१५ दिनभित्र समाजवादी मोर्चा घोषणा गर्ने तयारी

काठमाडौँ । नेकपा एमालेबाहेक दललाई एक ठाउँमा केन्द्रीत गर्दै तेस्रो ठूलो शक्ति निर्माण गर्न नेताहरु जोडतोडका साथ लागेका छन् । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादीलगायत दलहरुले बारम्बार समाजवादी मोर्चा बनाउने उद्घोष गरिरहेका छन् ।
माओवादीबाट समाजवादी मोर्चा बनाउन सुरुमा पार्टी प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वको वार्ता टोली सक्रिय भई लागेको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा सहभागी थिए ।
कम्युनिस्ट वामपन्थी शक्तिबीच मोर्चा र एकता गर्न महराको नेतृत्वमा गत पुस २३ गते बनाएको थियो । पछिल्लो समय उर्जा मन्त्रीको समेत जिम्मेवारीमा रहेका शक्तिबहादुर बस्नेत सक्रिय भई लागिरहेको माओवादी केन्द्रका एक नेताले बताए ।
‘महरा सर नेतृत्वको वार्ता टोली समाजवादी मोर्चा बनाउन सक्रिय भई लागेको थियो । पछिल्लो समय शक्ति कमरेड बढी सक्रिय भई लाग्नु भएको छ,’ ती माओवादी नेताले भने, ‘उपनिर्वाचन सकियो, नतिजा आएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएलगत्तै समाजवादी मोर्चा घोषणा हुन सक्छ ।’ अबको १०/१५ दिनभित्र समाजवादी मोर्चा घोषणा हुने ती नेताको दाबी छ ।
यस्तै जनता समाजवादी पार्टीबाट नेता राजेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीबाट विजय पौडेल समाजवादी मोर्चा निर्माणमा सक्रिय भई लागेका छन् । एकीकृत समाजवादीबाट पहिले उपाध्यक्ष बेदुराम भुसालसहित उपमहासचिव प्रकाश ज्वाला, विजय पौडेल लागेका थिए ।
पछिल्लो समय बेदुराम भुसाल कृषि मन्त्री र प्रकाश ज्वाला भौतिक मन्त्री भएपछि विजय पौडेल र महासचिव घनश्याम भुसाल सक्रिय भई लागेका छन् । शीर्ष नेताहरुसंग भेटघाट गर्नुका साथै डकुमेन्ट तयार गर्न पौडेल र भुसाल लागि परेका छन् । घनश्याम भुसाल महासचिव भएपछि मात्रै मार्चा निर्माणमा दैनिक खटिने गरेका हुन् ।
उता, एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले समाजवादी मोर्चा निर्माण गर्न शीर्ष नेतृत्व तहमा संवाद भइरहेको बताए । ‘एमालेबाहेक कम्युनिस्ट प्रगतिशील पार्टीका शीर्ष नेताहरु नियमित छलफल र संवादमा हुनुहुन्छ । अरु आवश्यक परेमा पार्टीका दोस्रो तहका नेताहरु भेटेर छलफल जारी राख्नु भएको छ’ खतिवडाले भने, ‘मोर्चा निर्माण गर्न खासै गृहकार्य गर्नु नपर्ने भएकाले सामान्य संवादकै अवस्थामा छ ।’
समाजवादी मोर्चा निर्माण भएमा संसद र सडकका दुबै मोर्चा सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा लिएको खतिवडाले बताए ।
यस्तै एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा प्रमुख सचेतक मेटमणि चौधरीले हप्ता दिनभित्रै समाजवादी मोर्चा घोषणा हुने दावी गरे । ‘वैशाख पहिलो साता नै समाजवादी मोर्चा बनाउने भनिएको थियो । उपनिर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता नदिएकाले ढिला भएको हो’ चौधरीले भने, ‘अब मन्त्रिपरिष्लाई पूर्णता दिएलगत्तै हप्ता दिनभित्र समाजवादी मोर्चा घोषणा हुन्छ ।’
तत्कालीन समाजवादी मोर्चा बनाएर एक ठाउँमा उभ्याउने दीर्घकालीन रुपमा पार्टी एकता गर्ने सोचिएको चौधरीले बताए । ‘अहिले विचार र सिद्धान्त मिल्नेहरुबीच मोर्चाबन्दी र सहकार्य गरेर जाने योजना छ । यो मोर्चा बनाएर जाँदा कस्तो नतिजा निस्कन्छ हेरिने छ । विचार मिल्दै गएमा एकतासम्म जाने तयारी छ ’ चौधरीले भने ।
अहिले माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच मोर्चा बनाउने विषयमा छलफल भएपनि विप्लव नेतृत्वको नेकपा, डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आमजनता पार्टी लगायत पार्टीबीच बृहत समाजवादी मोर्चा बनाउने तयारी गरिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरेर नेकपा अभियान बनाउने अभियानमा लागिने बताएका थिए । गत आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले विचार मिल्ने पार्टीहरु एक ठाउँमा उभिएर मोर्चा बनाउने बताएका हुन् ।
‘केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने छ र त्यो मोर्चाले नेकपातिर फर्कन सबैलाई अपिल गर्नेछ’, प्रचण्डले भनेका थिए, ‘नेकपा केही नेताको सनकले दुर्घटना भएपनि त्यो एकतालाई पुनर्जीवित गर्न चाहन्छौ ।’
प्रचण्डले २०७४ मा आफूले नै एकताको प्रस्ताव गरेको भन्दै राष्ट्रिय स्वाधीनता र एकता तथा जनजीविकाका साथै गणतन्त्र सुदृढ गर्न पनि कम्युनिस्टहरू एकता हुन जरुरी रहेको बताए ।
यस्तै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा बनाउन आग्रह गरिरहेकाले तत्काल मोर्चा बनाएर जाने बताए ।
‘प्रचण्डजीले समाजवादी मोर्चा बनाऔं भनेर बारम्बार ताकेता गर्नु भएको छ । समाजवादी मोर्चा बनाएर जनताको सामु घोषणा गर्ने सोचेका छौं । विचार मिल्ने स–साना पार्टीहरुलाई जोड्दै गइने छ’ अध्यक्ष नेपालले भने, ‘विचार, सिद्धान्त, व्यवस्थापनको कार्यशैली र कार्यनीति मिल्यो भने एमाले बाहेकको एउटै पार्टी बन्न सक्छ ।’ कम्युनिस्टहरु मिलिदिए हुन्थ्यो भन्ने जनभावना भएकाले त्यो अवस्था सबैले देख्न पाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
रौतहटमा युवकको शव फेला
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन
-
प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा