शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश नामकरण विवाद

पहिचानवादीको आन्दोलनमा घुसपैठ !

लिम्बुवान भोलेन्टियर्स किन उग्र ?
आइतबार, १० वैशाख २०८०, १४ : ५८
आइतबार, १० वैशाख २०८०

विराटनगर । पदम लिम्बूको शव यात्राका क्रममा झडप हुँदा वैशाख ९ गते विराटनगर तनावग्रस्त बन्यो । शान्तिपूर्ण शवयात्रा गर्ने भनिएको कार्यक्रम कसरी झडपमा परिणत भयो भन्नेबारे आन्दोलनकारी र प्रहरीको आ–आफ्नै दाबी छ । प्रहरीले आन्दोलनकारी सुरुवातदेखि नै उग्र बनेर आएको दाबी गरेको छ । उता, आन्दोलनकारीले भने पूर्वनिर्धारित शवयात्रालाई प्रहरीले रोक्न खोजेपछि झडप भएको बताएको छ ।

आन्दोलनकारीले प्रहरीलाई विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली सभा गर्ने र तीन जनाले बोल्ने जानकारी गराएका थिए । तर, जब शवयात्रासहितको जुलुस रोडशेष पुग्यो, अनि आक्रमण र झडप सुरु भयो । आन्दोलनकारी सुरुमै रोडशेषको दक्षिणतर्फ मुख्यमन्त्री कार्यालय जान खोजेका थिए ।

सुरक्षास्रोतले दिएको जानकारी अनुसार पहिचान पक्षधर आन्दोलनकारीले ११ गते विराटनगरमा वृहत प्रदर्शनको तयारी गरेका छन् । उक्त प्रदर्शनमा २० हजारभन्दा बढी मानिस सहभागी गराउने उनीहरुको लक्ष्य छ । ‘भनेजस्तो मानिस उतार्न नसक्ने अवस्था देखेपछि शवयात्राकै क्रममा उत्तेजित ढंगले प्रस्तुत हुने र ११ गतेको कार्यक्रममा धेरै मानिस जम्मा गराउने योजना हो कि जस्तो देखिन्छ,’ सुरक्षास्रोत भन्छ ।

त्यही योजनाअनुसार आन्दोलनकारीको तर्फबाट १० हजार गुलेली, १ गुलेली बराबर १ सय मट्याङ्ग्रा र हजारौं घँघारुको लठ्ठी लिएर प्रदर्शनमा सहभागी हुने प्रचार केही दिनयता भइरहेको छ । शवयात्राका क्रममा भएको झडपमा पनि आन्दोलनकारीको तर्फबाट सयौं मट्याङ्ग्रा प्रहार गरिएको थियो ।

लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले बोकेको झण्डाको डण्डीमा पनि काँटी गाडिएको थियो भने डण्डी तिखो बनाइएको थियो । जसको प्रहारबाट शनिबार धेरै प्रहरी घाइते भएका छन् । त्यतिमात्रै होइन, प्रहरीले प्रदर्शनकारीलाई रोक्नका लागि राखेको तारबारसहितको ब्यारिगेट हटाउन नसकेपछि आन्दोलनकारीले शव बोकेको गाडीले नै हान्ने योजनासम्म बनाएको सुरक्षास्रोत दाबी गर्छ ।

Petrol

विभिन्न सञ्चारमाध्यममा देखाइएको दृश्यमा पनि ब्यारिगेट आसपासमा गाडी लगेर ठोक्न खोजेजस्तो देखिन्छ । ‘ब्यारिगेटलाई ठोकेर केही प्रहरीसम्मलाई हान्ने योजना बनाएको हामीले सुनेका छौं,’ उक्त स्रोतले भन्यो, ‘तर, चालकले नमानेपछि यो योजना असफल बनेको थियो ।’

आन्दोलनकारीले प्रहरीलाई उत्तेजित बनाउन नियोजित ढंगले पेट्रोल बम पनि हानेको मोरङका प्रहरी प्रमुख दिपक पोखरेलले बताए । ‘गुलेली धेरै हाने । गम्भीर कुराचाहिँ हामीमाथि पेट्रोल बम पनि हानियो,’ उनले भने, ‘आगो लगाएको पेट्रोलको बोतल मान्छेमाथि फाल्नु भनेको त जलाउने प्रयास हो । यसले हामीलाई दुःखी बनाएको छ ।’

आन्दोलनका क्रममा लिम्बूवान भोलेन्टियर्स (एलभी) लेखेको टिसर्टधारीहरु उत्तेजित देखिन्थे । चुपचाप ब्यारिगेटमा बसेका प्रहरीमाथि रड र ढुंगा प्रहार भइरहेको थियो । प्रदर्शनकारीले नै उत्तेजित व्यक्तिहरुलाई रोक्न खोजेको दृश्य अहिले पनि कतिपय भिडियोमा देख्न सकिन्छ ।

शनिबार बिहान १० बजे धरानमा, ११ बजे इटहरीमा, १२ः३० बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र  कोशी प्रदेशसभा परिक्रमा गराउने, दिउँसो साढे दुई बजे लाजेहाङको निवास बेलबारीमा पुगिसक्ने कार्यक्रम थियो । तर, आधा घण्टाभन्दा बढी विराटनगरमा झडप हुँदा श्रद्धाञ्जलीसभा र प्रदेशसभा परिक्रमा गराउने कार्यक्रम प्रभावित बनेको थियो ।

शवयात्राका क्रममा झडपलाई लिएर कतिपय आन्दोलनकारीले पनि मन पराएनन् । तर, उनीहरु खुलेर भन्न सक्दैनन् । ‘शवयात्रामा यस्तो धेरै उग्र हुनु राम्रो भएन,’ आन्दोलनमा सहभागी एक नेताले नै भने, ‘आन्दोलन भनेपछि सबै कन्ट्रोल हुँदैन र रहेन पनि ।’

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले भने प्रहरीले नै यसअघि तय गरिएको बाटोबाट जान नदिएपछि समस्या सिर्जना भएको बताउँछन् । ‘कतै घुसपैठ पो भयो कि ! हाम्रो तर्फबाट पेट्रोल बम हानिएको छैन,’ थेगिम भन्छन्, ‘हामीले युवाहरुलाई कन्ट्रोल गर्दा उनीहरु आक्रोशले रोएका छन्, हामीलाई किन रोकेको भनेर, राज्यले त्यस्तो अवस्था सिर्जना गर्नु हुँदैन थियो ।’

Petrol (2)

आन्दोलन अझै उग्र बन्नसक्ने उनको संकेत छ । ‘अब सबै जनप्रतिनिधिलाई हामी बहिष्कार गर्छौं । उनीहरुमाथि व्यक्तिगत कारबाही हुनसक्छ । त्यसो भयो भने सबै जनप्रतिनिधिको घरघरमा प्रहरी सुरक्षाकर्मी राख्न सक्छ राज्यले ?,’ उनले भने, ‘आगामी दिनमा हुनसक्ने ठूलो क्षतिलाई रोक्नका लागि वार्ता, संवाद र छलफलको वातावरण बनाउनु पर्छ कि पर्दैन ?’

नामकरणपछिको आन्दोलन र झडप

वैशाख ९ गते भएको झडपमा परी ४ जना प्रहरी र ६ जना आन्दोलनकारी घाइते भए । त्यसक्रममा प्रहरीले ८१ सेल अश्रुग्याँस प्रहार गरेको थियो । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखियो । पहिचानवादीहरुले त्यसको विरुद्धमा लगातार आन्दोलन गरिरहेका छन् । कतिपय पालिकाका बोर्ड हटाइदिएका छन् भने प्रदेश अन्तर्गतका कार्यालयहरुले पनि अझै कोशी लेखेको बोर्ड राख्न सकेका छैनन् । ‘यहाँ त कोशी लेख्न सक्ने अवस्था नै छैन,’ भोजपुरका एक सरकारी कार्यालयका प्रमुख भन्छन्, ‘कतिखेर के हुने हो, टुंगो छैन । पालिका र वडाको बोर्डहरु धमाधम फ्याँकिइरहेको अवस्था छ ।’

पहिचानवादीहरुले विराटनगरमा चैत ५ गते वृहत प्रदर्शन गरेका थिए । त्यही आन्दोलनमा सहभागी बेलबारीका पदम लिम्बू लाजेहाङ प्रहरीसँगको झडपमा परी घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो । त्यही चोटका कारण चैत ८ गते एक्कासी बिरामी भएपछि अस्पताल भर्ना भएका उनको चैत १० गते मृत्यु भएको थियो । त्यसपछि पहिचानको आन्दोलन गर्नेहरु झनै आक्रोशित बनिरहेका छन् ।

Pahichan Aandolan

आन्दोलनकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढेको गाडी तोडफोड गर्ने प्रयाससमेत गरे । यस्तै चैत १४ र १५ गतेका लागि विराटनगरको होटल बिगमा तय भएको कार्यक्रममा पहिचानवादीले घेराउ गरेका थिए । त्यसक्रममा पनि झडप भयो र दर्जनबढी प्रहरी र आन्दोलनकारी घाइते भए । त्यसबेला पनि दर्जनौं अश्रुग्याँस, पानीको फोहोरा र हवाइ फायर भएको थियो ।

त्यसपछि फाट्टफुट्ट आन्दोलन गर्दै आएका पहिचानवादीले लिम्बूको शवयात्राका क्रममा ठूलो माससहित उतारेर प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए । सोही मुताविक वैशाख ९ गते उनीहरुले धरान, इटहरी, विराटनगरमा शवयात्रा गरे ।

सरकारले चैत २४ गते पदम लिम्बूलाई सहिद घोषणा गरेको छ । चैत १० गते मृत्युवरण गरेका उनको शव एक महिनापछि वैशाख ९ मा अन्त्येष्टि गरिएको छ । पहिचानवादीले प्रदेशको नाम बहुपहिचानको आधारमा राख्नुपर्ने बताउँदै आएका छन् । उक्त माग पुरा गर्न दबाब दिने उद्देश्यले वैशाख १० गते सुनसरीको इटहरीमा वृहतसभा गरेका छन् । उनीहरुले ११ गतेदेखि भने विराटनगर केन्द्रित आन्दोलन गर्ने जनाएका छन् ।

‘हामीलाई थकाएर, अल्मल्याएर आन्दोलन तुहिन्छ, असफल हुन्छ भन्ने सरकारलाई लागेको हुनसक्छ,’ आन्दोलनका संयोजक थेगिम बताउँछन्, ‘तर, त्यस्तो हुँदैन हामी निर्णायक आन्दोलनको चरणमा छौं ।’

सरकारले वार्ता र संवाद गर्नै नचाहने र आन्दोलनकारीहरु उग्र बन्दै जाने परिस्थितिले कोशी प्रदेशमा थप तनाव हुने देखिएको कतिपय बताउँछन् । यसलाई संयमित र शान्तिपूर्ण बनाउन सरकारले आन्दोलनकारीलाई वार्तामा ल्याएर समस्या समाधानमा जोड दिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप