सद्दाम हुसैनकी छोरी रगदको नजरमा कस्ता थिए उनका पिता ?
आजकै दिन अर्थात् २८ अप्रिलमा सद्दाम हुसैनको जन्म भएको थियो । इराकका राष्ट्रपति रहेका सद्दाम हुसैनलाई सन् २००६ मा ३० डिसेम्बरमा मृत्युदण्ड दिइएको थियो ।
सद्दाम हुसैनको मृत्युको १५ वर्षपछि उनकी छोरी रगद हुसैनले इराकका जनतासँग एकजुट हुन र अरब दुनियाँमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न अपिल गरेकी थिइन् ।
आफ्नो बुवाको ठुलो तस्बिर अगाडि बसेर इराकका जनतासँग उनले एक अर्कासँगको शत्रुता बिर्सिएर एकजुट हुन आग्रह गरेकी थिइन् । सम्प्रदाय र आफ्नो पृष्ठभूमिलाई छोडेर एक–अर्कालाई माफी दिनसमेत उनको अपिल थियो ।
रगदले अघिल्लो वर्ष भनेकी थिइन्, ‘इराक कुनै पनि गुटमा सामेल हुनु हुँदैन । आपसी मतभेद बिर्सिदिनुस्, म तपाईंलाई आग्रह गर्न चाहन्छु । सबैको शक्ति एकजुट भएपछि मात्रै हामी इराकका लागि केही गर्न सक्छौँ ।’
रगदले आफ्ना पिताको १५ औँ पुण्यतिथीमा रेकर्ड गरिएको सन्देश जारी गरेकी थिइन् ।
रगद हुसैन को हुन् ?
इराकका पूर्व राष्ट्रपति सद्दाम हुसैनकी जेठी छोरी रगद हुसैनको स्कुलमा पढ्दा पढ्दै विवाह भएको थियो । त्यति बेला उनी १५ वर्षकी थिइन् । उनको विवाह हुँदा इराक र इरानमा युद्ध चलिरहेको थियो । सन् १९९६ को फेब्रुअरीमा २५ वर्षको उमेरमा रगदले आफ्नो परिवारको निर्देशनमा श्रीमानसँग सम्बन्ध विच्छेद गरिन् । त्यसको दुई दिनपछि उनका श्रीमानको हत्या गरियो ।
रगदको विवाह सद्दाम हुसैनका भतिजा हुसैन क्यामेल अल माजिदसँग भएको थियो । हुसैन क्यामेल त्यति बेला सद्दाम हुसैनको सुरक्षामा खटिएका थिए । सद्दामकी अर्की छोरी राना सद्दामको विवाह पनि हुसैन क्यामेलका भाइ सद्दाम क्यामेल अल माजिदसँग भएको थियो ।
दुवै छोरीको विवाह, सम्बन्ध विच्छेद र उनीहरूका श्रीमानको हत्या निकै दुखद कहानी हो । सन् २०१८ मा रगद सद्दाम हुसैनको नाम तत्कालीन इराकी सरकारले ‘मोस्ट वान्टेड’ को सूचीमा राखेको थियो ।
रगद सद्दाम हुसैनले यसै वर्ष फेब्रुअरीमा अल–अरेबियालाई दिएको अन्तरवार्तामा आफ्नो निजी जीवनका महत्त्वपूर्ण कुरा साझा गरेकी थिइन् । रगदलाई ‘बुवा सद्दाम हुसैनको दबाबमा विवाह गर्नुभएको थियो कि आफ्नै मनले गर्नुभएको थियो’ भनेर प्रश्न सोधिएको थियो ।
जवाफमा रगदले भनेकी थिइन्, ‘मेरो बुवाले आफ्ना पाँच जनामध्ये कुनै पनि सन्तानमाथि विवाहको दबाब दिएका थिएनन् । छोरीहरूका लागि कसैले सम्बन्धको प्रस्ताव राख्दा पनि उनले हामीलाई सोधेर नै गरे । उनले हामीलाई पूरा स्वतन्त्रता दिए । म त्यति बेला किशोरी थिएँ । गर्मी मौसम, दिउँसोको समय । बुवा ढोका ढकढकाएर मेरो कोठामा आए । म सुतिरहेकी थिएँ । उनले मलाई निकै प्रेमपूर्वक उठाए । मेरो नजिकै बसे । मेरो हालखबर सोधे । त्यसपछि ‘तिम्रो प्रेमी छ ?’ भनेर सोधे । उनको नामसमेत भने ।’
विवाह त परिवार भित्र नै हुनु थियो, त्यसैले असहज स्थिति नभएको रगदले बताइन् । ‘मेरो बुवाले ‘तिमी सम्बन्ध स्वीकार वा अस्वीकार गर्न स्वतन्त्र छौ । ’ बुवाले यसो भन्दा म लजाइरहेकी थिएँ । त्यति बेला उनले मेरो निर्णय आमालाई सुनाउन भनेका थिए । हुसैन क्यामेल अल–माजिद मेरो बुवाको रक्षा दलमा थिए । त्यसैले उनको भेट सद्दाम हुसैनसँग सधैँ हुन्थ्यो । मेरो बुवाले अरू अङ्गरक्षकलाई लन्चमा बोलाउँथे जसमा उनी पनि समावेश हुन्थे ।’
‘हामी दुई एक अर्कालाई प्रेम गर्न थालेका थियौँ । मेरी आमालाई थाहा थियो । म त्यति बेला सानै थिएँ । तर प्रेम छिट्टै विवाहमा परिणत भयो । म स्कुलमै पढिरहेकी थिएँ । विवाहपछि पनि मैले पढाई जारी राखेँ र ग्र्याजुएसनसम्म पढेँ । मेरा श्रीमान् पढाईको पक्षमा थिएनन् तर मैले पढाई पुरा गरेँ । सायद श्रीमानले ईर्ष्याका कारण यस्तो गरेका होलान् । इराकमा त्यति बेला सुरक्षाका लागि कुनै समस्या थिएन त्यसैले स्कुल जान नदिनुको कारण अरू के नै हुन सक्ला र ? यद्यपि, मेरा श्रीमानले मलाई प्रेम र आदर दुवै दिन्थे । मेरा आमा–बुवाप्रति पनि उनको आदर भाव उच्च थियो । ’
‘बुवाको प्रेमको तुलना नै छैन’
रगदले भनेकी थिइन्, ‘बुवाले मलाई असाध्यै माया गर्थे । यसको तुलना केहीसँग पनि गर्न सकिँदैन । उनले जति प्रेम दिए, त्यसको तुलना न त श्रीमानसँग गर्न सकिन्छ न मेरा बच्चासँग ।’
इराक–इरान युद्धका बेला रगद सानै थिइन् र स्कुलमा पढ्थिन् । त्यो युद्धको स्मरण गर्दै रगदले भनिन्, ‘त्यति बेला हाम्रो अर्को पनि घर थियो । त्यहाँ पनि हामी आउजाउ गर्ने गर्दथ्यौँ । भारी बमबारीका कारण म एक दिन स्कुल गएकी थिइनँ । सेनाको ड्रेस लगाएका बुवाले ‘किन स्कुल नगएको’ भनेर सोधे । ‘युद्धको खतरा छ नि त’ भनेर उनको जवाफ सुनेपछि उनले भनेका थिए, ‘इराकका सबै बच्चा स्कुल गइरहेका छन्, तिमी पनि जानुपर्छ । तिमी स्कुल गए पो अरू बच्चाको साहस बढ्नेछ । तिमीले उनीहरूको पनि ख्याल राख्नुपर्छ ।’ सद्दाम हुसैनका सन्तान भएको नाताले हामीले कुनै पनि विशेषाधिकार पाओस् भन्ने बुवाको चाहना थिएन । मेरो भाइको ज्यान त इराकको रक्षामा नै गयो ।’
रगदका अनुसार राजनीतिक निर्णयमा उनको संलग्नता हुँदैनथ्यो तर थुप्रै मानवतावादी निर्णयको उनी महत्त्वपूर्ण हिस्सा भने थिइन् । कतिपय मुद्दामा त उनको श्रीमानसँग पनि बहस हुने गरेको रगदले बताइन् ।
पति र पिताबीच सङ्घर्ष
रगदले आफ्ना श्रीमान् हुसैन क्यामेल र पिता सद्दाम हुसैनको सम्बन्धमा आएको तिक्तताबारे पनि कुराकानी गरेकी थिइन् । रगदले भनेकी थिइन्, ‘श्रीमान् मारिनेमा म मात्रै एक्ली थिइनँ । त्यति बेला इराकमा ठुलो सङ्ख्यामा महिलाले आफ्ना श्रीमान् गुमाए । मेरा श्रीमान् सन् १९९५ मा अगस्ट महिनामा जोर्डन गए । जाने बेलामा उनले मलाई सम्पर्क गरेका थिए । यहाँ बस्यौँ भने काटमार हुन्छ भन्ने मलाई लागेको थियो । यस्तो परिवारबीच नै हुन्छ । त्यसैले मैले उनको इराक छोड्ने निर्णयको समर्थन गरेँ । सद्दाम हुसैनकी छोरी भएको नाताले अरू देख जान सहज थिएन । यद्यपि, जोर्डनमा हाम्रो भव्य स्वागत भयो । म बाहिरबाट आएको हुँ भन्ने कहिल्यै महसुस भएन । तर पत्रकार सम्मेलन गरेर यसलाई सार्वजनिक गर्दा त्यहाँ के भनिँदैछ भन्नेबारे केही अनुमानसमेत थिएन ।’
उक्त पत्रकार सम्मेलनमा हुसैन क्यामेलले सद्दाम हुसैनविरुद्ध बोलेका थिए । हुसैन क्यामेलले भनेका थिए, ‘म जोर्डन आएपछि सद्दामको शासन हल्लिएको छ । इराकका सैनिक, सत्ता परिवर्तनका लागि तयार भएर बस्नु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित