कसरी जिऊँ म ?
म बन्दकीमा बन्द छु
गण नमिलेको छन्द हुँ
समकालको रमझमले
पल्लवी यो मौसमले
गिज्याउँछ वसन्त दाँत देखाएर
हर्ष कति मन्झरी र पात पलाएर
बोक्दछु म काँधमा जिम्मेवारीको बोझ पनि
बुझ्दछ तर दुनियाँ मलाई दुनियाँकै बोझ भनी
खोज्नेछु म बल गरी के खाने छ, के लाउने
समय आउँछ माग्नलाई प्रत्येक क्षणको भुक्तानी
बाटाहरू बन्द छन् गति प्रगति मन्द छ
अंश प्रेरणा जाग्दछ खुलेर ‘जी’ भन्दछ
तृष्णा मेट्न के गरूँ पानी कहाँ पिऊँ म ?
बन्दकीमा बन्द छु, भन कसरी जिऊँ म ?
झुटो भुक्छ मुखबाट सत्य चाहिँ त्यो चपाउँछ
साथी यस्तै मात्र छन्, साथ यस्तो को पाउँछ
खाल ओढेर पवित्र पवित्रताको सोख भनी
मौका राम्रो पाएपछि विश्वासघातकै भोक पनि
भित्रभित्रै खुट्टा तान्छ, बाहिर परे बोक्छ नि
लडाउने त साथी छन् कुरा काट्ने लोक छ नि
बूढा बा र आमाको, खै कसरी टारौँ आस त्यो
भत्केका छन् भित्ता ती छानो चुहुन्छ आवासको
बिरक्तिन्छ मन, यसै बाँच्ने आस नै भाग्छ नि
मर्न लाई नि सक्दिन, बाँच्न मन नि लाग्छ नि
फाटेको छ मन मेरो, कुन धागोले सिऊँ म ?
बन्दकीमा बन्द छु भन कसरी जिऊँ म ?
-दिरुम नपा–१५, विजयखर्क, खोटाङ