शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

रास्वपालाई चुनौती : अब कसरी टिक्ने ?

पुरानै दललाई रिझाएर वा नयाँ शक्ति खडा गरेर ?
मङ्गलबार, १२ वैशाख २०८०, १७ : ५५
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । २०६२/०६३ सालको जनआन्दोलनलगत्तै १० वर्षे जनयुद्धबाट शान्तिपूर्ण मूलधारको राजनीतिमा फर्किएको तत्कालीन नेकपा (माओवादी) २०६४ को संविधानसभा निर्वाचनबाट पहिलो शक्ति बन्यो ।  नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलहरू सत्तामा हाबी भएको बखत माओवादीले आफ्नो पक्षमा जनमत पार्न सफल भएको थियो । 

राजाको शासन अन्त्यपछि परिवर्तनको प्रस्थानविन्दुको रूपमा माओवादीको शान्तिपूर्ण राजनीतिमा प्रवेश हुनुलाई नेपाली जनताले आशाको रूपमा बुझेका थिए । त्यो आशा स्वाभाविक पनि थियो, किनकि वर्गीय मुक्तिको मूल नारासहित सशस्त्र युद्धमा होमिएको माओवादीले शान्तिपूर्ण राजनीतिमा आएर जनताको पक्षमा राम्रो काम गर्ला भन्ने थियो । 

 ‘अब माओवादी आयो, देशमा सुशासनसँगै भ्रष्टाचारको अन्त्य र देशले आर्थिक रूपमा कोल्टे फेर्छ’ भन्ने आशा सर्वसाधारणमा थियो  । साथसाथै शान्ति र स्थायित्व हुने विश्वासका साथ पनि कतिपयले माओवादीलाई मत हालेका थिए । 

त्यही जनमत र परिवर्तनको हुटहुटीमा प्राप्त मतको बलमा तत्कालीन विद्रोही नेता प्रचण्ड गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री बने । तर, माओवादीको पक्षमा देखिएको जनलहर २०७० सम्म आइपुग्दा टिक्न सकेन । जुन क्षयीकरण २०८० सम्म आइपुग्दा बढ्दो क्रममा छ ।

 संविधानसभा निर्वाचनपछि पहिलो दलको हैसियतमा प्रधानमन्त्री बनेको केही महिनामै प्रचण्ड नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटवाल प्रकरणमा सत्ताच्युत हुन पुगे । त्यति बेला माओवादीमा सत्तामा फेरि पनि कम ब्याक हुने आशा थियो ।  तर, सोचे भन्दा ठिक उल्टो भयो । भूराजनीतिक चपेटामा रहेको नेपालमा माओवादीको नेतृत्वमा सरकार बनेन । तत्कालीन एमाले वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा सरकार गठन भयो । नेपाल नेतृत्वको सरकार पनि धेरै समय टिक्न सकेन । फेरि एमालेकै नेता झलनाथ खनालको उदय भयो । झलनाथपछि माओवादीका तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री बने ।

प्रसंग सरकारको नेतृत्व चयनमा दलका थिति र नैतिकता भन्दा पनि सत्ता आफू केन्द्रित कसरी बनाउने भन्नेमै दलहरू हाबी हुँदै गए भन्ने नै हो । भट्टराई नेतृत्वको सरकारपछि बनेका अन्य नेता दलका नेतृत्वमा बनेका सरकार विवादरहित हुन र  बन्न सकेनन् । सरकारको नेतृत्व हत्याउन तँछाडमछाडको स्थिति बनिरह्यो । जसका कारण जनतामा निराशा बढ्यो ।

अहिले पनि संसद्को तेस्रो दल रहे पनि सत्ताको नेतृत्व माओवादीकै छ । सरकारमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छ ।  जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन कायम गरेका छन् । 

पुराना राजनीतिक दलहरु सरकारमा छन् । नयाँ दलहरू क्रमशः रास्वपा र जनमत सरकार बाहिर छन् । उनीहरूको समर्थन भने छ । समग्रमा अहिले नयाँ दल विशेष गरी रास्वपामा देखिएको आकर्षणले उसको भविष्य कस्तो होला भन्ने प्रश्न अगाडि छ । 

रास्वपाको केन्द्र व्यक्ति भनेको रवि लामिछाने हुन् । उनी पार्टीका सभापति समेत हुन् । हालै सम्पन्न उपनिर्वाचनमा उनी आफ्ना प्रतिस्पर्धीलाई ४३ हजार मतान्तरले पछिपार्दै चितवन २ बाट दोस्रो पटक निर्वाचित भए । यस्तै तनहुँ १ बाट पनि सानदार मतका साथ पहिलो प्रयासमै रास्वपाका स्वर्णिम वाग्ले विजयी भए । यससँगै नौ महिना अघि उदाएको रास्वपाको सांसद सङ्ख्या २१ पुगेको छ । 

पुराना दलबाट आजित हुन पुगेका सर्वसाधारणले परिवर्तन खोज्दै नयाँ दललाई उम्मेदवारको रूपमा चुनेको यथार्थ हो । यद्यपि रास्वपाले अहिले सर्वसाधारणसँग गरेको सबै वाचा मौखिक मात्रै छन् । व्यवहारमा देखाउन रास्वपा सरकारमा जानुपर्छ । सरकारमा गएर मात्रै हुँदैन सरकारको नेतृत्व र सहभागी अन्य दलले उसको एजेन्डालाई हेर्छन् भन्ने कुरामा पनि भर पर्छ ।

हाम्रो संसद अंकगणीतीय छ । सरकार बन्ने बित्तिकै विश्वासको मत चाहिने र विश्वासको मत नपाए अर्को ठुलो दलले सरकारको दाबी गर्न पाउँछ । त्यसैलाई राष्ट्रपतिले लालमोहर लगाउने हो । यस्तो अवस्थामा नयाँ शक्ति वा दलको अङ्कगणितले काम गर्दैन । उसलाई सरकारको नेतृत्वमा पुग्न कुनै एक वा एक भन्दा बढी दलको अनिवार्य सहयोग चाहिन्छ । तर, वर्षौं देखि सत्ताभोगी भएका दलहरूले नयाँ उदाएको दललाई सत्ताको केन्द्रमा किन लैजान खोज्छ ? यक्ष प्रश्न यही हो । त्यसमाथि उसले कसरी जनतामा आशा जगाउने काम गरिरहला भन्ने पनि मूल प्रश्न हो । 

रास्वपाअघि उदाएको अर्को दल विवेकशील साझा पार्टीको पनि चर्चा गरौं । सञ्चारक्षेत्रबाटै चम्किएका रवीन्द्र मिश्रको नेतृत्वमा गठन भएको विवेकशील साझा अहिले छिन्नभिन्न अवस्थामा छ । २०७४ मा उदाएको विवेकशीलले संविधानसभाको निर्वाचनमा एक सिट पनि जित्न सकेन । पछि पार्टी फुट्यो भने अध्यक्ष मिश्र आफैँ राष्ट्रिय प्रजातन्त्र पार्टीमा विलय भए । विवेकशीलले गत मंसिरको चुनावमा पनि उम्मेदवारी दिएको थियो । चुनाव जित्नु त परको कुरा समानुपातिकतर्फ समेत लज्जास्पद नतिजा आयो । 

जानकारहरूका अनुसार मिश्रको व्यक्तिवादी चिन्तनका कारण विवेकशील साझा फुट्यो । तर, फुटसँगै राप्रपामा होमिएका मिश्रलाई जनताले अनुमोदन गर्न सकेनन् । उनी काठमाडौँबाट चुनाव लडेर गत मङ्सिर ४ को निर्वाचनमा पराजित भएका थिए ।

रास्वपाका सभापति रवि लामिछानेमा पनि व्यक्तिवादी चिन्तन हावी भएको कतिपय उदाहरण छन् । नागरिकता प्रकरणमा उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिएका लामिछानेले आफ्ना पार्टीका अन्य मन्त्रीहरूलाई सरकारबाट बाहिर राखे । कारण, उनले गृहमन्त्री पाएनन् । लामिछानेले चाहेको अवस्थामा उनको पार्टीका अन्य सांसद अहिले पनि सरकारमै रहन्थे ।

नयाँ पार्टीमा देखिएका यी विकृत गतिविधि र सन्देशले पनि उनीहरूको दूरगामी लक्ष्य कति पुरा होला भन्नेमा प्रश्नहरू सतहमा छन् । अहिले नयाँ पार्टीका उम्मेदवारलाई सर्वसाधारणले मत दिएर जिताउनुमा दलप्रति नै वितृष्णा भन्दा पनि प्रवृत्तिगत वितृष्णाका हो भन्ने बुझाइमा छन्, विज्ञहरू । 

राजनीतिक विज्ञ एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. राजेश गौतम अहिले देखिएको परिवर्तन दलहरूप्रतिको वितृष्णाले भन्दा पनि व्यक्तिप्रतिको प्रवृत्तिगत वितृष्णा भएको बताउँछन् । उनी भन्छन्, ‘अहिले देखिएको परिवर्तन दलप्रतिको वितृष्णाले होइन । व्यक्तिप्रतिको वितृष्णाको कारण हो ।’

उनले पुराना पार्टीका नेताहरूको कार्यशैलीले अबको राजनीति अगाडि बढ्ने बताए उनले भने, ‘अब पुराना दल कसरी अगाडि बढ्छन् भनेर हेर्नुपर्छ, पुराना पार्टीले हिजोकै नीति र संरचनालाई अगाडि बढाए भने अबको परिस्थिति सोचे भन्दा फरक हुन्छ । तर, अहिल्यै धेरै परिवर्तन हुन्छ भन्ने आस नगरौँ ।’ 

उनले संसदीय अभ्यास नै अंकगणीतीय अभ्यासमा चल्ने भएकाले साना र नयाँ दलको भूमिकामाथि अहिल्यै मूल्याङ्कन गर्नु हतार हुने बताए । उनले भने, ‘हाम्रो देशको राजनीति अंकगणीतीय हिसाबले चल्छ । नयाँ पार्टीले केही गर्न खोजेपनि पुरानाले गर्न दिँदैनन् । कि त नयाँ पार्टीले सरकार गठन गर्नसक्ने गरि सिट आउनुपर्‍यो । नत्र  पुराना पार्टीसँग अंकमाल नगरी अगाडि बढ्न सक्ने स्थिति छैन ।’ 

नयाँ पार्टीले प्रतिपक्षमा बसेर मात्रै देश परिवर्तन हुने अवस्था नरहेको गौतम बताउँछन् । उनले रास्वपालाई सर्वसाधारणको साथ भए पनि उसको राजनीतिक जग नभएकाले कुनै पनि बेला भासिने खतरा रहेको बताए । 

‘हिजोको विवेकशीललाई हेरे पुग्छ, मिश्र सांसदमा उठे । हारे । जित्न नकसेपछि फुट्यो । राप्रपामा गएर पनि उठे तर जित्न सकेनन् । अब उनको गन्तव्य फेरि अन्योल देखिन्छ, ‘प्राध्यापक गौतमले रातोपाटीसँग भने, नयाँ पार्टी उदय हुँदा उनलाई सर्वसाधारणले अनुमोदन गरेनन् । फेरि उनी फुटेर राप्रपामा पुगे । राप्रपामा पनि उनलाई सर्वसाधरणले अनुमोदन गरेनन् । यसरी मूल्यांकन गर्दा नयाँमा पनि कसलाई रोज्ने भन्ने निष्कर्षमा सर्वसाधारण पुगेको देखिन्छ ।’ 

गौतमले भनेजस्तै गत मंसिरको चुनाव र हालै सम्पन्न उपचुनावले पुरानो पार्टीलाई सतर्क हुने सङ्केत जनताले दिएपनि नयाँको गन्तव्य समेत अस्पष्ट देखिन्छ । उपनिर्वाचनमा रास्वपा सभापति लामिछानेले कांग्रेसबाट असन्तुष्ट नेता स्वर्णिम वाग्लेलाई पार्टीमा भित्र्याएर चुनावी मैदानमा पठाए । चुनाव जितेका वाग्लेले आफ्नो अनुभवलाई कसरी प्रयोग गर्छन् त्यो हेर्न बाँकी नै छ ।  

राजनीतिक विश्लेषक सौरभ नयाँ शक्तिबाट आशाका बीच आशङ्का र डर पनि उत्तीकै रहेको बताउँछन् । ‘नयाँको उदयसँगै ठुला पार्टीहरू कांग्रेस र एमालेको ढ्याङ्ग्रो फुटेको पक्कै हो । तर, नयाँबाट के आशा गर्ने भन्ने पनि होला । पक्कै पनि उनीहरुले राष्ट्रिय राजनीतिमा देखाएको आशा र पुरानाको डरले पनि उत्तिकै काम गर्छ’, उनको भनाइ छ । 

अब ठुला दलहरूलाई सहज भने नभएको उनको भनाइ छ । 

आशावादी छौँ तर, आशङ्का र डर उत्तिकै छ 

सौरभ, राजनीतिक विश्लेषक 

saurav1618673879-removebg-preview

खास कुरा केहो भने ननकंग्रेस डेमेक्र्याटको बलियो र ठुलो फोरम चाहिएको थियो । २००७ देखि नै कांग्रेसले भारतप्रति आशक्ति राखेको हुँदा आफू कम्युनिस्ट सिद्धान्त नमान्ने बहुसङ्ख्यक नेपालीहरू कम्युनिस्ट पार्टीमा लागे । पछि कम्युनिस्ट सिद्धान्त अनुसरण भए÷भएनन्, आचरण भए/भएन, अर्को कुरा हो, कम्युनिस्ट पार्टीहरू फुट्दै गए । 

अहिले पनि पार्टीहरू फुट्दै र जुट्दै छन् । नयाँहरूको पनि उदय भइरहेको छ ।  नयाँको उदयसँगै ठुला पार्टीहरू कांग्रेस र एमालेको ढ्याङ्ग्रो फुटेको पक्कै हो । तर, नयाँबाट के आशा गर्ने भन्ने पनि होला । पक्कै पनि उनीहरुले राष्ट्रिय राजनीतिमा देखाएको आशा र पुरानाको डरले पनि उत्तिकै काम गर्छ । 

अहिले उदाएका नयाँ पार्टीका व्यक्तिहरू पनि कांग्रेस र कम्युनिस्ट लिगेसीबाट आएका छन् । उनीहरुले पुरानै पार्टीको लिगेसी बोक्ने कि नयाँ शिराबाट अगाडि बढ्ने भन्नेमा निर्भर रहन्छ । सरकारको नेतृत्वमा नयाँ दल पुग्न सजिलो छैन । 

पुराना दलले पनि नेतृत्वमा लैजान खोज्दैनन् । दलहरू डराएका छैनन् । सबै दलहरू चाहेर पनि सच्चिन सक्दैनन् । भोलि गएर  यही स्वतन्त्र पार्टीले यिनीहरूलाई सिद्ध्याउँछन्÷ सिद्ध्याउँदैनन् त भन्दिनँ तर, स्वतन्त्र पार्टीले जितेर र विस्तार गरेको देखेर अरू आशावादी प्राविधिक फन्डहरु धेरै नै मैदानमा अवको चुनावमा आउँछन् । अब ठुला दलहरूलाई अब सजिलो छैन । नयाँबाट आशावादी छौँ । तर, आशङ्का र डर उत्तिकै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप