शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
कविता

लुटेरा झैँ बटुल्नु छ प्रेम अथाह

शनिबार, १६ वैशाख २०८०, ०५ : २२
शनिबार, १६ वैशाख २०८०

दीपेश पराजुली


इन्द्रेणीका सातै रंगले भरिएको आकाश तिमी
घनघोर अन्धकार हटाउने सूक्ष्म प्रकाश तिमी
उष्ण मरुभूमिमा जब प्यासको गहिरो बोध हुन्छ
मनको अन्तस्करणमा तब तिम्रो नै शोध हुन्छ
अन्धकार चिरेर सुनौलो बिहानी त्यहाँ आइपुग्छ  
जब मस्तिष्कको हर कुनामा तिम्रै आकृति छाइदिन्छ
यो चञ्चल चित्तको क्लेश हटाउने शान्ति तिमी
संसारको यी सबै भ्रान्ति मेटाउने क्रान्ति तिमी
तिमी नै बादल, तिमी नै वर्षा
मेरो अन्तर्ध्वनिमा मात्रै तिम्रो चर्चा
मेरो सिङ्गो बगैँचाको एउटै फूल तिमी
मलाई आफैसँग जोड्ने सहज पुल हौ तिमी ।

तिमी हाँस्दा लाग्दछ यो ब्रह्माण्ड नाच्दै छ
हाम्रो अन्तरङ्ग गीतमा आफ्नो कम्मर भाँच्दै छ
के रहेछ र अस्तित्व आखिर ?
रातभरको चमक, बिहान टुटिजाने तारा
सुखमा सँगै, दुःखमा छुटिजाने संसार सारा
मेरा सबै रहस्यको गवाह हौ तिमी
मेरो सबै विष्मयहरुको प्रवाह हौ तिमी
मेरा मनका हर कुराहरू तिमी सामु सर्वाङ्ग
आफ्नै प्रतिबिम्ब हो वा गर्दैछु म कुरा तिमीसँग ?
प्रेमको यो मार्गमा ऊर्जा नहोस् कहिल्यै कम  
प्रेम धनम् नै हो आखिर सर्व धनम् प्रधानम् १

तिमी पढिदिन्छौ, त्यसैले दुईचार अक्षर कोरिदिन्छु
यस्तै ससाना कृत्य गरेर जीवनको घडा भरिदिन्छु
त्यसो त हृदयका उच्छृङ्खल उछालहरू
काला अक्षरमा सजिलै कहाँ बाँधिन्छन् र
मनका अविच्छिन्न अनि अराजक आवेगहरू
स्थिर शब्दमा सजिलै कहाँ ठहरिन्छन् र
यहीँ छ आज जीवनको नगद, भोलि हो उधारो
प्रेममा छैन कुनै  गणित, कसले जित्यो या हार्‍यो 
त्यसैले, वर्तमानमा मलाई तिम्रो साथ चाहिएको छ
तिम्रो न्यानो हात अनि चुम्ने माथ चाहिएको छ
जीवनको साँझ कहिले ढल्छ, कसलाई के थाहा ?
त्यसैले त लुटेरा झैँ बटुल्नु छ प्रेम अथाह ।
लुटेरा झैँ बटुल्नु छ प्रेम अथाह ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिपेश पराजुली
दिपेश पराजुली
लेखकबाट थप