सक्कली मान्छे टङ्कप्रसाद आचार्य
२०६८ सालको जेठ महिनाको २० गते नेपालको पहिलो राजनीतिक सङ्गठन नेपाल प्रजापरिषद्को हीरक जयन्ती परेको थियो । यसको गठन १९९३ सालमा भएको थियो । त्यसै वर्ष त्यस पार्टीका संस्थापक अध्यक्ष टङ्कप्रसाद आचार्यको जन्मशताब्दी पनि परेको थियो । उक्त जन्मशताब्दीको सिलसिलमा छापिएको ‘टङ्कप्रसाद आचार्य र आजको नेपाल’ स्मृतिग्रन्थमा विभिन्न राजनीतिज्ञ तथा सामाजिक क्षेत्रका नाम चलेका व्यक्तिहरूका लेखहरू छन् । ती सबै पठनीय छन् । त्यसमा उहिल्यैदेखि, २००७ साल प्रजातन्त्र प्रादुर्भाव भएदेखिका मित्र भैरव रिसालको लेखको शीर्षक आफूलाई साह्रै घतलाग्दो लागेकाले मैले आफ्नो यस लेखको शीर्षक पनि त्यही दिएको छु, उनीप्रति आभार व्यक्त गर्दै ।
आचार्य यति मात्र हुन् त ? उनी त मूर्धन्य देशभक्त, नेपालको प्रजातान्त्रिक आन्दोलनका जनक, सङ्गठनात्मक राजनीतिका सर्जक, क्रान्तिका अग्रदूत, सुदूर भविष्यद्रष्टा, अनन्य प्रजातन्त्रवादी, मानव अधिकारको प्रत्याभूति गर्ने सामाजिक रूपान्तरणका अधिवक्ता, राष्ट्रियता, राष्ट्रियपन, राष्ट्रिय स्वाधीनता एवं सार्वभौमिकताका प्रखर सेनानी, त्याग र निस्पृहताका मूर्तरूप, निष्ठावान् कर्मयोगी, जनताका लागि गाँस, बास र कपासको सुनिश्चितका लागि प्रतिबद्ध राजनेता र साथै राजर्षि गुणले युक्त प्रधानमन्त्री, राष्ट्रिय हितलाई सर्वाेपरि राख्ने परराष्ट्र नीतिका निर्माता एवं सञ्चालनकर्ता, प्रेमीपति, वात्सल्य भावले भरिएका पिता, सहृदयी पार्टी नेता तथा दौँतरी पनि थिए ।
कसैकसैलाई यो मूल्याङ्कन बढाइचढाइ गरिएको लाग्न सक्ला । अँहँ, लाग्नुपर्दैन किनभने यो ध्रुवसत्य हो । फेरि प्रश्न उठ्छ, टङ्कप्रसाद आचार्य यस्ता थिए भने उनी किन नेपथ्यमै रहे, किन उनलाई राजनीतिको ‘चिसो चुल्हो’ भएर बस्नुप-यो ? वेदान्तको परिभाषामा यो सामाजिक आवरण दोष हो अर्थात् समाजले उनको र प्रकाशलाई आफ्नै भ्रमले गर्दा चिन्न सकेन । आध्यात्मिक तवरल भन्नुपर्दा यो टङ्कप्रसाद आचार्यको प्रारब्ध हो ।
उक्त जन्मशताब्दी वर्ष त्यस्तो भ्रम र दोषलाई हटाउन सघाउने वर्ष साबित हुने हामीले कामना गर्नुपर्ने थियो, गर्यौँ । दुःखपूर्वक लेख्नुपर्दा परन्तु यो अभियान जारी नै छ ।
आचार्यको समग्र व्यक्तित्त्वलाई नेपालको ऐतिहासिक अभिलेखको आधारमा विश्वव्यापी दृश्यावलीमा राख्ने सत्प्रयास अमेरिकी विद्वान् प्रोफेसर जेम्स फिसरले २५ वर्षअघि गरेका थिए । Living Martyrs : Individuals and Revolution in Nepal नामक उक्त ग्रन्थको नेपाली अनुवाद २०५७ साल जेठ २६ गते प्रजापरिषद्को स्थापनाको ६५औँ वार्षिकोत्सव पारेर ‘ज्यूँदा शहीदहरू’ शीर्षकमा छापिएको थियो । यस पुस्तकमा नेपालका दुई महत्त्वपूर्ण व्यक्तिहरूका जीवनी विस्तारपूर्वक चर्चा गरिएको छ । ती व्यक्ति हुन् टङ्कप्रसाद आचार्य र उनकी धर्मपत्नी रेवन्तकुमारी । आचार्य जहानियाँ राणाशासनलाई पल्टाउने सङ्घर्ष गर्ने राजनीतिक पार्टी नेपाल प्रजापरिषद्का संस्थापकका नाताले समातिए । उनी १९९७ सालदेखि २००७ साल माघसम्म गरी दस वर्ष जेलमा थुनिए । राणाशासनविरुद्ध चलाइएको धर्मयुद्धबारे उनले आफैँले बताएको कथा हो यो । यसको साथै यो ग्रन्थ अत्याचार र उत्पीडनका कठोर वर्षहरू नाता (कुटुम्बबाट त्यागिएको, अभावग्रस्त एवं विपन्न अवस्थामा परिवार चलाउन र राणाशासन अन्त्य गर्नमा लागेका आफ्ना पति र उनका वीर सहयोगीहरूका सत्प्रयासहरूलाई अगाडि बढाउनका लागि रेवन्तकुमारीले गरेको सङ्घर्षको पनि गाथा हो ।
प्रकाशकको तर्फबाट अक्सफोर्ड युनिभर्सिटी प्रेस भन्दछ, ‘टङ्कप्रसाद आचार्य र रेवन्तकुमारीले समानान्तर रूपमा जसरी आफ्नो जीवन र घटनाक्रमको वर्णन गरेका छन्, त्यसले पनि हामीलाई इतिहासको दम्पतीजनित प्रकृतिको परिचय दिन्छ । (मैले भन्नुपर्दा कार्लमारक्स र जेनी, लेनिन र क्रुप्सकाया, महात्मा गान्धी र कस्तुरबा, जवाहरलाल र कमला नेहरू, नेल्सन र उन्नी मण्डेलाका संयुक्त सङ्घर्षमय जीवन जस्तै) जेम्स फिसरले चाहिँ बितेको समयलाई सन्तुलितरूपमा पुनः प्रस्तुत गर्नमा मौखिक वृत्तान्तको महत्त्वमाथि प्रकाश पारेका छन् । यो पुस्तकले राजनीतिक पृष्ठभूमिबाट नेपाली संस्कृति र नेपाली इतिहासको दिग्दर्शन गराउने समृद्ध स्रोतको काम गरेको छ ।
राज्यीय, राजनीतिक, बौद्धिक, मिडियाजन्य प्रायोजित एवं जडसूत्रवादी सोचले जत्तिकै ओझेलमा पार्न, विकृत गर्नमा जत्तिकै दुष्चेष्टा गरून् तर सानो कद, सरल जीवनपद्धतिका तर उच्च विचारका आचार्य कर्मयोगी जीवन -दृष्टान्त, साथै आफ्नो त्याग, इमानदारिता र निष्ठाका उदाहरणहरूबाट झनझन अग्लो व्यक्तित्व र फेरि पनि भैरव रिसालका शब्दमा, ‘सक्कली मान्छे’को रूपमा देखा पर्नेछन् र आउँदा वर्षहरूमा पनि देखापर्दै जानेछन् ।
अब फेरि प्रश्न उठ्दछ, के सामाजिक तथा राजनीतिक रूपान्तरणका लागि १९९३ तथा १९९७ सालको गौरवमयी प्रस्थानविन्दुलाई नकारेर ‘लोकतन्त्र’ अथवा ‘गणतन्त्र’को चर्चा–परिचर्चा वा बखान नै तथा नयाँ संविधानको वर्चस्व, पूर्ण हुने कुरा छाडौँ, मान्य पनि हुन सक्ला त ? किमार्थ सक्तैन । अथवा भनौँ, आजको यो सारा राजनीति र नेतृत्वलाई भोलिको पुस्ताले यसरी नै बिर्सने, नकार्ने परिपाटी नबन्ला त ? अतः नेपालको हालैको अतीत र वर्तमान इतिहासप्रति न्याय गर्ने हो भने अहिलेको राजनीतिक पुस्ताले भोलिको पुस्ताका लागि यी वीरतापूर्ण जीवनकार्यका वाहक टङ्कप्रसाद आचार्यको योगदानबारे इमानदारीपूर्वक बताउनै पर्दछ । यस प्रसङ्गमा, नेपाल कम्युनिस्ट पार्टी (एमालेले आफ्नो हौ मात्र सम्पन्न दशौँ महाधिवेशनको राजनीतिक प्रस्तावमा देशको राजनीतिक अग्रगति तथा रूपन्तरणमा १९९३, १९९७ साल तथा नेपाल प्रजा परिषद्को योगदानलाई रेखाङ्कित गरेर इतिहासलाई सच्याउन प्रशंसनीय अग्रसरता लिएको छ ।
टङ्कप्रसाद आचार्य भारतविरोधी, चीनसमर्थक थिए, शाह राजाहरूसँग उनको शङ्कास्पद सम्बन्ध थियो, विश्वेश्वरप्रसाद कोइराला तथा गणेशमान सिंहप्रति उनमा पूर्वाग्रह थियो र नेपाल कम्युनिस्ट पार्टीसँग संयुक्त मोर्चाप्रति निष्ठावान् नभएको अनेक लाञ्छना आज पनि यदाकदा लगाइन्छन् । निश्चय नै आचार्य संवैधानिक राजतन्त्रलाई मुलुकको स्वाधीनता रक्षाको एउटा महत्त्वपूर्ण आधार ठान्दथे । तर पहिलो कुरा, राजा त्रिभुवनले आचार्यको महत्तालाई बुझ्न सकेनन् ।
टङ्कप्रसाद आचार्य भारतविरोधी, चीनसमर्थक थिए, शाह राजाहरूसँग उनको शङ्कास्पद सम्बन्ध थियो, विश्वेश्वरप्रसाद कोइराला तथा गणेशमान सिंहप्रति उनमा पूर्वाग्रह थियो र नेपाल कम्युनिस्ट पार्टीसँग संयुक्त मोर्चाप्रति निष्ठावान् नभएको अनेक लाञ्छना आज पनि यदाकदा लगाइन्छन् । निश्चय नै आचार्य संवैधानिक राजतन्त्रलाई मुलुकको स्वाधीनता रक्षाको एउटा महत्त्वपूर्ण आधार ठान्दथे । तर पहिलो कुरा, राजा त्रिभुवनले आचार्यको महत्तालाई बुझ्न सकेनन् ।
दोस्रो कुरा, २००७ सालतिर दिल्लीमा राजनीतिक शरण लिँदा उनी स्वतन्त्र पनि हस्ती थिएनन् । शरण लिनेको राजनीति जति नै उच्च र त्यागी भए पनि त्यसलाई आफ्नो स्वार्थमा लगाउने गरेको इतिहासमा त नाजी आधिपत्यका विरुद्ध फ्रान्सको प्रतिरोध आन्दोलनका नेता जर्नेल डेगालको लन्डन बसाइ र स्टालिनकालको मास्कोमा पूर्वी युरोपका कम्युनिस्ट नेताहरूको बसाइबाट नै थाहा पाइन्छ । तेस्रो कुरा, पछि नेपालमा शक्तिशाली राजा भएर फर्किंदा पनि त्रिभुवन वैदेशिक बन्देजमै थिए । टङ्कप्रसाद आचार्यलाई आफ्नो स्वार्थका लागि राजनीतिमा खेलाउने विचारबाट राजा महेन्द्रले उनलाई प्रधानमन्त्री बनाए होलान् तर आर्थिक अभावको अवस्थामा राजा भएका महेन्द्रको लुब्धता र स्वेच्छाचारितालाई रोक्ने कामबाट नै प्रधानमन्त्री आचार्यले आफ्नो प्रशासन सुधार प्रारम्भ गरे, भलै आङ्कारिक शब्दमा भन्नुपर्दा राजाको बगलीमा उनको पूर्वलिखित राजीनामा पत्र सदा रहन्थ्यो ।
राजा महेन्द्रले काठमाडौँको गोकर्णवनमा उनको निजी बङ्गला वरिपरि पर्खाल लगाउन सरकारसँग २०१३ सालमा बीस हजार रूपैयाँ थप सहायता मागी पठाउँदा प्रधानमन्त्री आचार्य यो धनराशि राज्यले बेहोर्न नसक्ने, त्यसैकारण राजाले आफ्नै तलबभत्ताबाट कट्टा हुने गरी बनाउनुपर्ने भनी निर्णय दिएका थिए । त्यसै समयको कुरा हो, नेपाल सरकारले बेलायतकी महारानी भिक्टोरियाले चुल्ठो बाटेको चित्र भएको पूरै चाँदीको झन्डै ७२ हजार ‘चुल्ठे कम्पनी’ रूपैयाँ बजारबाट सबै खिचेर राखेको रहेछ । नेपाल सरकारको कौशीतोषाखानामा जम्मा रहेको उक्त धन राजा महेन्द्रले थाहा पाई नारायणहिटी दरबार पठाउन हुकुम दिएछन् । प्रधानमन्त्री आचार्यलाई सम्बन्धित विभागबाट यो कुराको जानकारी हुँदा राजालाई यस्तो गर्नु अनुचित हने तथ्य बताउँदा राजाले ‘ए त्यस्तो पो हुने रहेछ’ भनेर लिएनन् । नारायणहिटी राजदरबार, सिंहदरबार तथा यत्रतत्र चर्चाको विषय बनेको पत्याउनै नसकिनेजस्तो कुरा राजा महेन्द्रका लागि रुचिकर त कदाचित थिएन । तर आचार्यका सरकारी नीति तथा व्यवहारलाई आफ्नो स्वार्थमा लगाउने चेष्टामा राजा महेन्द्रले उनका आमूल परिवर्तनकारी आर्थिक, शैक्षिक, वैदेशिक नीतिलाई सहँदै गए । यद्यपि प्रमले सबै उपलब्धिका मूल श्रेय राजालाई दिन कहिल्यै चुकेनन् । तर नेपालको परराष्ट्र नीतिको उच्चता र सफलतालाई आचार्यको निजी मान ठानेर राजा महेन्द्रले उनलाई खोस्ने चाल चले । यसैलाई पछिको २०१७ साल पुसको पूर्वअभ्यास भन्नु अत्युक्ति नहोला । राजा महेन्द्रले पछि २०१४ सालमा आचार्यलाई चुनाव गर्न ‘असक्षम’ भएको भनेर खोसुवा त गरे तर उनको कार्यकालमा भएगरेका कार्यका लागि धन्यवाद ज्ञापन गरेको आफ्नो हस्तलिखित पत्र पठाए । तर आचार्यले राजा महेन्द्रका यस्ता दोधारे व्यवहारको कहिल्यै भण्डाफोर गरेनन् ।
राजा वीरेन्द्रको हकमा भन्नुपर्दा उनी आचार्यका विचारप्रति संवेदनशील थिए । २०२९–३० सालमा एक दिन राजा वीरेन्द्रले राजकीय भोजमा ब्य्रान्डिपान गरेको देख्दा आचार्यले राष्ट्राध्यक्षबाट यस्तो व्यवहार इतिहासमा क्षम्य नहुने भन्दा रानी ऐश्वर्यले ‘राजाले नखाए कसले खाने ?’ भनिछन् । आचार्यले फेरि इतिहासको हवाला दिँदासँगै भएका अधिराजकुमार ज्ञानेन्द्रले इतिहास त बाहुनचरीले होइन, हामी राजपरिवारले बनाउने हो बाजेभन्दा आचार्यले यस्ता धृष्टताका लागि ज्ञानेन्द्रलाई झपारेको शब्द अद्यापि उनलाई स्पष्ट सम्झना हुनुपर्छ । तर रानी ऐश्वर्यको आचार्यप्रति ‘एलर्जी ’ दृष्टिकोण र अधिराजकुमार ज्ञानेन्द्रको द्वेषपूर्ण व्यवहार रोक्न वीरेन्द्र असहाय भए ।
आचार्य विश्वेश्वरप्रसाद कोइरालाका नीतिगत आलोचक रहे पनि उनको निन्दक कहिल्यै भएनन् । २००५ सालमा कोइरालालाई आचार्यले राणाशासकहरूको ‘उदारता’को आशा नगरेर सबै साथीहरूसँग मिलेर राजनीतिक आन्दोलन बढाउन भनी जेलभित्रबाट पत्र लेखेका थिए । २००७ साल माघमा जेलबाट छुटेपछि आचार्य नेपाली काङ्ग्रेससँग प्रजापरिषद्को विलय गर्ने विचार लिएर दिल्लीमा काङ्ग्रेसी नेतृत्त्वसित कुराकानी गर्न गएको कुरा पनि मैले अन्यत्र कतै औँल्याइसकेको छु । त्यतिबेला उक्त नेतृत्व उनको विचारप्रति सहानुभूतिपूर्ण नभएकाले उनी प्रतिपक्षमै बसेर नेपाली क्रान्तिका उपलब्धिको रक्षा गर्न नेपाल कम्युनिस्ट पार्टीसित संयुक्त मोर्चा गरे र त्यसका उद्देश्य पूरा गर्न गराउन सदा प्रतिबद्ध भए । पछि २०३२–३३ सालतिर आचार्यले विप्र कोइरालाले विदेशमा राजनीतिक निर्वासनको निरर्थकतालाई बुझेर अपमानपूर्ण जीवन बिताउनुभन्दा त मातृभूमिमै फर्केर नेपालमा प्रजातन्त्रको पुनस्र्थापना आन्दोलनलाई नेतृत्व दिनका लागि आमन्त्रण गर्न आफैँ नै बनारस पुगेका थिए । २०३३ देखि २०३९ को छोटो अवधि भए पनि यी दुई राजनीतिक महारथिहरूबीच मेल र समझदारी इतिहासको अनमोल धरोहर भएको छ । विप्र कोइरालाले समाजको आजको विकृतिलाई पहिले नै देखेर होला आचार्यलाई सानो दलको अध्यक्ष कि राष्ट्रकै राजनीतिक मूल्य मान्यताका संरक्षक भएर बस्न आग्रह गरेका थिए । गणेशमानसिंहलाई २००२ सालमा जेलबाट भगाउने योजना आचार्यले नै बनाएका थिए । आचार्यको मूल्याङ्कनमा आफूले गल्तीको स्वीकार आचार्यका कटु आलोचक रहेका गणेशमान सिंहले पछि गरेको पनि विदितै छ ।
अर्काेतिर नेपाल प्रजा परिषद्सँगको संयुक्त मोर्चाको मर्म, महत्त्व पुष्पलाललाई पदच्युत गर्ने कम्युनिस्ट नेतृत्वले यसको मर्म र महत्त्व बुझ्नै सकेन । त्यो पार्टी र नेपाली काङग्रेस एकअर्कोप्रति शत्रुवत् व्यवहार गर्दागर्दै प्रजापरिषद्लाई घात र अन्तर्घात गर्नमा आफूबीच ‘संयुक्त मोर्चा’ बनाएर काम गर्न थाले । यसबाट मौलिक सोच भएका लडाकु समाजवादी पार्टी मुलुकमा बन्न सक्ने, बढ्ने सम्भावना नै तुहियो । प्रसङ्गवश, आचार्यको आमूल परिवर्तनकारी राजनीतिक तथा आर्थिक दृष्टिकोण सामाजिक (प्रजातन्त्रवादी भन्ने नेपाली काङ्ग्रेस र आमूल परिवर्तनकामी भन्ने कम्युनिस्ट पार्टीभन्दा पनि माथिल्लो स्तरको थियो भन्ने तथ्य आचार्यले २००६ साल मङ्सिर २५ गते जेलबाट भारतीय समाजवादी नेता जयप्रकाश नारायणलाई लेखेको पत्रबाट प्रष्ट हुन्छ । (स्रोत : ‘ज्यूँदा शहीदहरू’, जेम्स फिसर, अनुवादक अरविन्द रिमाल ।)
आचार्यले नेपालको भौगोलिक संवेदनशीलतालाई ध्यानमा राखेर सधैँ देशभक्तिपूर्ण भावनाले भारत तथा चीनसँग समानताको आधारमा मैत्रीपूर्ण सम्बन्ध राखे । उनको इमानदारीमा विश्वस्त भएर नै उनीमार्फत चीनका प्रधानमन्त्री चाउ एन लाइले २०१४ सालमा (सन् १९५६ को अक्टोबर महिनामा) जापानसँग व्यापारिक सम्बन्ध पुनस्र्थापना गर्न चाहेको पत्र जापानी प्रधानमन्त्रीलाई पठाए ।
आचार्यले नेपालको भौगोलिक संवेदनशीलतालाई ध्यानमा राखेर सधैँ देशभक्तिपूर्ण भावनाले भारत तथा चीनसँग समानताको आधारमा मैत्रीपूर्ण सम्बन्ध राखे । उनको इमानदारीमा विश्वस्त भएर नै उनीमार्फत चीनका प्रधानमन्त्री चाउ एन लाइले २०१४ सालमा (सन् १९५६ को अक्टोबर महिनामा) जापानसँग व्यापारिक सम्बन्ध पुनस्र्थापना गर्न चाहेको पत्र जापानी प्रधानमन्त्रीलाई पठाए । यस्तै मध्यस्थता आचार्यले धेरै वर्षपछि सन् १९७६ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको अनुरोधमा चीनका प्रधानमन्त्री चाउ एन लाइसमक्ष भारत र चीनका बीच मैत्री सम्बन्ध पुनस्र्थापनाका लागि पत्र पठाई त्यसपछि चीनको भ्रमण गरेका थिए । विश्वको दोस्रो महाशक्ति राष्ट्र रहेको सोभियत सङ्घसँग दौत्य सम्बन्ध राखेर मैत्री सम्बन्ध बढाउँदै आचार्यले स्वतन्त्र परराष्ट्र नीति सञ्चालनको अर्काे विशिष्ट उदाहरण प्रस्तुत गरेका थिए । प्रजातान्त्रिक वृत्तबाट टङ्कप्रसाद आचार्यको मूल्याङ्कनमा स्वागतयोग्य परिवर्तनको अनिच्छालाई बुझ्न सकिन्छ । तर वामवृत्त अझै पनि आचार्यप्रतिको मूल्याङ्कनमा कन्जुस नै रहेको छ । जब कि आचार्यले वामपन्थीहरूलाई तिनका अनेक गाह्रोसाँघुरो अवस्थामा कल्पना गर्न पनि गाह्रो आँटिलो सहयोग गरेका थिए ।
कांग्रेस र वामपन्थीहरूबीच कार्यगत एकता गराएर पञ्चायत शासन व्यवस्था ढाल्ने र प्रजातन्त्र पुनस्र्थापना गर्ने सङ्घर्षलाई सफलतामा पुर्याउन आचार्यको योगदानलाई बैगुनीहरूले जानाजान बिर्से पनि इतिहासले कहिल्यै बिर्सन सक्नेछैन ।
नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलालको सम्मानमा पहिलो एमाले शासनकालमा राम्रो कार्य गरियो । त्यसलाई शेरबहादुर देउवाको प्रधानमन्त्रित्व कालमा अरू ठोस रूप दिइयो । तर सोही देउवा शासनले पुष्पलालका राजनीतिक गुरु गङ्गालालका पनि नेता टङ्कप्रसाद जस्ता देशभक्त राजनीतिज्ञलाई तेस्रोे दर्जाको राजनीतिज्ञमा झार्ने निकृष्ट काम गर्यो । उनको स्मृतिमा स्थापित संस्थाका लागि बजेटमा छुट्याएको रकमलाई ९ लाख रूपैयाँबाट घटाएर एक लाख रूपैयाँमा पुर्यायो । एकातिर अनुचित निर्णय बदर गरी आचार्यलाई समुचित तवरले सम्मान गर्ने काम पनि भएको छैन । अर्काेतिर आचार्यको लिलाम भएको घरजग्गाको क्षतिपूर्ति किस्ताबन्दीको रूपमा टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरियोस् भनी आचार्य परिवारको सहमति भएको पत्र नेपाल सरकारका प्रधानमन्त्रीहरूसमक्ष प्रेषित हुँदाहुँदै पनि कुनै सन्तोषजनक उत्तर नआउनुलाई घनघोर दुराग्रहपूर्ण नभने के भन्ने हो ?
अब १९९७ सालको कात्तिकतिर जनकपुरमा समातेर नेल, हतकडी, गलफन्दी बेरी कोक्रामा हाली राणा ‘अदालत’मा ‘मुख्य अपराधी’का रूपमा मुद्दा चलाउन ल्याइएका अध्यक्षलाई पार्टी उपाध्यक्ष, क्रान्तिवीर दशरथ चन्दको प्रस्तावमा सबै सहयोद्धाहरूले Comrades, The President, Salute भनी अङ्ग्रेजीमा सलामी दिइएका आचार्य तथा २०४६ सालको मङ्सिर २५ गते परेको सम्युक्त राष्ट्रसङ्घीय विश्व मानव अधिकार दिवस डिसेम्बर ९ का दिन आफ्ना पूर्वसहयोगी गणेशमान सिंहलाई पञ्चायतविरुद्ध प्रजातन्त्र पुनस्र्थापनाका लागि सम्युक्त काङ्ग्रेस वाम आन्दोलनको श्रीगणेश गर्न आफ्नो घरकम्पाउन्डको चोक उपलब्ध गराउने सदा आँटिला, निर्भीक उनै आचार्यलाई यस गरिमामय जन्मजयन्तीको उपलक्ष्यमा हार्दिक नमनसहित शुभकामना अर्पण गर्दै यो प्रश्न नराखिरहन सक्दैन ।
हामीले आफ्ना राष्ट्रिय विभूति र देशका कर्णधारहरूको सम्मान गर्न जान्ने कहिले होला ?!
सबमा जय नेपालको अभिवादन !
रिमाल वरिष्ठ पत्रकार हुन् ।