शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

जहाँ मुसाको सिकार गरिन्छ, परिकार खुवाइन्छ

ग्राहकको मागअनुसार मुसाको परिकार पुर्‍याउन सकिएको छैन : लक्ष्मी नारायण चौधरी
बुधबार, १३ वैशाख २०८०, १३ : १८
बुधबार, १३ वैशाख २०८०

धनगढी । कैलारी गाउँपालिका–२ मंझराका छोट्कानु चौधरीलाई वैशाखको टन्टलापुर गर्मीको परवाह छैन । उनी आफ्नै रफ्तारमा एकनाशले फरहुवा (कोदालो) चलाइरहे । उनको एउटै लक्ष्य मुसाको सिकारमा थियो । 

छोट्कानु र उनको साथीहरू केही समयको मेहनतपछि लक्ष्य भेटाए । एउटा मुसन्डा (भाले) सहित ११ वटा मुसाको सिकार गरे ।

उनले भने, ‘एउटा मुसन्डा र १० वटा बोटरु (बच्चा) पायौँ । २०/२५ मिनेट लाग्यो । ६ जनाको समूह छ । यतिले छाक पुग्दैन । अझै खोज्छौ ।’

chotkanu chaudhari rat hunter

छोट्कानु र उनको समूह गहुँ बाली भित्र्याई सके पछिको खेतमा मुसाको सिकार गर्दै आएको छ । साँझ बिहान घरधन्दा र दिउँसोको फुर्सदको समयको समयमा उनीहरू मुसाको सिकारमा निस्कन्छन् । अनि, साँझलाई पुग्ने गरी सिकार लिएर घर फर्किन्छन् ।

छोट्कानुसँगै खेतमै भेटिएका अमर चौधरी भन्छन्, ‘खेतमै पाइने र खेतकै अन्नबाली खाने मुसा अति नै स्वादिष्ट हुन्छ । सधैँ त होइन, फुर्सदको समयमा सिकार गरिन्छ । कहिले सिकार पर्छ त कहिले रित्तै पनि फर्किनु पर्छ ।’ 

Musa sikari

मुसाको सिकार गर्न पनि सहज नभएको उनीहरूको भनाइ छ ।

कसरी गर्ने मुसाको सिकार ?

मुसाको सिकार गर्दै आएकाहरू कस्तो दुलोमा मुसा बस्छ वा बस्दैन सजिलै पहिल्याउन सक्छन् । यतिमात्रै होइन, मुसाले घर बनाएको दुलो, फालेको माटोलाई पनि विभिन्न तरिकाले वर्गीकरण र पहिचान गरी सिकार पहिल्याउँछन् ।

कैलारी गाउँपालिका–६ बेनौलीका सोमलाल डंगौरा भन्छन्, ‘मुसाको दुलो हेरेर छ, छैन थाहा पाउन सकिन्छ । मुसा बस्ने घरमा मुसाले खनेको माटो ताजा देखिन्छ । दुलो बुच्कु (खनेको माटोले भरिएको) र सफा देखिन्छ । टोंरका दुलो (निस्क्निे वा भाग्ने बाटो) धेरै नखुलेको तर सफा हुन्छ ।’

मानिसले आफ्नो घरका विभिन्न कोठामा कसमा के राख्ने भनी छुट्याएझैं मुसाले पनि वर्गीकरण गर्ने गरेको डंगौरा बताउँछन् । उनले अगाडि थपे, ‘मुसाले एक दुलोमा अन्नबाली मात्रै राखेको हुन्छ । धान खेत पाइने मुसाले दुलोभित्र १–२ केजीसम्म अन्न भण्डारण गरी राखेको हुन्छ । बच्चा कोरल्ने, क्रीडा गर्ने, शत्रुले आक्रमण गरे भाग्नेलगायत दुलो फरक–फरक बनाएको हुन्छ ।’ मुसाको जीवनशैली बुझ्नेले सजिलै सिकार गर्न सक्छ ।

Musa1

मुसालाई थारु समुदायमा कृषि बालीको शत्रुको रूपमा लिइन्छ । कृषिमा निर्भर यो समुदायले कृषि बालीमा नोक्सानी गर्ने मुसालाई विभिन्न तरिकाले नियन्त्रण गर्दै आएको छ । साथै, मुसाको थरिथरिका परिकार बनाई उपभोग गरेको पाइन्छ ।

थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर थारुले भन्छन्, ‘प्रायः थारु समुदायले राँगा, गोरुको मासु खाँदैनन् । किनकि यिनीहरूलाई जोत्ने कार्यमा प्रयोग गर्छन् । तर बालीलाई नोक्सान गर्ने मुसालाई छोड्दैनन् ।’

संयोजक थारुका अनुसार थारु समुदायले ७ प्रजातिमा मुसाको वर्गीकरण गरेका छन् । खेतमा पाइने, घरमा पाइने, जमिन बाहिरै घर बनाएर बस्ने र जंगलमा पाइने, आकार र रंगको आधारमा वर्गीकरण गर्न सकिन्छ ।

१. बिलखोडुवा : बिलखोडुवा प्रजातिको मुसा खेतमा पाइने गर्छ । यो प्रजातिको मुसा खेतकै अन्नबाली खाएर बस्ने गर्दछ । खानमा सबैभन्दा स्वादिलो यही प्रजातिको मुसा रहेको मासु पारखीहरूको भनाई छ । आकारमा ठुलो देखिने यो मुसाले एक पटकमा १० देखि १६ वटासम्म बच्चा जन्माउँछ ।

२. छपरकुडुवा : यो प्रजातिको मुसा घरमा पाइन्छ । यो प्रजातिको मुसो पनि बिलखोडुवा प्रजाति जस्तै हुन्छ ।

३. उज्जर पेटुवा : अन्य मुसाको भन्दा पेटको भागमा सेतो देखिने मुसालाई उज्जर पेटुवा भनिन्छ । यो मुसा प्रायः वनमा पाइन्छ ।

४. चिड्डी : यो प्रजातिको मुसा प्रायः रुखमा पाइने तथा आकारमा सानो हुन्छ ।

५. गोरनि : गोरनि मुसा खेतमा पाइने मझौला खालको मुसाको प्रजाति हो । यसको पुच्छर समाउने बित्तिकै पुच्छरका छाला निस्कने गर्दछ ।

Musa

६. खरकट्टी : खरकट्टी  प्रजातिको मुसा प्रायः खेत र जंगलमा पाइन्छ । तर जमिन बाहिरै घर बनाउँछ ।

७. डुकरी : सबैभन्दा सानो आकारको मुसालाई डुकरी भनिन्छ । यो मुसा प्रायः खेतमै पाइन्छ ।

मुसाको ३ परिकार

थारु समुदायमा मुसाको सिकारलाई चटनी, सेकुवा र ग्रेभी गरी ३ किसिमको परिकार बनाएर उपभोग गरिन्छ । पश्चिमतिर थारु समुदायमा तथा पूर्वमा मुसहर समुदायमा उपभोग गर्ने चलन रहेको मुसा पछिल्लो समय सहरका होटलहरुमा पनि पाइने गर्दछ । 

मेला, महोत्सवहरूमा त झनै स्टलको आकर्षणको रूपमा पनि मुसाको परिकारलाई राखिने गरिन्छ । उदाहरणको लागि सुदूरपश्चिम महोत्सव, प्रत्येक अङ्ग्रेजी वर्षको पहिलो साता हुने भादा गाउँ होम स्टे महोत्सवमा पनि मुसाको परिकारलाई आकर्षणको रूपमा राखिन्छ ।

धनगढीस्थित भादा गाउँ होम स्टे तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी नारायण चौधरीका अनुसार भादा होम स्टेमा लेग पिससहितको २ पिस मासुलाई एक प्लेट मान्दै प्रति प्लेट ५० रुपैयाँमा बेचिन्छ । ग्राहकको मागअनुसार मुसाको परिकार भने पुर्‍याउन नसकिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप