आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
विचार

बाँदरको उपद्रो व्यवस्थापन कसरी गर्ने ?

शनिबार, ०९ वैशाख २०८०, १३ : २४
शनिबार, ०९ वैशाख २०८०

बाँदरलाई जीव विज्ञानले मानिसको सबैभन्दा नजिकको नातेदार जन्तु मानेको छ । प्राणी जगतको वर्गीकरणमा मानिस र बाँदर प्राइमेट भन्ने एकै वर्गमा पर्छन् । मानिस र बाँदरको शारीरिक बनावट धेरै कुरामा मिल्दोजुल्दो भएको हुनाले विश्वमा बायोमेडिकल क्षेत्रको अनुसन्धानमा बाँदरको प्रयोग गरिन्छ । अस्ट्रेलिया र अन्टार्टिकामा बाहेक संसारभर बाँदर पाइन्छन् । 

बाँदरमा प्रयोग सफल भएपछि सन् १८१८ देखि एक व्यक्तिको रगत अर्को व्यक्तिमा दिने कामको थालनी गरिएको थियो । प्राकृतिक सन्तुलन, वनको खाद्य चक्रीय सन्तुलन हुँदा बाँदर मान्छेको लागि कम हानिकारक वन्यजन्तु नै थियो । आज स्थिति फरक बनेको छ । 

रामायणमा बाँदर भगवान् रामको सहयोगीको रूपमा चित्रित छ । मलेसिया र थाइल्यान्डमा नरिवल टिप्न बाँदरलाई राख्ने चलन पाइन्छ भने जापानको एक रेस्टुरेन्टमा बाँदर वेटर रहेको छ । बाँदरहरू  रसालु, आक्रामक, जिज्ञासु,चलाख,चकचके र स्मरण शक्ति तेज भएको जनावर रहेको कुरा थुप्रै अध्ययनले बताएको छ । 

विगतमा बाँदरको उपद्रो सामान्य मानिन्थ्यो । बाँदर भनेकै उपद्रो गर्ने जनवारको रूपमा परिचित थियो । बाँदरले दिने दुखले विशेषतः कृषकहरू हिजो पनि आजित नै थिए । हिजो कम्तीमा बाँदर धपाउने जनशक्ति थियो । बाँदरको सङ्ख्या पनि उलेख्य थिएन । 

कृषि सर्वत्र थियो त्यसैले बाँदरले गर्ने क्षति अलि कम हुन्थ्यो फिँजारिएको कारण बालीनालीको क्षतिमा आजको जस्तो मर्का पर्दैनथ्यो । तर आज बाँदरले गर्ने क्षतिले धेरैको उठिबास लगाएको छ । बाँदर विनाशक र आतंककारी प्राणीको नाममा दर्ज छ । प्रतिघण्टा ५५ किलोमिटर रुख वन,भीर,पाखा कुदन सक्ने बाँदरको क्षमताको कारण यो कति विनाशकारी छ भन्ने बुझ्न काफी छ । 

गाउँघर रित्तिएका छन् । बालीनाली लगाउने क्रम घटेको छ भने लगाएको बाली जोगाउन सक्ने स्थिति छैन । बाँदर विकराल समस्याको रूपमा फैलिएको छ । बाँदर आतङ्क भएर देखिएको छ । किसानको प्रमुख शत्रु र चुनौती बाँदर भएको छ । नेपालको कृषिमा चुनौती भनेको अर्थतन्त्रको एउटा ठुलो हिस्साको समस्या हो । आत्मनिर्भर बन्न नदिने एउटा प्राकृतिक जटिलता पनि हो । 

जति समस्या छ त्यति समस्या बारे सरकार गम्भीर र समस्या समाधानमा केन्द्रित देखिँदैन । खाद्य सुरक्षामा बाँदरले विश्वका धेरै देशलाई चुनौती पस्किएको छ । विश्वमा नै बाँदरको उपद्रोले तहल्का मच्चाएको छ । हाम्रो छिमेकी देश भारतका करिब २० प्रान्त बाँदरले आक्रान्त बनेको छ । भारतमा पाँच करोड बाँदर रहेको मानिन्छ । हाम्रा छिमेकीहरू श्रीलङ्का, म्यानमार, भुटान पनि बाँदर आतङ्कबाट चोखो रहन सकेका छैनन् । इन्डोनेसिया, थाइल्यान्ड, कम्बोडिया मलेसिया पनि बाँदर आतंकले पीडित मुलुकहरू हुन् । मौरिसस बाँदर निर्यात गर्ने मुलुक हो भने चीन बाँदर आयात गर्ने मुलुक भएको छ । यहीबीच चीनलाई श्रीलंकाले एक लाख बाँदर बेच्न लागेको कुरा चर्चामा छ । चीनमा प्रयोगशालाको लागि बाँदरको माग अत्यधिक रहेको छ । सन् २०१८ मा एक बाँदरको मूल्य १८०० पर्दथ्यो भने कोभिडको कारण एक बाँदरको मूल्य ७००० डलर सम्म पुगेको बताइन्छ । यस्तो बेला नेपालमा उत्पात मच्चाएर दुख दिने बाँदरलाई चीनमा सहुलियत दरमा दिने व्यवस्था गर्ने बारे सरकारको ध्यान जाओस् । 

 नेपालमा पनि बाँदरको सङ्ख्या एक लाख पचास हजारको हाराहारीमा रहेको कुरा ‘नेपालमा रातो बाँदर-मानव द्वन्द’ विषयमा विद्यावारिधि गरेकी सविना कोइरालाको आँकलन छ । कृषक निरन्तर मर्कामा परेको छन। तर सरकार बाँदर मार्न नमिल्ने अन्तराष्ट्रिय र नेपालको वन्यजन्तु ऐन २०२९ सम्बन्धी कानुनको हवला दिएर अप्रत्यक्ष मान्छे मारिरहेको छ । (बाँदर धपाउन जाँदा मान्छे लडेर मरिरहेका छन् ) बाँदरले दु:ख नदिएको कुनै कृषक छैनन् । 

समयसँगै बाँदरका स्वभाव र गुणहरू परिवर्तन भएको पाइन्छ । जस्तै : विगतमा बाँदर उज्यालो भएपछि मात्रै बालीनाली भएको ठाउँमा आउन्थ्यो र साँझमा वास बस्न पुग्थ्यो । पानी परेको बेला बाली खान निस्कदैनथ्यो । कुकुरसँग डराउँथ्यो । मान्छेसँग डर मान्थ्यो अचेल यी सबै नियम उलङ्घन गरेर बाँदर निस्केको कारण मान्छेमा हैरानी थपिएको छ । क्षतिको मात्रामा वृद्धि भएको छ । बाँदरले मान्छेको स्वभाव,कमजोरी र बठ्याइँ पनि बुझ्न थालेको छ । 

नेपालमा छ प्रजातिका बाँदर 

विश्वमा २६० भन्दा बढी प्रजातिका बाँदर भएको मानिन्छ यद्यपि यसको प्रजाति ३०० र कसैले २४४ भएको उल्लेख गरेका छन् । जस मध्ये नेपालमा छ प्रजातिका बाँदर रहेको कुरा बाँदर विज्ञ मुकेश चालिसेको अनुसन्धानको निष्कर्ष छ । तर कसै कसैले नेपालमा जम्मा पाँच प्रजाति मात्रै भएको दाबी गरेका छन् । रातो बाँदर (रेसस माकाक्यु) र हनुमान लंगुरका चार प्रजाति ( कास्मिरी खैरो हनुमान, साधारण हनुमान,तराई हनुमान,हिमाली हनुमान ), कालो बाँदर । नेपालमा रातो बाँदर ४४ प्रतिशत भूभागमा फैलिएको पाइन्छ ।  अन्य बाँदर तराईदेखि हिमाली भागसम्म फैलिएका छन् । बाँदरको सबैभन्दा बढी प्रभावित क्षेत्र मध्य पहाडी क्षेत्रको सेरोफेरो हो । यी क्षेत्रको बस्ती उजाड पार्ने काममा बाँदरले र सरकारको नीतिले सघाएको छ । 

बाँदर नियन्त्रणका स्थानीय टुल्स 

बाँदर धपाउन प्रयोग गरिने स्थानीय सबै प्रकारका टुल्स ठुलो स्वरले कराउँदै ढुङ्गाले हान्दै लखेटने, थाल्र र अन्य भाँडा ठटाएर हल्ला गर्दै भगाउने, कुकुर लगाउने, बाँदर समातेर रङ्गी विरंगी बनाएर छोडिदिने, कुकुरलाई रंगाएर बाघ जस्तो बनाउने,गुलेलीले हान्ने काँडाले बार्ने, खेतबारी, खेतबारीको बिचमा रुंगालु बस्ने, विद्युतीय सक दिने, धराप थाप्ने, नजिकका ठुला ठुला रुखहरू हटाउने, बाँदर आउने बाटोमा सर्प झुण्ड्याएर राखlदिने,बाँदरले नखाने बोटविरुवा लगाउने देखि हालसालै विकास गरिएको बाँदर धपाउने यन्त्र (बन्दुक) पड्काउने लगायत सबै अस्त्र र प्रयासले पनि बाँदरबाट बालीनाली नष्ट हुनबाट जोगाउन सकिएको छैन । 

नेपालमा कयौँ स्थानीय निकायले बाँदर नियन्त्रणको लागि बर्सेनि लाखौँ रूपैया छुट्याएका छन् । दोलखाको कालिन्चोक गाउँपालिकाले प्रत्येक घरधुरीले एउटा बाँदर पाल्ने कार्यक्रम ल्याएको थियो । त्यस्तै काभ्रेको भुम्लु गाउँपालिकाले बाँदर पाल्ने र बाँदरको बन्ध्याकरण गर्ने योजना बनाएको थियो । धनकुटा र कास्कीमा भारतबाट बाँदर समाउने मान्छे ल्याएर बाँदरको स्थान्तरणको प्रयास पनि भएको थियो । 

हालसम्मका अध्ययनमा टिम्बुर, कागती, खुर्सानी, अदुवा, बेसार, पिंडालु, निबुवालगायत बाली बाँदरले कम नोक्सानी गरेको देखिन्छ। त्यसैले वन नजिकैका तथा धेरै नोक्सानी पुर्‍याउने खेतबारीमा यी बाली लगाउनु उपयुक्त हुन्छ भन्ने सुझाव आएको छ तर यी बाली कृषकको जीवनाधार बन्न सक्तैनन् । 

 एक अनुसन्धानबाट ‘ट्राइ मिथाइल अमाइन’ नामको ग्याँस खेतबारीमा राखेमा त्यसको गन्धबाट बाँदर भाग्ने तथ्य पत्ता लागेको कुरा आएको छ तर यो प्रविधि नेपाली किसानको पहुँचमा आइपुगेको छैन । 

बाँदर बढ्नुका कारण 

पहाडी क्षेत्रका बासिन्दा अवसरको खोजीमा सहर पसेका छन् । बसाई सराइको कारण गाउँ घरमा जनसङ्ख्या घट्दोक्रममा छ भने खेतबारी बनजङ्गलमा रुख बोट बिरुवा बढ्दो छ । जनसङ्ख्याको पलायनसँगै काठ दाउराको खपत कम हुनु र पशुपालनमा कमी आउनाले डाले घाँस आदिमा नोक्सान नहुने हुँदा वन जोगिँदा बाँदरलाई बासस्थल सहज भएको छ । 

बाँदरलाई सिकार गर्ने प्रमुख वन्यजन्तु चितुवा हो जसको चोरी सिकारीको क्रम बढ्दो छ विगत पाँच वर्षमा बरामद भएका अखेटोपहारमा चितुवाको छाला धेरै पाइनुले यसको पुष्टि गरेको छ । चितुवाका दुई प्रजाति चितुवा र ध्वाँसे चितुवा मासिने क्रम बढेसँगै वनको खाद्य चक्र असन्तुलित भएको छ । प्राकृतिक रूपमा बाँदरको सङ्ख्या नियन्त्रण बाहिर पुगेको छ । नेपालमा राउटे जातिबाहेक अरू जातिले बाँदर मारेर खाने गर्दैनन् । यसर्थ बाँदरको सङ्ख्या उलेख्य बढेको छ । 

यसर्थ पनि बाँदरको जनसङ्ख्या वृद्धि हुन सहयोग गरेको बाँदर विज्ञहरूको भनाइ छ । बाँदरलाई बर्सभरि सहजरूपमा खाद्यान्न तरकारी, फलफूलका बोक्रा, बालीनाली आदिबाट प्राप्त खान्कीले बाँदरको प्रजनन क्षमता बढ्न गएको कारण पनि बाँदरको सङ्ख्या वृद्धिमा सहयोग पुगेको विभिन्न अनुसन्धाताले बताएका छन् । अन्नबाली,फलफूल,तरकारीको अतिरिक्त बाँदरले चरा,मुसा,गंगटो, भ्यागुता,माछा, छेपारो शंखेकिरा र झिंगा अनि जुम्रा समेत खाने गरेकोले यसलाई मांसाहारी र सर्वहारा जनवार पनि भनिन्छ । 

बाँझै छन् खेतीयोग्य जमिन 

कृषिमा जनशक्तिको अभावको कारण उसै पनि खेतबारी बाँझो छन् । अलि अलि भएका जनशक्तिले गर्ने खेतीमा पनि बाँदरबाट बालीनाली जोगाउन मुस्किल छ । बाँदरको कारणमध्ये पहाडी क्षेत्रको निर्वाहामूखि कृषि प्रणाली ध्वस्त र धराशायी बनेको छ । हजारौँ रोपनी खेतीयोग्य उर्वर जमिन बाँझो रहेर झाडीले छोपिएको छ । भएको उर्वराशक्ति गुमाएर बसेको छ । गाउँघरका खेतबारी सानोतिनो जङ्गलमा रूपान्तरण भएका छन् । 

वन्यजन्तु नियन्त्रणका अन्तर्राष्ट्रिय अभ्यास 

वन्यजन्तु मार्न हुँदैन तर विश्वका कतिपय मुलुकमा मानिसलाई गर्ने असरको आधारमा वन्यजन्तु मारिन्छन् । अस्ट्रेलियामा तीन करोड १५ लाख कङ्गारु रहेको र तिनले दिने दुख नेपालमा बाँदरले दिने जस्तै रहेको छ । जसका कारण यस वर्ष ५० लाख कङ्गारु मार्ने नीति लिएको कुरा समाचारहरूमा पढ्न पाइन्छ । इण्डोनेशियामा बाँदरले दुख दिएपछि बाँदर देख्ने बित्तिकै सेना र प्रहरी लाएर रबरको गोली हान्ने काम गरियो । मलेसियामा पनि ७० हजार बढी बाँदर मारिएको खबर द गर्जियनले २८ जनवरी २०१७मा  प्रकाशन गरेको थियो । स्विडेनमा  पनि उल्लेख्य मात्रामा ब्वाँसो मार्ने कार्य भयो ।  मानवको अहित गर्दा नेपालमा पनि बाँदर नियन्त्रण गर्ने अन्य उपाय असफल हुँदा बन्ध्याकरण गर्ने या निर्यात गर्ने कानुनी प्रबन्ध गर्नुपर्ने हुन्छ । 

संसदमा चर्चाको विषय

बाँदरले दुख दिएकोबारे गत माघमा नेकपा एमालेका सांसद ईश्वरी रिजालले संसद्को ध्यानाकर्षण गराएका थिए । ‘बाँदरको साम्राज्य बढेको छ । संविधानको भाग ३ को ३६ मा खाद्य अधिकारको सुरक्षाको निम्ति बाली बिमाको सुरक्षित गरियोस् । हामी कृषिमा आत्मनिर्भरको कुरा गर्छौ तर बाँदरले मान्छेको उठीबास लगाएको छ यसको नियन्त्रणमा सरकारले ध्यान दिनु जरुरी छ,’ उनको भनाइ थियो  । गत हप्ता नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पनि संसदमा बाँदरको उपद्रो बारे बोलेर संसदमा बाँदर आतंकको मुद्दा प्रवेश गराएका छन् । संसदले नै कानुन बनाएर बाँदर नियन्त्रणका उपाय सुल्झाएर सरकारलाई कृषिमा बाँदरको अत्याचार रोक्न निर्देश गर्नुपर्ने टड्कारो आवश्यकता छ । 

केही मुलुकले ठुलो सङ्ख्यामा बाँदर मारे तापनि केही वर्षमा नयाँ बाँदरले ती स्थान ओगटेको पाइन्छ । स्थानीय स्तरको प्रयासले क्षणिक लाभ भए पनि दीर्घकालीन रूपमा हुन सक्तैन । बाँदर व्यवस्थापनको लागि राष्ट्रियस्तरबाट नै बहुआयामिक योजना लागू गर्नु पर्ने खाँचो देखिन्छ । वैज्ञानिक अध्ययन विश्वका प्रयोग त्यसको कारण अध्ययन गरी बाँदरले गर्ने क्षति न्यूनीकरणको योजना तर्जुमा गर्नुपर्छ । 

मानवीय गलत क्रियाकलापले धेरै लामो समयदेखि बिगारेको पारिस्थितिक प्रणालीको उपज हो बाँदर, दुम्सी, बँदेल, मृग चितुवा आदि वन्यजन्तुसँग मानवको द्वन्द र हानि नोक्सानी । एकातिर किसान पीडित छन् भने अर्कोतर्फ वन्यजन्तुहरूले प्राकृतिक वासस्थानमा स्वतन्त्रता पूर्वक बस्न पाएका छैनन् । मान्छे वन्यजन्तु र प्रकृतिको अन्योन्याश्रित सम्बन्ध छ । मान्छे र प्राणी सबैको प्रकृतिसँग गहिरो र घनिष्ठ सम्बन्ध छ । पृथ्वीको पारिस्थितिक प्रणाली खलबल नहुने गरी बाँदर व्यवस्थापनको उपाय खोजिनु पर्छ । बाँदरलाई हानिकारक वन्यजन्तु घोषणा गरी तदनुकुल नियम कानुनको तर्जुमा गरेर यसको हानिबाट बच्नुको विकल्प शायद अब छैन । 

लेखक कार्की त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा एमफिल (पिएचडी) अनुसन्धानदाता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप