सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको हो ।
सङ्गठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राष्ट्रसङ्घको पत्रकार सम्मेलनमा सुडान सरकारको तथ्याङ्कअनुसार द्वन्द्वमा ४१३ जनाको मृत्यु भएको र तीन हजार ५५१ जना घाइते भएको जानकारी दिइन् ।
देशको सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच जारी भिडन्तको एक हिस्सा हो । उनले अप्रिल १५ यता १० सहित स्वास्थ्य संस्थामा ११ वटा आक्रमण भएको पुष्टि भएको बताइन् ।
“सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार काम गर्न छाडेका स्वास्थ्य संस्थाहरूको सङ्ख्या २० छ । साथै, स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार बन्द हुने जोखिममा रहेका स्वास्थ्य संस्थाहरूको सङ्ख्या १२ छ,” ह्यारिसलाई उद्धृत गर्दै अनादोलुले रिपोर्ट गरेको छ ।
“यसको अर्थ हेरचाहको आवश्यकता रहेका व्यक्तिले आवश्यक स्वास्थ्य सेवा पाउन पनि कठिन बनेको छ ।
पत्रकार सम्मेलनमा युनिसेफका प्रवक्ता जेम्स एल्डरले भने,“यो लडाईंले बालबालिकामा विनाशकारी असर पारेको स्पष्ट छ । अहिले हामीसँग कम्तीमा नौ जना बालबालिकाको मृत्यु भएको र कम्तीमा ५० जना घाइते भएको समाचार प्राप्त भएको छ ।”
लडाइँ जारी रहँदा पिडित बालबालिकाको सङ्ख्या उल्लेख्यरूपमा बढ्ने देखिएको उनले बताए ।
एल्डरका अनुसार द्वन्द्वका कारण ठूलो सङ्ख्यामा मानिसहरु फसेका छन् र उनीहरुसँग विद्युतको पहुँच छैन । उनीहरूलाई खाना, पानी र औषधिको अभाव छ । उनले भने, “हाम्रो गम्भीर चिन्ताको विषय भनेको आक्रमणको चपेटामा परेका अस्पतालहरू हुन् ।”
एल्डरका अनुसार सुडानमा बालबालिकामा कुपोषणको दर विश्वमै सबैभन्दा बढी छ । “हाम्रो जानकारी अनुसार करिब ५० हजार बालबालिकाका लागि महत्त्वपूर्ण जीवन रक्षक सहयोग जोखिममा छ । यस लडाईंले सुडानमा निरन्तर चिसो तापक्रममा राख्नुपर्ने खोप तथा औषधीलाई पनि खतरामा पारेको छ,” उनले भने ।
सुडानमा यसका कारण चार करोड अमेरिकी डलर भन्दा बढीको खोप र इन्सुलिनलाई उचित तापक्रममा राख्न कठिन भएको छ ।
गत शनिबार सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच राजधानी खार्तूम र आसपासका क्षेत्रमा भिडन्त भएको थियो । सन् २०२१ को अक्टोबरमा सेनाले प्रधानमन्त्री अब्दल्ला हम्दोकको सङ्क्रमणकालीन सरकारलाई बर्खास्त गर्नुका साथै आपतकालीन अवस्थाको घोषणा गरेपछि सुडानमा सन् २०२१ को अक्टोबरदेखि सेनाको नियन्त्रणमा सत्ता चलेको छ ।-(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु