जनावरको बसोबास भएको जङ्गल म डराउँछु भनेर बाँदरले पात हल्लाएको भन्दै आफू भित्रको डरलाई हिम्मतमा परिणत गरेर हिँड्नु हुँदो रहेछ आमा । (पछि म बुझ्ने भएपछि सुनाउनु हुन्थ्यो ।) 

त्यो दिन हाम्रो पालामा आएर तेल पेलाउँदा झमक्क साँझ परेको थियो । २ दिनको बसाइँ, सायद मलाई घरको न्यास्रो लागेर होला आमालाई धेरै जिद्धी गरे घर जाउँ कि जाउँ भने । मेरो जिद्धी नकार्न नसकेर उहाँले तेलको ग्यालिन र पिनाको पोको तयार पार्नु भयो । मैले खाना पकाउन लगेको भाँडा कराइ, थाल बटुका बोके । 

एउटा सानो पिलपिले लाइट थियो, ब्याट्री सकिन लागेकाले आमाले राँको चिर्नु भयो । र, त्यही सानो लाइटको मधुरो प्रकाशमा आमा–छोरा बेलुकाको करिब ७ बजे घरतिर लागियो । 

म अगि अगि, आमा पछि पछि जङ्गलको बाटो सास बन्द गरेर छिटो छिटो हिँडियो । बीचमा लाइट बन्द भएर राँको सल्काइयो । राँको सल्काएपछि अलि हिम्मत बढ््यो । किनकि आगोसँग जङ्गली जनावर डराउँछन् भन्ने थियो । 

एक घण्टा जति हिँडेपछि त्यही राँको पनि सकियो र निभ्यो । जङ्गलको निस्लोट अँध्यारो, छामछाम छुमछुम गरेर ११ बजे राति गाउँ पुगियो । गाउँको आफन्तको घरमा ढोका ढकढक पारेर मान्छे उठाइयो । आफन्तहरु छक्क पर्नु भयो । धन्न बाँचेर आयो, नयाँ जुनी पाएछौ भनेर खुशी हुँदै राति १२ बजे खाना पकाएर दही र घिउ भात खुवाउनु भयो ।

आमाले जङ्गलको सबै कथा काकीलाई सुनाउँदा मेरो मुटु घाँटीमा आएर अड्किए जस्तो भयो । तर डरै डरमा भुसुक्कै पो निदाएछु । आमाका अनुसार सापकोटा बा भन्नुहुन्थ्यो, बाजेको पालामा जंगलको त्यो ठूलो ओडारमा वनझाँक्री र त्यसकी बूढी चुँडेल्नी बस्थे रे । वनझाँक्रीले ससाना ८–१० वर्षका बच्चा लगेर मन्त्र विद्या सिकाउँथ्यो रे । 

चुँडेल्नीलाई वनझाँक्रीले बाँधेर राखेको हुन्छ रे । नत्र त मान्छे खान्छे अरे । वनझाँक्रीले गाईको दूध लगेर खीर पकाएर खुवाउँछ । यदि वनझाँक्रीको बूढीसँग जम्काभेट भयो भने ओरालोतिर भाग्नु । ओरालोमा कुद्न सक्दिन । उकालोतिर भाग्यो भने त कुदेर एकैछिनमा भेटेर खान्छे भनेर कथा सुनाउनु हुन्थ्यो ।

पानीको धारा टाढा थियो । एकाबिहानै नुवाइ धुवाइ गरी एक गाग्री पानी लिएर आउँदा भूतले गाग्रो फालिदिएको कथा मेरी आमाले सुनाउनु हुन्थ्यो। 

कसैको विवाह, ब्रतबन्ध र चाडपर्व हुँदा सालघारीमा पूर्वेली हाँक्पारे गीत गाउँदै सालको पात टिप्न जाँदाको मजा, दसैंमा सहरबाट आफन्त आउने दिन घरबाट १ घण्टा परसम्म खुसीले लिन गएर बाटो कुराइको आनन्द । 

दिदी भिनाजु आउने अरे भनेको सुन्दै मन फुरुङ्ग हुन्थ्यो । दसैँमा लिङ्गे पिङको डोरी बाट्न जङ्गलमा बाबियो खोज्न भिर भिर जान्थ्यौं । सबैको घरबाट एक एक मुठा बाबियो उठाउन हिँडिन्थ्यो । रातभरि लगाएर लठारो (डोरी) बाटिन्थ्यो । 

गाउँमा दसंैमा काट्ने खसी कसको ठूलो छ भनी अष्टमी र नवमीका दिन पुरै गाउँ चारिन्थ्यो । दही र केरा सारै मनपर्ने भएकाले चोरी चोरी खुब खाइयो। 

तिहारमा सिमलबारुलै मादल र झ्याम्टा नाचगान तथा दोहोरीमा दुई चार रात छर्लङ्ग पारिन्थ्यो । 

हाम्रोतिर बर्खे धान लगाउने चलन पछि आयो । त्यो फागुन, अन्तिम चैततिर रोप्ने चलन थियो । आकाशे खेती हुनाले जरुवाको पानी कुलो बनाएर आफ्नो खेतसम्म पुर्याउनु पथ्र्यो । रातभरि पानीको लागि चेवा बस्नु पथ्र्यो । तर घरतिर पाइला चाल्ने वित्तिकै अरुले लान्थे ।

सिँचाइले आजित भएपछि त्यस समयमा सुख्खा ठाउँमा रोप्न मिल्ने धान खस्याको बीउ बाबाले ल्याउनु भयो । कोदो रोपे जसरी धान रोपियो । कालो रातो खालको ठुल्ठुला चामल हँुदो रहेछ । खाना मीठो भएन, फेरि त्यो धान रोपिएन । 

एक पटक मधेस झर्न खुब रहर जागो । मोटर पनि चढ्न पाइने,बा ले लेर झर्नु भयो । हाम्रो गाउँबाट पाख्रिबास सम्मको पैदल यात्रा हिँडेपछि मात्र मोटर चढ्न पाइन्थ्यो । 

बिहान सखारै पछाडि भिर्ने झोला भिरेर बा र म मधेस हिँड्यो । लेगुवाको झोलुङगे पुल तरेपछि रामरिठ्ठा भन्ने ठाउँमा बिहानको ११ बजेतिर खाना खायौं । बेलुका बास बस्न पाख्रीवास पुगियो । 

अर्को दिन बिहानै ३ बजेदेखि बसका खलासीहरु कराउन थाले । ४ बजेको पहिलो बसमा यात्रा सुरु गरियो। बेलुका झुम्का गएर बसियो । 

कलको पानी गनाएर वाक वाक आउने । भदौरे गर्मी उस्तै उखरमाउलो थियो । न भात रुच्छ, न पानी । एक हप्ता मधेस बसेर घर पुग्दा १० किलो पो दुब्लाएको थिएँ । 

गाउँको जनजीवन अझैपनि कष्टपूर्ण छ । त्यहाँ बाटो, डोजर र बस त पुगे, सँगै विकृति र विसङ्गति पनि पुगे । शिक्षा र स्वास्थ्य क्षेत्रमा कुनै सुधार हुन सकेको छैन । 

अहिले झन् गाउँमा वर्गीय खाडल फराकिलो भएको महसुस हुन्छ । गाउँँ गाउँँ जस्तो हुनलाई त्यहाँ बोलिने भाषा, मेलापात, स्थानीय उत्पादनका पहिरन र परिकारचाडपर्व मनाउने तौरतरिका, ठाउँ विशेष संस्कृति, निस्वार्थ सहयोग, जीवन्त संस्कारलगायत यस्तै कुरा त रैछन् नि । 

तर गाउँहरु सहरजस्ता भएछन् । तराईका बोराका चामल, भारतीय साग सब्जी, मम, थुक्पा र कोकाकोला, चानिज भेष्ट, कट्टुले अब गाउँँ अपग्रेड भएछ । गाउँँ न गाउँँ रहेछ, न सहर भएछ । 

इटहरी–५, सुनसरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सेमन्त उपाध्याय
सेमन्त उपाध्याय
लेखकबाट थप