मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आइतबार, १० वैशाख २०८०, २० : ५६
आइतबार, १० वैशाख २०८०

आज २०८० वैशाख १० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा उपनिर्वाचनमा ६० प्रतिशत मतदान, रवि लामिछानेविरुद्ध उजुरी, समाजवादी मोर्चा चाँडै बन्ने नेताहरुको दाबी, आचारसंहिता उल्लंघनमा आयोगले सोध्यो स्पष्टीकरण, बारा–२ मा बुथ कब्जा र धाँधलीको आरोप, गण्डकीमा मंगलबारमात्र नयाँ सरकार बन्ने, विद्युत उत्पादन घट्दा लोडसेडिङ भएको विद्युत प्राधिकरणको प्रस्टोक्ति लगायत छन् ।

१. उपनिर्वाचनमा ६० प्रतिशत मतदान
प्रतिनिधिसभा अन्तर्गत आइतबार तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार तीन वटै क्षेत्रमा गरी ६० प्रतिशत मतदाताले मतदान गरेका छन् ।

२. रवि लामिछानेविरुद्ध उजुरी
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका रवि लामिछानेविरुद्ध उजुरी परेको छ । लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

३. समाजवादी मोर्चा चाँडै बन्ने नेताहरुको दाबी
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा केही दिनमै बन्ने दाबी गरेका छन् । आइतबार नेकपा एकीकृत समाजवादीले नेकपाको ७५औं स्थापना दिवसको अवसरमा आयोजना गरेको नेपाली कम्युनिस्ट आन्दोलन उपलब्धि ः चुनौती र सम्भावना विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनीहरुले सो कुरा बताएका हुन् ।

४. आचारसंहिता उल्लंघनमा आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा मधेस प्रदेशका मुख्यमन्त्री र तनहुँ–१ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।  

५. बारा–२ मा बुथ कब्जा र धाँधलीको आरोप
आइतबार भएको उपनिर्वाचनका क्रममा बारा–२ मा बुथ कब्जा र धाँधलीको आरोप लगाइएको छ । बारा–२ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नेकपा एमालेका उम्मेदवारले यस्तो आरोप लगाएका हुन् ।

६. गण्डकीमा मंगलबारमात्र नयाँ सरकार बन्ने
गण्डकी प्रदेशले मंगलबार मात्र नयाँ सरकार पाउने भएको छ । शनिबार एमालेका खगराज अधिकारी नेतृत्वको सरकार विश्वासको मत नपाएर ढलेपछि गण्डकीमा नयाँ सरकार बन्ने भएको हो । कांग्रेस सांसद विन्दुकुमार थापाका अनुसार सोमबार गठबन्धनले सरकार निर्माणको प्रक्रिया सुरु गर्ने छ र नयाँ मुख्यमन्त्रीको शपथ मंगलबार हुनेछ ।

७. विद्युत उत्पादन घट्दा लोडसेडिङ भएको विद्युत प्राधिकरणको प्रस्टोक्ति
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुक्खा याममा बिजुली उत्पादन नहुँदा लोडसेडिङ भएको बताएका छन् । देशभरका उद्योगी व्यवसायीले लोडसेडिङ बढेको गुनासो गर्न थालेपछि घिसिङले पत्रकार सम्मेलन आयोजना गरेर सुक्खा यामका कारण पावर सप्लाइमा समस्या आएको बताएका हुन् ।

८. प्रचण्डको भ्रमण तालिका पठाइयो भारत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तीन दिने भारत भ्रमणको तालिका भारतमा पठाइएको छ । सहमतिका लागि तालिका भारत पठाइएको र उताबाट स्वीकृत भएपछि मिति सार्वजनिक हुने जनाइएको छ । 

९. नेपालमा उत्पादित सवारी साधनको दर्ता प्रक्रिया मिलाउन प्रधानमन्त्रीको निर्देशन
नेपालमा उत्पादित सवारी साधान दर्ताको व्यवस्था तत्काल मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । दर्ता नपाएर स्वदेशी कम्पनी विदेश पलायनको स्थितिमा पुगेको चर्चासँगै प्रधानमन्त्री प्रचण्डले नेपालमा बनेका सवारी साधनलाई दर्ता दिने प्रक्रियाका लागि तत्काल कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन सम्बन्धी पक्षलाई निर्देशन दिएका हुन् ।

१०. पहिचानवादीको आन्दोलन कसरी बन्यो उग्र ?
पदम लिम्बूको शव यात्राका क्रममा झडप हुँदा वैशाख ९ गते विराटनगर तनावग्रस्त बन्यो । शान्तिपूर्ण शवयात्रा गर्ने भनिएको कार्यक्रम कसरी झडपमा परिणत भयो भन्नेबारे आन्दोलनकारी र प्रहरीको आ–आफ्नै दाबी छ । प्रहरीले आन्दोलनकारी सुरुवातदेखि नै उग्र बनेर आएको दाबी गरेको छ । उता, आन्दोलनकारीले भने पूर्वनिर्धारित शवयात्रालाई प्रहरीले रोक्न खोजेपछि झडप भएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप