मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

फरार सांसदलाई बिरामी प्रमाणित गर्ने सभामुखको प्रयास असफल, सकियो हिउँदे अधिवेशन

शुक्रबार, १५ वैशाख २०८०, २३ : २५
शुक्रबार, १५ वैशाख २०८०

आज मिति २०८० साल वैशाख महिनाको १५ गते आज दिनभर भएको मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. सभामुखको प्रयास असफल

हत्या आरोप लागेका फरार सांसदलाई बिरामी भनेर बिदा स्वीकृत गराउने सभामुख देवराज घिमिरेको प्रयास असफल भएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको पहिलो बैठकको अन्त्यतिर सभामुखले फरार सांसद लक्ष्मी महतो कोइरीको बिदा स्वीकृतिको प्रस्ताव पेश गरेपछि संसदमा हंगामा भएको थियो ।

त्यसपछि स्थगित भएर राति १० बजे बसेको बैठकमा सभामुखले बिदा अस्वीकृत भएको जानकारी गराए । दलका प्रतिनिधि र सभामुखबीच भएको छलफलमा कोइरीको बिरामी भनिएको बिदा अस्वीकृत गर्ने र अर्को अधिवेशनले यसबारे कानुनअनुसार गर्ने सहमति भएपछि सभामुखले सोही निर्णय सुनाएका थिए ।  

२. विषयगत समिति गठन

प्रतिनिधि सभाले विभिन्न १० वटा विषयगत समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुले सिफारिस गरेअनुसारको नाम सदस्यमा प्रस्ताव गरेका थिए । सभामुखले बाचन गरेको सदस्य सांसदहरुको नाम सभाले अनुमोदन गरेसँगै विषयगत समिति गठन भएको हो ।

प्रतिनिधि सभामा १० वटा विषयगत समितिहरुमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति रहेका छन् ।

यस्तै संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति रहेका छन् ।

३. हिउँदे अधिवेशन अन्त्य

संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

४. छानबिन समिति गठन

राजधानीको कपनमा भएको घटनाको अनुसन्धान गर्न प्रहरीले ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसी, ब्युरोकै एसएसपी दिनेश आचार्य, डीएसपी धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतलगायत छन् ।

प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई  वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको हो ।

५. सांसदको शपथ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा सांसद पदको शपथ लिएलगतै पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले सरकारमा जाने कुरामा सोचाई नभएको र त्यस किसिमको वातावरण नबनेको बताएका हुन् ।

लामिछानेले सरकारलाई दिएको समर्थनको विषयमा के गर्ने सोच्नुपर्ने विषय भएको बताउँदै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकमा यसबारे छलफल गरेर निर्णय लिने जानकारी दिए ।

६. ११ दिनदेखि अनसन

किसानको समस्या समाधानका लागि भन्दै विभिन्न माग राखेर नुवाकोटको ककनी गाउँपालिका– २ का श्रीराम घिमिरे आमरण अनसन बसेको ११ दिन बित्दासमेत सरकारले उनको माग सम्बोधनका लागि पहल गरेको छैन ।

काठमाडौंको न्यूरोडस्थित भूगोलपार्कमा उनी अनसन बसे यता सरकारका उपसचिव, सहसचिवहरु पुगेर माग सम्बोधन गर्ने आश्वासन दिए पनि राजनीतिक तहबाट अहिलेसम्म कोही नआएको उनका सहयोगी ताराप्रसाद अर्यालले जानकारी दिए । किसानको मुद्दालाई सरकारले बुझेन र समयमै सुनेन भने ठुलो प्रतिरोध हुने चेतावनी उनले दिए ।

७. मौद्रिक नीति समीक्षा कहिले ?

केन्द्रीय बैंकले यस पटक चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा वैशाख महिनाभित्रै ल्याउने तयारी गरेको छ । अघिल्ला वर्षहरुमा त्रैमासिक समीक्षा जेठको पहिलोरदोस्रो हप्तासम्म जाने गरे पनि यस पटक वैशाख अन्तिम हप्तासम्ममा ल्याउने गरी तयारी थालिएको राष्ट्र बैंकले जनाएको हो ।

८. लुम्बिनी र गण्डकीमा शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले तीन जना मन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रीहरू धन बहादुर मास्के, सन्तोष पाण्डे, धर्म बहादुर चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका हुन् ।  मास्के माओवादी केन्द्र , पाण्डे जसपा, चौधरी नागरिक उन्मुक्ति पाटीमा सांसद हुन् । गण्डकी प्रदेशमा पनि मुख्यमन्त्रीको शपथ भएको छ ।

९. कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत

र्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेशसभाको १४ औँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए ।

१०. यो पनि....

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार नेपालगन्ज पुगेका छन् । पूर्वराजालाई नेपालगन्ज विमानस्थलमा राप्रपाका महामन्त्री धवलशमशेर राणाले स्वागत गरेका छन् ।

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले अस्थिरतामाथि खेल्ने प्रयास गरेको आरोप लगाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले अध्यक्ष केपी शर्मा ओलीमाथि दिनप्रतिदिन आक्रमण बढिरहेको बताएको हो ।


राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन तथा धर्ना कार्यक्रम सुरु भएको छ ।

निर्वाचन आयोगले वैशाख १० गते सम्पन्न उपनिर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा पेस गरेको छ ।

निर्वाचन आयोगले शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपतिको अनुपस्थिति रहेकाले उपराष्ट्रपतिलाई परिणामसहितको प्रतिवेदन पेस गरेको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो हुने बताएका छन् ।

शुक्रवार समाजवादी प्रेस सङ्गठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा दलहरूका बीचमा आलोपालो हुने बताएका हुन् ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप