मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

बिहीबार, १४ वैशाख २०८०, २२ : ३१
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । आज मिति २०८० साल वैशाख महिनाको १४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. दुई प्रदेशमा नयाँ मुख्यमन्त्री
बिहीबार दुई प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।  बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई गण्डकीप प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  

लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसमा डिल्ली बहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

२. यात्रीले दर्ता पाउने
लामो समयदेखि संघर्षमा रहेको तर दर्ता पाउन नसकेका स्वदेशी उत्पादनका सवारी साधनहरुले अन्ततः दर्ता पाउने भएका छन् । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्था,कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता दिने बाटो खुल्ला गरेको हो । 
 योसँगै अब विदेशबाट पार्टस् तथा कच्चा सामग्री ल्याई स्वदेशमा सवारी एसेम्बलिङ गर्ने र सबै पार्टस समेतको तयारी सवारी उत्पादन गर्ने कम्पनी र सवारी साधनले समेत दर्ता पाउने भएका छन् । यस्तो दर्ता (नम्बर प्लेट) का लागि भन्सार प्रज्ञापनपत्र (एलसी) नचाहिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

३. रास्वपाको तयारी
रास्वपाले उपनिर्वाचनपछि आफ्नो यात्रा कसरी तय गर्ला भन्ने आम चासो छ । यसैबीच प्रवक्ता मुकुल ढकाल रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको बताउँछन् । प्रचण्ड नेतृत्वको सरकारमा आफ्ना नीति तथा कार्यक्रम नसमेटिएकाले समर्थन फिर्ता लिनुपर्ने अवस्थामा पुगेको उनले बताए ।

‘हामीले यसबारे निर्णय गर्न बाँकी छ तर मेन्टालिटी बनाइसकेका छौं,’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘हामी समर्थन फिर्ता लिन्छौं । सरकारको नीति तथा कार्यक्रममा हाम्रो एजेण्डा समेटिएको छैन ।’

४. ऋण उठाउन नेम्वाङलाई हैरानी
नेपाल बैंकले २०७३ सालमा दुई पटक गरी ललितपुरको बाँडेगाउँमा अवस्थित पाम फुड्स एण्ड बेभरेज टेक्नोलोजीको नाममा एक करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्यो । उक्त कर्जा लिँदा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नाममा रहेको इलामस्थित–६ रोपनी १५ आना जग्गा धितो सुरक्षणमा राखिएको थियो । सोही ऋण उठाउन अहिले बैंकलाई हैरानी भएको छ ।

५. एमालेको राजनीतिक अडान

एमालेको अडानले ‘संवैधानिक परिषद्’ सम्बन्धी विधेयक अप्ठेरोमा परेको छ । एमालेले सहमति कार्यान्वयन नगरेका कारण बुधबारको प्रतिनिधिसभा बैठकबाट पारित गर्ने भनेर कार्यसूचीमा राखिएको विषय नै हटाइएको माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे बताउँछन् । संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदीय समितिमा नलगी प्रतिनिधिसभा बैठकमा छलफल गरी पारित गर्नेबारेमा एमालेसँग सहमति भए पनि पछि एमालेले अरू थप माग अघि सारेका कारण सो विधेयक अघि नबढाइएको उनले दाबी गरे ।  

६. मिटरब्याज पीडितबाट उजुरी आह्वान
अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी छानबिन आयोगले पीडितबाट उजुरी आह्वान गरेको छ । सरकारले मिटर ब्याज पीडितको माग सम्बोधन गर्नका लागि गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।  आयोगले प्रारम्भिक काम सुरु गरिसकेको र यही वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना गरेर कार्यसञ्चालन गर्ने जनाएको छ ।

७. शैक्षिक क्षेत्रमा एनओसी विवाद
सरकारले पढ्नका लागि विदेश जाने विद्यार्थीका लागि जारी गरिने नो अब्जेक्सन लेटर (एनओसी) लाई व्यवस्थित गर्न ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेको छ । तर, यो क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुले उक्त निर्देशिकाप्रति असहमति जनाउँदै सोमबारसम्म आफ्ना माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

८. नेपालको सानदार जित
सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । सन्दीपले पाँच विकेट लिएपछि कतार ८९ रनमा अलआउट हुन पुगेको हो । जीतसँगै नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

९. कोरोना वृद्धि
विश्वभर तीव्र गति फैलिरहेको ओमिक्रोनको एक्सबीबी.१.१६ भेरियन्ट नेपालमा पुष्टि भएसँगै पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चैत २० गते सो भेरियन्ट नेपालमा समेत पुष्टि भएको जानकारी गराएको थियो ।

मन्त्रालयका अनुसार वैशाख महिनामा मात्र १ हजार ३८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१० यो पनि...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको कडा आलोचना गरेका छन् । उनले पूर्वराजासँग पुरानो हिसाब किताब धेरै रहेको तर आफूहरुले नगरेर त्यसै छाडेको भन्दै कटाक्ष गरे ।

काठमाडौँ महानगरपालिकाले बालाजुमा रहेको मापदण्ड विपरीतको पेट्रोल पम्पमाथि कारबाही गरेको छ । महानगरपालिकाले कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुरिरहेका छन् । वैशाख १० गतेको उपनिर्वाचनपछि कांग्रेसले मन्त्री बन्नेको लिष्ट बुझाउने बचन दिएको थियो । उपनिर्वाचन भएको चार दिन हुँदा समेत कांग्रेसले मन्त्री बन्नेको लिष्ट प्रधानमन्त्रीलाई बुझाएको छैन । कांग्रेसभित्रको आन्तरिक झगडाले मन्त्री बन्नेको लिष्ट नबुझाएको हुन सक्ने प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए ।

प्रतिनिधिसभा सदस्यमा पराजित वामदेव गौतमलाई सोही कार्यकालमा राष्ट्रियसभामा मनोनित गरिएको निर्णय संविधानसँग बाझिएको भन्दै दायर रिटमा इजलासले बहस नोट माग गरेको छ । बुधबारको संवैधानिक इजलासले वामदेव गौतम विरुद्धको रिटमा बहस नोट माग गर्ने आदेश दिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले राजधानीको भुगोलपार्कमा अनशनरत नुवाकोटका श्रीराम घिमिरेको जीवन रक्षा गर्न आग्रह गरेको छ । घिमिरे कृषक परिचयपत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्रहरु पूर्णरुपमा अनुदान उपलब्ध गराउनलगायत किसानसँग सम्बन्धित विभिन्न मागहरू राखी गत वैशाख ५ गतेदेखि आमरण अनशनमा छन् ।

सर्वोच्च अदालतले यस आर्थिक वर्षको ९ महिनामा २४ दशमलव ६७  प्रतिशत मुद्दा फस्र्यौट गरेको छ । यस्तै अदालतले पाँच वर्ष नाघेका ३७ दशमलव ९१ प्रतिशत मुद्दा फस्र्यौट गरेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । यसअघि बुधबार १३.६८ अङ्कले घटेको सेयर बजार बिहीबार २.२७ अंकले घटेको हो । नेप्से परिसूचक २.२७ अङ्कले घटेर १८८९.७३ को विन्दुमा झरेको छ । बिहीबार १३ उपसूचकहरु मध्ये बैंकिङ र होटल तथा पर्यटनबाहेक सबै उपसूचकहरुमा ओरालो लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप