आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहिद स्मारक ए डिभिजन लिग : थ्री स्टार र मच्छिन्द्र बराबरीमा रोकिए

बुधबार, १३ वैशाख २०८०, १९ : ०५
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा मच्छिन्द्र क्लब र थ्री स्टार क्लब गोलरहित बराबरीमा रोकिएका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् । मध्ययम शुरुवात भएको खेलको दोस्रो हाफमा भने दुवै टोलीले प्रतिष्पर्धात्मक खेल देखाएका थिए । तर दुवै टोलीले केही सुन्दर मौका बनाए पनि सफल हुन भने सकेनन् ।

खेलको शुरुमै अफिज ओलावालेको पासमा चेन्चो ग्याल्नेनले गरेको प्रहार गोलपोष्टमा लागेर फर्कियो । ६८ औँ मिनेटमा थ्रीस्टारले गरेको गोलमा रेफ्रीले अफसाइडको संज्ञा दिँदा थ्री स्टार निराश भएको थियो । त्यसपछि लगत्तै मच्छिन्द्रका ओलावाले अफीजको प्रहार थ्री स्टारका गोलकिपरले बचाएका थिए । ८४ औँ मिनेटमा चेन्चो ग्याल्चेनले फ्रिकिकमा गरेको प्रहार थ्रीस्टारका गोलकिपर पन्च गर्दै फर्काए । खेलको इन्जुरी समयमा मच्छिन्द्रले दबाब बढाउँदै केही राम्रा प्रहार गरेपनि गोल भने गर्न सकेन ।

शीर्षस्थानको होडमा रहेको थ्री स्टारलाई बराबरीले धक्का लागेको छ भने मच्छिन्द्रले लिगमा स्थान सुधार गर्ने मौका गुमाएको छ । योसँगै १२ औं चरणको खेलपछि थ्री स्टार २२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा कायम छ भने मच्छिन्द्रको समान १२ खेलबाट १७ अंक जोडेर सातौं स्थानमा छ । समान अंक भएको एपिएफ गोल अन्तरको आधारमा छैठौं स्थानमा छ ।

लिग अन्तर्गत बुधवार नै भएको अर्को खेलमा सातदोबाटो युवा क्लबले संकटा क्लबमाथि ४–० को सहज जित निकाल्यो । च्यासल मैदानमा सातदोबाटोलाई जित दिलाउन विलियम असाइडु र दीपकराज सिंह ठकुरीले समान दुई/दुई  गोल गरे । शुरुवातबाट नै आक्रामक हुँदै खेलेको सातदोबाटोले खेलको १० औं मिनेटमा असाइडुको गोलमार्फत अग्रता लिएको थियो । सुशिल लामाको क्रसलाई असाइडुले गोलमा परिणत गरेका थिए । त्यसको ९ मिनेटपछि असाइडुले नै टोलीको अग्रता दोब्बर बनाए । 

पेनाल्टी बक्स बाहिरबाट आसाइडुको प्रहार संकटाका गोलकिपर टिकेन्द्रसिंह थापालाई लाग्दै गोलमा परिणत भएको थियो । दुई गोलको अग्रता बनाएको सातदोबाटोले ६८ औं मिनेटमा असाइडुको पासमा दीपकले गोल गर्दा सातदोबाटो ३–० ले अघि बढ्यो । ८३ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को सहज जित निश्चित गरे । यस जितसँगै १२ खेलमा २१ अंक जोडेको सातदोबाटो तेस्रो स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको संकटा समान खेलबाट १५ अंकका साथ नवौं स्थानमा छ ।

लिगमा बिहीवारबाट १३ औं चरणका खेल सुचारु हुनेछन् । बिहीबार पहिलो खेल फ्रेण्ड्स क्लबले एपिएफ क्लबसँग प्रतिष्पर्धा गर्दा अर्को खेल खुमलटार युथ क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच खेल हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप