शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ: मन्त्री किराँती

शुक्रबार, १५ वैशाख २०८०, १६ : ३३
शुक्रबार, १५ वैशाख २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन् । 

शुक्रवार नेपाल पर्यटन बोर्ड तथा होटेल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रूपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै किराँतीले यस्तो बताएका हुन् । उनले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताए । 

किराँतीले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताए ।  जनताले ठुला राजनीतिक दलहरूलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको उनको भनाइ थियो । 

किराँतीले नेपालीहरू कोही पनि एक अर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताए । 

किराँतीले भने, ‘जनताले भनेका छन्, तिमीहरूले होस पु¥याएनौँ भने दिन आउँदै छ, अझै आउँदै छ भनेको छ, त्यसैले मिलेर जाऔँ । धेरै विपरीत पार्टीलाई हामीले गाली गरेका छौँ, पानीमाथिको ओभानो बनेका छौँ, अब छोडिदिऔँ । कोही शत्रु होइनौँ हामी, हाम्रो शत्रु हो भने त्यो गरिबी हो । गरिबीको विरुद्धमा एकजुट होऔँ । र जो अत्यधिक मतले जितेर आउनुभएको छ, रवि लामिछानेजी उहाँलाई छानेको मन्त्रालय दिएर लैजाऔँ । जनताको विश्वासमाथि सम्मान गरौँ । सबै पार्टी प्रतिपक्षी नबसौँ, देश आर्थिक संकटमा छ, एउटै डुङ्गामा छौँ, प्वाल परेर पानी पसे त डुबिन्छ नि । देश रहे पो पार्टी रहन्छ, झन्डा रहन्छ, देशै नरहे के रहन्छ ? तर हामी यस्तो राजनीतिकरण भएका छौँ, जन्मिँदै झन्डा लिएर जन्मिएको जस्तो ।’

मन्त्री किराँतीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरु नै रहेको आरोप लगाए । उनले भने, ‘वायुसेवा निगम खाने खुम्लेकीरा त मन्त्री नै पो रहेछ । प्रत्येक मानिस नियुक्तिमा पैसा उठाएको छ । हजार होइन, लाख होइन, क भन्दो रहेछ के क, क, एक दिन होइन, महिनौँ महिनासम्म क उठाएपछि कसरी हुन्छ । आफ्नो आफ्नो स्थानमा बस्नुपर्छ, भगवान् त आफ्नो स्थानमा बस्छन्, हामी त मान्छे हौँ । मान्छेको चाहिँ जम्मै स्थान, विज्ञता हुँदैन । अहिले राज्य सत्ताको सारा अङ्गहरू मृत्यु प्राय छ । जति चिमोट्दा पनि ऐया भन्दैन, स्वार्थमा दौडिएका छन् । जनता अब जाग्नुपर्छ । दबाब जनताले दिनुपर्छ ।’

मन्त्री किराँतीले देशका कानुन संशोधन गरी अघि बढ्नुपर्ने बताए । उनले एउटा व्यवसाय दर्ता गराउन सात वटा मन्त्रालय, २२ वटा विभाग र २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्ने अवस्था रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप