सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

विनाशकारी भूकम्पको सम्झना : पानीको पिरलोले सहरतिर बसाइँ

मङ्गलबार, १२ वैशाख २०८०, ०६ : ४९
मङ्गलबार, १२ वैशाख २०८०

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडानम्बर ४ लामिडाँडाको हिलेपानीमा एउटा टोल छ ‘घिमिरे टोल’ । उत्तरी बजार सिंगटी छिचोल्ने सडकको दायाँबायाँ भूकम्पपछि बनेका दुईतले जस्ताको छाना भएका चिटिक्कको यो टोलका अधिकांश घरहरू भने खाली छन् ।

झन्डै ३६ घरधुरी रहेको घिमिरे टोलका २२ घर खाली रहेको स्थानीय सीता सुवेदीले बताइन् । भूकम्पले क्षतिग्रस्त यो टोलका सबै घरहरू पुनर्निर्माण भएका छन् तर जम्मा १४ घरमा मात्र मानिसको बसोबास रहने गरेको सीताको भनाइ छ ।

खाली घरका अधिकांश छिमेकीको अहिले काठमाडौंमै स्थायी रूपमा बसोबास रहेको र देवालीमा भने गाउँमा फर्कने गरेको स्थानीयको भनाइ छ । कोहीकोही छिमेकी भने दशैंतिहारमा समेत गाउँ फर्कने गरेको स्थानीय बताउँछन् ।

६० को दशकसम्म घिमिरे टोलका अधिकांश घरहरू भरिभराउ नै थिए । केही द्वन्द्वका कारण र केही भूकम्पका कारण विस्थापित बने पनि अधिकांश भने पानीको पिरलोले विस्थापित बन्नुपरेको सीता सुवेदी बताउछन् । ‘यो टोलमा पानीका लागि एक बिहानै पारेर हिलेपानी संस्कृत विद्यालय भएको टोलमा जानुपर्छ’, सीताले भनिन् – ‘त्यही पिरलोले पनि सहरमा छोराछोरी स्थापित भएपछि परिवारका ज्येष्ठ सदस्यहरूले समेत गाउँ छोडेर जानुभयो ।’

घिमिरे टोलमा भूकम्पपछि बनेका दुईकोठे अधिकांश घरमा अहिले ताला लाग्ने गरेका छन् । घरवरपर सिस्नो र विभिन्न झारहरू पलाएर करेसा र आँगन छोपेका छन् । ‘ताला लागेका सुनसान घरहरू देख्दा र पानीको अभाव खेप्नुपर्दा हामीलाई पनि विरक्त लाग्ने गर्छ’, स्थानीय राजकुमार कार्कीले भने– ‘तर जाऊँ पनि कहाँ ? समस्या खेपेरै भए पनि गाउँमै बस्नुको विकल्पै छैन ।’

हिलेपानीको घिमिरे टोलमा विगतदेखि नै केही उब्जनी नहुने र पानीको सधैं समस्या खेप्नुपर्ने भएकैले मानिसहरू बिरक्तिएर बसाइँ सर्न बाध्य हुने गरेको स्थानीय बताउँछन् । ‘यो टोलमा पानीको अभावका कारण जमिन नै सुख्खा छ, गहत र झुसेतीलबाहेक अरू चिज उत्पादन नै हुँदैन’ –सीता सुवेदीले भनिन् । । पिउने पानी र अन्य घरधन्दाका लागि ठूलो पँधेरो पुगेर पानी ल्याउँदा एक घण्टै बित्ने सीताको भनाइ छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप