पाँच वर्षमा दोब्बरले बढ्यो फलफूल आयात
काठमाडौँ । नेपालमा वार्षिक २४ अर्ब भन्दा बढीको फलफूल आयात हुने गरेको छ । केन्द्रीय भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा २४ अर्ब १९ करोड ८५ लाख ६६ हजार रुपैयाँको फलफूल आयात भएको हो ।
त्यस्तै, चालु आर्थिक वर्षको ९ महिनामा १४ अर्ब ३४ करोड ६० लाख १७ हजार रुपैयाँको फलफूल आयात भएको छ । उता आर्थिक वर्ष २०७४/७५ मा १४ अर्ब ६९ करोड २१ लाख १० हजार रुपैयाँ आर्थिक वर्ष २०७५/७६ मा १८ अर्ब १० करोड ८१ दाख २४ हजार रुपैयाँको फलफूल आयात भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा २० अर्ब ७४ करोड ६२ लाख ९२ हजार रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा २१ अर्ब ३४ करोड करोड ३८ लाख ३६ हजार रुपैंंयाको फलफूल आयात भएको थियो ।
यसरी पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा झन्डै दोब्बरले फलफूल आयात भएको देखिन्छ । आयात बढ्दै जाँदा नेपाली किसानलाई भने फलफूलको उचित मूल्य पाउनै मुस्किल भएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार नेपालमा हिउँदे, वर्षे तथा सुन्तला जातका फलफूल गरी तीन भागमा विभाजन गरिएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा हिउँदे, वर्षे तथा सुन्तला जात गरी कुल १ लाख २८ हजार हेक्टर क्षेत्रफलमा १३ लाख ५६ हजार मेट्रिक टन फलफूल उत्पादन भएको थियो । र, उत्पादकत्व १०.५४ मेट्रिक टन प्रतिहेक्टर थियो। आर्थिक वर्ष २०७६/७७ भन्दा ८.५३ प्रतिशतले उत्पादन बढेको पाइएको छ तर फलफूलको आयात भने बढ्दै गएको छ ।
बजारमा स्वदेशी फलफूलभन्दा आयातित फलफूलको वर्चस्व भएकाले मूल्य पाउन मुस्किल भएको काभ्रे, धुलिखेल नगरपालिका–११ खस्कोटका किवी खेती किसान तिला पोख्रेल बताउँछन्।
पोख्रेलले २०६१ सालदेखि करिब २० रोपनी जग्गामा ३५ लाखमा लगानीमा व्यावसायिक किवी खेती गर्दै आएका छन् । वार्षिक ७ मेट्रिक टन किवी उत्पादन गर्दै आएको उनले बजारमा प्रतिकेजी एक सय रुपैयाँमा पनि किवी विक्री हुन मुस्किल भएको विवशता पोख्छन् ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ का शम्भु नेपाल एक दशक अघिदेखि कागती खेती सुरु गरेका छन् । उनले वार्षिक ६ मेट्रिक टन कागती विक्री गर्दै आएका छन् । तर, बजारमा भारतीय कागतीले यहाँको कागतीले उचित बजार पाउन नसकेको उनको भनाई छ ।
‘हाम्रो ठूलो बजार भनेको काठमाडौँ हो । अरू सहरमा खासै कागती विक्री हुँदैन ।’ नेपालले भने, ‘यहाँका किसानलाई सरकारले प्राथमिकता दिनुपर्नेमा उल्टै नेपाली कागतीमा सिन्डिकेट लगाउने अनि भारतीय कागती ल्याएर बेच्ने गरिएको छ ।’
झापाको बाह्रदशी गाउँपालिका–७ का मदन लिम्बूले ७ विगहामा क्षेत्रफलमा कागती खेती गर्दै आएका छन् । व्यापारीले कागतीको मूल्य नै नदिने गरेको विवशता दर्साउँदै लिम्बूले भने, ‘व्यापारीले प्रतिगोटा एक रुपैयाँको दरले किन्छन् ।’ यसबाट लागत उठ्नै गाह्रो हुने उनको भनाई छ ।
लिम्बूले यसपालि १० लाखको कागती विक्री गरे । यो भन्दा बढी कागती खेती विस्तार गर्ने उनको सोच छैन। भन्छन्, ‘बजार भारतीय कागतीले भरिएको छ। भारतीय कागतीभन्दा हाम्रो मूल्य बढी भए पनि राम्रो गुणस्तरीय छ तर व्यापारीले सस्तो खोज्छन् ।’
स्याउ आत्मनिर्भर कार्यक्रम १० वर्ष: प्रतिफल शून्य
भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा वार्षिक करिब ७ अर्बको स्याउ आयात भएको देखिन्छ । सबैभन्दा बढी भारतबाट स्याउ आयात हुन्छ । त्यस्तै, चीन, इन्डोनेसिया, टर्की, अमेरिकाबाट समेत स्याउ आयात हुँदै आएको छ ।
गत आर्थिक वर्षमा ७ अर्ब १५ करोड ८८ लाख ५६ हजारको स्याउ आयात भएकोमा चालु आर्थिक वर्षमा पाँच अर्ब ३३ करोड ६ लाख २१ हजार रुपैयाँको स्याउ आयात भएको छ ।
स्याउ आयातलाई प्रतिस्थापन गर्न सरकारले स्याउ आत्मनिर्भर कार्यक्रम २०६८ बाट सञ्चालन गरेको थियो। तर, सरकारले स्याउमा आत्मनिर्भर बन्ने दीर्घकालीन योजना अघि सारेको एक दशक बितिसक्दा पनि स्याउको उत्पादन र क्षेत्रफल बढ्न सकेको छैन।
सरकारले आठ जिल्ला डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, रुकुम, मनाङ र मुस्ताङलाई स्याउको पकेट जिल्ला घोषणा गरेको थियो। राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार १० वर्षको अवधिमा दुई हजार हेक्टर क्षेत्रफल मात्र स्याउ खेती विस्तार भएको छ।
कार्यक्रम सञ्चालन गरेको वर्षमा नेपालमा १० हजार तीन सय १२ हेक्टर क्षेत्रफलमा पहिलो वर्ष ४२ हजार सात सय चार मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा १२ हजार नौ सय १० हेक्टरमा स्याउ खेती विस्तार भई ४५ हजार दुई सय ५ मेट्रिक टन मात्र उत्पादन हुन सक्यो ।
अम्बा, आँप र अन्य फलफूल
गत आर्थिक वर्षमा एक अर्ब १० करोड ९४ लाख ७८ हजार रुपैयाँको अम्बा, आँप र अन्य फलफूल आयात भएको थियो। चालु आर्थिक वर्षमा २७ करोड ४६ लाख ७० हजार रुपैयाँको अम्बा, आँप र अन्य फलफूल आयात भएको छ ।
नेपालमा ४२ हजार १ सय ९६ हेक्टर क्षेत्रफलमा ४ लाख ५३ हजार ४ सय १६ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ । पछिल्लो १० वर्षमा आँप उत्पादन ३८ प्रतिशतले बढेको छ भने उत्पादकत्व २.०८ प्रतिशतले बढेको छ। नेपालमा मुख्य गरी तराई क्षेत्रमा आँप उत्पादन हुने गरेको छ।
केरा
नेपालमा वार्षिक डेढ अर्ब भन्दा बढीको केरा आयात हुने गरेको छ। गत आर्थिक वर्ष नेपालमा एक अर्ब ६३ करोड ७१ लाख ३३ हजार रुपैयाँको तथा चालु आर्थिक वर्षमा ६१ करोड ६४ लाख ८५ हजार रुपैयाँको केरा आयात भएको छ ।
नेपालमा १० वर्षको अन्तरालमा ४७ प्रतिशतले केराको उत्पादन बढेको छ। नेपालमा वार्षिक १६ हजार ६ सय ९९ हेक्टर क्षेत्रफलमा केरा उत्पादन हुने गरेको छ।
नास्पाती
नेपालमा वार्षिक २३ सय ६ हेक्टर क्षेत्रफलमा २२ हजार ८ सय ६७ मेट्रिक टन नास्पाती उत्पादन हुने गरेको छ। आर्थिक वर्ष २०७६/७७ को भन्दा आर्थिक वर्ष २०७७/७८ मा ०.३३ प्रतिशतले उत्पादकत्व घटेको छ । गत आर्थिक वर्षमा १५ करोड १५ लाख ४ हजार रुपैयाँको नास्पाती आयात भएकोमा चालु आर्थिक वर्षमा ११ करोड १३ लाख ९८ हजार रुपैयाँको आयात भएको छ।
ओखर
नेपालमा वार्षिक २१ सय ८४ हेक्टर क्षेत्रफलमा १० हजार ५१ मेट्रिक टन ओखर उत्पादन भइरहेको छ ।
गत आर्थिक वर्षमा ७२ करोड ८५ लाख ६१ हजार रुपैयाँको विभिन्न देशबाट ओखर आयात भएको थियो भने चालु आर्थिक वर्षमा ६९ करोड ८८ लाख ८९ हजार रुपैयाँको ओखर आयात भएको छ।
नेपालमा विशेष गरी चीन र भारतबाट छोडाएको र नछोडाएको ओखर आयात हुने गरेको छ। तिहारको समयमा मुख्य गरी ओखरको खपत हुने गर्छ ।
नेपाली बजारमा प्रति किलो ६ सय रुपैयाँमा चिनियाँ ओखर उपलब्ध छ भने नेपाली ओखरको मूल्य प्रति किलो करिब ११ सय रुपैयाँ पर्छ। माग भए पनि नेपाली ओखर पाउन मुस्किल भएकाले मूल्य बढी भएको हो।
किवी
कृषि मन्त्रालयका अनुसार वार्षिक ३३ हजार ५ सय ४७ हेक्टर क्षेत्रफलमा एक लाख २८ हजार दुई १४ मेट्रिक टन किवी उत्पादन हुँदै आएको छ ।
भारत, चीन, इरान, ग्रिस, इटाली, युएईबाट नेपालमा किवीको आयात हुँदै आएको छ । कालीमाटी तरकारी बजारमा अहिले प्रति केजी किवीको मूल्य ४ सय देखि ४५० सम्म कायम रहेको छ ।
किसानले किवीको उचित मूल्य नपाएको गुनासो गरिरहेका बेला नेपालमा भने पछिल्लो वर्षहरूमा किवीको आयात पनि बढ्दै गएको छ। आर्थिक वर्ष २०७४/७५ मा ४ मेट्रिक टन बराबरको १३ लाख ६९ हजारको किवी आयात भएकोमा गत वर्षसम्म आइपुग्दा नौ सय ९५ मेट्रिक टन बराबरको ६ करोड दुई लाख ६७ हजारको किवी आयात भएको छ ।
यो तथ्याङ्क हेर्दा ५ वर्षको अवधिमा १४३ प्रतिशतले आयातमा वृद्धि भएको देखिन्छ। चालु आर्थिक वर्षमा ६ करोड ४९ लाख २४ हजारको रुपैयाँको किवी आयात भएको छ।
घट्दै सुन्तला र जुनारको उत्पादन
अहिले नेपालमा वार्षिक १४ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा १ लाख ५६ हजार १ सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको छ ।
१० वर्षको तथ्याङ्क हेर्ने हो भने सुन्तलाको उत्पादन र उत्पादकत्वमा कमी आएको देखिन्छ। आर्थिक वर्ष २०६७/६८ मा एक लाख ७९ हजार चार सय ९४ मेट्रिक टन उत्पादन भएकोमा आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा एक लाख ५६ हजार एक सय ८० मेट्रिक टन उत्पादन भएको थियो।
यसरी १० वर्षको अन्तरमा ३२ हजार मेट्रिक टनले सुन्तलाको उत्पादन घटेको छ भने १.३१ प्रतिशतले उत्पादकत्व घटेको छ ।
त्यसै गरी जुनारको उत्पादन क्षेत्रफल र उत्पादकत्व दुवै घटेको छ। आर्थिक वर्ष २०६७/६८ मा ४ हजार ८९ हेक्टर क्षेत्रफलमा ५ हजार ६ सय ७९ मेट्रिक टन उत्पादन भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ४२ हजार ४ हजार २ सय ६२ हेक्टर क्षेत्रफलमा ४९ हजार ३ सय ७० मेट्रिक टन उत्पादन भएको छ ।
जुनारमा उत्पादनको क्षेत्रफल बढेता पनि उत्पादन र उत्पादकत्वमा भने कमी देखिएको छ। १० वर्षको अन्तरालमा १० प्रतिशतले उत्पादन र ०.८१ प्रतिशतले उत्पादकत्वमा कमी आएको छ।
हुन सकेन निर्यात
नेपालले सुन्तला र जुनार जातका फलफूल निर्यातका लागि चीनसँग २०६९ असार १५ मै सम्झौता गरेको थियो। चिनिया राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा २०७६ असोज २५ गते उक्त सम्झौतामा परिमार्जन भएको थियो।
त्यसपछि सुन्तला र जुनार चीन निर्यात हुनेमा किसानहरू उत्साहित भएका थिए। त्यसअनुसार निर्यातका लागि ‘प्रोटोकल’ पनि बनिसकेको छ। तर, निर्यात भने हुन नसक्दा यसको उत्पादन घट्दै गएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी