बलदेव रामको त्यो कथा : सिनो उठाउँदा गोवधको मुद्दा, परेवाको रगत लगाएर बलात्कारको आरोप
‘सिनो बहिष्कार आन्दोलनका नेता बलदेव रामले हामीलाई आफ्नो अधिकारका लागि बोल्न सिकाएका थिए,’ हरवाचरवा मञ्चका केन्द्रीय अध्यक्ष दशन खंग मण्डलले बलदेवलाई सम्झिए, ‘म उहाँले गर्ने सभा–भेलामा हिँड्थेँ ।’ बलदेव राम (२००७–२०७४) अस्ताएको पाँच वर्ष बितिसक्यो, उनी खासगरी मधेसी दलितका बीचमा घाम भएर उदाएका र चम्केका थिए । विशेषतः सिनो बहिष्कार आन्दोलनले उनलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमै चिनायो । मधेसका दलित अगुवाहरू बलदेवलाई श्रद्धाका साथ सम्झन्छन् ।
वर्ष २०७९ को उत्तराद्र्धमा हरवाचरवाहरूले मधेस प्रदेशमा अधिकार यात्रा गरे । देशमा प्रजातन्त्र आएको सात दशक नाघिसकेको छ, तर गिरहत (मालिक)को हली–गोठालो भएर जीविका गर्नेहरू भर्खरै नाम मात्रको मुक्त भएका छन् । उनीहरूलाई मुक्त घोषणा गरेर सरकार आफैँ दायित्वबाट मुक्त भएझैँ व्यवहार गरिरहेको छ । आफूहरूको पुनस्र्थापनाका लागि कुनै ठोस कदम नचालिएपछि तीनै तहको सरकारलाई झकझकाउन हरवाचरवाले अधिकार यात्रा गरेका थिए ।
दशनको नेतृत्वमा भएको अधिकार यात्रामा हामी (केही पत्रकार) पनि साथमा थियौँ । चैत २५ गते, सप्तरीको सुरुंगा–४ कनकपुरमा अधिकार यात्राको कोणसभा भयो, जसको आयोजना बलदेव राम संस्थापक रहेको संस्था ‘जनचेतना दलित संगम’ले गरेको थियो । कनकपुरमा रहेको यही संस्थामार्फत बलदेवले २०५६ मा बलदेव रामले सिनो बहिष्कार आन्दोलन गरेका थिए । कोणसभामा बलदेवको स्मरण गरिएको थियो ।
बलदेव संस्थापक रहेको संस्थाको कार्यकारी निर्देशकमा यतिखेर उनकै छोरा इन्द्रप्रसाद राम छन् । कनकपुरमा भेटिएका इन्द्रले हामीलाई आफ्ना पिताको संघर्षको कथा सुनाए ।
मधेसमा राम (चमार)हरू सदियौँदेखि ठूलाबडाको घरमा मरेको पशुको सिनो उठाउन बाध्य थिए । अर्कोतिर, सिनो उठाउने भएकै कारण समाजका कथित उच्च जातले उनीहरूलाई छुवाछुत गर्थे, अझै गर्छन् । बलदेवलाई २५–२६ वर्षको उमेरमै चेतना आइसकेको थियो– सिनो बहिष्कार गर्नैपर्छ । तर भूमिहीन चमारलगायत दलितहरूले हातमुख जोर्न मालिककै खेतको भर पर्नुपथ्र्यो । विभेदकारी प्रथामा विद्रोह गर्दा मालिकले के भन्ने हुन्, आफूहरूको हबिगत के हुने हो ! यस्तै सोचले बलदेव पछाडि हट्दै आएका थिए । २०५६ सालमा आएर सदियौँदेखि चलिआएको यस प्रथाको विरोधमा उनी उभिए । ‘मुक्तिनाथ चौधरीको घरमा मरेको पशुलाई ढोराइ रामले उठाउनुपर्ने थियो, रामहरू एकजुट भएर उठाएनन् । यसरी सिनो बहिष्कार आन्दोलन सुरु भयो,’ इन्द्र भन्छन्, ‘जसको नेतृत्व मेरो बुवाले गर्नुभएको थियो । उहाँको नेतृत्वको आन्दोलन सफल भयो, त्यसयता हामीले सिनो उठाउन बाध्य हुनुपरेन ।’
इन्द्रका अनुसार, २०३४ सालैतिर सिनो बहिष्कार आन्दोलन सुरु भएको थियो, त्यतिबेला कसैको साथ नहुँदा त्यो आन्दोलनले मूर्त रूप लिन सकेन । पछि अन्तर्राष्ट्रिय संस्था ‘एक्सन एड’ले यहाँका दलितहरूलाई संगठित गर्ने र जनचेतना फैलाउने लगायत काम गर्न थाल्यो । यसपछि मात्रै २०५६ सालमा भएको सिनो बहिष्कार आन्दोलनले मूर्त रूप लिएको हो ।
जमिनदारले जलाएका थिए मोहीको लगत
बलदेवका बुवा प्रीतमदास त्यतिबेला मधुपट्टी गाउँपञ्चायतको सचिव थिए, जतिबेला सरकारले द्रूत गतिमा भूमिसुधारको काम अगाडि बढाएको थियो । लगनशील र बफादार भएकाले प्रीतमको संगत समाजका ठूलाबडा मान्छेसँग हुन पुग्यो । संगतकै कारण उनले ५–७ कक्षा पढ्न पाएका थिए । उनीसँगै पढेका मोहितलाल चौधरी पछि प्रधानपञ्च भए, उनैले प्रीतमलाई सचिव बनाइदिए ।
०२१ सालदेखि सरकारले भूमिसुधारको काम सुरु ग¥यो । लगत संकलन हुँदा प्रीतमले मोहीको हकमा काम गरे । मोहीले हक पाउनु जमिनदारको हितको कुरा थिएन, उनीहरूको कटौती हुन्थ्यो । ‘मेरो बाजेले लगत संकलन गर्दा कति जमिनदारले बाधा उत्पन्न गरे,’ इन्द्र भन्छन्, ‘दौलतपुरमा त राति आगो लगाएर कागजपत्र जलाइयो । तर, केही स्थानमा उहाँले मोहियानी हक दिलाउन सफल हुनुभयो ।’
त्यतिबेला प्रीतमले थुप्रै मोहीको नाम टिपाएका थिए, जसमध्ये आज थुप्रैले मोहियानी हक पाएका छन् । प्रीतमले पनि केही कट्ठाजति जमिनमा मोहियानी हक पाए । उनको नामको जग्गा अहिले उनकै छोरानातिले जोतभोग गरिरहेका छन्, तर नामसारी भइसकेको छैन । किन ? ‘कोसिस त गरिरहेका छौँ, तर प्रक्रिया झन्झटिलो छ,’ इन्द्र भन्छन्, ‘अहिले पनि मुद्दा चलिरहेको छ ।’
प्रीतमको शेषपछि मोहियानी हकका लागि छोरा (बलदेव) लडेका थिए । बुवा सचिव भएकाले उनले पनि ५–७ कक्षा पढ्ने अवसर पाएका थिए । मोहियानी हकका लागि लडेकै कारण बलदेवको जीवन कष्टकर रह्यो । जमिनदारहरूले बलदेवमाथि यति षड्यन्त्र गरे कि जीवनभर उनले २४ वटा झुटा मुद्दा खेप्नुप¥यो । एकपटक बलदेव वनमा दाउन लिन गएका बेला जमिनदारले घरमा आगो झोँसिदिएका थिए ।
‘हामीमाथि हुँदै आएको अत्याचारको त कुरै नगरौँ । चमार समुदायका महिलाले पहिले ठूलाबडालाई सुँडेनी (सुत्केरी महिलाको सहयोगी) सेवा दिनको रूपमा प्रसूति सेवा दिने गर्थे,’ इन्द्र भन्छन््, ‘जमिनदारका घरमा सुँडेनीको काम गर्न जाँदा हाम्रा छोरीचेली कोही बलात्कृत पनि हुन्थे ।’
सुत्केरीसँग १५–१६ दिन बस्दासम्म चमार महिलामाथि कुनै छुवाछुत हुँदैनथ्यो । सुत्केरी चोखिएसँगै छुवाछुत सुरु हुन्थ्यो । किनभने, सुत्केरी भएका बेला उनीहरू अपवित्र ठहर्थे ।
सिनो उठाउँदा गोवधको मुद्दा
एकपटक बलदेव राम मरेको बाच्छीको सिनो फाल्न गएका थिए । सिनो फाल्नुअघि छाला काढिन्थ्यो, त्यो छाला भारतमा लगेर बेच्नेदेखि विभिन्न सामान बनाउन प्रयोग गरिन्थ्यो ।
जमिनदारले षड्यन्त्रको तानाबाना बुनी बलदेवलाई सिनो उठाउन बोलाएका रहेछन् । बाच्छी मारेर छाला काढेको भन्दै उनीमाथि गोवधको मुद्दा चलाइयो, यसमा जमिनदारहरू नै साक्षी थिए । उनलाई पक्रेर तीन महिना थुनामा राखियो, अन्ततः उनले मुद्दा जिते ।
एक जना दलित महिलालाई बलात्कार गरेको मुद्दा पनि मेरो बुवामाथि लगाइयो । एउटा परेवा मारेर ती महिलाको सारीभरि रगत लगाएर यो षड्यन्त्र गरिएको थियो । तीन वर्षपछि यो मुद्दालाई अदालतले झुटो ठह¥यायो ।
इन्द्र सुनाउँछन्, ‘ती महिलाको गर्भपतन गरिएको र उनको बलात्कार मेरो बुवाले गरेको आरोप लगाइएको थियो । उनलाई जमिनदारले पैसा दिएका थिए । पछि ती महिला हाम्रै पक्षमा आइन् ।’
इन्द्रका अनुसार, कतिपटक बलदेव मुद्दा लड्न सप्तरीदेखि काठमाडौंसम्म हिँडेर पुगेका थिए । अनेक आरोप र कष्ट सहेर पनि बलदेव आफूहरूको अधिकारका लागि लडिरहे । उनी यति परिश्रमी थिए, एकक्षण बिनापरिश्रम बस्दैनथे । कि अधिकारका लागि हिँड्थे, कि त मालिककै खेत वा कुनै न कुनै मजदुरीमा घोटिन्थे ।
जुझारु र सादगी
हरिबोल गजुरेलको अध्यक्षतामा बनेको ‘उच्चस्तरीय भूमिसुधार आयोग (२०६५) मा बलदेव सदस्य थिए । गजुरेलका अनुसार, बलदेव सादगी र जुझारु स्वभावका थिए । ‘उहाँ भूमिहीन किसानको पक्षमा बोल्नुहुन्थ्यो,’ शुक्रबार गजुरेलले मोबाइल फोनमार्फत भने ।
बलदेव ०६१ पुसमा राष्ट्रिय भूमि अधिकार मञ्चको संस्थापक अध्यक्ष भए । २०६२/६३ को जनआन्दोलनका बेला लोकतन्त्र र भूमिमा अधिकार माग्दै उनले सप्तरीमा ४८ घन्टे अनशन गराएका थिए । अनशनपछि राजविराजमा लोकतन्त्रको पक्षमा निस्केको जुलुसको नेतृत्व बलदेवले गरेका थिए ।
लेखक तथा पत्रकार यज्ञशसँगको संवादमा बलदेवले भनेका रहेछन्, ‘मान्छेले कुरा नबुझ्दासम्म सहन्छ । जब कुरा बुझ्छ, सबभन्दा पहिला रिस उठ्छ । सत्ता, दल र ठूला मानिस गरिबको त्यो रिसलाई पनि मार्न चाहन्छन् । तर जब त्यो मानिसको रिस सामूहिक आक्रोशमा बदलिन्छ अनि व्यवस्था र सत्ता पल्टाउने आन्दोलन हुन्छ ।’
जात सोधेर इन्द्रलाई जागिरबाट निकालियो
समाजशास्त्रमा स्नातक गरेका इन्द्रले लेखापढीको लाइसेन्स लिएर काम गर्दै आएका छन् । बाजेले लेखेका पुराना कागजातका ढाँचा हेरेर आफूले लेखापढी सिकेको उनी बताउँछन् ।
एसएसली दिएपछि (२०५३ तिर) उनी राष्ट्रिय अनुसन्धान विभागमा करारमा काम गरेका थिए । यो काम उनलाई जमिनदारकै छोराहरूले मिलाइदिएका हुन् । पछि उनले जातकै कारण यो जागिर छाड्नुप-यो । ‘एकपटक मैले हाकिमहरूलाई चिया दिएको थिएँ । हाकिममध्ये एकजना तराईका झा रहेछन् । उनले मेरो जात सोधे,’ इन्द्र आफ्नो जागिर खोसिएको ज्यादतीको कथा सुनाउँछन्, ‘चमार भन्ने थाहा पाएपछि बेसरी गालीगलौज गरे, कुटपिट गरे, भोलिदेखि आइस् भने गोली हान्छु भने । त्यसपछि म भारततिर भागेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन : एसएसपीको कमान्ड ४ हजार प्रहरी परिचालन
-
खेल जीवनबाट सन्न्यास लिए दुई ओलम्पिकका स्वर्ण विजेता ब्राउनलीले
-
एमाले महासचिवका ९ प्रश्न : सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?
-
‘मृत’ भन्दै चिकित्सकले ‘पोस्टमार्टम’समेत गरिसकेका थिए, घाटमा पुग्दा जीवित
-
३२ हजारमध्ये १३ जना डेंगु संक्रमितको मृत्यु
-
उपत्यकामा खानेपानी मिटरको सुरक्षाको जिम्मा घरधनी आफैँले लिन अनुरोध