कर्णालीका भौतिक पूर्वाधार मन्त्रीको छड्के अनुगमन !
सुर्खेत । सोमबार अपराह्न कर्णालीका भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्री मङ्गलबहादुर शाही एकाएक राजधानी वीरेन्द्रनगरभित्रका सडक तथा पुलहरूको अनुगमनका निस्किए । उनले साँझपख हुने बेलासम्म राजधानी भित्रका दुई वटा ठुलो बजेटका सडक, एउटा पक्की पुल र भवनहरूको एकसाथ अनुगमन गरे । जहाँ कतै ठेकेदारका लापरवाहीले समयमा काम भइरहेको थिएन भने कतै विद्युत् प्राधिकरणका कारण सडक बीचमै पोलहरू थिए । प्रदेश सरकारबाट सञ्चालन भइरहेका योजनाहरू कार्यान्वयनमा ढिलाइ भइरहेको भन्दै शाहीले छड्के अनुगमन गरेका थिए ।
उनको साथमा सोही मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास निर्देशनालयको टोली थियो । मन्त्री सुरुमा वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा अवस्थित चर्चित पर्यटकीय धार्मिक स्थल देउती बज्यै मन्दिर पुगे । उक्त मन्दिर जोड्ने छेवैको खोलामा पुल निर्माण भइरहेको थियो । जहाँ यसअघि नागरिकले सो स्थानमा रहेको पुल धरापमा परेको भन्दै सरकारको चर्को आलोचना गर्दै आइरहेका थिए ।
उक्त पक्की पुल निर्माणको जिम्मा कबिर/काँक्रे जेभी सुर्खेतले लिएको छ । पूर्वाधार निर्देशनालयसँग उक्त कम्पनीले ११ माघ, ०७९ मा कुल एक करोड ३० लाख ७३ हजार १९ रुपैंया पचास पैसामा निर्माण गर्ने सम्झौता गरेको छ । ३० भदौसम्म सक्ने लक्ष्य लिइए पनि जेठ मसान्तसम्म सक्ने गरी काम भइरहेको निर्देशनालयका प्रमुख रामशरण आचार्यले ब्रिफिङ गरे । मन्त्री शाहीले प्रदेश सरकारमाथि अनेक आलोचना भइरहेको भन्दै समयमै काम सक्न निर्देशन समेत दिए ।
त्यसपछि मन्त्री शाहीले निकै विवादित र चर्चामा रहेको प्रमुख चोक मंगलगढी–काँक्रेबिहारको निरीक्षण गरे । जुन सडक लामो समयदेखि ठेकेदारको लापरबाहीका कारण घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने गरेको छ । मन्त्री पुग्दा सडक आसपासका नागरिकहरूले हामीले कहिलेसम्म घुलो खाने ? भन्दै प्रश्न गरेका थिए । लाटिकोइलीका स्थानीय वसन्त खत्रीले ठकेदारको म्याद नथप्ने गरी काम गर्न ताकेदा गर्नुपर्ने कुरा मन्त्रीलाई बताए । मन्त्री शाहीले त्यो विषयमा आफूले ताकेता गरिरहेको सुनाए । प्रमुख पर्यटकीय स्थल काँक्रेबिहार जोड्ने मुख्य सडक नै अस्तव्यस्त हुँदा सडक किनाराका नागरिकहरुलाई हैरानी भइरहेको छ ।
झन्डै डेढ वर्षदेखि ठेकेदारले गरेको ढिलासुस्तीले सास्ती पाएको भन्दै यस क्षेत्रका नागरिक बारम्बार आन्दोलित हुने गरेका छन् । यो सडक तत्काल निर्माण गर्न मन्त्री शाहीले सडक निर्माण स्थलबाटै ठेकेदारलाई निर्देशन दिए । झन्डै २ हजार ४ सय मिटरको उक्त सडक निर्माणको जिम्मा अमर सिस्ने नेपाल मेगा जेभिले ०७८ मंसिर १४ गते लिएको थियो ।
१२ करोड ७६ लाख १५ हजार भन्दा बढी लागतमा उक्त कम्पनीले अहिले काम गरिरहेको छ । आउने असारमा काम सम्पन्न गरिसक्ने लक्ष्य भएपनि काम आधार पनि हुन् सकिरहेको छैन । यो सडकका कतिपय ठाउँमा विवाद पनि रहेको छ । मन्त्री शाही समक्ष स्थानीयले आफ्ना गुनासा समेत राखे । यो सडक अन्तर्गत ३६ वटा घरहरू हटाइएका छन् भने केही हटाउने क्रममै रहेका भेटिए । अर्कोतर्फ विद्युत् प्राधिकरणको अटेरीका कारण पनि सडक निर्माणमा बाधा पुगेको निर्देशनालयले जनाएको छ ।
यो सडकको निरीक्षण पश्चात् मन्त्री शाही तेलपानी–भूरिगाउँ सडक निर्माणको अवस्था बुझ्न पश्चिम तर्फ हानिए । मुख्य बजारदेखि केही पश्चिम किनारातर्फ पर्ने उक्त सडक पनि विद्युतका पोलका कारण बन्धक बनिरहेको पाइयो । यसपटक निर्देशनालयले यहाँ साढे सातसय मिटर कालोपत्रे गर्ने भएको छ । तर विद्युत् प्राधिकरणले सडकको बीचमा परेका पोलहरू नहटाउँदा ग्रावेल र कालोपत्रे गर्ने काममा समस्या भइरहेको निर्माण कम्पनीले जनायो ।
निर्माण कम्पनीले जेठभित्रै सडक कालोपत्रे गर्ने तयारी गरेको छ । विद्युतका पोल सार्नका लागि निर्देशनालयले दुई साताअघि नै प्राधिकरणलाई १५ लाख रुपैंया उपलब्ध गराइसकेको कार्यालयका सवइन्जिनियर प्रेमचन्द पाण्डेले बताए । तर, अहिलेसम्म हटाएको छैन । मन्त्री शाहीले पोलहरू हटाएर तत्काल काम अगाडि बढाउन निर्देशन दिइने बताए । ‘अब हामी सबैले काममा तीब्रता दिनुको विकल्प छैन,’ उनले भने,‘ सबै आयोजनाको समयमै काम गर्न निर्देशन दिइसकेको छु ।’
आयोजनाको म्याद अवधिभित्र निर्माण कम्पनीले काम गर्न नसकेको खण्डमा कानुनी रूपमा कारबाही अघि बढाइने मन्त्री शाहीले चेतावनी समेत दिइएका छन् ।