बर्सेनि वन सखाप, भेटिँदैनन् दोषी

दाङ । वन डढेलो नियन्त्रणका लागि सरकारले बर्सेनि रकम त खर्चिन्छ तर उक्त लगानी खरानी बनिरहेको छ । जिल्ला वन कार्यालय दाङले यस वर्ष पनि तीन सय १८ वटा सामुदायिक वनमा अग्नि नियन्त्रण(डढेलो) मा लाखौँ खर्चियो ।
डढेलो नियन्त्रण लागि सचेतना मूलक कार्यक्रमदेखि पूर्वसावधानी व्यवस्थापनसम्मको तयारी वन कार्यालयले गरेको हो । तर, दाङका तीन सय १८ वटा सामुदायिक वनमध्ये २५ वटा वन जङ्गल आगलागीमा परेका छन् ।
यति बेला घोराही, लमही, राप्ती, राजपुुर, तुलसीपुर बंगलाचुुली गाउँपालिका लगायत स्थानका ७ सय ७५ हेक्टर क्षेत्रफल वन जङ्गल डढेलोको चपेटामा परेको जिल्ला वन कार्यालय दाङका निमित्त प्रमुख भक्तबहादुुर चौधरीले बताए ।
आगलागीका कारण तापक्रममा वृद्धि, श्वासप्रश्वास समस्याको बिरामी बढ्ने मात्र नभई बन्यजन्तुुको बसोबास समेत मासिन पुग्छ । यसबारे सचेतनाका लागि कार्यालयले विशेष योजना सहितको कार्यक्रम अघि बढाउँदै लगिरहेको उनले बताए । तर अहिले वन डढेलो नियन्त्रणभन्दा बाहिर गइसकेको उनले बताए । उनले भने, ‘आगो अहिले प्रत्येक लेकका फेदबाट टुप्पातिर गइरहेको छ । जसले बन्यजन्तुुको बसोबास पुरै सखाप पारेको छ । डढेलोको रूप भयानक भएकाले नियन्त्रणमा लिन सकस भइरहेको उनले बताए ।
‘कसले लगाउँछ वनमा आगो ? ’
घाँस, च्याउ, सिकारका लागि स्थानीयले स्थानीयले नै पनि आगो लगाउने गरेका छन् । चौधरीले भने, ‘वनमा आगो लगाउनु हुँदैन भन्ने कुरा आम उपभोक्ताहरूलाई थाहा छ । तर च्याउ, घाँसलगायतको लोभमा समेत आगो लगाउँदा खडेरीसँगै जङ्गल सखाप भइरहेको अवस्था छ ।’
एउटा वनबाट सुरु भएको आगलागी अर्को बन हुँदै यत्रतत्र फैलिन्छ । तर दोषी पत्ता लाग्दैन । निमित्त प्रमुख चौधरीले भने, ‘आगो लगाएको ठाउँ पत्ता नै लगाउन सकिँदैन । एक ठाउँ सुरु हुन्छ, अर्को ठाउँमा आगो देखिन्छ । दोषी पत्ता लगाउन मुस्किल छ । आगलागीको दोष घाँस र च्याउले खेपेको छ ।’
वन डढेलो नियन्त्रणका लागि गर्मीयाम सुरु भएसँगै अग्नि रेखा कोर्नेदेखि, सचेतनामूलक कार्यक्रम गर्ने र साधन स्रोतको व्यवस्थापनको तयारी सुरु गरिन्छ । उक्त तयारीले आगलागी रोकिएको देखिँदैन । मुख्य विषय त वन उपभोक्ता समितिसँग आगलागी नियन्त्रणका लागि तालिम प्राप्त जनशक्ति नै हुँदैनन् । त्यस्तै स्रोत साधन पनि हुँदैन । आगो नियन्त्रण लिन उपभोक्ताले वनका हरिया डाला भाँच्दै आगो निभाउनुपर्ने बाध्यता छ ।
भौगोलिक विकटता र भुुगोल अनुरुप साधनस्रोतको अभावका कारण आगलागीले प्रत्येक वर्ष हरेक वन सखाप हुने गरेको चौधरीले बताए । सीमित साधन स्रोत र असिमित आगलागी क्षेत्रका कारण प्रत्येक वर्ष वन आगलागी नियन्त्रण बाहिर जाने गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार