‘हल्कारा’को चिट्ठी पत्र प्रतियोगितामा १ लाख पुरस्कार

काठमाडौँ । वैशाख २९ गते रिलिज हुने फिल्म हो ‘हल्कारा’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले एक लाख उपहारको सहित ‘चिठ्ठी लेखन’ प्रतियोगिता सार्वजनिक गरेको छ । प्रतियोगितामा सहभागी हुन आफ्नो जीवनबाट टाढा भइसकेका, आफूले अत्यन्तै चाहेका, आफूले चाहेर पनि नपाएका अथवा आफूले सधैँ सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ । उत्कृष्ट पत्र लेख्ने ३ जनाले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त आयोजकले जनाएको छ । प्रतियोगितामा दोस्रोले ५० हजार, तेस्रोले ३० हजार र चौथोले २० हजार प्राप्त गर्नेछन् ।
पत्र चलन चल्तीको सेतो कागजको ए फोर साइजको पानामा लेखिएको हुनुपर्नेछ र नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्नेछ । पत्र औपचारिक शैलीमा लेखिएको हुनुपर्नेछ । अभिवादन र समापन समावेश गर्नुपर्नेछ । एकभन्दा बढी पाना आवश्यक परेमा प्रयोग गर्न सकिनेछ । पत्र कम्तीमा ५०० देखि बढीमा १००० शब्दमा लेखिएको हुनुपर्नेछ ।
पत्र नेपालभर वा विदेशबाट जो कोही नेपालीले पठाउन सक्नेछन् । खाम तथा चिठ्ठीमा आफ्नो कुनै पनि सरकारी परिचयपत्रमा भएको नाम हुनुपर्नेछ । प्रेसकमा आफ्नो नाम र ठेगाना प्रस्ट लेखिएको हुनुपर्नेछ भने प्रापकमा ‘नेपाली चलचित्र हल्कारा परिवार’ लेखी ठेगाना काठमाडौँ, नेपाल, पोस्ट बक्स नम्बर १४१४ लेखि पठाउनुपर्नेछ । चिठ्ठीको अन्तिममा युट्युबमा रहेको चलचित्र ‘हल्कारा’ को ट्रेलर हेरी आफूलाई बुझेको कथा लेख्नुपर्नेछ । चिठ्ठीमा आफ्नो नाम र ठेगानासँगै सम्पर्क फोन नम्बर लेखेको हुनुपर्नेछ । विदेशबाट प्रेषित हुने चिठ्ठीमा आफ्नो नेपालमा हुने निकटतम व्यक्तिको परिचय समेत लेख्नुपर्नेछ ।
प्रतियोगिताको निर्णायकहरूमा विप्लव प्रतीक (कवि तथा साहित्यकार), मनोजबाबु पन्त (चलचित्रकर्मी) र महेश त्रिपाठी (अभिनेता) रहेका छन् । प्रतियोगिताको मापदण्डमा रहेका पत्रहरूको रचनात्मकता,मौलिकता,विषयवस्तुको पालना, व्याकरण र हिज्जे र समग्र प्रभावलाई समीक्षा गरी उत्कृष्टता मापन हुनेछ । पत्र पठाउँदा २०८० वैशाख १० गतेदेखि चलचित्र ‘हल्कारा’ रिलिजको मिति वैशाख २९ गतभन्दा ९ दिन अगाडी वैशाख २० गते सम्म पठाइसकेको र वैशाख २५ गतेसम्म पोस्ट बक्समा प्राप्त भैसकेको हुनुपर्नेछ । ‘हल्कारा’ रिलिजको मिति वैशाख २९ गतेभन्दा २ दिन अगाडी वैशाख २७ गते पुरस्कार घोषणा हुनेछ ।
महेश त्रिपाठी र विनीता थापा मगरको मुख्य भूमिका रहेको ‘हल्कार’ लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । विप्लव प्रतीक र आकाश बरालले सह–लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय फिल्ममा देख्न सकिन्छ ।