२०७२ वैशाख १२ यता साना–ठूला ५५ हजार बढी भूकम्प मापन
काठमाडौँ । नेपालमा विनाशकारी भूकम्प गएको ८ वर्ष पुगेको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दू बनाई ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प जाँदा ८ हजार ७८९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए ।
सो शक्तिशाली भूकम्पका कारण ५ लाख ११ हजार ३९० घरहरु ध्वस्त भए भने २ लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो ।
सो भूकम्पपछि नेपालमा हालसम्म साना–ठूला ५५ हजारभन्दा बढी भूकम्पको रेकर्ड भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीका अनुसार साना ठूला गरी सो संख्यामा भूकम्प गएको हो ।
२०७२ सालयता हालसम्म ४ रेक्टर स्केलभन्दा माथि ५८३ वटा भूकम्प मापन भएको छ, जुन हामीले महशुस गर्न सक्छौँ र योभन्दा माथिको स्केलमा भूकम्प गएमा मात्र भूकम्प मापन केन्द्रले आफ्नो वेबसाइटमार्फत जानकारी सार्वजनिक गर्ने गरेको छ । हामीले थाहा नपाउने तर प्राविधिक रूपमा रेकर्ड हुने साना खालका भूकम्प भने हरेक दिन जसो गइरहने भूकम्प मापन केन्द्रको भनाई छ ।
२०७२ सालको भूकम्पको परकम्प जाने क्रम अझै रोकिएको छैन भने यो क्रम अझै जारी रहने डा। अधिकारी बत्ताउँछन् ।
उनले भने,‘गोरखा भूकम्पको परकम्प जाने क्रम अझै रोकिएको छैन । अरू सामान्य भूकम्प देशभरि नै गइरहेकै छ । भूकम्प गएपछि त्यसको परकम्प पनि जाने भयो । त्यो रोकिने क्रम कहिलेपनि हुँदैन । मात्रै कहिले ठूलो जान्छ कहिले सानो, भूकम्प जाने क्रम निरन्तर भइरहेको हुन्छ ।’
ठूलो भूकम्प गएको कति समयसम्म परकम्प जान्छ भन्ने कुरा ठ्याक्कै यकिन गर्न कठिन भएपनि २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प अझै गइरहनसक्ने उनले बताए । भौगोलिक अवस्था, भूकम्प जाने प्रणाली अनुसार परकम्प जाने अवस्था फरक फरक हुने उनले बताए ।
२०७२ सालको भूकम्पबाट नेपालका १४ जिल्ला सबैभन्दा धेरै प्रभावित भएका थिए भने १७ जिल्लामा आंशिक प्रभाव परेको थियो ।
भूकम्पले क्षति पुर्याएका भौतिक संरचनाको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खडा गरेर सरकारले आर्थिक सहयोग गरेको थियो ।
पछिल्लो समय भवन आचारसंहिता पालना गरेर घर भवनहरु बनाउने क्रम बढ्दै गएका कारण आगामी दिनमा भूकम्प गएमा कम क्षति हुन सक्ने अवस्था रहेको डा।अधिकारी बत्ताउँछन् ।
उनले भने,‘कतिसम्मको भूकम्प थेग्न सक्छ, कति वर्षसम्मका लागि भूकम्प प्रतिरोधी हुन्छ भनेर बिल्डिङ कोड राखिएको हुन्छ । त्यसको आधारमा भवनहरु बनाइएको हुन्छ । धेरै ठूलो किसिमको भूकम्प आयो भने त्यसले पनि नथेग्न सक्छ तर विगतमा हामीले बनाउँदै आएका मापदण्ड नभएका परम्परागत घर भन्दा अहिले भवन संहिता पालना गरेर बनाउने क्रम बढेकोले त्यसले साधारण भूकम्पमा धेरै कम क्षति गर्छ ।’
भौगोलिक रूपमा नेपालको हिमालय पर्वत श्रृङ्खलाको मुनि इन्डियन प्लेट र यूरेशियन प्लेट एक अर्का भित्र घुसी रहेको विज्ञहरु बत्ताउँछन् । त्यसै घुसाइका कारण सञ्चित हुने ऊर्जाको परिमाण बढ्दै जाँदा भूगर्भको संरचनाले थेग्न नसकी भूगर्भका चट्टानका चाक्लाहरू दोब्रिने, भाँच्चिने गर्दा हुने कम्पनलाई नै भूकम्प मानिन्छ । कमजोर भूधरातलका कारण नेपाल सधैं भूकम्पको जोखिमयुक्त क्षेत्रको रूपमा रहेको भूकम्पविदहरु बत्ताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै गाउँ (लघुकथा)
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान