शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
सन्दर्भः विश्व औलो दिवस

कर्णाली उक्लियो लामखुट्टे : हुम्ला र कालिकोट औलोको उच्च जोखिममा

रोजगारीका लागि भारत जानेहरु नै मलेरिया बोकेर फर्किने
मङ्गलबार, १२ वैशाख २०८०, ११ : ४०
मङ्गलबार, १२ वैशाख २०८०

सुर्खेत । आज विश्व औलो अर्थात् मलेरिया दिवस । लामखुट्टेको टोकाईबाट सर्ने यो रोग कर्णालीका हिमाली जिल्लामा समेत पुगेको छ । स्वाथ्य अधिकारीहरुका अनुसार हुम्लाको ताजाकोट गाउँपालिकाका केही वडा र कालिकोटको खाँडाचक्र गाउँपालिकाका गरी ४ वटा वडा मलेरियाको उच्च जोखिममा रहेका वडा हुन् । 

यस्तै कर्णालीका ९ वटा वडा मध्यम र ४१२ वटा वडाहरु मलेरियाको ‘लो रिक्स’मा पर्छन् । कुनै समय अहिलेको प्रदेश राजधानी वीरेन्द्रनगर उपत्यका मलेरियाको उच्च जोखिममा थियो । जसका कारण यहाँ मान्छेको बसोबास समेत थिएन । मलेरियाकै कारण वीरेन्द्रनगर भन्दा माथिल्लो भेग गोठीकाँडाबाट मात्र मान्छेहरुको बसोबास थियो । 

२०२० सालपछि मात्र विस्तारै बस्तीहरु उपत्यकामा सर्न थालेको इतिहास छ । औलो उन्मुलन भएपछि मात्रै वीरेन्द्रनगरमा बस्तीको बसोबास तीब्र रुपमा बसोबास बढेको बताइन्छ । 
तर, पछिल्लो समय मलेरिया पहाड हुँदै हिमाली जिल्लामा पुगेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । त्यसो हुनका पछाडि सहरतिरको मालसामान गाडीको माध्यमबाट गाउँ गाउँमा पुग्नु र सामानको बोरासँगै लामखुट्टेसमेत गाउँमा पुग्नु प्रमुख कारण मान्दछन्–स्वास्थ्य निर्देशक डा रविन खड्का ।

सरकारले ‘शुन्य औलो अबको थालनी, नविनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने उद्देश्यसहित सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । अन्य प्रदेशको तुलनमा कर्णाली न्यून जोखिममा रहेपनि भारतकेन्द्रीत रोजगारीका कारण कर्णालीमा मलेरियाको समस्या रहेको स्वास्थ्य अधिकारीहरुको निष्कर्ष छ । 

चालु आर्थिक वर्ष ०७९/०८० को हालसम्म कर्णालीमा २३ जना मलेरियाका बिरामी देखिएका छन् । त्यसमध्ये ९ जना मात्र स्थानीय रहेका छन् भने बाँकी १४ जना भारतबाट फर्किएका छन् । डा. खड्का भारतबाट आएकाहरुबाट नै मलेरिया सर्ने गरेको बताउँछन् । 
यो वर्ष हुम्लामा ७, कालिकोटमा २, दैलेखमा २ र सुर्खेतमा १३ जनामा मलेरिया देखा परेको छ । जबकि गत आर्थिक वर्षमा कर्णालीमा ४८ जनामा मलेरिया देखा परेको थियो । जसमध्ये ३० जना भारतबाट फर्किएका र १८ जना स्थानीय थिए । 

आर्थिक वर्ष ०७६/०७६ मा कर्णालीमा २०८ जना मलेरियाका बिरामी रहेकोमा ०७६/०७७ मा घटेर ५१ जनमा देखिएको थियो । त्यस्तै, ०७७/०७८ मा घटेर ३४ जनामा देखिएपनि गत वर्ष भने बढेर ४८ पुगेको थियो । यो अन्य प्रदेशको तुलनामा भने निकै कम हो । 
गत वर्ष सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १८१, लुम्बिनी प्रदेशमा १५८, मधेसमा ४४, बाग्मतीमा ४३, गण्डकीमा १२ र कोशी प्रदेशमा ५ जना मलेरियाका बिरामी देखिएको तथ्याङ्कमा उल्लेख छ । 

कर्णालीमा विषेश गरी प्लाज्मोडियम भाइभेक्स (पिभी) का बिरामी बढी देखिन्छन् । स्वाथ्य निर्देशनालयको किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार ७० को दशकभित्र मलेरियाका कारण कर्णालीमा मान्छेको मृत्यु भने भएको देखिदैन । 
‘खुल्ला सीमा नाका हुँदै भारतबाट आएका मान्छेहरु सिधै गाउँमा जाने र ती व्यक्तिमा मलेरिया देखिने गरेको छ,’  अधिकृत आचार्यले भने,‘तर, यो दरलाई घटाउन सिमा नाकामै चेकजाँचको व्यवस्थापन हुनुपर्छ । तर, राज्यले प्राथमिकता राखेन ।’

कर्णालीमा औलोको अवस्था 
कर्णाली प्रदेशको १ हजार २५१ जनसंख्या मलेरियाको जोखिममा छ । गत वर्ष प्रदेशभर कुल १९ हजार ५९१ जनामा रक्त नमुना परीक्षण गरिएको थियो । त्यसमा ४८ जनमा बिरामी देखिएका थिए । बार्षिक परजीवी सूचकमा कर्णाली ०.४, वार्षिक रक्त परीक्षण दरमा १.५७ र रक्त परीक्षण पोजिटिभिटी दर ०.२५ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उमेरगत हिसाबमा यो प्रदेशका १५ वर्ष भन्दा माथिका व्यक्तिहरुमा सबैभन्दा बढी मलेरिया देखा पर्ने गरेको छ । गत वर्ष उच्च जोखिममा रहेका ९ हजार १५९ र गर्भवती महिला तथा जोखिम समूहलाई ३ हजार १०५ वटा कीटनाश झुल वितरण गरिएको थियो । 
यो वर्ष जोखिममा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ मा १३ हजार थान झुल वितरण गरिएको स्वास्थ्य निर्देशन डा. रविन खड्काले बताए । 

कसरी सर्छ औलो ?
लामखुट्टेको टोकाईबाट हुने यो सरुवा रोग तुरुन्त उपचार नगरे समुदायमा सर्छ । संक्रमित एनोफिलिज जातको पोथी लामखुट्टेले स्वस्थ मान्छेलाई टोक्दा औलो लाग्दछ ।
डा. आचार्यका अनुसार कम ज्वरो आउनु, ज्वरो आउँदा प्रायः जाडो हुने, काँप छुट्ने र पसिना आउने हुन्छ । ज्वरो दिन बिराई वा नियमित पनि आउँछ । टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुनुका साथै फियो बढ्ने गर्दछ । 

यस्तै, औलो लागेकोमा रक्तअल्पता हुन सक्छ । जसका कारण मान्छे बेहोस् पनि हुन्छ । ‘बिरामीले समयमा उपचार नपाएमा मृत्युसमेत हुन सक्छ,’ आचार्य भन्छन्,‘लामखुट्टेको टोकाईबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप