समाजवादी केन्द्र बनाउने विषय चर्चामै सीमित !

काठमाडौं । नेकपा एमाले बाहेक वामपन्थी र कम्युनिस्ट शक्तिलाई एकतावद्ध बनाई समाजवादी केन्द्र बनाउने उद्घोष गरिए पनि मूर्तरुप पाउन सकेको छैन ।
समाजवादी केन्द्र बनाउने अभियानमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी लगायतका दल छन् । समाजवादी केन्द्र बनाउने उद्घोष गरेको ६ महिना पुग्दासमेत प्रक्रिया अघि बढेको छैन ।
माओवादीमा हुँदा बाबुराम भट्टराईले कांग्रेस र एमालेको विकल्पमा समाजवादी केन्द्र बनाउने घोषणा गरेका थिए । नेकपा एकीकृत माओवादीबाट छुट्टिनुअघि २०७० साल फागुन २५ गते २०७० मा ‘नयाँ शक्तिको खाँचो’ शीर्षकमा लामो लेख लेखेर उनले बहस प्रारम्भ गरेका थिए ।
त्यसपछि माओवादीबाट छुट्टिएर भट्टराईले वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै नयाँ शक्ति नेपाल पार्टी निर्माण गरे । तर अपेक्षित सफलता हात नपरेपछि विभिन्न दलसँग एकता र विभाजनको चरण पार गर्दैै उनले अहिले नेपाल समाजवादी पार्टी बनाएका छन् । भट्टराईले अहिले पनि समाजवादी केन्द्र निर्माण गर्न बहस र छलफल गर्दै आएका छन् ।
समाजवादी केन्द्र बनाउन विभिन्न दलले आपसमा छलफलका लागि वार्ता टोलीसमेत बनाएका छन् । माओवादी केन्द्रले कृष्णबहादुर महरा नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको छ । यस्तै जसपामा राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनेको छ । एकीकृत समाजवादीबाट बेदुराम भुसालको नेतृत्वमा र नेसपाबाट गंगानारायण श्रेष्ठको नेतृत्वमा वार्ता टोली गठन भएको छ ।
समाजवादी केन्द्र बनाउने भन्दै दलहरुले वार्ता टोली बनाएर केही संवादसमेत भए पनि सार्थक निष्कर्ष निस्कन सकेको छैन । बरु अहिले समाजवादी केन्द्र निर्माण गर्ने भन्दै दुई ठुला दल कांग्रेस र एमालेलाई तर्साउने अस्त्र बनाइरहेको कतिपयको बुझाइ छ ।
त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका विभागीय प्रमुख प्रा.डा.रामचन्द्र तिवारीले समाजवादी मोर्चा निर्माण भए पनि एउटै पार्टी बनाउन कठिन हुने दाबी गरे । ऐतिहासिक रुपमा फरक पृष्ठभूमिबाट हुर्किएका नेताहरु एउटै पार्टी बनाएर जान नसक्ने उनको भनाइ छ ।
‘हरेक राजनीतिक दलको आफ्नै गन्तव्यहरु हुन्छन् । समाजवादी केन्द्र बनाउन खोजेकाहरु मोर्चाको रुपमा जाने भन्नेसम्म हुनसक्छ । एउटै पार्टी बनाउने कुरा सम्भव देख्दिनँ,’ तिवारीले भने, ‘पार्टीहरुको पृष्ठभूमि फरक फरक छन् । फरक पृष्ठभूमिबाट जन्मिएका पार्टीहरु फेरि एउटै पार्टी बनाउन सकसपूर्ण देखिन्छ ।’
पार्टीहरु थोरै कमजोर हुन थालेपछि मात्र मोर्चा वा एकताको कुरा गर्ने गरेको उनले बताए । जब बलियो हुन थाल्छन्, आ–आफ्नो बाटोतिर लाग्ने उनको भनाइ छ ।
तर, नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले समाजवादी केन्द्र निर्माण कांग्रेस र एमालेलाई तर्साउन नभएर वैकल्पिक शक्ति निर्माणका लागि आवश्यक रहेको बताए ।
‘हामीले समाजवादी केन्द्र इमानदारीतापूर्वक बनाउन खोजेका हौं । माओवादी, जसपा, एकीकृत समाजवादी, नेसपा लगायत दलका नेताहरुले प्रतिवद्धतता व्यक्त गरेका छन्,’ उनले भने, ‘नेताहरुले भेटघाट छलफल गरेर प्रक्र्रिया समेत अघि बढाएका छन् ।’
राष्ट्रिय राजनीतिले गर्दा समाजवादी केन्द्र अलपत्र परेजस्तो भएको उनको भनाइ छ । उनले अब केही समयपछि समाजवादी केन्द्र बनाउने विषयले प्राथमिकता पाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित