बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रेरक व्यक्तित्व : साङ्गितिक क्षेत्रका उज्वल नक्षत्र कालीप्रसाद शर्मा

सोमबार, ११ वैशाख २०८०, ०९ : ५१
सोमबार, ११ वैशाख २०८०

नेपाली साङ्गितिक आकाशका उज्वल नक्षत्र कालीप्रसाद शर्मा सङ्गीतक पारखी पाठकहरूका निम्ति चिरपरिचित नाम हो ।

एक दशकभन्दा बढी रेडियो नेपालमा वाद्य प्रबन्धकको रूपमा रहेर नेपाली साङ्गितिक क्षेत्रको विकासमा यथेष्ट योगदान दिएका शर्माको यस क्षेत्रमा छुट्टै पहिचान छ । उनले २०२२ सालदेखि २०३३ सालसम्म रेडियो नेपालबाट प्रशारण हुने सबै किसिमका सङ्गीत सम्बन्धी कार्यक्रमको संयोजन गरेका थिए । 

नेपालको तत्कालीन कलानिधि सङ्गीत महाविद्यालयमा लामो समयसम्म तबला बादन विषयमा प्राध्यापन गरेका शर्माले घरमै पनि सङ्गीत सम्बन्धी गुरुकुल कक्षा सञ्चालन गरेका थिए । नारायप्रसाद शर्मा, कृष्णगोविन्द केसी, हेरम्बानन्द राजोपाध्याय, कान्छा राजकर्णिकार, मोहनगोपाल न्याच्छ्यो, गौतममुनि बज्राचार्य, प्रेमकृष्ण राजकर्णिकार, अमृतमान नापित, साधुराम श्रेष्ठ, सुमित्रा श्रेष्ठ, विनोद चँखु जस्ता सङ्गीत हस्तीहरूले शर्माकै गुरुकुल कक्षाबाट शिक्षा हासिल गरेका हुन् । यिनैमध्येका शिष्य नारायणप्रसाद शर्माको तबला बाधन र कत्थक नृत्यको क्षेत्रमा अलगै पहिचान रहेको छ ।  

कालीप्रसाद शर्माले आफ्नो घरमा सङ्गीत कक्षा सञ्चालन गरी विद्यार्थीहरूलाई तबला बादनको शिक्षा दिने काममात्र गर्दैनथे, यसवापत विद्यार्थीहरूबाट एक पैसा पनि शुल्क लिँदैनथे । विद्यार्थीहरूबाट शुल्क असुल्नु भनेको विद्या (सरस्वती) बिक्री गर्नु सरह हो भन्ने उनको मान्यता थियो । यस्तो कुरा अहिलेको जस्तो गुरुहरूले आफूले बोलेको प्रत्येक वाक्यपिछे रुपैयाँ गनेर विद्यार्थीबाट शुल्क असुल्ने जमानामा सुन्दा पनि अनौठो लाग्न सक्छ तर उनको विशेषता नै थियो यस्तै । शर्मा आफ्ना विद्यार्थीहरूले आ–आफ्ना क्षेत्रमा ख्याति तथा नाम र इज्जत कमाउन्, कमाउन सकुन् भन्ने चाहन्थे र यसैलाई सबैभन्दा ठूलो गुरु दक्षिणा मान्ने गर्थे ।

विभिन्न समयमा नेपाल र भारतमा आयोजना गरिएको सङ्गीत सम्मेलनमा भाग लिई थुप्रै पटक तबलामा एकाँकी बादन प्रस्तुत गरिसकेका शर्माको तबला बोध नामक कृतिसमेत प्रकाशित भएको छ । २०२४ सालमा प्रकाशित यस कृतिलाई तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।

तत्कालीन राजा महेन्द्रले शर्माको सेवाबाट प्रभावित भई उनलाई गोरखा दक्षिण बाहु चौथोद्वारा विभूषित गरेका थिए, २०२७ सालमा ।  

नेपाल र भारतमा आयोजना भएको विभिन्न साङ्गितिक सम्मेलन तथा सेमिनारहरूमा प्रमुख ताल बाधकको रूपमा भाग लिएर विशिष्टतम पहिचान बनाएका शर्माको बाल्यकाल भने त्यति सुखद थिएन । कारण के परेको थियो भने उनका बाबु लक्ष्मीकान्त शर्मा राणा शासकहरूको कोपभाजनमा परी देश निकालामा परेका थिए । राणा शासकहरूले देश निकाला गरेपछि लक्ष्मीकान्त भारतको कलकत्तामा गएर रहन लागे । यहीँ नै १९७२ सालमा माता बुल्लादेवी कोखबाट कालीप्रसाद शर्माको जन्म भएको थियो ।

पिता लक्ष्मीकान्त सङ्गीत प्रेमी भएका हुनाले कालीप्रसादले सङ्गीत क्षेत्रको प्रारम्भिक शिक्षा घरमै पाएका थिए । छ वर्षको उमेरदेखि सङ्गीत अध्ययनमा लागेका उनले पछि प्रसिद्ध तबला बाधक नन्हु सहाय, सङ्गीत रत्न विरु मिश्र, मोलविराम मिश्र र बुन्दी महाराज जस्ता भारतीय सङ्गीत विशेषज्ञहरूका सान्निध्यमा रहेर अध्ययनलाई अघि बढाएका थिए ।

प्रवासमै जन्मेर हुर्केका भए पनि कालीप्रसादमा देश प्रेमका भावना प्रचुर थियो । उनी स्वदेशमै रहेर सङ्तीको सेवा गर्न चाहन्थे तर उपयुक्त वातावरण भने मिलिरहेको थिएन ।  तर, एकदिन त्यो तालमेल पनि मिल्यो । नेपाली कलाकार र अखिल नेपाल कलानिधि नामक संस्थाको पहलमा तत्कालीन राजा महेन्द्रको कलकत्ता भ्रमण भएको थियो, जहाँ उनले राजालाई आफ्नो प्रतिभा देखाउन पाए । राजा महेन्द्र प्रभावित भएछन्, राजाकै आग्रहमा शर्मा नेपाल फर्किएर रेडियो नेपालमा आवध्द भइ साङ्गीतिक क्षेत्रको विकासमा लागेका हुन् ।  

देशका विभिन्न जिल्लाहरूमा आयोजना भएको कत्थक नृत्यका साथै अन्य विभिन्न शास्त्रीय नाचहरूको संयोजन गरेका शर्माले आफूलाई सङ्गीत क्षेत्रमा समर्पित गर्दागर्दै २०३७ सालमा सडक दुर्घटनामा परी यस संसारबाट विदा लिए । मृत्यु अन्तिम सत्य हो । चाहेर पनि यसलाई कसैले टार्न सक्दैन । जति नै तीतो भए पनि आएपछि ढिलोचाँडो एक दिन सबैले यसलाई स्वीकार्नैपर्छ । ‘जातस्य हि धु्रवो मृत्युध्र्रुवं जन्म मृतस्य छ । तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।’ अर्थात् जन्मेको मर्नका लागि र मरेको जन्मका लागि हो भन्ने कुरा गीतामा स्वयं जगतगुरु कृष्णले नै उद्घोष गरेका छन् । फरक यति हो, कोही कहिले कुन कुनामा जन्मन्छन् र कहिले कसरी मर्छन् कसैलाई पनि पत्तो हुँदैन । कोही मरे गएपछि पनि सम्झना लायक केही छाडेर जान्छन् । कालीप्रसाद शर्मा यस्तै प्रतिभामा पर्छन् ।

हाल उनी हामी माझ छैनन् । थाहा छैन कहाँ गए । सायद यसै यसै क्षेत्रका आदिम गुरु नटराज शिवलाई पाठ बुझाउन शिवलोकतर्फ लागेका होलान् तर उनले दिएर गएका उपहार भने नेपालको साङ्गितिक आकाशमा अहिले पनि चम्किरहेको छ । 
अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठानले यही वैशाख १३ गते पशुपति गौरीघाटमा उनको स्मृतिमा साङ्गितिक साँझ आयोजना गर्न लागेको पारिवारिक स्रोतबाट थाहा भएको छ । यो राम्रो काम हो तर यतिले मात्र पुग्दैन । सङ्गीतप्रति चासो राख्ने अन्य सङ्घसंस्थाले पनि होस्टेहैँसे गरी उज्वल नक्षत्र शर्माको साङ्गितिक देनलाई तन्नेरीपुस्तामाझ ल्याउनु बाञ्छनीय देखिन्छ ।

सङ्गीतका अतुलनीय पुजारी कालीप्रसाद शर्माको स्मृति दिवसको अवसरमा हामी पनि श्रद्धासुमन समर्पण गर्न चाहन्छौँ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप