मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

कम्युनिस्टहरूको आवश्यकता : समूल अन्त्य कि एकता ?

बुधबार, १३ वैशाख २०८०, १६ : ४४
बुधबार, १३ वैशाख २०८०

स्थापना दिवसको सन्दर्भ पारेर हिजोआज कम्युनिस्ट पार्टीहरू पुनः एकताको भजन गाउन थालेका छन् । एमाले, माओवादीलगायतका सबै  कम्युनिस्टहरू विगतमा पटक पटक फुट्दै, समय समयमा नाटकीय रूपमा जुट्दै आएका पनि हुन् । पूर्ण असफल भएका केही वयोवृद्ध नेताको अहमता र पछिल्लो पुस्ताका नेताहरूको हस्तक्षेपको अभावमा कम्युनिस्ट पार्टीहरूले शाख गुमाउँदै छन् । कम्युनिस्ट सिद्धान्त र चरित्रमा गम्भीर विचलन हुँदा पनि युवापुस्तामा तिनै नेताको चाकडी, कर्मकाण्डी नेतृत्वलाई देवत्वकरण र निःसर्त सदर गर्ने आदत देखिन्छ । उनीहरूलाई विस्थापित गरेर आफू नेतृत्व लिन तयार नहुने युवा भनिने कायर पुस्ताको नालायकीपन झन् घृणालायक बन्दैछ । कम्युनिस्टहरूमा निष्ठा कम र घोर बदमासीपन बढी देखिँदैछ । 

सन् १९२१ आसपास चेन दुहिऊ र ली दह्याजो नामका नेताको अगुवाइमा गठन भएको ‘कम्युनिस्ट पार्टी अफ चाइना’ अझै त्यहाँको सर्वशक्तिमान एवं एक्लो पार्टी छ । १९३० तिर स्थापना भएको ‘कम्युनिस्ट पार्टी अफ भियतनाम’ पनि हालसम्म एकाकार रूपमा छ । उत्तर कोरिया महाशक्ति अमेरिकालाई चुनौती दिने सामर्थ्य राख्छ । नेपालमा प्रजातन्त्रको अद्भुदयको समय २००७ सालको आसपास स्व. पुष्पलालको अगुवाइमा कम्युनिस्ट पार्टीको निर्माण भयो । तर विराट् विरासत बन्नुको सट्टा कम्युनिस्टहरूमा उराठ लाग्ने दलदलको कमजोर धरातल मात्र बन्यो । परिणामतः आज मसाल, मार्सल, एकीकृत, विकेन्द्रित, क्यास, ड्यास, नेकपा, नेकाप डबल, एकीकृत समाजवादी जस्ता नाममा लगभग दुई दर्जन कम्युनिस्ट पार्टीहरू छन् । नेपालमा कम्युनिस्ट पार्टीहरू निश्चित मिसनभन्दा पनि कुनै फेसनमा आधारित भएर खुलेका देखिन्छन् । संसारका केही कम्युनिस्ट शक्तिहरूको लोभलाग्दो कदबीच यहाँको अवस्था भने दयनीय छ । कम्युनिस्ट आन्दोलनलाई कुनै कालखण्ड सशक्त नेतृत्व गरेका बाबुराम भट्टराई, वैद्य, विप्लव, सीपी मैनाली, मोहन विक्रमजस्ता नेताहरू गुमराहमा देखिन्छन् । चोइटिएर तितरबितर छन् । कम्युनिस्टका नाममा विभिन्न खालका कचहरीहरूमा केन्द्रित छन् ।

आज कम्युनिस्ट भनिने अधिकांश नेताको जीवन तथा आचरण कम्युनिस्ट अनि समाजवादी चरित्र अनुरूप छैन ।

कम्युनिस्ट पार्टीका कथित कचहरीमा त्यसै पार्टीका नेता कार्यकर्तालाई त जीवनमरणकै सवाल होला । लगानी र प्रतिफलको वारदात बन्ला, षडयन्त्र र सफलताका वासलातका रूपमा रहला । तर यसका शुभेच्छुकहरू अथवा यो पङ्क्तिकारजस्तो राजनीतिशास्त्रको विद्यार्थीलाई समेत केही मर्माहतचाहिँ बनाउँछ । किनकि दलहरू निरन्तर फुट्नु तथा आन्तरिक लफडाबाजीको दलदलमा सदैव अल्मलिनु सबल प्रजातन्त्रका लागि निश्चय नै शुभ समाचार होइन । तसर्थ यसरी पार्टीहरू फुट्नु चाहिँ गलत नै हुन्छ तर एकीकृत र एकताबद्ध कम्युनिस्ट भनिएकाहरूबाट पनि नागरिकलाई खासै केही उल्लेख्य चाहिँ भएको छैन । कुनै पनि दल राजनीतिक शक्तिका रूपमा रहनुपर्छ कि पर्दैन भन्ने कुरा तीन मुख्य सिद्धान्तहरूका कसीमा मापन गरिन्छ । दलका नेता तथा सदस्यको सामाजिक जीवन चरित्र, सरकार तथा मातहतका निकायको कार्य सम्पादन, दल स्थापनाको औचित्य तीनवटै आधारले अब कम्युनिस्ट नामका र यही खाले कामका दलको आवश्यकता लगभग सकिएको आभास हुन्छ । कम्युनिस्ट चरित्र तथा आचरणमा आएको गम्भीर स्खलन यसको सबैभन्दा प्रमुख जड हो ।

स्खलित चरित्र तथा आचरण

आज कम्युनिस्ट भनिने अधिकांश नेताको जीवन तथा आचरण कम्युनिस्ट अनि समाजवादी चरित्र अनुरूप छैन । सर्वहाराका नेता भएको भ्रम छरेर सर्वभोगी र विलासी जीवन प्रिय बन्दैछ । पुस्तकालय मदिरालयमा फेरिएका छन् । जुवा, तास, लफडाबाजी, रामरमिता, भोगविलास, डिस्को, डान्सबार कम्युनिस्ट नेताका सन्तान र सन्ततिहरूका आत्मीय अखडा बन्दैछन् । नाजायज, अवैधानिक तथा नकमाएको धनदौलत थुपार्नमा अधिक लगाव राख्छन् र अविच्छिन्न उपासना गर्छन् । बुर्जुवा शिक्षा भनेर अरूलाई विद्यालयबाट बाहिर निकालेर आफूचाहिँ निजी शिक्षाको व्यापारमा व्यस्त छन् । अत्तर छर्केर हिँड्ने, उच्च कोटिका विदेशी सोमरसका साथमा राजसी ठाँटको चौरासी व्यञ्जन उनीहरूको प्रमुख दिनचर्या बन्दैछ । गोडा भएका कम्युनिस्टहरूलाई घोडा चाहिँदैन भन्नेहरू महँगा गाडी र हेलिकप्टरमा तडकभडकका साथ सवारी चलाउन उद्यत छन् । अधिकांश कम्युनिस्ट नेता व्यपारीभन्दा धनी छन् । रवाफिलो र भड्किलो जीवनशैली छ । आडम्बर र अहङ्कार कस्तो छ भने उनीहरू सामान्य नागरिक नभई असामान्य महासामन्त अथवा सम्भ्रान्त हुन् । 

अनियन्त्रित दम्भ तथा अविवेकी आचरण चुलिँदो छ । सादा जीवन भन्ने कुरा त दस्तावेजमा लेख्नलाई मात्र बनाइएको हो । नेताहरू ‘लिडर’बाट ‘डिलर’मा परिणत भएका छन् । उनीहरू राजनीतिलाई व्यापार ठान्छन्, नाफामा तल्लीन छन् । कालाबजारी, भ्रष्टाचार तथा तस्करीलाई दर्शन मान्छन् । घुस कमिसनखोरीलाई अमृतझैँ पिउँछन् । कसैले उनीहरूको विरोध गरे विदेशी दलालको आरोप लाउँछन् । उपभोक्तावाद तथा क्रोनी क्यापिटालिजमको विस्तारलाई सहज हुने गरी नियम बनाउँछन्, साम्राज्यवादी आचरण देखाउँछन् । हरेकमा मुनाफा खोज्छन् । सबैको स्रोत र साधन आफ्ना लागि दोहन गर्न चाहन्छन् । परिवारवाद उनीहरूको अन्तिम ध्येय हुन्छ, उनीहरूले शोषक तथा सामन्ती भनेका राजा महाराजाहरूले त्यति राज्यको दोहन गरेनन् होला जति उनीहरू आफ्नो र परिवारको लागि गर्दैछन् । देश बनाउन होइन, आफू बन्नु मात्र उनीहरूको ध्येय हुन्छ । आर्की ब्राउनको पुस्तक ‘द राइज एन्ड फल अफ कम्युनिजम’ले समेत संसारभर कम्युनिस्टहरूको आचरण पतनोन्मुख भएको देखाउँछ । अहिलेका हाम्रा कम्युनिस्टहरूको सामाजिक जीवन आचरण कुनै पनि हिसाबले समाजवादी दर्शन तथा आदर्शसँग मिल्ने प्रकारको छैन । 

रुग्ण कार्यसम्पादन

नेपालमा कम्युनिस्टहरू पटक पटक सरकारको नेतृत्व गर्दा वा सरकारको महत्त्वपूर्ण साझेदारीमा रहँदा पनि कार्यसम्पादन खासै उत्साहजनक देखिएन । बलात्कार, हत्या तथा हिंसाजस्ता कुरा झन् बढिरहे । निर्मला बलात्कार काण्ड, सुन काण्ड, गुठी विधेयक काण्ड, रुकुम काण्ड, बालुवाटार जग्गा काण्ड, सेक्युरिटी मास प्रिन्टर काण्ड, स्वास्थ्य सामग्री खरिद काण्ड, अयोध्या काण्ड, बेसारपानी काण्ड आदिका तरङ्गहरू कम्युनिस्टहरूकै समयमा आए । ‘ओम्नी’ र ‘यति’ले दरैगरी कब्जा जमाएको देशलाई ‘बतास’ले त उडाउला नै जस्तो पनि कम्युनिस्टकै समयमा देखियो ।   

दल त दलदलमा छँदैछन्, दलभित्रका समूह अहिले त गुट पनि नभएर गिरोहमा परिणत भएका छन् ।

हरेक ठाउँमा सेटिङसहित साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेर सार्वजनिक संस्थान, निगम, विश्वविद्यालय, न्यायालयलगायत अन्य संस्थाहरूमा आफ्ना कार्यकर्ता भर्ती गर्ने र अपवादबाहेक तीनलाई सकेसम्म निकम्मा तथा कवाडी बनाउनेमा कम्युनिस्टहरू झन् माहिर देखिए । हरेक ठेक्कापट्टामा कमिसन, हरेक नियुक्तिमा नजराना तथा घुस, अनि निर्णयमा नियोजित सिन्डिकेट स्थापित बनाइयो । मजदुर, किसान, पिछडिएका वर्ग, श्रमिकहरू भोटका लागि मात्र प्रयोग गरिए । अरू बेला त व्यापारी, करछली गर्ने उद्योगी, नजराना चढाउने कमिसनखोर, दलाल तथा समाजलाई तर्साउने डन, देश तथा नागरिकलाई ठग्ने ठेकेदार घरबेटी, शोषण गर्ने खलनायकहरूसँग सत्सङ्ग तथा दिव्य मिलनमा रमाए । सामन्तको टाउको छिनाउनेदेखि शोषकको सफाया गर्ने दुहाइ दिँदै सुरु भएका पार्टीका नेता आज आफै नयाँ सामन्तसँगै शोषकका रूपमा उदाएका छन् । नागरिकका लागि सार्वजनिक सेवा प्रवाह र विकास निर्माणचाहिँ झनै खस्किँदो छ । देशको सर्वपक्षीय विकास, आर्थिक उपार्जन, प्रभावकारी सेवा तथा नागरिक जीवनलाई गुणस्तरीय बनाउने कार्ययोजनामा ठोस प्रस्टता छैन । लेखक गोवर्द्धन रानाको पुस्तक ‘साम्यवाद’मा लेखिएको छ ‘झुट बोलेर नागरिकलाई झुक्याउनु नै कम्युनिस्टहरूको दार्शनिक धर्म हो’ । साँच्चै यस्तै परिदृश्य उजागर हुँदैछ ।

दल त दलदलमा छँदैछन्, दलभित्रका समूह अहिले त गुट पनि नभएर गिरोहमा परिणत भएका छन् । गिरोहमा केवल अरूलाई हटाएर आफूलाई फाइदा हुने कदम उठाइन्छ । चरम अवसरवादको प्रतीक्षा हुन्छ । आपसी मतान्तर जीवन, जनता, आदर्श, नीति तथा कार्यक्रममा नभई पदको बाँडफाँट र शक्तिको भोगका लागि हुन्छ । अब त यिनीहरूको स्थापनाको औचित्यसमेत सकिएको छ ।

भविष्यमा अन्य कोही कसैले नयाँ ढङ्गले अर्को नैतिक र इमानदार कम्युनिस्ट शक्ति गठन गर्न सक्ला ।

औचित्यको समाप्ति

तत्कालीन माओवादीको उद्देश्य राजतन्त्र फालेर संविधान सभामार्फत गणतान्त्रिक संविधानको निर्माण थियो भने तत्कालीन एमालेको उद्देश्य पञ्चायती व्यवस्थाको उन्मूलन थियो । दुवै पार्टीको आधारभूत उद्देश्यसमेत पूरा भएकाले अब बाँकी नागरिक अपेक्षा पूरा गर्न नयाँ ढङ्गका दलहरूको आवश्यकता पर्छ । तत्कालीन शक्तिको प्रतिस्थापनपछि यी पार्टीहरूले नागरिकको अपेक्षाअनुसार काम गर्न सकेनन् । त्यही असक्षमताको असर अहिलेका कम्युनिस्टहरूमा पनि परेको हो । 

त्यसैले भविष्यमा विभाजित वा एकीकृत नै रहे पनि नागरिकको भलाइ र देशको हितमा गर्ने उनीहरूका गतिविधि केवल ‘कागलाई बेल’जस्तो मात्रै हुनेछ । तत्कालै उदाहरणीय केही हुने अवस्था छैन । उनीहरूबीचका झगडा अनि नाटकीय शैलीमा हुने मेलमिलापले कसैको आडम्बरलाई जोगाउला तर कम्युनिस्ट आचरण, समाजवादी चरित्र तथा नागरिक अपेक्षालाई जोगाउन सक्ने ल्याकत देखिँदैन । भविष्यमा अन्य कोही कसैले नयाँ ढङ्गले अर्को नैतिक र इमानदार कम्युनिस्ट शक्ति गठन गर्न सक्ला । तर अहिलेकै गतिविधिलाई समाजले स्विकार्नुचाहिँ समाजवाद तथा कम्युनिजमको घोर खिल्ली उडाउनु मात्र हो । अब कम्युनिस्टहरूको राजनीतिक अभीष्टमाथि निर्मम समीक्षा आवश्यक छ । त्यसैले कम्युनिस्टहरूको एकता होइन, समूल अन्त्यचाहिँ सम्भावित देखिँदै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अतीन्द्र दाहाल
डा. अतीन्द्र दाहाल
लेखकबाट थप