शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय

नार्पाभूमि गाउँपालिकाले बिरामी बोक्न हेलिकप्टरको भाडा बेहोर्दै

शुक्रबार, १५ वैशाख २०८०, १० : ४२
शुक्रबार, १५ वैशाख २०८०

मनाङ । सडक सुविधाबाट वञ्चित मनाङको नार्पाभूमि गाउँपालिकाले बिरामीलाई हेलिकप्टरमा उद्धार गर्दै आएको छ । सडकको पहुँच नहुँदा यहाँका बासिन्दा उपचार गर्न समस्या हुने गरेको छ । यही समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले कुल भाडाको ५० प्रतिशत बेहोर्दै बिरामीलाई हेलिकप्टरमार्फत उपचारमा सहयोग गर्न थालेको हो । 

मनाङको विकट क्षेत्रमा पर्ने नार्पाभूमि सडकमार्गको पहुँचमा हालसम्म  पुग्न सकेको छैन । स्थलमार्गको सहज पहुँच नहुँदा बिरामी उपचारका लागि हेलिकप्टरको भर पर्नुपर्ने अवस्था रहेको गाउँपालिकाका अध्यक्ष कोञ्जोतेञ्जिङ लामाले बताए । “गम्भीर बिरामीलाई उपचारको व्यवस्था गर्नु हाम्रो दायित्व हो”, उनले भने । जिल्लामा भरपर्दो स्वास्थ्य सेवा छैन । गम्भीर वा जटिल प्रकृतिका बिरामीलाई पोखरा, काठमाडौँलगायत ठाउँका अस्पताल लैजान हेलिकप्टर चार्टर्ड गर्नुरेको उनले बताए । पालिकाले विपन्न स्थानीयवासीको उपचारका लागि हेली चार्टर्डमा ५० प्रतिशत खर्च व्यहोर्ने गरेको लामा बताउँछन् ।

“हेलिकप्टर चार्टर्ड गर्न पालिकावासी सबै सक्षम छैनन्, त्यसैले विपन्नलाई उपचार तथा स्वास्थ्य पहुँचमा पुर्याउन यो निर्णय गरेका हौं”, अध्यक्ष लामाले भने । हालसम्म पालिकाले सात गम्भीर तथा जटिल प्रकृतिका बिरामीलाई ५० प्रतिशत खर्च व्यहोरेर हेलिकप्टर चार्टर्डमार्फत उपचारका लागि अस्पतालसम्म पुर्याएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप