शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

उद्योग–व्यवसायीको आक्रोश सामु अर्थमन्त्री निरीह

बिहीबार, १४ वैशाख २०८०, १४ : ४८
बिहीबार, १४ वैशाख २०८०

विराटनगर । विराटनगरमा आज आयोजित कोशी प्रदेशस्तरीय पूर्वबजेट छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीका प्रश्नसामु अर्थमन्त्री डा. प्रकाशशरण महत निरीहजस्तै बने । उद्योगी व्यवसायीले तथ्यांकसहितका प्रश्न एकाएक गर्दा उनले समस्या समाधानको लागि पहल गर्न सक्ने ठोस जवाफ दिनै सकेनन् । विराटनगरका उद्योगीले मूल रुपमा बैंकको चर्को ब्याजदर घटाउनु पर्ने, बथनाहा–कटहरी रेलमार्ग तत्काल सूचारु गर्नुपर्ने, गुणस्तरीय विद्युत् आपूर्ति हुनुपर्ने, मौद्रिक नीतिमा समावेश कतिपय कुरा सच्याउनु पर्ने, तरलता अभाव अन्त्य गर्नुपर्ने लगायतका विषय जोडतोडका साथ उठाए ।

त्यसका साथै उनीहरुले खुल्ला सीमा व्यवस्थापन नहुँदा भइरहेको चोरी तस्करीका कारण राजस्व संकलनमा पारेको प्रभावका विषयमा पनि खुलेर कुरा गरे । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले विराटनगर–बथनाहा रेल्वेको काम छिटो सक्ने वातावरण सिर्जना गर्न आग्रह गरे ।

‘अठार वर्ष पहिले साढे अठार किलोमिटर रेल्वे निर्माणका लागि काम सुरु भएको थियो,’ उनले भने, ‘तर, कटहरी गाउँपालिकामा मुआब्जा सम्बन्धी विवादले काम अघि बढ्न सकेन, साढे ७ किलोमिटर बनेर परीक्षण सम्पन्न भइसक्दा पनि आइसीपीसम्म रेल चल्न सकेको छैन । यो नेपाल सरकारको कारण भएको हो । भारतीय पक्षले रेल चलाउने अनुमति माग्दा पनि हामीले दिन किन सकेनौं ? मन्त्रीज्यू ?’

मोरङ व्यापार संघका पूर्व अध्यक्ष शंकरलाल अग्रवालले भारतसँगको खुला सीमानाका कारण हुने चोरी पैठारीबाट व्यापार व्यवसायमा ठूलो असर परेको बताए । ‘खुल्ला सीमाका कारण ५० प्रतिशत खाद्यान्नका माल वस्तु चोरी पैठारी भइरहेको छ, यसलाई व्यवस्थापन नगरी कसरी राजस्व वृद्धि हुन्छ ?,’ उनले भने, ‘स्वदेशी उद्योगलाई प्रबर्द्धन गर्ने भनेर चिनीमा ४० प्रतिशत ड्युटी बढाइयो, त्यसले यहाँको माग धान्न सकेन । ३ लाख टन आवश्यक पर्ने चिनी आधा पनि स्वदेशी उद्योगले दिन सक्दैन । न उद्योगको उत्पादन क्षमता बढ्यो । न त सस्तोमा चिनी आउनै सक्यो । जसको परिणाम चिनी तस्करी भइरहेको छ ।’

उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरेले चामल भन्दै चिनी तस्करी भइरहेको र पानीको नाममा रेड लेबल र ब्ल्याक लेबल ह्विस्की आयात गरिरहेको भन्दै आक्रोश व्यक्त गरे । घिमिरेले मुलुकलाई आत्मनिर्भर बनाउन कृषि आधुनिकीकरण गर्नुपर्ने भन्दै बाँझो खेत नराख्ने नीति ल्याउन सुझाव दिए । उनले सरकारको पूँजीगत खर्च बढाउन सरल नीति ल्याइनुपर्ने बताए ।

कोशी प्रदेशमा अघोषित लोडसेडिङ रहेको भन्दै उनले घोषित रुपमा लोडसेडिङ गर्न कुलमान घिसिङले लाज मानेको दाबी गरे । ‘यहाँ लोडसेडिङ छ भन्नका लागि कुलमान घिसिङलाई लाज भएको छ,’ घिमिरेले भने, ‘हामीले लोडसेडिङ छ भन्दा कोशीका उद्योगीले राजनीति गरे भन्ने ? यसको पनि दीर्घकालीन समाधान खोजियोस् ।’

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राष्ट्र बैंकको गलत नीतिका कारण तरलता अभाव हुँदा औद्योगिक तथा व्यापारिक क्षेत्र संकटग्रस्त भएको बताए । ‘औद्योगिक क्षेत्रका समस्याबारे सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ भएन,’ रिजालले भने, ‘निकासी गर्दा कच्चा पदार्थमा लाग्ने अन्तःशुल्क फिर्ता हुनुपर्ने, भन्सारमा लागिएका सन्दर्भ मूल्य सूचीलाई ६ महिनामा परिवर्तन गर्नुको साटो समय सान्दर्भिक रूपमा परिवर्तन गरिनु पर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य देवकीनन्दन अग्रवालले अवैध आयात रोक्न सके राजस्व सम्बन्धी समस्यासमेत समाधान हुने बताए ।

पर्यटन व्यवसायी पुण्य भट्टराईले राष्ट्र बैंकका गभर्नर महाप्रसाद खतिवडाकै कारण उद्योग व्यवसायीले मिटरब्याजीजस्तै ब्याज तिर्नु परेको बताए । ‘एम अधिकारी खोई ? दुई वर्ष अगाडि हामीले यो समस्या आउँछ भनेर भनेका थियौं, किन समस्या समाधान भएन ? दुई वर्ष अगाडि जति किस्ता रकम बुझाउने भनेर बैंकसँग सहमति भएको थियो, अहिले किन डबल बनाइयो ? राज्यले लुट्न पाउँछ ? बैंकलाई राष्ट्र बैंकले सरकारले सुरक्षा दिने उद्योगी व्यवसायीलाई नदिने ?,’ उनले प्रश्न गरे ।

जवाफमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको धेरै समस्या अर्थतन्त्रमा आएको शिथिलताका कारण भएको बताए । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आफू इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बजेट खर्च नहुने समस्या समाधानका लागि आगामी दिनमा बजेट पेस भएकै भोलिपल्टदेखि काम गर्न समेत उनले कर्मचारीहरूलाई निर्देशन दिए । निजी क्षेत्रमा पारदर्शीताको कमजोरी भएकाले सच्याउनु पर्ने बताउँदै उनले भने, ‘एउटै लक्ष्य प्राप्ति गर्नका लागि हामी लागेका छौं । निजी क्षेत्र र सरकारले गरेका गल्ती कमजोरी सच्याउनु पर्छ ।’

२०४६ सालको आन्दोलनपछि धेरै परिवर्तन भएको बताउँदै उनले जति हुनु पर्ने थियो, त्यति भने नभएको स्वीकार गरे । ‘धेरै काम भएको छ । धैर्यता गर्ने बानी  भने हामीसँग छैन । हामीसँग हात हातमा मोबाइल छन् । त्यो देशमा यस्तो भयो, मेरो देशमा किन भएन भएर विरोध गर्ने चलनमात्रै छ । त्यही भएर गफ कम गर्ने र काम धेरै नगरी अहिले हामीलाई सुखै छैन,’ उनले भने ।

अर्थतन्त्रलाई चलायमान बनाउनका लागि कोही व्यक्तिलाई भन्दा समग्र अर्थतन्त्र र देशलाई फाइदा पुग्ने गरी बजेट ल्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । ब्याजदर तथा अन्य मौद्रिक नीतिका टुल्सले बजारमा पूँजी प्रवाह हुन नसकेको बताउँदै उनले खुकुलो मौद्रिक नीतिमार्फत उद्योग व्यावसायलाई सम्बोधन गरेर बजारमा पूँजीप्रवाह बढाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप